Friday, October 3, 2025

शान्तदास : उत्तिकै सरल मान्छे उत्तिकै जटिल मान्छे - मातृका पोखरेल

शान्तदास मानन्धरसँग कहिले टाढाको जस्तो कहिले नजिकैको जस्तो सम्बन्ध भयो मेरो । मेरो मूल्याङ्कनमा शान्तदास सारै सरल मान्छे हुनुहुन्थ्यो । यो कुरो पनि सत्य थियो । शान्तदास सारै जटिल मान्छे हुनुहुन्थ्यो । त्यो पनि सही कुरा हो । अर्थात् यी दुवै कुरा सत्य हुन् ।

उहाँलाई कहिले भेटें मैले ? अहिले तिथिमिति किटान गरेर भन्न सक्दिन । २०४६ साल पहिले नै हुनुपर्छ । उहाँ प्रायः प्रगतिशील साहित्यिक कार्यक्रमहरुमा आइरहनु हुने र म पनि सुनेसम्म र भेटेसम्म त्यस्ता कार्यक्रमहरूमा पुगिरहने कारणले म काठमाण्डौं आउने वित्तिकै उहाँलाई भेटेको हुनसक्छु । तर पञ्चायत कालमैं कुनै काम लिएर उहाँको घर झोंछे पुगेको सम्झना छ । म पुग्दा उहाँकै घरमा हुनुहुन्थ्यो साहित्यकार जनकप्रसाद हुमागाईं । उहाँ कार्यक्रमहरूमा भेटिइरहनु हुन्थ्यो । जनकप्रसाद हुमागाईंसँग त्यसबेला अरू कोही होचोहोचो कदको मानिस हुनुहुन्थ्यो । धेरै पछिमात्र अनुमान गरेँ । त्यो होचो कदको मान्छे श्यामप्रसाद शर्मा पो हुनुहुन्थ्यो कि ! तर त्यसबेला अनुहार राम्ररी ठम्याएको थिइनँ । पछि अनुमान मात्र गरेँ ।

वाम आन्दोलनको विद्यार्थी हुन थाल्दा शान्तदासद्वारा अनूदित ‘ओयाङ हाईको गीत’ पाना नच्यातियुन्जेल पढ्थ्यौं हामी । त्यसले पारेको प्रभाव शब्दमा वर्णन गर्ने सकिँदैन । शान्तदास दाइलाई भौतिक रूपमा नचिन्दै ‘ओयाङ हाईको गीत’ ले हामीलाई चिनाइसकेको थियो ।

मैले भेट्दा शान्तदास दाइ बालसाहित्यको प्रबर्द्धनमा कम्मर कसेर लागिसक्नु भएको थियो । यो क्षेत्रमा उहाँले गरेको योगदानलाई बालसाहित्यको इतिहासमा सुनौलो अक्षरले लेखिने छ । बालसाहित्य लेख्न उहाँले धेरैलाई प्रेरित गर्नुभयो । बालसाहित्यमा प्रगतिवादी चिन्तन समावेश गर्ने परम्परा नबसेको तत्कालीन अवस्थामा प्रगतिशील र वैज्ञानिक चिन्तनलाई सूक्ष्मढङ्गले जनताका बीचमा लाने अतुलनीय काम शान्तदासले गर्नुभएको छ । बालसाहित्यमा बेग्लै धार निर्माण गर्नुभयो शान्तदासले । सानासाना जस्ता लाग्ने कुराहरुले बालकहरूमा ठुलो प्रभाव पर्छ भनेर हामीलाई सचेत गराइरहनु भयो ।

