Sunday, December 29, 2024

संकटकालमा सेनाका जासुसलाई भट्ट सरको एक कप चिया - मातृका पोखरेल

 


मैले प्रतिशील साहित्यको कखरा सिक्न थाल्दा साहित्यकार आनन्ददेव भट्ट नेपाली साहित्यमा बौद्धिक वाम व्यक्तित्वका रूपमा चर्चामा हुनुहुन्थ्यो। म कलेज पढ्न विराटनगर पुगेपछि साहित्य अध्ययनको लागि साथीहरूले केही पाठ्यसूची बनाइदिनु भएको थियो। त्यो समय पञ्चायती व्यवस्थाको जगजगी थियो। बोल्न र लेख्न प्रतिबन्ध थियो। त्यस बेला आनन्ददेव भट्टलाई मैले अँध्यारोको जुनकिरीका रूपमा बुझेको थिएँ।

२०४५/४६ सालतिर ‘वेदना’ साहित्यिक त्रैमासिकको पूर्णाङ्क–४५/४७ मा मेरो कविता ‘आकाश! तिमीलाई निम्ता छ’ प्रकाशित भएको थियो। प्रकाशनका दृष्टिले त्यो मेरो तेस्रो कविता थियो। पछिल्लो अङ्कमा आनन्ददेव भट्टज्यूको समीक्षास्तरको एउटा पाठक प्रतिक्रिया छापियो। त्यहाँ उहाँले ‘भाउजू’ कविताको तुलनामा मेरो कविता मौलिक छ  भनेर लेखिदिनु भयो। उहाँले तुलना गर्नुभएको कविता कृष्ण सेन ‘इच्छुक’को थियो।

कृष्ण सेन ‘इच्छुक’ प्रगतिशील कविका रूपमा स्थापित भइसक्नु भएको थियो र विद्यार्थी आन्दोलनमा पनि उहाँको नाम चर्चाको शिखरमा थियो। मलाई स्वयं भने ‘भाउजू’ कविताले निकै आकर्षित गरेको थियो। सिकारु अवस्थामा आनन्ददेव भट्टको त्यो प्रतिक्रियाले साहित्य सिर्जनामा अघि बढ्न मलाई ठूलो प्रेरणा दिएको हुनुपर्छ। व्यक्तिगत रूपमा परिचित हुनुभन्दा अघि उहाँलाई मैले यसरी चिनेको थिएँ।


मातृका पोखरेल

प्रगतिशील लेखक संघ (प्रलेस)को छैटौं राष्ट्रिय सम्मेलनमा भट्ट अध्यक्ष हुनुभयो। मलाई पनि कोषाध्यक्षको रुपमा उहाँको नेतृत्वमा काम गर्ने अवसर मिल्यो। त्यो कार्यकाल हाम्रा लागि निकै कष्टपूर्ण थियो। सङ्कटकालको नाममा प्रगतिशील लेखकहरूलाई जथाभावी गिरफ्तार गरेर बेपत्ता बनाइएको थियोे। त्यही बेला प्रलेसका सदस्य कृष्ण सेन 'इच्छुक'लाई गिरफ्तार गरेर सरकारले हत्या गर्‍यो। 

प्रलेसका महासचिव घनश्याम ढकाल हुनुहुन्थ्यो। केही बाध्यताहरूले गर्दा उहाँ काममा जुट्ने अवस्था थिएन। उहाँको छोरो विजय ढकाललाई त्यही बेला तत्कालीन शाहीसेनाले हत्या गरेको थियो। त्यसैले महासचिव ढकालको जीवन आरोह–अवरोह झेल्दै अप्ठ्यारो अवस्थामा थियो। अध्यक्ष आनन्ददेव भट्टसहित उपाध्यक्ष रुद्र खरेल, सचिव रमेश भट्टराई र मलगायत केही न्यून साथीहरूको सक्रियताले मात्र प्रलेसको अस्तित्व धान्नुपर्ने बाध्यता थियो। अवस्था ज्यादै चुनौतीपूर्ण थियो।

