Sunday, February 11, 2018

दक्षिण एसियाली कविताको परिप्रेक्ष्यमा समकालीन नेपाली कविताः एक तुलना - महेश पौड्याल


भारतइतरका दक्षिण एसियाली देशहरूको कलासाहित्यका अगाडि सदैव एउटा साझा चुनौती खडा भएको देखिन्छ । सो के भने, दक्षिण एसियाली कलासाहित्य अथवा सङ्कथन भन्नेबित्तिकै विश्वमा भारतीय कलासाहित्य अथवा सङ्कथन हो भन्ने भ्रम सिर्जना हुन जान्छ । यसका केही प्रमुख कारणहरू छन्ः भारतको ठूलो भूगोल, दक्षिण एसियामा यसको पुरानो वर्चस्व, पश्चिमा मुलुकसँगको यसको पुरानो प्राज्ञिक विनिमय, भारतीय सिद्धान्तकारहरूको विश्वव्यापि उपस्थिति तथा भारतीय कवि, लेखक र कलाकारको विश्वमञ्चमा पुरानो उपस्थिति र प्रभाव । नेपाललगायतका साना मुलुकहरूमा आ–आफ्नो मौलिक ज्ञानकोशको अनुवाद र अन्तर्राष्ट्रियकरणको प्रयास तुलनात्मक रूपमा कम हुनु पनि यसको अर्को कारण हो । त्यसैले, दक्षिण एसियाली डिस्कोर्स मोटामोटी इन्डिक डिस्कोर्स अर्थात् भारतीय सङ्कथन हुन पुगेको छ । फलस्वरूप यस क्षेत्रलाई हेर्नका लागि भारतलाई दृष्टिविन्दु मान्ने चलन पनि देखिएको छ । 

यसो हुँदा, साना मुलुकहरू एक प्रकारको ‘एपिस्टेमिक भायलेन्स’ (स्पिभाक ई.१९८८) अर्थात् ज्ञानको हिंसाबाट प्रभावित हुने गर्दछन् । श्रीलङ्का, पाकिस्तान, भुटान, बाङ्लादेश र भारतका लोकसंस्कृति र अनुभव भिन्नभिन्दै भए तापनि धार्मिक र सांस्कृतिक मानविन्दू र आद्यचिन्तन एकैखाले सभ्यता र शास्त्रीय आधारबाट विकसित भएको हुँदा, यी देशका कला–साहित्य र चिन्तनहरूको जग, अधिकांश अवस्थामा, तिनै आद्यप्ररूप अर्थात, धर्म, सभ्यता र शास्त्रीय विरासतबाट विकसित भएर आएका हुन्छन् । तर, पश्चिमा जगतसँग भारतको अन्तरक्रिया, ऐतिहासिक कारणले, अरु देशको भन्दा छिटो विकसित भयो, र दक्षिण एसियाली चिन्तन र कला भारतीय चिन्तन् र कलाको रूपमा सम्प्रेषित भयो । फलस्वरूप, भारतइतरका दक्षिण एसियाली मुलुकसामु पहिचानको सङ्कट देखियो । 

यसका केही गम्भीर परिणामहरू भएका छन् । साहित्यको हकमा, ‘दक्षिण एसिया’ लाई अतिशय सामान्यीक्रीत गरेको पाइन्छ, जसको असर नेपालजस्ता साना मुलुकमा पर्दछ । हुन त यसमा नेपालको आफ्नै पहल र प्रयास कमजोर हुनु पनि एक दोष हो, तर साहित्यलाई हेर्ने पश्चिमा आँखा पनि पूर्वाग्रही हुनु दुर्भाग्यपूर्ण हो । उदाहरणका लागि बार्बरा स्टोलर मिलर ( ई.१९९४) को मास्टरवर्कस् अफ एसियन लिटरेचर इन कम्पेरेरिभ पर्सपेक्टिभमा नेपालको उपेक्षा भएको छ ।  दक्षिण एसियाली नारीवादी चिन्तनबारे उमा नारायणनले ई.१९९७ निकालेको डिस्लोकेटिङ् कल्चरमा कहीँनिर पनि नेपालको नाउँ आउँदैन । पल ब्राइनले २००३ मा आधुनिक दक्षिण एसियाली साहित्यबारेको अनुसन्धान कृति प्रकाशित गरे, नेपाल छुट्यो । यसमा समाविष्ट १५ साहित्यकारमा १२ भारतका छन्, र एक एक श्रीलङ्का, बाङ्लादश  र पाकिस्तानका । उनी लेख्छन्, “दक्षिण एसियाभित्र धेरै राष्ट्र पर्छन्, तर यस ग्रन्थका लागि पाकिस्तान, श्रीलङ्का र भारत छानिएको छ । यी ती देशहरू हुन्, जसलो विश्वमै चर्चित कृतिहरू दिएका छन्” (३)  । ई.२००५ मा विलार्ड स्पिगिलमेनले लेखेको हाउ पोएट्स सी द वल्र्ड मा नेपाली परेनन् । एसियाको अन्तर्देशीय सांस्कृतिक अध्ययनसम्बन्धमा कुअन–सिङ चेन र चुआ बेङ् हुआतको इन्टर एसिया कल्चरल स्टडी (२००७) मा नेपाली समेटिएन । बेन्जी झेङ (ई.२००८) ले सम्पादन गरेको उत्तर अमेरिकामा बस्ने एसियाली कविहरूको कवितासङ्ग्रहमा नेपालको नाम छैन । भर्खर २०१२ मा रोजमेरी एम केन्फिल्ड रेइसमेनले प्रकाशित गरेको एसियन पोएट्समा नेपाली कविले प्रवेश पाएको देखिँदैन । सबैमा भारतीय लेखकहरूको बाक्लो उपस्थिति छ । 