सहयोग गर्नु पऱ्यो भने पुरै काँध थापेर सहयोग गर्ने बानी रहेछ उहाँको । मैले एकपटक उहाँबाट त्यस्तै सहयोग प्राप्त गरेँ । नेपाल बाल साहित्य समाजको नेतृत्व चयन गर्न आयोजना गरिएको एउटा साधारणसभा नेतृत्व छनौट गर्न असफल भयो । त्यसपछि अर्को साधारणसभा गर्ने जिम्मेवारी दिएर एउटा तदर्थ समिति निर्माण गऱ्यो । त्यसमा साथीहरूले मलाई अध्यक्षको जिम्मेवारी दिए । अन्य सदस्यहरूमा हुनुहुन्थ्यो - राधेश्याम लेकाली, गंगा कसजू, हरिप्रसाद भण्डारी । सदस्य सचिवमा विजयराज आचार्यलाई जिम्मेवारी दियो । चार महिनामा साधारणसभा गरेर हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी पाएका हामीले शान्तदास मानन्धर र प्रा. चुडामणि बन्धुजस्ता बालसाहित्यका हस्तिहरूको सहयोग र उचित मार्गदर्शन नपाएको भए हस्तान्तरण गर्न सम्भव नै थिएन । एकप्रकारले भन्ने हो भने नेपाल बाल साहित्य समाज लथालिङ्ग थियो । ती चार महिना प्रायः जसो म प्रत्येक हप्ता सुझाव र सल्लाह लिन शान्तदास दाइकहाँ पुग्थेँ ।

मैले बालसाहित्य लेखिन भन्दा पनि हुन्छ । चार पाँच वटा कविता र तीन चार वटा कथा लेखेँ हुँला सायद । तर जति जे लेखेँ त्यो सबै शान्तदास दाइकै प्रेरणाले लेखेँ । वास्तबिक रूपमा भन्नुपर्दा बालसाहित्य समाजमा बसेपछि र उहाँको सङ्गतले मैले बालसाहित्यको आवश्यकता बुझ्न सकेँ । त्यो भन्दा पहिले बाल साहित्यको गहिराई मैले बुझ्न सकेकै थिइनँ ।

एकदिन शान्तदास दाइले भेट्न खोज्नुभएको खबर उहाँका ज्वाइँ रामकृष्ण डंगोलले सुनाउनु भयो । वि. सं. २०८० बैशाख १० गते साहित्यकार कृष्णमोहन जोशीसँग सल्लाह गरेर शान्तदास दाइलाई भेट्न छाउनी पुऱ्यौं । निकै लामो समयसम्म बसेर उहाँसँग धेरै कुरा गऱ्यौं । त्यसदिन उहाँसँग मैले सानो भिडियो संवाद गरेको थिएँ उहाँकै निवासमा ।

प्रगतिशील लेखक सङ्घको नेतृत्वमा उहाँ अघिल्तिर कहिल्यै देखापर्नु भएन । तर पर्दापछाडि बाट उहाँको भूमिका महत्त्वपूर्ण रहेको कुरा मैले धेरैतिर बाट सुनेको थिएँ । वि.सं. २०३६ सालको प्रगतिशील लेखक सङ्घको पुनर्गठनमा पछाडिबाट उहाँको ठुलो भूमिका रहेको कुरा त्यसबेलाका अभियन्ताहरू स्वीकार गर्छन् । मैले उहाँसँग प्रगतिशील लेखक सङ्घको इतिहासको बारेमा केही जानकारी लिनु थियो । मूलत : वि.सं. २०१७ साल पछाडिको अवस्थामा केन्द्रित भएर । उहाँले प्रगतिशील लेखक सङ्घको नेतृत्व कहिल्यै लिनुभएन । तर सधैं पर्दा पछाडि बस्ने र निरन्तर आफ्नो उद्देश्यमा केन्द्रित हुने अघोषित नेता हुनुहुन्थ्यो उहाँ ।

त्यसदिन उहाँलाई मैले केही जिज्ञासा राखेको थिएँ - 'प्रलेसलाई अघि बढाउन वि.सं. २०१७ साल पछि केही प्रयत्न भएन ?'

'प्रयत्न भयो । सत्र सालको केही समय पछि मेरो श्यामप्रसादसँग भेट भयो ।
वि.सं. २०१७ साल पछि सम्पूर्ण राजनैतिक दल माथि प्रतिबन्ध लगाए महेन्द्रले । परिस्थिति अत्यन्तै अन्योलग्रस्त थियो । अब प्रगतिशील लेखक सङ्घलाई कसरी अघि बढाउने भनेर कन्या मन्दिरमा श्यामप्रसाद शर्मा, आनन्ददेव भट्ट, कृष्णचन्द्र सिंह प्रधान, गंगाप्रसाद प्रधान र मैले छलफल गऱ्यौं ।' उहाँले पुराना कुरा सम्झन एकछिन रोकिएजस्तो गर्नुहुन्थ्यो र फेरि भन्नुहुन्थ्यो ।