उमेर र स्वास्थ दुवै कारणले हुन सक्छ, भट्ट सर भर्खरै निर्णय गरेका कुराहरू केही समयपछि बिर्सिहाल्नुहुन्थ्यो। त्यसैले उहाँ महत्त्वपूर्ण कुराहरु नोट गरेर बोक्नुहुन्थ्यो। त्यसो गर्दा पनि उहाँको स्मरण शक्तिले हामीलाई ठाउँ–ठाउँमा अप्ठ्यारो पाथ्र्यो। कहिलेकाहीँ त अहिले भनेको कुरा ‘मैले कहाँ भनें, भनेकै छैन’ भनिदिनु हुन्थ्यो। उहाँमा यस्ता समस्या भए पनि काम गर्न जटिलता भने कहिल्यै महसुस भएन। त्यसको मूल कारण थियो, उहाँको नियतमा तिकडमको कुनै गन्ध आउँदैनथ्यो। 

आनन्ददेव भट्ट प्रलेस अध्यक्ष हुँदाको एउटा रोचक घटना म जहिले पनि सम्झिरहन्छु। संकटकालको समय थियो। पूर्ण विराम, नवीन विभास लगायत साहित्यकारहरुलाई राज्यले बेपत्ता बनाएको थियो। उहाँहरुको रिहाइका लागि प्रलेसले पत्रकार सम्मेलन गरेपछि तत्कालीन प्रलेस केन्द्रीय कार्यालय डिल्लीबजारमा एक जना गुप्तचरले निरन्तर निगरानी गर्न थाले। हामीले कार्यालय खोल्न पुग्नेबित्तिकै ती व्यक्ति माथ्लोतलामा रहेको कार्यालय कोठा अघिल्तिर आइपुग्थे।

भट्ट सर कार्यालयमा नियमित जानुहुन्थ्यो। उपाध्यक्ष रुद्र खरेल, सचिव रमेश भट्टराई र म पनि प्रायः जान्थ्यौँ। भट्टसर चिया मगाउँदा ती गुप्तचरलाई पनि बोलाएर खुवाउनुहुन्थ्यो। उहाँ ती मान्छेसँग भन्नुहुन्थ्यो, ‘ल आउनुस्, चिया खाउँ भाइ। तपाईंलाई हामीले चिनेकै छौं। तपाईं पनि हाम्रो दाजुभाइ त हो नि।’ केही नबोली साह्रै अप्ठ्यारो मान्दै ऊ कोठाभित्र पसेर ढोकाको छेउमा अढेस लागेर बस्थ्यो र चिया खान्थ्यो। चिया खाउन्जेल ऊ हाम्रो अनुहारतिर हेर्दै हेर्दैनथ्यो।  

त्यसरी दुई तीन पटक चिया खायो। त्यसपछि उसलाई निकै अप्ठ्यारो लागेछ क्यार, हाम्रो कोठा अघिल्तिर बस्नै छाडिदियो। सायद तल सडकतिर कतै बसेर हाम्रो निगरानी गर्थ्यो ।

मातृका पोखरेल, आनन्ददेव भट्ट र निनु चापागाईं

भट्ट सर नयाँ र पुरानो पुस्ताको राम्रो सम्बन्धसेतु हुनुहुन्थ्यो। पुरानो पुस्ताबाट नयाँ पुस्ताले सिक्नुपर्ने विषयमा पनि सचेत हुनुहुन्थ्यो। मलाई एउटा घटनाको राम्रो र प्रेरणादायी याद छ। उहाँ अध्यक्ष भएकै कार्यकालमा प्रलेसले विराटनगरमा एउटा कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रम सकिएपछि उहाँले मलाई ‘तपाईंलाई लिएर एक ठाउँमा लिएर जानुछ’ भन्नुभयो र धरान लिएर जानुभयो। त्यस रात हामी पूर्वका प्रसिद्ध कम्युनिस्ट बुद्धिजीवी बीए कृष्ण श्रेष्ठको घरमा बस्यौं। 

आनन्ददेव भट्टसँग बीए कृष्ण श्रेष्ठसँगको त्यो रातभरको छलफल र चर्चा मैले सुन्ने मौका पाएँ। उहाँहरूबीचको त्यो छलफल र चर्चाले पूर्वको कम्युनिस्ट र साहित्यिक आन्दोलन बुझ्न मलाई धेरै मद्दत पुग्यो। भोलिपल्ट बिदा हुने बेलामा भट्टज्यूले मलाई भन्नुभयो– ‘बेलाबेलामा आएर उहाँलाई भेट्दै गर्नुहोला।’ त्यसपछि हामी काठमाडौं फर्कियौँ।

