Sunday, September 7, 2025

सपना देख्न प्रेरित गरिरहने कवि : कृष्णमोहन जोशी - मातृका पोखरेल

'मुक्तिका लागि' कवितासङ्ग्रहको भूमिका 

साढे तीन दशक भएछ, कवि कृष्णमोहन जोशीको काव्यिक प्रतिभाका बारेमा मैले नजिकैबाट बुझ्ने अवसर प्राप्त गरेको । सुरूमा यो समय नेपाल विद्युत प्राधिकरणभित्र रहेका र साहित्यिक रूची भएका  कर्मचारीहरूले एउटा साहित्यिक मञ्च खोजिरहेको समय थियो । त्यही सिलसिलामा कवि जोशीसँग पहिलोपटक मेरो भेट भयो । त्यहीँबाट सुरू भयो हाम्रो सिर्जनात्मक र वैचारिक सामिप्यतासहितको सहकार्य । त्यसपछि उनको सिर्जनशील र प्रतिबद्ध कर्मको परोक्ष अपरोक्ष रूपमा म निकट साक्षी रही आएकोछु ।

आफ्नो अग्रगामी चेतना र सिर्जनालाई उजिल्याउन भक्तपुरको ठिमी एकप्रकारले उर्वर ठाउँ थियो र अनुकूल पनि । पञ्चायतको निरङ्कुश समयमा पनि ठिमी समाज रूपान्तरणका लागि आफ्नो महत्वपूर्ण समय दिएका अग्रजहरूको आइजाइ गरिरहने ठाउँ थियो । वैकुण्ठहरि श्रेष्ठजस्ता जनतालाई जागृत बनाउन कम्मर कसेर लागेका प्रतिबद्ध योद्धाहरूको कर्मभूमि थियो ठिमी । वि.सं. २०१८ सालकै सेरोफेरोदेखि स्थापना भएको न्ह्यज्या खल आफैंमा परिवर्तनकारी र सचेत व्यक्तिहरूको पहलमा खुलेको संस्था थियो । त्यसले साहित्यिक जमघट गराइरहन्थ्यो ।  वि.सं. ०२४ / २५ सालतिर कृष्णमोहन जोशीलाई पनि कविताको रूचीले स्पर्श  गऱ्यो । त्यसबेला ठिमीमा वैकुण्ठहरि श्रेष्ठहरूकै उत्प्रेरणामा कृष्णलाल गोजा श्रेष्ठ र तुलसीराम श्रेष्ठले एउटा प्रगतिशील पत्रिकाहरूको पसल खुलेको थियो । हुन त, त्यो भन्दा पहिले नै वि.सं. २०१५ सालमैं खुलेको सौभाग्य पुस्तकालयले त्यहाँको जागृत चेतनालाई अघि बढाउन धेरै महत्त्वपूर्ण भूमिका खेलेको थियो । पछि खुलेको प्रगतिशील पत्रिका पसलमा सोभियत प्रकाशन र चिनियाँ प्रकाशन उपलब्ध हुन्थे । श्यामप्रसाद शर्मा र शान्तदास मानन्धरलगायत प्रगतिवादी स्रष्टाहरूका कृतिहरू, उनीहरूले अनुवाद गरेका कृतिहरू पाइन्थे । अनुवाद भएर प्रकाशित भएका कृतिहरूमा चीनका महान् साहित्यकार   लुसुनद्वारा लेखिएका र अनुवाद भएका कृतिहरूले कवि जोशीलाई अत्यधिक प्रभावित पारे । कवि जोशीले साहित्यमा टेकेको पहिलो पाइलोका पछाडि यिनै प्रेरणाहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

कवि कृष्णमोहन जोशीको साहित्यिक यात्राको समयावधि  साढे पाँचदशक भन्दा लामो छ । वि.सं. २०२४/२५ सालदेखि साहित्य लेखन र प्रकाशनमा आफ्नो उपस्थिति दर्शाइसकेका कवि जोशीको प्रस्तुत कृति 'मुक्तिका लागि' मा समावेश कविताहरूको समयावधि पनि झण्डै अढाइ दशकको छ । यस सङ्ग्रहमा वि.सं. २०४९ सालदेखि वि.सं. २०७३ सालसम्म लेखिएका तीस वटा कविता समावेश छन् ।

कवि जोशीले दृष्टिकोणलाई अर्थात चेतनाको पक्षलाई प्राथमिकतामा राखेर कविता लेखेका छन् । उनका कवितामा निरासा नभएर आक्रोश छ, विद्रोहको आह्वान छ । आशावादिता उनका कवितामा पाइने मूल प्रवृत्ति हो । व्यक्तिगत पीडामा उनी कविता लेख्दैनन् । सामूहिक चेतना र संघर्ष उनका कवितामा प्रतिविम्बित भएको पाइन्छ । 

कुहिरो आखिर कुहिरो न हो 
न्यानोको स्पर्शले विलाइ जानेछ
धरतिमा उठेका बुलन्द आवाजले 
घामको सचेतता फर्काइ दिनेछ 
घामको न्यानो प्रकाशहरु 
बाक्लो बाक्लो कुहिरो चिर्दै 
मुक्त भै धरतिमा झुल्कनेछ ।

-  कुहिरो चिर्दै घाम झुल्कने छ 

यो त एउटा सामान्य उदाहरण मात्र हो । उनी निरासालाई विस्कुन सुकाएजस्तो असरल्ल छाडेर समाजप्रति  गैरजिम्मेवार बन्न चाहँदैनन् ।  समाजले भोगेको शोषण–उत्पीडन, असमानता, अन्याय, दमन उनका कविताका मूल विषयवस्तु हुन् । जनताको एकजुट आवाजको शक्तिमा कवि जोशीका कविता विश्वास राख्छन् ।