यस स्थितिमा, समग्र नेपालका अगाडि विद्यमान पहिचानको सङ्कटबाट नेपाललाई जोगाउने हो भने नेपालका प्राज्ञिक समुदायबाट केही महत्तवपूर्ण प्रयासहरू गर्नु वाञ्छनीय छ । पहिलो, दक्षिण एसियालाई हेर्ने भारतकेन्द्री पारम्परिक दृष्टिविन्दुलाई कसरी परिवर्तन र प्रभावित गर्न सकिन्छ भन्ने कुरामा नेपाली साहित्यकार, साहत्यिप्रेमी, अनुसन्धाता र समालोचकहरूले गम्भीर चिन्तन गर्नु जरुरी देखिन्छ । कोलोम्बिया विश्वविद्यालयको एउटा प्राज्ञिक समूहले हालचालै यस दिशामा एउटा प्रयास सुरु गरेको छ, जसको ध्येय वैकल्पित एसियाली दृष्टिविन्दुको विकास गर्नु हो । त्यस समूहले आफ्नो काम नेपालबाट सुरु गरेको छ । नेपाललाई केन्द्रमा राखेर दक्षिण एसियालाई हेर्ने कोसिस त्यसको मूल अभीष्ट हुने बताइएको छ । तर यसको परिणाम भने केही वर्ष कुर्नै पर्ने देखिन्छ ।

यस कार्यपत्रले, दक्षिण एसियाली कविताको स्वभावसँग समकालीन नेपाली कवितालाई दाँजेर नेपाली कविताका केही विशिष्ट स्वभाव र सीमा कोट्उने प्रयास गर्नेछ । काव्य र महाकाव्यहरूलाई अध्ययनको परिधिबाहिर राखिएको छ । यो अध्येताका ज्ञानको सीमाका कारण यसो गरिएको हो । यस कार्यका लागि कार्यपत्रले राजिव पटकेको पोस्टकोलोनियल पोयट्री (ई.२००६) डेनिस वेल्डरको पोस्टकोलोनियल लिटरेचर्स इन इङ्लिश (ई.१९९८) अमरनाथ प्रसाद र विथिका सरकारको क्रिटिकल रेस्पोन्स टु इन्डियन पोयेट्री इन इङ्लिश (ई.२००८) रोजमेरी एम. केनफिल्डको एसियन पोएट्स ( ई.२०१२) पल ब्रइन्सको मोडर्न साउथ एसियन पोयट्री इन इङ्लिश (ई.२००३), तथा बार्बरा स्टोलर मिलरको मास्टरवक्र्स आफ एसियन लिटरेचर (ई.१९९४) लाई आधार बनाइएको छ । यस क्षेत्रमा भाषिक विविधता अधिक भएकोले, र अध्येततासँग ती भाषाको ज्ञान नभएकोले अङ्ग्रेजी भाषामा उलपब्ध ती कवितालाई आधार बनाइएको हो । नेपाली कविताको हकमा भने गणतन्त्र स्थापनापछि अर्थात्, २०६५ पछि नेपाली कविताको परिदृश्यमा देखिएका केही कविताकृति र प्रभावशाली मानिएका फुटकारलाई प्रतिनिधिमूलक रूपमा द्रष्टव्यका लागि लिइएको छ । 

नेपाली कविता र समग्र दक्षिण एसियाली कविताको स्वभावमा थुप्रै समानता छन् । दुवै कविताको जग पूर्वीय सभ्यता, संस्कृति र धर्मदर्शन हो, र यी अधिसंरचनामा समानता भएको हुनाले कवितामा पनि स्वतः समानता छ । धेरैजासो मुलुकका आर्थिक–सामाजिक स्थिति र संरचना पनि उस्तै छन् । यी मुलुकका प्रकृतिवादी र नारीवादी कविताको ध्वनि समान छ । तर, साम्यभन्दा पनि वैषम्य कहाँ छ, र नेपाली कविताले आफ्नो एउटा छुट्टै वैशिष्ठ्यको दावी कसरी गर्न सक्छ, त्यसको खोजी यस कार्यपत्रको मूल ध्येय भएको हुँदा त्यस्ता समान कथ्य भएका कवितालाई यस कार्यपत्रको परिधिभन्दा बाहिर राखिएको छ ।  