प्रलेस साझा संगठन थियो र अहिले पनि त्यही स्वरूपमा क्रियाशील छ। उहाँले प्रतिनिधित्व गर्नुभएको धार र मैले प्रतिनिधित्व गरेको धार बेग्लाबेग्लै थिए। कतिपय मतमतान्तर हुने विषय भए पनि उहाँको चोखो र निष्कलंक स्वभावले काममा कुनै बाधा पुग्दैनथ्यो। आफूलाई लागेको विषय उहाँलाई सहमत गराउन सक्यो भने त्यो कुरामा आफैं बहस गरिदिनु हुन्थ्यो।


उहाँले प्रतिनिधित्व गर्नुभएको धार र मैले प्रतिनिधित्व गरेको धार बेग्लाबेग्लै थिए। कतिपय मतमतान्तर हुने विषय भए पनि उहाँको चोखो र निष्कलंक स्वभावले काममा कुनै बाधा पुग्दैनथ्यो। आफूलाई लागेको विषय उहाँलाई सहमत गराउन सक्यो भने त्यो कुरामा आफैं बहस गरिदिनु हुन्थ्यो। 

भट्ट कपटरहित मानिस हुनुहुन्थ्यो। नयाँ पुस्ताले मात्र नभएर नेपालको राजनैतिक आन्दोलनका नेताहरूले समेत उहाँबाट सिक्नुपर्ने आचरणको पाटो महत्वपूर्ण छ। त्यसो भए राष्ट्रका लागि धेरै ठूलो फाइदा हुन्छ। कपट, षड्यन्त्र र घमन्डको कुनै गन्ध नआउने एउटा फरक  मानिससँग त्यसबेला मैले लगातार तीन वर्ष सङ्गत गर्ने अवसर पाएँ। उहाँअघि कमरेड निर्मल लामाले यस्तै निश्चल मान्छेको रूपमा मेरो मानसपटलमा छाप छोड्नुभएको थियो। 

प्रलेसको त्यो  कार्यकालपछि २०६२/६३ को जनआन्दोलनमा भट्ट सर लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चको अध्यक्ष सभाको सदस्य हुनुहुन्थ्यो। म त्यसको सचिव थिएँ। त्यसबेला उहाँ वृद्धअवस्थामा पुग्नुभएको थियो। तर, राजा ज्ञानेन्द्रको निरङ्कुशताविरुद्ध सडकमा हुने प्रत्येक कार्यक्रममा उहाँको जाँगर कुनै युवाको भन्दा कम हुँदैनथ्यो। उहाँलाई सम्झिँदा अहिले पनि मलाई उत्साह पैदा भएको बोध हुन्छ। 

भट्ट सर कम्युनिस्ट आन्दोलनका अहिलेका कार्यकर्ताले आम रूपमा भोग्ने गरेको ‘खासखुसे संस्कृति’बाट पूर्णतया पृथक हुनुहुन्थ्यो। खासखुसे संस्कृतिले गुट बनाउँछ। गुटले सत्यतथ्यको खोजी गर्दैन। उहाँजस्तो निश्चल मान्छेहरूको पुस्ताले हुर्काएको नेपालको कम्युनिस्ट आन्दोलनमा कहाँबाट ऐंजेरु पलाउन सुरु गर्‍यो, यो समीक्षाको विषय हो।

मलाई लाग्छ आनन्ददेव भट्ट बनावटी कम्युनिस्ट नभएर ‘अर्ग्यानिक’ कम्युनिस्ट हुनुहुन्थ्यो। सच्चा बौद्धिक कम्युनिस्टले फरक विचार राख्ने मानिससँग सिँगौरी मात्र खेल्न खोज्दैन, छलफल र संवाद गरेर सत्यको नजिक पुग्न खोज्छ। यहीँनेर  आनन्ददेव भट्ट आम कम्युनिस्टहरूको भिडमा नितान्त पृथक देखिनुहुन्थ्यो।

विशिष्ट वाङ्मयसेवी एवं वरिष्ठ पत्रकार भैरव रिसालले प्रत्येक भेटमा मसँग भनिरहनु हुन्थ्यो, ‘आनन्ददेव भट्टले नेपालको प्रगतिशील साहित्यलाई संगठित गर्ने काममा धेरै महत्त्वपूर्ण काम गर्नुभएको छ। प्रलेसले उहाँको कदर गर्न नबिर्सियोस्!’ हाम्रो पुस्ताले भट्ट सरको योगदान धेरै सुन्यो पनि। भैरव रिसालको यो सल्लाहलाई उचित ठानेर प्रलेसले गत वर्ष असोजमा उहाँको अभिनन्दन गरेको थियो।