नेपाली जनताले गरेको ठुलो त्याग र वलिदानको मूल्य खेर जानुहुँदैन भन्ने कुरामा यस सङ्ग्रहभित्रका धेरै कवितामार्फत् उनी सचेत देखिएका छन् । संविधानसभाको माग होस् या गणतन्त्रको स्थापनाको आग्रह होस् । कवि जोशी कोठाभित्र बसेर नितान्त कविता लेख्ने कवि होइनन् । उनका कविताहरू आन्दोलनकारीहरुसँग सडकमैं हिड्छन् र आन्दोलनकारीहरू सँगसँगै परिवर्तनको चिन्ता गर्छन् । कविताबाटै संघर्षको हुङ्कार गर्छन् ।

कवि कृष्णमोहन जोशीले यस सङ्ग्रहका कवितामा  सामाजिक न्याय, लैङ्गिक समानता,  र आर्थिक विषमताका विषयहरू मात्र उठान गरेका छैनन् । साम्राज्यवादको प्रत्यक्ष वा अप्रत्यक्ष अतिक्रमणका विरुद्ध पनि उत्तिकै सचेत छन् ।

कहिले इरानलाई धम्क्यायौ 
कहिले उत्तर कोरियालाई हप्कायौ
अफगानिस्थानको  त सत्यानासै गऱ्यौ आज इराकलाई हान्दै गरेकाछौ 
इराकी जनताको आमहत्या गर्दै 
रक्तपिपासु अनुहार छ्याङ्ग पारेकाछौ मानिसको रगतमा होली खेलीरहेकाछौ ।

- साम्राज्यवादीहरू लखेट्नै पर्छ

कवि भित्र देखा परेको तीव्र राजनीतिक चेतना र वैचारिक स्पष्टतालाई  बजारीकरण र उपभोक्तावादी संस्कृतिको प्रभावले सङ्क्रमण गर्न सकेको छैन । मूल रूपमा भन्नुपर्दा यस सङ्ग्रहमा समावेश कविताहरूको वैचारिक धार अत्यन्तै सशक्त र प्रभावशाली छ । 
 
आमरूपमा कवितामा प्रयोग हुने र मानिसले सहजै बुझ्ने  विम्ब र प्रतीकहरूलाई कवि जोशीले प्रयोग गर्छन । घामलाई उनी सत्य, चेतना, क्रान्ति र मुक्ति को प्रतीक बनाउन रुचाउछन् । यस्ता प्रतीकहरू सामान्य जनले सहजै बुझ्छन् । उनीमा जनताले कविता सहजै बुझ्नुपर्छ भन्ने दृढ धारणा पनि छ । कवि जोशीको भाषा जनपक्षीय छ ।

कवि जोशी हिजोका अगुवाहरूलाई समर्थनमात्र गर्दैनन् । उनीहरूले लिएको गलत बाटोको बिरुद्ध आक्रोश पोख्छन् र जनतालाई सचेत बन्न हौस्याउँछन् । संसदीय व्यवस्थाको जनबिरोधी चरित्रसँग हिजोका अगुवाहर ले आफ्नो व्यक्तिगत फाइदाका लागि आत्मसमर्पण गरेको र त्यो व्यवस्थाले कहिल्यै जनताको हित गर्दैन भनेर कवितामार्फत्  आफ्नो दृढ विश्वास  प्रकट गर्छन् । जनताले लडेर ल्याएको संविधान जनताको ऐना बन्न सकेन । व्यवहारमा यो केवल शासकहरूको अनुहार देखिने ऐना बनेको कुरामा कवि जोशी आक्रोशित छन् ।

जनमुक्तिको नारा दिइ 
गाँस बास कपासको व्यबस्था ल्याउन 
संघर्षको कठिन बाटो हुँदै 
अगाडी बढीरहेका मुक्ति योद्धाहरु 
भ्रममा पर्दै र भ्रममा पार्दै 
चौबाटोमा अल्मलिएर संसदको ढोका छिर्न पुगेकाछन् ।

- भ्रम र मुक्तिको बाटो

मूल रूपमा भन्नुपर्दा कवि कृष्णमोहन जोशीका कविताहरू  शोषण र असमानताविरुद्ध सामूहिक चेतना जगाउने कविता हुन् । यो सङ्ग्रहका कविताहरू तल्लो वर्गका  जनतालाई जागृत बनाउने उद्देश्यलाई केन्द्रमा राखेर लेखिएका छन् । वैचारिक दृढता कवि जोशीको विशिष्टता हो । कवि जोशीका कविताको मूल स्वर प्रतिरोधी चेतनाको स्वर हो । 

निष्कर्षमा भन्नुपर्दा कवि कृष्णमोहन जोशी वर्गसंघर्षको चेतनाले ओतप्रोत भएका कवि हुन् । मानिसहरूलाई  शोषण र दमनविरुद्ध प्रतिरोध गर्न प्रेरणा दिने कवि हुन् । निराशाले उनका कवितामा स्थान प्राप्त गर्न सक्दैन । उनी आशावादी दृष्टिकोण राख्ने कवि हुन् । प्रस्तुत कवितासङ्ग्रह अढाइ दशकको नेपाली समाजले  भोगेको प्रतिनिधिमूलक दस्तावेज हो । 

000















No comments:

Post a Comment