'सत्र साल पहिले पनि मेरो भेट हुन्थ्यो श्यामप्रसादसँग । बलराम श्रमजीविले पहिलेनै हाम्रो भेट गराइसक्नु भएको थियो । सत्र सालको घटना पछि चाहिँ पुष्पलालले उहाँलाई शान्तदाससँग सम्पर्क गर्नुहोस् भन्नुभएको रहेछ । त्यसबेला म अलिअलि साहित्यकार भइसकेको थिएँ । कथा लेख्थेँ, निबन्धहरू लेख्थेँ । अङ्ग्रेजीमा पनि निवन्धहरू लेख्थेँ । मैले वि.सं. २०१५ सालमा अङ्ग्रेजीमा दुइवटा पुस्तक लेखेको थिएँ । एकदिन गोपालप्रसाद रिमालसित भूमिका लेखाउन भनेर उहाँको घर गएँ । उहाँले मैले अङ्ग्रेजीमा लेखेको छैन । किन अङ्ग्रेजीमा लेखेको भनेर हप्काउनु भयो । त्यसैले मैले लेख्न मिल्दैन, नेपालीमा लेख अनि लेखिदिन्छु भन्नुभयो । मलाई उहाँको त्यो कुरा राम्रै लाग्यो । गोपाल प्रसाद रिमालले भनेपछि मैले अङ्ग्रेजीमा लेख्न बन्दै गरिदिएँ । गोपाल प्रसाद रिमाल बौलाहा थिए । उनलाई म धेरै सम्मान गर्छु । उनले धेरै त्याग गरे । त्यो कुरो मलाई थाहा छ ।'

मैले जान्न खोजेको प्रसङ्गभन्दा शान्तदास दाइ अन्तै मोडिनुभयो । त्यही पनि यी कुराहरू पनि मेरो रुचीका विषय थिए ।

'त्यसबेला गोपाल प्रसाद रिमालको बेग्लै पार्टी थियो होइन ?' विषयान्तर भए पनि यही विषयलाई बढाउन चाहेँ मैले ।

'उहाँको बेग्लै पार्टी पनि थियो क्यार ! पहिले त कांग्रेसमैं हुनुहुन्थ्यो । त्यसबेलाका धेरैजसो मानिसहरू कांग्रेसमैं त थिए नि ! पुष्पलाल पनि पहिले कांग्रेसमैं हुनुहुन्थ्यो । कम्युनिष्ट पार्टी खुलेको त छ सालमा मात्रै हो नि ! त्यही प्रभावले पुष्पलाल पछि पनि कांग्रेससँग मिलेर जानुपर्छ भन्नुहुन्थ्यो । त्यही प्रभावले हो ।'

शान्तदास मानन्धर अब प्रगतिशील लेखक सङ्घ र श्यामप्रसादको प्रसङ्ग छाडेर गोपालप्रसाद रिमालमा केन्द्रित हुन थालेपछि मैले पनि त्यही सेरोफेरोमा उहाँलाई सोध्न थालेँ ।

'गोपालप्रसाद रिमालसँग दाइको कस्तो सम्बन्ध थियो ?'

'राम्रो सम्बध थियो । उहाँ कहिलेकाहीँ शान्तदास तिमीसँग एक रुपैयाँ छ ? भन्नु हुन्थ्यो । म छ भन्थेँ । अहिलेको न्युरोडको उता एउटा होटल खुलेको थियो । उहाँलाई थुक्पा मन पर्दो रहेछ । उहाँ खानुहुन्थ्यो अनि मलाई सोध्नु हुन्थ्यो 'तिमी नखाने ?' म भरखरै खाएर आएको दाइ भन्थेँ । त्यसपछि उहाँ केही बोल्नु हुन्नथियो र खानुहुन्थ्यो । उहाँ साह्रै त्यागी मान्छे । उहाँलाई परिवारका मान्छेले बौलाहा बनाए । तैंले केही गरिनस् भने । यस्तो भएन, त्यस्तो भएन भने । आखिर बौलाहा बनाए । धर्मरत्नजस्तो छुच्चो मान्छे मन्त्री भयो ।'