राजीव पटके (ई.२००६) ले आफ्नो उत्तरउपनिवेशिक अङ्ग्रेजी कविताको सर्वेक्षणमा दक्षिण एसियाली कविताका केही स्वभावको निरुपण गरेका छन् । दक्षिण एसियासँग अझै बिर्सन नसकेको साम्राज्यवदको घाउ छ, र नवसाम्राज्यवादको भय छ । त्यसैले, अधिकांश दक्षिण एसियाली कविता साम्राज्यवादको विपक्षमा, विशेष गरी अङ्गेजी सांस्कृतिक उपनिवेशको विरुद्धमा लेखिएको राजीव पटकेको ठहर छ । लामो साम्राज्यवादले यी देशको इतिहासको दिशा पनि मोडिदिएको छ, र उनीहरू कवि सुजाता भट्टले भनेअनुसार एउटा “खण्डित आख्यान” (ब्रोकन नेरेटिभ) बाँचिरहेका छन् । त्यसैले, इतिहास उनीहरूको कविताको अर्को विशाल कथ्य हो । स्थानीय भाषामा होस् वा अङ्ग्रेजी भाषामा, दिक्षण एसियाका अधिकांश कविहरू यस खण्डित आख्यानको बारेमा लेखिरहेका छन्, जसमा असीको दशकमा भारतमा विकशित “सबाल्टर्न स्टडिस” को प्रभाव स्पष्ट देखिन्छ । साम्राज्यवदको व्यतिरेका लेख्ने हुनाले स्थानीय संस्कृतिहरूको उत्खनन् यी देशका मूल धारका कवितामा खासै पाइँदैन । ई.१९५० को दशकदेखि प्रभावकारी ढङ्गबाट अगाडि आएको उत्तरउपनिवेशिक साहित्यको पहिलो खण्ड मोटामोटी रूपमा साम्राज्यावादको विरोधमै केन्द्रित रह्यो । पछि, बेनिता पेरी र वोले सोयेङ्काजस्ता चिन्तक र लेखकको हस्तक्षेपकारी मध्यस्ताका कारण तथा एडवार्ड साइदजस्ता पूर्ववादी चिन्तकका कारण यी मुलुकका लेखकहरू साम्राज्यवादको विरोध कम, र आफ्नै मौलिक ज्ञानकोशको उत्खनन्मा बढी केन्द्रित भए । तर पनि, त्यसमा एउटा जटिल समस्या भने विद्यमान थियो । ब्रिटिश साम्राज्यका पूर्व कालोनीहरूका सन्दर्भमा टेरी इगल्टन लेख्छन्, कि साम्राज्यवादविरोधी सङ्कथनको उपस्थितिका कारण यी देशमा उठेका नश्ल, भाषा र पहिचानका मुद्दाले विभिन्न जात जातिसँग रहेको साझा भौतिक अवस्थितिको मुद्दा नेपथ्यमा परेको छ        (२०५)। यसका कारण, यी देशको समाजवादी कविता जमिनी यथार्थमा कम, र वैश्विक तर्कमा बढी अल्झेको पाइन्छ । साथै, सासाना जातको मौलिक ज्ञान यी देशका कवितमार्फत् खासै सतहमा आएको देखिँदैन । 

आन्तरिक भौगोलिक र जातीय विभाजनको प्रभाव पनि यी देशका कवितमा यथेष्ट छ । १९६५ मा मलेसियाबाट सिङ्गापुर अलग हुनु, १९७२ मा बाङ्लादेश स्वतन्त्र हुनु, ई.१९९२ मा भारतमा अयोध्या काण्ड हुनु र श्रीलङ्कामा लामो समय गृहयुद्धको स्थिति हुनेले कवितामा तरङ्ग नै पैदा गरेको छ । सिङ्गापुरमा अल्फियन सातको पोयट्री अवार्ड विन्नर्सः गोल्डेन पोइन्ट अवार्ड (ई.२००२) भारतमा रुकमिनी भाया नायरको अ अयोध्या केन्टो (ई. ९१९९) तथा पाकिस्तानमा अलाम्घिर हाशमीको अ चोइस अफ हास्मीज भर्स (ई.१९९७) यस प्रकृतिका प्रतिनिधि कविता हुन् ।  

उपनिवेशिक कालमा हराएका अथवा नेपथ्यमा परेका पूर्वीय मूल्यहरूको पुनरउत्खनन् पनि यी क्षेत्रका कविताको रुझान् हो । श्रीलङ्काली कवि माइकल ओन्दात्जीको हेन्डराइटिङ (ई.१९९८), पाकिस्तानी कवि अहमद अलिको द पर्पल गोल्ड माउन्टेन ( ई.१९६०) लाई उदाहरणका रूपमा लिन सकिन्छ । बढ्दो उपभोक्तावाद र विश्वव्यापिकरणको विरोध पनि दक्षिण एसियाली कविताको अर्को रुझान् हो ।

जहाँसम्म गणतन्त्रपछिको नेपाली कविताको प्रश्न छ, भौगोलिक विभाजन, जातीय विभेद र कुनै खास उपनिवेशवादी सत्ताको विरुद्धमा स्भावाविक कारणले खासै कविता लेखिएनन् । बितेको करिब डेड दशकमा नेपाली कविता केही विशेष विषयबाट बढी प्रभावित भएको पाइन्छः शासन व्यवस्थाका लागि भएका आन्दोलनहरू, माक्र्सवाद, उत्तरआधुनिकता तथा जातिजातिको आन्तरिक सौन्दर्यशास्त्रको उत्खनन,  नारीवाद, वैदेशिक रोजगार र आप्रवासन तथा जीवनका विविध दर्शन । यी सम्पूर्ण प्रभावहरूको परिणामस्वरूप, अन्य दक्षिण एसियाली कविताले भन्दा नेपाली कविताले केही पृथक बाटो अख्तियार गरेको देखिन्छ । ती पृथकताहरूलाई मोटामोटी रूपमा  ६ वटा शीर्षकअन्तरर्गत अध्ययन गर्न सकिने देखिन्छः