उहाँको ८४औं जन्मोत्सवको अवसरमा प्रलेसको मूल आयोजना र अन्य ८५ साहित्यिक संघ संस्थाको सह-आयोजनामा राजधानीमा भव्य अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको थियो। उहाँको ८५औं जन्मदिनमा सार्वजनिक गर्ने योजनाका साथ करिब ६५० पेजको अभिनन्दन ग्रन्थको तयारी अन्तिम चरणमा पनि पुगेको थियो। त्यो अभिनन्दन ग्रन्थ हामीले उहाँलाई देखाउन सकेनौं। गएको १४ भदौमा उहाँ हामीबाट सदाका लागि बिदा हुनुभयो। 

000

www.nepallive.com बाट साभार

--------------------------------------------

मातृका पोखरेलको फेसबुक वालबाट

Sunday, December 15, 2024

ताराकान्त सर ! मुक्तिनाथ साँच्चै टाढा छ - मातृका पोखरेल














सोचिरहेको छु, प्रा.डा. ताराकान्त पाण्डेयको बारेमा लेख्न कहाँबाट सुरू गरौं ? केही घटनाहरू जुलुशजस्तै बनेर एकाएक अघिल्तिर आउँछन् । दिनहरू बित्दै छन् । उहाँसँगको पहिलो भेटको सम्झना गर्न खोज्छु । तर यही बेलामा भएको थियो पहिलो भेट भनेर ठम्याउन सक्दिन । प्रतिभा - प्रवाहका आरम्भका दिनहरूमा फर्किन्छु । उहाँ उद्घोषण गरिरहनु भएको, कविता सुनाइरहनु भएको , समीक्षा गरिरहनु भएको पातलो शरीरको झझल्को आइरहन्छ । त्यो भन्दा पहिले पनि उहाँलाई भेटेजस्तो लाग्छ । उहाँको ढल्कोपाखाको कोठाको याद खुबै आउँछ । एउटै सानो कोठामा बसेको परिवार । उहाँकी छोरी तितिक्षा सानी थिइन् । शिलाजी तीनताक सक्रिय कवि हुनुहुन्थ्यो । त्यही सानो कोठामा स्टोभमा चिया पकाएर खाएको घुर्मैलो सम्झना छ । पक्कै नजिकको सम्बन्ध भएपछि मात्र नियमित कोठामा गइन्छ । त्यसैले ढल्कोपाखाको भेट पनि पहिलो होइन जस्तो लाग्छ । जे होस् , उहाँसँगको भेट पञ्चायतको समयमैं अर्थात ०४४ / ४५ सालतिरै भएको थियो । त्यसपछि उहाँको निधन नहुन्जेल कहिले पातलो र कहिले बाक्लो सम्बन्धले हामी एक-आपसमा नजिक भयौं ।