शान्तदास दाइले कुराको सिलसिला फेरि धर्मरत्न यमीतिर मोड्नुभयो ।

' दाइले , के गोपालप्रसाद रिमाल मन्त्री हुनुपर्थ्यो भन्नु भएको ?' मैले अरू प्रष्ट बनाउन चाहेँ ।

'होइन ! रिमाल धेरै त्यागी मान्छे ।' यति भन्नु भयो र धर्मरत्न यमीतिरै केन्द्रित हुनुभयो ।

अझै पनि शान्तदास दाइलाई मैले मेरो जिज्ञासातिर आकर्षित गर्न सकिन भन्ने लागिरह्यो ।

'दाइलाई मैले प्रगतिशील लेखक सङ्घको सन्दर्भमा केही कुरा गर्दै थिएँ ।' मैले उहाँलाई मेरो पहिलो जिज्ञासामा फर्काउन खोजेँ ।

' वि.सं.२००९ सालमा सेवा पत्रिकामा एउटा लेख पठाएको थिएँ । त्यसबेला श्यामप्रसाद वीरगञ्जमा सेवा पत्रिका चलाउनु हुन्थ्यो । मेरो लेख उहाँले छाप्नु भएन । अहिले छाप्न मिल्दैन तर राम्रो छ लेख्दै जानुस् भन्नुभयो । उहाँले साहित्य नामको पत्रिका पनि प्रकाशन गर्नुहुन्थ्यो । गंगा प्रसाद प्रधानले आन्तोन चेखवका कथाहरू अनुवाद गर्नुहुन्थ्यो । वि.सं . २०१८ सालमा China literature भन्ने एउटा पत्रिकाले लुसुन विशेषाङ्क निकालेको थियो । त्यो पढेपछि मैले लुसुनलाई चिनेँ र लुसुनका साहित्य खोजीखोजी अनुवाद गर्न थालेँ । त्यसपछि म अनुवादक पनि भनेर चिनिएँ । त्यही क्रममा श्यामप्रसादकै निर्देशनमा मैले प्रगतिशील लेखक सङ्घलाई सहयोग पुऱ्याइरहेँ । म प्रगतिशील लेखक सङ्घमा लागे पछि बालसाहित्यको आवश्यकता महसुस भयो र त्यतातिर लागेँ ।'

'प्रगतिशील साहित्यमा सत्र सालको प्रभाव कस्तो रह्यो ?' मैले उहाँबाट थप जानकारी खोजिरहेको थिएँ ।

'थुप्रै प्रभाव पऱ्यो । प्रगतिशील भनाउँदाहरू धमाधम पञ्चायततिर भाग्न थाले । पहिले पहिले धर्मराज थापा, कृष्णचन्द्र सिंह प्रधान, डा. तारानाथ शर्माहरू ठुलाठुला क्रान्तिकारी कुरा गर्थे । पछि त कम्युनिष्टलाई सराप्न थाले । डा. तारानाथ शर्मा पहिले राजाको कविताका विरुद्ध आलोचना गर्थे । पछि पञ्च भए । एकपटक कस्तो भयो भने, टेक बहादुर पन्थी र खड्ग बहादुर सिंहसँग मेरो परिचय भएको थियो । खड्गबहादुर सिंह पछि गृहमन्त्री पनि भयो क्यारे ! उसले मलाई पुष्पलालसँग भेट गराइदिनुस् भन्थे बारम्बार । मैले पुष्पलाललाई सोधेँ । हुन्छ भेटौं भन्नुभयो । मेरो कोठामा भेटघाट गराएँ । कस्तो फटाहा मान्छे रहेछ त्यो । त्यसको दुइचार दिनमा मन्त्री पो बन्यो । मेरो त्यसबेला रूपरेखा पत्रिकामा निरन्तर कथा छापिन्थ्यो । त्यही नाताले टेकबहादुर पन्थीसँग हिमचिम बढ्यो । पन्थी कांग्रेसको समानान्तर खोल्ने मान्छे हुन् । उनी वर्माबाट आएका थिए । उनको शरिरमा गोली थियो । निकालेको थिएन । उनलाई पञ्चायतले उपत्यकाबाट बाहिर जान नपाउने गरी स्थानहद गऱ्यो । उनी मेरो घरमा आउँथे र भात बाँडेर खान्थ्यौं । केही समयपछि उनी भूमिसुधार अधिकारी बने । यसरी धेरै मानिसहरू आफ्नो बाटो छाडे ।'