(क) इतिहासको व्यतिरेकमा कविताः दक्षिण एसियाका अन्य देश ब्रिटिश उपनिवेशको सिकार भएको हुँदा उनीहरूको लेखनको एउटा ठूलो हिस्सा उपनिवेशका बिरुद्ध रह्यो । उपनिवेशको विरोधसँगसँगै उनीहरूले आफ्नो इतिहासको बचाउ र गौरवगान बढी गरे । तर नेपाली कविहरूसँग गौरव गर्नभन्दा आलोचना गरिनुपर्ने इतिहास बढी रह्यो । बाह्य कुनै शक्तिका बिरुद्ध भन्दा पनि देशभित्रैका तानाशाही र स्वेच्छाचारी शक्तिहरूका बिरुद्ध लेखियो । गोपालप्रसाद रिमालकै समयदेखि सुरु भएको यो व्यतिरेकी स्वभाव गणतन्त्रपछिको समयमा पछि अक्षुण्ण छ । तर, दक्षिण एसियामा देखिएको नवइतिहासवादी लेखको उदाहरण भने यो होइन । यसले वैकल्पितक इतिहास लेखनको पक्षमा वकालन गर्दैन, तर मौजुदा इतिहासमाथि आक्रामण गर्छ र सन्सोधनको अपिल गर्छ । जनआन्दोलनताका लोकप्रिय भएको श्रवण मुकारुङको “बीसे नगर्चीको बयान” लाई आज पनि धेरै कविहरू मोडल मान्छन् । आजको समयमा यस प्रकृतिका कविताहरूमा छवि अनित्यको हल्ला (२०७१), घनेन्द्र ओझाको एउटा अर्को सङ्ग्रामको घोषणा (२०६५), भूपिनको हजार वर्षको निद्रा (२०६६), बाक्सेली थापाको भष्मासुरको देश (२०७४) र थुप्रै फुटकर कविताहरू आउँछन् ।  

(ख) वैकल्पित राष्ट्रवादको पक्षधरताः दक्षिण एसियाका अधिकांश मुलुकमा भएका राजनैतिक परिवर्तनहरूमा केन्द्रीकृत राष्ट्रवादी चिन्तनहरू नै सफल र हावी भएको देखिन्छ । ती राष्ट्रमा, केही अल्पसङ्ख्याक कविहरूबाहेक मूल धारमा त्यही केन्द्रीकृत राष्ट्रवाद नै हावी छ । भारतीय कवितामा आज ठूलो हिस्सा ओगटेका प्रगतिशील कविहरू वनि आर्थिक असमानता र उपभोक्तावादको विरोधमा छन्, र थिचिएको “वर्ग” प्रति संवेदनशील छन्, तर उनीहरूसँग वैकल्पित राष्ट्रवादको मुद्दा छैन ।  तर नेपालको हकमा, जनआन्दोलन (६२–६३) पछि, कुनै केन्द्रीकृत राष्ट्रवादी चिन्तनभन्दा विकेन्द्रीकृत, वैकल्पित र बहुल राष्ट्रवादको पक्षमा भएका आन्दोलनहरू सफल देखिएका छन् । फलस्वरूप, विगतमा नेपथ्यमा परेका, दबेका अथवा दबाइएका जाति र जनजातिका आवाजहरू कवितामा पनि मुखर भएर आउन थालेका छन् । यस प्रकृतिका कविताहरूले यसरी दबेर रहेका जातजातिका फरक सौन्दर्य, लघुइतिहास, वैकल्पित इतिहास, मिथक, लोक अनुभव अथवा स्थानीय सांस्कृतिक विश्वदृष्टि लेखिरहेका छन् । अर्को अर्थमा भन्ने हो भने, कवितामा एउटा बहुसांस्कृतिक “नेपाल” को मौलिक पहिचान खोजिँदैछ । यसै वैकल्पित राष्ट्रवादको खोजीले नेपाली कविताको पछिल्लो दशकमा पहिचानवादी कविता को उपस्थिति निकै बाक्लो र प्रभावशाली बनेको छ । मौलिक पहिचानकै खोजीमा नेपाली कविताले नेपाली लोक अनुभव र ज्ञानलाई पछिल्लो डेड दशकमा सारै लोभलाग्दो तरिकाले उत्खनन गरेको पाइन्छ । यस वर्गका उदाहरणका रूपमा फूलमान बलको महाभारतकी मैच्याङ् (२०६९), छम गुरुङको पोर्टर बा (२०६९), राबतको राजधानी मास्तिरको राजधानी (२०७०), उपेन्द्र सुब्बाको खोलाको गीत (२०७०), रामगोपाल आशुतोषको ईश्वर र फूलहरू (२०७१), चन्द्र रानाहाँछाको थिबिया चराको गीत (२०७१), र अर्जुन खालिङको गोयाङको सुगन्ध (२०७१), मुनराज शेर्माको शब्दहरूको याक्सा (२०७१), भूपाल राईको आगोले जन्मदिन मनाउँदैन (२०७२) बिना  थिङको रातो घर     (२०७३) र राज माङलाकको लिम्बुनी गाउँ (२०७४) आदि कविताग्रन्थ तथा थुप्रै फुटकर कवितालाई लिन सकिन्छ ।   