ताराकान्त पाण्डेय र मेरा बिचमा कहिले नजिकजस्तो कहिले टाढाकोजस्तो एकप्रकारको सम्बन्ध रह्यो । त्यस्तो सम्बन्ध हुनुको पछाडि नेपालका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूमा हुर्किने गरेको मनोवैज्ञानिक प्रभाव थियो । जुन प्रभाव हाम्रा वरिपरि निरन्तर नचिरहन्थ्यो र अहिले पनि नाचिरहेकै छ । त्यही प्रभावमा थियौं हामी । वामपन्थी आन्दोलनका हामी कार्यकर्ताहरूलाई नजिक वा टाढा बन्न र बनाउन हाम्रो स्वभाव अनि व्यवहारमात्र जिम्मेवार हुँदैनथ्यो । म संलग्न पार्टी नेतृत्वले ताराकान्त सर संलग्न पार्टीसँग कस्तो व्यवहार देखाउँछ , हाम्रो नजिक टाढाको सम्बध त्यसैले निर्धारण गरिदिन्थ्यो । हामी हाम्रो दिमाग खियाएर नजिक वा टाढाको कस्तो सम्बन्ध बनाउने भन्ने कुरामा कमै प्रयत्नशील हुन्छौं भन्ने मेरो बुझाइ छ । कहिलेकाहीँ हामी हाम्रो वामपन्थी आन्दोलनले हुर्काएको त्यही मनोवैज्ञानिक प्रभावको सिकार हुन्थ्यौं । यही मनोवैज्ञानिक प्रभावबाट सिर्जित एउटा घटना म बारम्बार सम्झिरहन्छु । वि.सं. २०४७ सालमा नेकपा (चौम) , नेकपा (मशाल) र सर्वहारावादी श्रमिक संगठनको बीचमा एकता भएर नेकपा (एकता केन्द्र ) को निर्माण भयो । ताराकान्त पाण्डेय नेकपा (मशाल) को कार्यकर्ताको रूपमा र म नेकपा (चौम) को कार्यकर्ता भएर एकताकेन्द्रमा जोडिन आइपुग्यौं । एकताकेन्द्र बनेपछि धेरै जनवर्गीय संगठनहरूको एकता भइसकेको थियो तर नेकपा (चौम) समार्थित इन्द्रेणी सांस्कृतिक समाज र नेकपा (मशाल) समर्थित अखिल नेपाल जनसांस्कतिक सङ्घका बिचमा एकता हुन सकेन । पार्टी नेताहरूले एकता गराउन ठुलै प्रयत्न गरेको हामी बुझ्थ्यौं । तर पनि एकता हुन सकेन । इसासको मूल नेतृत्व पारिजात दिदी र रायन दाइले गर्नुभएको थियो । रायन दाइ एकताको विपक्षमा मुखर रूपले प्रस्तुत हुनुभएको थियो भने पारिजात दिदीको चाहना पनि यी दुई संगठनको बिचमा एकता नहोस् भन्ने थियो अरे भनेर भित्रभित्र गाईंगुईं सुनिन्थ्यो । तर रायन दाइको जसरी पारिजात दिदीको मुखर धारणा कतै प्रकट भएन । यसैबिचमा अखिल नेपाल जनसांस्कृतिक सङ्घले २०४८ सालमा कीर्तिपुरमा एउटा राष्ट्रिय भेलाको आयोजना गऱ्यो । कविद्वय कृष्ण सेन र आहुतिसँगको विशेष निकटताको कारणले मलाई पनि अखिल नेपाल जनसांस्कृतिक सङ्घको राष्ट्रिय भेलामा जान भनियो । इन्द्रेणी सांस्कृतिक समाजसँग आबद्ध अन्य कसैलाई पनि उक्त राष्ट्रिय भेलामा बोलाइएको थिएन । भेला हुनुभन्दा एकदिन अघि कृष्ण सेन र आहुति मेरो कोठामा आउनुभएको थियो । तपाईंले भेलामा प्रतिनिधि बन्न जरूरी छ भन्नुभयो । शायद , मलाई भेलामा उपस्थित गराउन आहुतिजीले कृष्ण सेनलाई प्रेरित गर्नुभएको हुनसक्छ । त्यसरात उहाँहरू दुवै मेरै कोठामा बस्नुभयो । हामीले रातभर छलफल गऱ्यौं । दुवै सांस्कृतिक संगठनको एकता गर्नुपर्छ भनेर एउटै बिचार प्रकट गऱ्यौं । म इन्द्रेणी सांस्कृतिक समाजको सामान्य कार्यकर्ता मात्र थिएँ । भोलिपल्ट सेनजी र आहुतिजीसँगै म पनि कीर्तिपुर गएँ । भेलास्थलमा पुगे पछि मेरो उपस्थितिलाई लिएर केही साथीहरुले मूलत : कृष्ण सेनसँग असन्तुष्टि प्रकट गर्नुभयो । त्यो असन्तुष्टि प्रकट गर्नेमा ताराकान्त पाण्डेय पनि हुनुहुन्थ्यो । विचार र व्यवहारमा त्यति फराकिलो सोच भएको उहाँजस्तो मान्छेले कसरी त्यो ढङ्गले सोच्नुभयो भनेर म भित्र अहिलेसम्म प्रश्न उठिरह्यो । हामीलाई हाम्रो आन्दोलनले यसैगरी हुर्किन प्रेरित गऱ्यो । जसलाई हामीले चिर्न सकेनौं र खोजेनौं पनि । हाम्रो सम्बन्धमा बेलाबेलामा यो प्रभावले प्रसस्तै भूमिका खेल्यो । हामीले पनि त्यसलाई भत्काउन सकेनौं ।