मैले शान्तदास मानन्धर पनि कुनैबेला काठमाण्डु नगरपालिकाको वडा अध्यक्ष हुनुभएको थियो भन्ने सुनेको थिएँ , सोधेँ ।

'दाइ पनि पञ्चायतमा वडा अध्यक्ष बन्नु भएको थियो क्यारे ! के पार्टीले पठाएको हो ?'

'पुष्पलाल लगायतका साथीहरूले चुनावमा भाग लिऔं भन्नुभयो । त्यसपछि भाग लिएर वडाअध्यक्ष बनेँ । दोस्रो पटक पनि उठेर जितेँ । तेस्रो पटक चाहिँ श्याम प्रसादजीले अब छाडिदिनुस् भन्नुभयो । मैले छाडिदिएँ । त्यसबेला काठमाण्डौमा सत्रवटा वडा थिए । नरदेविका गणेशमान श्रेष्ठ भन्ने मान्छे मेयर थिए । त्यसबेला नगरपालिकाको प्रधानपञ्च भनिन्थ्यो ।' उहाँले वास्तविकताको पोयो खोलिदिनु भयो ।

'कवि युद्धप्रसाद मिश्रलाई पनि बालसाहित्य लेख्न प्रेरित गर्नुभएको हो ?' कतैकतै सुनेको थिएँ र सोधेँ मैले ।

'उहाँ मलाई असाध्यै माया गर्नु हुन्थ्यो । एकदिन उहाँकहाँ जाँदा पानीमा निथ्रुक्कै भिजेँ । मलाई विरामी पर्छु कि भन्ने डर लाग्यो । तर उहाँले पानीले भिजेर केही हुँदैन । यो प्राकृतिक स्नान हो भन्दै एउटा रुमाल दिनुभयो । अनि भन्नुभयो - पानी परेको बेला म घण्टौं बाहिर बसेर रुझ्ने गर्छु ।' कवि मिश्रको स्वभाव सम्झेर उहाँ हाँस्नुभयो ।

'अनि उहाँको बालसाहित्य ?' मैले फेरि सम्झाएँ ।

'एकपटक कवि युद्ध प्रसाद मिश्रले बालकहरू हो होस सम्हाल भनेर लेख्नु भएको रहेछ । मैले यो भएन गुरू भनेर कसरी भनौं भन्ने लागिरहेको थियो । उहाँ जस्तो मान्छेलाई । मैले त्यसपछि अफ्टयारो मानीमानी सोधेँ । 'गुरू ! तपाईं बच्चाहरूलाई माया कसरी गर्नुहुन्छ ? आदर गरेर गर्नु हुन्छ कि कसरी गर्नुहुन्छ ? भन्ने कुरा यो कविताबाट बुझिन्छ । कम्युनिष्ट सोसाइटी भनेको नै बच्चाहरूलाई गर्ने मायायुक्त आदर र बुढाहरुलाई आदरयुक्त माया गर्ने हो । अहिले हामीले ठिक उल्टा गरिरहेका छौं । माया गर्छौं आदर गर्दैनौं । आदर गर्छौ माया गर्दैनौं । यो कविता आदेशात्मक भयो ।' भनें मैले । उहाँले त्यसपछि लेखेका कवितामा सच्याउनु भयो ।' यो सुनाएर उहाँ खुसी हुनुभयो ।
'मेरो पहिलो बालकविता पनि दाइले चार लाइन काट्न लगाउनु भएको सम्झना छ ?' मैले मेरै अनुभवको कुरा गरेँ ।

'हो ! हो !' शान्तदास दाइ मज्जाले हाँस्नुभयो । र फेरि भन्नुभयो - 'हामी समाज फेर्न हिँडेका छौं । नाम कमाउन हिंडेका होइनौं । हामीलाई जथाभावी लेख्ने छुट छैन ।'