(ग) आर्थिक–सामाजिक रूपान्तरणको अपिलः नेपाली कविताको एउटा ठूलो र महत्वपूर्ण भँगालो आर्थिक–सामाजिक रूपान्तरणको अपिल बोकेका कविताको हुन् । थुप्रै गैरमाक्र्सवादी कविहरू पनि यस प्रकारका कविता लेखिरहेको भए पति, यस धारमा माक्र्सवादी अथवा प्रगतीवादी कविहरूको बाहुल्य छ । तर यो माक्र्सवाद शास्त्रीय माक्र्सवादबाट व्याख्यातित हुँदैन । श्रीलङ्काली चिन्तक ए. शिवानन्दन लेख्छन्, “माक्र्सवाद, त्यसै पनि युरोपेली परिप्रेक्ष्यमा विकास गरिएको सिद्धान्त हो । त्यसैले, स्वाभाविक रूपले यो युरोपकेन्द्रित छ”  (९४) । यसमा फ्रान्ज फेनन् थप्छन्, “युरोपका माक्र्सवादीहरूले युरोपबाहिरको यथार्थ बुझ्नलाई, युरोपको आफ्नै संस्कृतिले बन्देज गरेको कल्पना र संवेदना समात्नुपर्ने हुन्छ ”  (५०) । त्यसैले पनि, नेपालमा व्यवहारमा ल्याएको माक्र्सवादमा नेपालकै कल्पना र संवेदनाको अन्तुर्घुलन पनि पाइन्छ । त्यसैले पनि, नेपालभित्र माक्र्सवादी अवधारणाभित्रै पनि विभिन्न खाले वैभेद्य पाइन्छ, जो दक्षिण एसियाका अन्य मुलुकभित्र त्यति परिमाणमा पाइँदैन । नेपाली प्रगतिशीतल कविताभित्रै विविध धारका कविता भेटिन्छन् । समूह पनि त्यत्तिकै छन् । यसको सबैभन्दा ठूलो र व्यवस्थित हिस्सा समाजवादी कविताहरूको छ, जसमा कविहरू आर्थिक असमानताका कारणले समाजमा विद्यमान विभेदको अन्त्र्यको वकालत गर्छन्, र काव्यिक सौन्दर्य र भाषाको मर्यादासहित सिर्जनामा देखा पर्छन् । यी कविलाई जातसँग खासै मतलब छैन । लाग्छ, उनीहरू नवमाक्र्सवादी चिन्तक, फ्रेक्सफर्ट स्कुलका थियोडोर एडोर्नोको तर्कसँग निकट छन् जसमा उनी भन्छन्, कलाले सामाजिक यथार्थको वैकल्पित अभिव्यक्ति संभव बनाउँछ ।  कवि श्यामलको हतारमा यात्रा (२०६८), चन्द्र घिमिरेको डन्ट टच मी ओ कविता     (२०६९) र काठको बाकस (२०७२), अमर गिरीको शब्दहरूको बीचमा (२०७१) र प्रतिनिधिमूलक सङ्ग्रह समयसंवाद (२०७३), भूपिनको सुप्लाको हवाइजहाज (२०७२), निमेश निखिलको उमेरको नदी (२०७०), टङ्क भट्टराईको साँझमा पहिलो तारा (२०६८), सुवास खनालको विचारको उल्टो नदी (२०७१), विप्लव ढकालको प्रोफेसर शर्माको डायरी (२०६५), र च्याउको जङ्गल (२०७१), अभय श्रेष्ठका कविाता, निमेश निखिलको शोकगीतको पोष्टमार्टम (२०७१), र उमेरको नदी (२०७२), हरिहर तिमल्सिनाको गाउँ हराएको साँझ (२०७२), सन्तोष थेबेको फालेलुङ र काबेली बजार  (२०७३) र विक्रम सुब्बाको रोज्जा कविता (२०७४) आदि उल्लेखनीय छन् । 

तर, यसै खेमाभित्र रेडिकल धारका कविहरू पनि देखिन्छन् र कविताको स्वरूपलाईभन्दा कथ्यमा जोड दिन्छन् । यसमा पनि अधिकांश प्रगतीवादी, र केही फरक विचारका कविहरू छन् । तरल भाषा लेख्छन् र विचारलाई प्रधानता दिन्छन् । यी कविहरूले जातीय प्रश्नलाई आर्थिक प्रश्नसँग अन्तर्घुलन गरेको पाइन्छ, र जात, लिङ्ग र वर्गका कुरालाई समाजको वर्गीय र अर्थिक विश्लेषणको परिधिभित्रै अवस्थित गराउने उपक्रममा पनि व्यस्त रहेको देखिन्छ । तथापि, अन्य एसियाली प्रगतीवादी कविभन्दा फरक नेपाली कविहरू नेपाली परिस्थिति र आवश्यकताले ल्याएको परिवर्तनलाई पनि स्वीकार गर्दछन् । यसै कित्ताका कविहरूले बढ्दो उपभोक्तवाद, भूमाण्डलीकरण, यान्त्रिक विकास, लैङ्गिक विभेद र वाह्य हस्तक्षेपको विरोधमा पनि कलम चलाएका छन् । मातृका पोखरेलका कविताहरू, केशव सिलवालको धारिला मानिसहरू (२०६६), निभा शाहको कालापानीकी द्रौपदी (२०६६), सरस्वती प्रतीक्षाको बागी सारङ्गी (२०६९), ज्योति जङ्गलको मुक्त समय (२०६९), विष्णु भण्डारीको घाइते ह्विलचेयर (२०६९) अनिल श्रेष्ठको मफलर युद्ध (२०६९) र प्रतिनिधि कविता (२०७२), शकुन्तला जोशीको आदिम सिमाना (२०७०), रञ्जन घिमिरे कल्पितको मूच्र्छित स्वरहरू (२०७१), सरिता तिवारीको प्रश्नहरूको कारखाना (२०७२), प्रसिद्धा शर्माको अन्तिम रातको घोषणा (२०७२), सामना पहाडको पर्खालभित्रको घाम (२०७२), विनोद विक्रम केसीको भोकको क्षेत्रफल (२०७२), सङ्गीत श्रोताको म काडमाडौँ आइपुगेँ (२)७२० गिरिजा अधिकारीको २५ प्रतिवाद (२०७२), त्रिभूवनचन्द्र वाग्लेको अकीर्ण आँखा (२०७३), सीमा आभासको म स्त्री अर्थात् आइमाई (२०७३) उन्मुक्त पुस्ताको आफर (२०७३), सुदेश सत्यालको अन्तरिक्षको धरती (२०७३), प्राथको युद्धशिविरमा हिँडेको मान्छे (२०७४), नदीशको हाँगामा झुण्डिएको आत्मकथा, (२०७४), प्रोल्लास सिन्धुलियकाको जन्मजात बाहुनको विज्ञप्ति  (२०७४) आदि कवितासङ्ग्रह प्रमुख हुन् । 