२०५६ सालतिरैको कुरा हो । सहयात्री त्रैमासिक पत्रिकाले म लगायत आठ नौ जना त्यसबेला कविता लेख्ने साथीहरुसँग कविताबारे एउटा अभिमत लिएको थियो । त्यो अभिमतमा मैंले नेपाली कवितामा तीनवटा प्रवृत्ति रहेको कुरा औंल्याएको थिएँ । त्यसमध्ये एउटा यथास्थितिवादी धारा , अर्को क्रान्तिकारी धारा र अर्को जडसूत्रवादी धारा भनेर मैले समकालीन नेपाली कविताका प्रवृत्तिहरूलाई औंल्याएको थिएँ । मैले त्यो अभिमतमा "मोटामोटी रूपमा जडसूत्रवादी प्रवृत्तिले क्रान्तिकारी भावनालाई नै मुखरित गर्छ। तर पनि नेपालको प्रगतिवादी कविता लेखनमा यो केही फरक विशेषताका साथ देखा परेको छ। यो प्रवृत्तिले कलालाई राजनीतिको प्रचार प्रसार गर्ने साधनको रूपमा मात्र स्वीकार्छ। यो प्रवृत्तिले कवितामा यथार्थलाई बढाइ चढाई प्रस्तुत गर्ने र वस्तुगत यथार्थलाई वेवास्ता गर्ने गरेको छ ।" भनेको थिएँ र यतिमात्र भनेको थिएँ । मैले माओवादी आन्दोलन र त्यो आन्दोलनका स्रष्टाहरुको कतै उल्लेख गरेको थिइनँ । तर ''क्रान्तिप्रतिको निष्ठालाई जडसूत्र भन्न पाइँदैन'' भनेर उहाँले मेरो भनाइको त्यसबेला खुबै प्रतिरोध गर्नुभयो र आफ्ना कृतिहरूमार्फत यो विचारलाई सार्वजनिक गर्नुभयो । मेरो यो सामान्य धारणाप्रति आफ्नो ठाउँबाट उहाँले निकै प्रतिरोध गर्नुभयो । त्यसरी प्रतिरोध गर्नुको पछाडि उहाँभित्र सांगठनिक प्रतिबद्धताले काम गरेको हुनुपर्छ । नत्र त्यो प्रवृत्ति नेपाली प्रगतिवादी साहित्यमा नभएको होइन । कुनै न कुनै रूपमा अहिले पनि छँदै छ । तर त्यसबेलाको माओवादी जनयुद्धलाई हेर्ने दृष्टिकोणमा यो भनाइले नकारात्मकता पैदा गर्न सक्छ भन्ने उहाँलाई लागेरै खण्डन गर्नुभएको थियो । यसले संगठनात्मक प्रतिबद्धताप्रति उहाँको सचेतनता प्रकट हुन्छ ।

प्रा.डा. ताराकान्त पाण्डेय नीजि फाइदाका लागि आफ्नो वैचारिक मूल्यलाई दाउमा नराख्ने स्वाभिमानी व्यक्तित्व हुनुहुन्थ्यो । मानिसहरूले व्यक्तिगत फाइदाका लागि विचार परिवर्तन गरेका, पार्टी परिवर्तन गरेका कैयौं दृष्टान्तहरू हाम्रा अघिल्तिर छन् । मूलत : यो समस्या वामपन्थी पार्टीहरूका कार्यकर्तामा सबैभन्दा बढी देखिने गर्छ । एउटा नियुक्ति र अवसर प्राप्त हुने भयो भने विचार र पार्टी छोड्ने वा परिवर्तन गर्ने उदाहरणहरु हाम्रो आन्दोलनमा मनग्ये भेटिने गर्छ । यो संदर्भमा प्रा.डा. ताराकान्त पाण्डेयलाई फरक र उच्चस्थानमा राखेर मूल्याङ्कन गर्नु पर्छ भन्ने मलाई लाग्छ । उहाँले चाहेको भए उहाँका अघिल्तिर थुप्रै अवसरहरू थिए । आफू हिंडिरहेको बाटोको कुइनेटोलाई अलिकति मात्र मोड्नु भएको भए उहाँलाई प्रज्ञा प्रतिष्ठानका ठुलठुला पदहरू स्वागत गर्न तयार थिए । उहाँका अघिल्तिर थुप्रै सम्भावना र अवसरहरू अरू पनि प्रसस्तै थिए । उहाँले कतै तिर पनि आँखा लगाउनु भएन । प्रा. डा. ताराकान्त पाण्डेयलाई यहाँनेर बाट यतिबेला हामीले मूल्याङ्कन गऱ्यौं भने उहाँसँग सहकार्य गरेका साथीहरूको भीडमा उहाँको वास्तविक व्यक्तित्व र उचाइ देखापर्छ । उहाँ विचारप्रति प्रतिबद्ध हुनुहुन्थ्यो भन्ने यो एउटा सानो उदाहरण मात्र हो । नैतिक मूल्यका दृष्टिले समकालीनहरूको भीडमा उहाँको व्यक्तित्व वास्तवमैं अग्लो थियो ।