कृष्णमोहन जोशीजी र मैले स्वीकृतिमूलक टाउको हल्लायौं । यो छोटो सम्बादको रेकर्ड यत्तिकै मात्र थियो तर पनि म अहिले पनि कहिलेकाहीँ सुन्छु र प्रेरणा ग्रहण गर्छु ।

मलाई याद छ, यस पछिको अर्को महिना कृष्णमोहन जोशी र म फेरि शान्तदास दाइको निवास छाउनी पुगेका थियौं । उहाँलाई प्राकृतिक चिकित्सा पद्धति, योगाशन र प्राणायाममा धेरै विश्वास थियो । प्राणायामका बारेमा उहाँले एउटा पुस्तक पनि तयार गर्नुभएको थियो । उहाँको सिफारिसमा मैले केही आयुर्वेदिक औषधीहरू प्रयोग गरेको छु । विभिन्न कालखण्ड गरेर उहाँले आफूले लेख्नुभएका र प्रकाशन गर्नुभएका सम्पूर्णजसो पुस्तकहरू मैले उपहारस्वरूप प्राप्त गरेको छु ।

शान्तदास मानन्धरलाई साहित्यकारका रूपमा मात्र बुझियो भने त्यो आंशिक सत्यमात्रै हुन्छ । साहित्यमा पनि उहाँलाई अहिले बालसाहित्यकारका रूपमा मात्र हेर्ने गरेको देख्छु । उहाँ सचेत राजनीतिकर्मी हुनुहुन्थ्यो र साहित्यका अन्य विधाहरु कथा, निबन्धमा पनि उहाँको महत्त्वपूर्ण योगदान छ । एउटै कुरा के हो भने राजनीतिमा उहाँ कुनै पार्टीतिर केन्द्रित भएर बसेको देखिँदैन । पछिल्लो समय उहाँ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार हुन्थ्यो । मसँगको कुरामा उहाँले माओवादी केन्द्रले अख्तियार गरेका कैयौं नीतिप्रति असहमति जाहेर गर्नुभएको थियो । अन्तिममा माओवादी केन्द्रबाट पनि अलग रहनु भयो ।

उहाँ राजनीतिलाई सूक्ष्म ढङ्गले विश्लेषण गर्नुहुन्थ्यो । असहमतिलाई तुरुन्तै जाहेर गर्नुहुन्थ्यो । उहाँ नेकपा (माओवादी केन्द्र)को सल्लाहकार भएको बेला आफ्ना असहमति सुनाउँन मलाई फोन गर्नुहुन्थ्यो । धेरै कुरा सुनिदिएँ मात्र मैले । कुनै प्रतिक्रिया नजनाइ सुनेँ मात्र धेरैपटक । उहाँसँग सम्बाद गर्न अलिकति धक लाग्थ्यो । आफ्नो कुरा राखिसके पछि 'भन्नुस् त हो कि होइन' भन्नुहुन्थ्यो । कति कुरा सहमत हुन नसक्ने पनि हुन्थे । ठिक हो भन्ने कुरै हुँदैनथ्यो । धेरै जसो राजनीतिक कुरा हुन्थे ।

समग्रमा शान्तदास मानन्धर सरल मान्छे हुनुहुन्थ्यो । एउटा घटनाले शान्तदास दाइ जटिल पनि हुनुहुँदो रहेछ भन्ने लाग्यो । जनकप्रसाद हुमागाईंसँग उहाँको राम्रो सहकार्य र सम्बन्ध थियो भन्ने मलाई थाहा थियो ।जनकप्रसाद हुमागाईंलाई क्यान्सर भएको प्रलेसको एउटा बैठकमा सामुहिक रूपमा करिवकरिव पहिलो सूचना पाउने मान्छे थिएँ म । त्यसैदिन शान्तदास दाइकहाँ एउटा कामले गएको थिएँ । मैले त्यो खबर उहाँलाई सुनाएँ । शान्तदास दाइको प्रतिकृयाले उहाँ सरलमात्र होइन कुनै कुनै ठाउँमा जटिल भएर पनि प्रस्तुत हुनुहुँदो रहेछ भन्ने लाग्यो ।