(घ) सार्वभौमिकताको खोजीः समय समयमा नेपालीहरूले आफ्नो राष्ट्रको सार्वभौमिकतामा खतरा रहेको पनि महसुस गर्दै आएका छन् । अन्य एसियाली राष्ट्रसँग यस्तो मानोविज्ञान सधैँ विद्यमान रहेको पाइँदैन । तर नेपाली कविताको सार्वभौमिकताको प्रश्न धेरै मुखरित भएको पाइन्छ । अन्तर्राष्ट्रिय हस्तक्षेप र विदेशी प्रभूत्व बढ्दै गएका कारण यस्ता कविता लेखिएका हुन् । पूरै सङ्ग्रहमा यस प्रवृत्तिलाई केन्द्रीय कथ्य बनाइएको फेला पार्न गाह«ो होला, तर थुप्रै फुटकर कविता यस प्रकारको कथ्यमा लेखिएका छन् । माृतका पोखरेलको “दिल्लीका मच्छरहरू”, कृष्ण प्रसाईंको “जरासन्ध”, भूपिनको “लज्जा”, डा. मधु माधुर्यको “शव–आसन”, विमल निभाको “खुत्रुके” बाक्सेली थापाको “भष्मासुरको देश”, मणि भट्टराईको “देशविहीन देशभक्तहरू”, “प्रथाको राष्ट्रवाद”, र “देश रोएको आवाज”, बालकृष्ण थपलियाको “नयाँ घर र भाइरस”, गिरिजा अधिकारीको “८८४८”, हरिहर तिमल्सिनाको “अविश्वास आफैँमाथि” र “गाई र उत्तरआधुनिक चितुवा”, आर.एम डंगोलको “दशगजावारि”, विष्णु भण्डारीको “श्रीअन्तु” र “पौवागढी”, र चन्द्र घिमिरेको “सीमानगर” आदि कविता यस प्रकृतिका कविता हुन् । 

(ङ) दार्शनिक र जीवनबोधी कविता ः नेपाली कविताको एउटा ठूलो हिस्सा दार्शनिक र जीवनबोधी कविताको हो, जसले धर्म, दर्शन, लोकअनुभव, प्राचीन गौरव, नेपालको प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, मानवीय सम्बन्ध, सार्विक मानवीय मुद्दा, राष्ट्रप्रेम र विश्व शान्ति आदि समयातीत मानवीय सरोकारका बारेमा लेखेका छन् । विम्बप्रधान र स्वरूप र कथ्यमा समान सन्तुलन कायम गरेर आएका यस धारका कविताभित्र कथ्यको यथेष्ठ वैभेद्य छ । तथापि, उनीहरू दार्शैनिक र जीवनबोधी कविता हुन्, र तत्कालिकभन्दा पनि दूरगामी प्रभावमा केन्द्रित देखिन्छन् । राजेन्द्र शलभको उज्यालोको सर्त (२०६५), गीता कार्कीको सालका ठुटा र एक टुक्रा घाम (२०६६), विवश पोखरेलको निषीद्ध बस्तीमा (२०६६), जी शर्माको शब्दक्रान्ति (२०६६), सुरेश हाचेकालीको सीमान्त आमाहरू (२०६६), सुमन पोखरेलको जीवनको छेउवाट (२०६६), श्रवण मुकारुङको बीसे नगर्चीको बयान (२०६७), सविता गौतम दाहालको नीलो सिमाना (२०६७), सञ्जीव राइको जिन्दगी, अहम र स्वप्न फूलहरू (२०६७), ठाकुर बेल्बासेको अचानक यो साँझ (२०६७), नारायण श्रेष्ठको साक्षी (२०६७), मनु मन्जिलको लेम्पोष्टबाट खसेको जून (२०६८), सचित राईका अर्को भ्रम (२०६८), सन्धया पहाडीको घामका अक्षरहरू (२०६८), रमेश क्षितिजको घर फर्किरहेको मानिस (२०६९), हेमन यात्रीको पहाड मसितै यात्रा गर्छ (२०६९), देवान किरातीको हुरीमा नाचिरहेको ईश्वर (२०६९), प्रसन्न घिमिरेको र निःशब्द  (२०६९),मोमिलाको भीमसेन थापाको सुसाइड नोट (२०७०), निरज भट्टराईको धुवाँको धागो     (२०७०) सुरेश हाचेकालीको चक्रव्यूह नगरमा अभिमन्यु (२०७०),  हेमप्रभासको गीतै गीतको गाउँ (२०७१), रवीन्द्र मिश्रको रवीन्द्र मिश्रका कविता (२०७१), हेमन्त विवशको सैपालको आँगन (२०७१), महेश प्रसाईंको नेपोलियन र सुकुमार कविता (२०७१), जेनन नेपालको एस्ट्रेमा कविता (२०७१), एल.बी. क्षेत्रीको भीडमा हराएको मान्छे (२०७१), भीष्म उप्रेतीको काठमाडौँ र अझ पर...एक बदलिँदो तस्बिर (२०७१), गीता त्रिपाठीको सिमलको गीत (२०७१),  सुदीप पाख्रनको दगुरिहिँड्ने चौबाटो (२०७२), दीपेन्द्र सिंह थापाको सहयात्री शब्दहरू (२०७२), सुवास संगम राईको नेप्चीको लय (२०७२), बालकृष्ण थपलियाको किनाराको साक्षी (२०७२), प्रमोद प्रधानको एक उदास साँझ (२०७२)विमल वैद्यको समय र सपनाहरू (२०७२),  उमेश लुइटेलको शीतको शिविरबाट (२०७२), चेतराज रेग्मीको चुल्ठो (२०७२),  सविता विमलीको रेलिगेसन जिन्दगी (२०७२), कमला रिसालको गोधूलि समय (२०७३), सौरभ कार्कीको दृश्यबाहिर         (२०७३), नवराज पराजुलीको सगरमाथाको गहिराई (२०७३) विधान आचार्यको नदीसित       (२०७३), नवीन प्राचीनको उभिएर एक्लै (२०७३),  रोशन परियारको सियोको दुरबिन (२०७३), खुमनाराण पौडेलको शीतनिद्रा (२०७३) कृष्ण प्रसाईको घामको विरासत (२०७४), गोकुल अधिकारीको गोधुलि घर (२०७४), सुरेन्द्र अस्तफलको हिउँको आरोहण (२०७४), कृष्ण प्रसाईंको घामको विरासत (२०७४), मनोज भण्डारीको ईश्वरलाई चिठी (२०७४), सुनिता खनालको ओ नायक (२०७४) आदि कविकृतिलाई आधार मान्न सकिन्छ ।


(च) वैदेशिक श्रम, आप्रवासन र डायस्पोराः पछिल्लो दुई दशकमा वैदेशिक श्रमका लागि जाने नेपालीको सङ्ख्या बढेको छ । यससँगै गाँसिएर आउने पीडा, परिचय र पहिचानको सङ्कट, खण्डित मानसिकता, घरदेशको सम्झना र मृत्युलाई विषय बनाएर नेपालभित्रैबाट पनि थुप्रै कविता लेखिएका छन् । (आप्रवासी र डायस्पोराका कविता यस कार्यपत्रको परिधिभन्दा बाहिर राखिएको छ) । उमेश राई अकिञ्चनको “परदेश”, नवीन प्राचीनको “जीवनको हरियाली खोज्न मरुभूमितिर यात्रारत प्रियतमालाई चिठी” मुनराज शेर्माको “कार्गिलमा मेरो लाश”, हेमन यात्रीको “एक साइबर क्याफेमा परदेशीलाई सम्झेर”, ज्योति जङ्गलको “पत्र लेख्न सक्दिनँ तिमीलाई”, नवराज पराजुलीको “सरमाथाको गहिराइ”, हेमप्रभासको “पत्रको सारांश”, शशी लुलुम्बुको “परदेशी छोरालाई चिठी”, चन्द्र घिमिरेको “काठको बाकस”, विक्रम परियारको “रातो बाकस” आदि कविता यस दावीका आधार हुन् ।  

निश्कर्ष 

२०६५ पछिको नेपाली कविताले दक्षिण एसियाका समकक्षी राष्ट्रहरूको सापेक्षतामा विभिन्न समान विषय र लक्षणका कविता लेख्दालेख्दै पनि केही विन्दूमा आफूलाई पृथक राखेको छ । नेपाली कविता अपवादबाहेकका अवस्थामा आफूलाई शासकीय इतिहासको पूर्ण व्यतिरेकमा उभ्याएको छ । शास्त्रीय माक्र्सवादभन्दा फरक, नेपाली समाजको बहुसांस्कृतिक व्यवस्था र जमिनी यथार्थसँग गाँसिएको समाजवादी धारा नेपाली कविताको मौलिक निर्मिती हो । उत्तरआधुनिक चिन्तनसँग सन्निकट वैकल्पित र बहुलतावादी नेपाली राष्ट्रवादको कुरा नेपाली कविताको एक पृथक स्वभाव हो । सार्वभौमिताको खोजी र नेपाली चिन्तनबाट निस्रित एक विशिष्ट विश्वदृष्टि नेपाली कविताका मौलिक रुझानहरू हुन् । 

अहिले लेखिँदै गरेका कवितामा केही समस्या पनि छन् । पुरनो आक्रोशको प्रतिध्वनि आज पनि सुनिन्छ, जबकि जनताकै निर्मितीमा व्यस्थामा धेरै परिवर्तन आइसके । वैश्विक घटनाक्रमसँग नेपाली कविताको अन्तरक्रिया न्यून छ । पहिचान र लैङ्गिक समानताको वकालतमा जातीय विद्वेश र गालीगलोजले कतै पनि समतामूलक समाजको निर्माणलाई टेवा पु¥याउँदैन । नेपाली कविताको पछिल्लो पुस्ताको शब्दकोश निकै तरल छ, र भावुकता बढी छ । मानसपटलमै अनुवाद गरेरे हेर्ने हो भने ती कविताका खासै नेपालीपन बाँकी रहेको भेटिँदैन । दलगत राजनीतिको सीधा प्रभाव पनि निकै छ ।  