एकपटक मलाई रिस पनि उठ्यो शान्तदास दाइसँग । त्यसको एउटा कारण थियो । हेटौंडाबाट श्यामप्रसाद शर्मा स्मृति ग्रन्थ प्रकाशन गर्ने निर्णय गर्नुभयो साथीहरूले । काठमाण्डौबाट सामग्री सङ्कलन गर्ने जिम्मा मलाई दिनुभयो । को कससँग लेख माग्ने भनेर मैले शान्तदास दाइसँगै धेरै सल्लाह लिएँ त्यसबेला । श्यामप्रसाद शर्मा भूमिगत बस्नुभएका घरका सहयोगीहरू र उहाँको नजिक रहेका साथीहरूको सूची तयार गरेँ । धेरैले त्यसमा लेख लेख्नु भयो । तर शान्तदास दाइले लेख्नु भएन । मैले धेरै कर गरेँ तर लेख्नु भएन । तनहुँबाट शेषमणि आचार्यले उहाँको लेख नछुटाउनु होला भनेर मलाई सचेत गराउनु हुन्थ्यो । यता शान्तदास लेख्नै नमान्ने । पछि श्यामप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष कौशल पाण्डे र कृष्णमोहन जोशीसँग मैले गुनासो गरेँ । श्यामप्रसाद शर्मासँग उहाँका केही असहमति रहेछन् । जसलाई बाहिर ल्याउन उहाँलाई रुची नभएको कुरा सुनेँ । पहिले शान्तदास दाइ पनि श्यामप्रसादले नेतृत्व गर्नुभएको पार्टीमैं हुनुहुन्थ्यो । २०४७ साल पछि श्यामप्रसादले आफ्नो नेतृत्वको पार्टी विघटन गर्नुभयो । शान्तदास पार्टी विघटन गर्न नहुने पक्षमा हुनुहुँदो रहेछ । त्यस्तै केही मतान्तर रहेछन् । लेखेपछि ती कुराहरू ल्याउनुपर्ला भनेर होला, त्यसैले नलेख्नुभएको । कौशल पाण्डे र कृष्णमोहन जोशीको एउटै अनुमान थियो । तर पनि श्यामप्रसादलाई अत्यन्तै सम्मान गर्नुहन्थ्यो शान्तदास ।

शान्तदास मानन्धर आफ्नो प्रशंसामा समय खेर फाल्नु हुन्नथ्यो । म एउटा घटना बारम्बार सम्झन्छु । पारिजात स्मृति केन्द्रले पहिलोपटक उहाँलाई पारिजात बालसाहित्य सम्मान प्रदान गऱ्यो । उहाँले आफ्नो मन्तव्यमा - 'बालसाहित्यमा समाजवादी यथार्थवादी धारालाई मुखर ढङ्गले प्रस्तुत गर्ने काममा मेरो भन्दा खगेन्द्र संग्रौलाको महत्वपूर्ण योगदान छ । म भन्दा यो सम्मानको हकदार खगेन्द्र संग्रौला हुनुपर्थ्यो' भन्नुभयो । मानिसहरूले हत्तपत्त यसरी आफ्नो र अर्काको तुलना गरेर अर्को स्रष्टालाई अब्बल घोषणा गरेको कमै सुनिन्छ । शान्तदास दाइ त्यही थोरै स्रष्टा मध्येको एक हुनुहुन्थ्यो ।

व्यक्तिगत जीवनका आवश्यकतालाई थाती राखेर एकजना मानिसले समाजका लागि अधिकतम गर्न सक्ने काम उहाँले गर्नुभयो । सादा जीवन तथा उच्च विचारको सिद्धान्तलाई साँच्चैको आत्मसात गर्नुभयो । मनले भित्रैबाट आदर गर्ने थोरै मान्छेको सूचीमा शान्तदास पर्नुहुन्थ्यो । उहाँको निधन पछि अब त्यो सूची पनि घटेर थोरै बाँकी रह्यो । निकै थोरै । अब त्यो सूचीको संख्या एउटा हातको औंला जति पनि बाँकी छैन ।

०००

No comments:

Post a Comment