समकालीन नेपाली कविताले एउटा नयाँ पुस्ता पनि हुकाइरहेको छ, जुन् तरल र सम्प्रेष्य भाषामा रुमानी कविताहरू लेखिरहेको छ । तिनका कवितामा यथेष्ट मात्रामा ग्रामिण र लोक अनुभवहरू आइरहेका छन् । निजी आख्यानजस्ता लाग्ने ती कविताले एउटा सङ्केत गरेको देखिन्छ, कि आगामि दशकमा नेपाली कविताको कमसेकम एउटा धारले तन्नेरीहरूको नेतृत्वमा फेरि एउटा रुमानी र स्वच्छन्दतावादी बाटो समाउने छ । साझा सामाजिक र राष्ट्रिय सरोकारभन्दा पनि ती कवितहरू ससाना, निजी, अथवा मानवीय सम्बन्धका सूक्ष्म विषयमा कविता  लेखिरहेका छन् । ती कविताले एउटा ठोस आकार लिँदासम्म र मूलधारमा प्रवेश गर्दासम्म नेपाली कविताले मानवतावादको एउटा नवीन संस्करणमा प्रवेश गरेको हुनेछ भन्दा अत्युक्ति हुँदैन सायद । 

नेपाली कवितालाई वैकल्पित एसियाली आधुनिकताको स्वर बनाउन सकिने थुप्रै आयामहरू छन्, जुन दिशामा अनुसन्धान जरुरी देखिन्छ । कति लेख्यो नेपाली कविताले आफ्नै आदिम सहिष्णुताको गीत? कति उत्खनन् ग¥यौँ हामीले आफ्नो लोक गौरव, जो नितान्त मौलिक हो? कति प्रोत्साहित छ नेपालका आदिवासी, जनजाति र मौलिक नेपाली सभ्यताको विश्वदृष्टिहरूको उत्खनन्? द्वन्द्वहरूको व्यवस्थापन गर्ने नेपालको मौलिक शैली छ । त्यसमा टेकेर पनि हामी केही मौलिक पद्धतिको विकास गर्न सक्छौँ । हाम्रो हिमाल र नदीको इकोलोजी विशिष्ट छ । हाम्रो वातावरणीय कविताले यहाँ पनि डिपार्चर दिन सक्तछ । 


—इति—



सन्दर्भहरू 

अधिकारी, हरि . “समकालीन कविताका १० स्वर.” अन्नपूर्ण पोष्ट, दैनिक. असोज १५, २०७४. 
गिरी, अमर. “कमजोर छैनन् समकालीन कविता.” नयाँ पत्रिका .माघ १३ २०७४. 
गौतम, लक्ष्मण । “उत्तरवर्ती समकालीन नेपाली कविताका प्रवृति.” समकालीन साहित्य. १८ पौष २०६८. 
मगर, गिरी श्रीस. “प्रश्नमा कविता.” अन्नपूर्ण पोष्ट दैनिक . ३१ भदौ २०७४.
राजा, स्पन्दन. “समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्ति.” बाह«खरी  (वेब पत्रिका). ३१ आषाड, २०७४. 
लुइटेल, खगेन्द्रप्रसाद. “समकालीन नेपाली कविताका प्रवृत्ति.” समकालीन साहित्य (वेब पत्रिका) १०  
आषढ, २०६८ । 
सुवेदी, पुरुषोत्तम, लक्ष्मणप्रसाद गौतम र विष्णुविभु घिमिरे. प्रज्ञा समकालीन प्रतिनिधि नेपाली कविता भाग १. काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान, २०७० ।
सुवेदी, पुरुषोत्तम, लक्ष्मणप्रसाद गौतम र विष्णुविभु घिमिरे. प्रज्ञा समकालीन प्रतिनिधि नेपाली कविता भाग २. काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान, २०७० ।  
  
Brains, Paul. Modern South Asian Literature in English. Connecticum: Greenwood Press, 2003.
Eagleton, Terry. Literary  Theory: An Introduction. Minneapolis: Blackwell, 1996.
Miller, Stoller Barbara. Masterworks of Asian Literature. New York: M.E. Sharpe, 1994.
Fanon, Franz. The Wretched of the Earth. Trans. C. Farrington.  New York: Penguin, 1967. 94.  
Patke, Rajeev S. Postcolonial Poetry in English. Delhi: Oxford University Press, 2006.
Prasad, Amarnath and Bithika Sarkar. Critical Response to Indian Poetry in English. New Delhi: Saroop and Sons, 2008.
Reisman, Rosemary M. Canfield. Asian Poets. Charleston: Salem Press, 2012.
Sivanandan, A. A Different Hunger: Writings on Black Resistance. New Delhi: Penguin, 1982.
Spivak, G. C. "Can the subaltern speak?" In C. Nelson & L. Grossberg (Eds.), Marxism and the interpretation of culture. Urbana: University of Illinois Press, 1988. 271–313.


mahesh.kathmandu@gmail.com

Sunday, January 21, 2018