प्रा.डा. ताराकान्त पाण्डेय स्वास्थलाई अत्यन्तै ख्याल गर्नुहुन्थ्यो । अतिततिर फर्किएर उहाँलाई सम्झँदा ०५० / ५१ सालतिर मास्क लगाएर कलंकीको बाटो हिंडेको झल्झल्ती याद आउँछ । त्यसबेला हाम्रो बिचमा मास्क लगाउने चलन चलेकै थिएन । माक्स लगाएर हिंडेकोमा हामी उहाँलाई जिस्क्याउँथ्यौं । उहाँ हाँसेर टार्नुहुन्थ्यो । स्वास्थलाई ख्याल गरेको उहाँको अर्को घटना पनि म यतिबेला सम्झिरहेको छु । हामी एकपटक प्रगतिशील लेखक सङ्घको आयोजनामा दाङको घोराहीमा हुने कार्यक्रममा भाग लिन काठमाण्डौबाट निनु चापागाईँ, रूद्र खरेल, कृष्ण सेन 'इच्छुक', ईश्वरचन्द्र ज्ञवाली, ताराकान्त पाण्डेय र म गएका थियौं । साझा बसमा गरिएको त्यो यात्राले हाम्रा बिचमा केही रोचक स्मृतिहरु छाडेको छ । भालुवाङ नपुग्दै कालाकाटे भन्ने ठाउँ पुगेपछि कृष्ण सेन इच्छुकले त्यहाँको ऐतिहासिकताबारे बताउनुभयो । इच्छुकको इतिहाससम्बन्धी गहिरो रूची रहेछ । भारतमा भएको सिपाहीँ विद्रोह पछि बिद्रोहमा सामेल सिपाहीँहरुलाई हत्या गरिएको हुनाले त्यो स्थानको नाम कालाकाटे रहेछ । त्यहाँ पुग्दा खाजा खाने समय भइसकेको थियो । ताराकान्त सर केही खाउँ भनेर जोड गर्दै हुनुहुन्थ्यो । तर कृष्ण सेनले म तपाईंहरुलाई लमहीमा विशेष कुरा ख्वाउँछु भन्नुभएपछि हामी सबै त्यही विशेष कुरा खान लमही पुग्न तयार भयौं । 'लमहीको विशेष कुरा मलाई थाहा छ । म चाहिँ खान्न ।' भन्दै तारा सरले एउटा ग्लुकोज बिस्कुट किनेर झोलामा बोक्नुभएको मलाई याद छ । लमहीमा ठुलो फलामको तावामा राखेर चटपटे बनाइँदो रहेछ । सेनजीले त्यसैलाई विशेष कुरा भन्नुभएको रहेछ । त्यो चटपटे निकै स्वादिलो थियो । हामीले थपीथपी खायौं । त्यो चटपटे बनाउँदा आगोमा राखिएको ठुलो तावामा चटपटेको कच्चा पदार्थ हालेर फलामको सानो हाते वस्तुले हिर्काउँदा एउटा आवाज निस्कँदो रहेछ । रूद्र खरेल सरले त्यसलाई 'संगीतात्मक चटपटे' भनेर नाम राख्नुभयो । हामीले त्यो चटपटे खाइरहँदा तारा सर छेउमा उभिएर बिस्कुट खाइरहनु भयो । उहाँले त्यो 'संगीतात्मक चटपटे' खानुभएन । घोराही पुग्ने वित्तिकै हामी सबैजसो क्रमश : विरामी पर्न थाल्यौं । काठमाण्डु फर्क्युन्जेलसम्म हाम्रो स्वास्थ ठिक भएन । फर्किंदा लमही आएपछि ताराकान्त सर हामीलाई जिस्क्याउँदै हुनुहुन्थ्यो - ' फेरि 'संगीतात्मक चटपटे' नखाने ? स्वास्थमा उहाँ कति सचेत हुनुहुन्थ्यो भन्ने मैले एउटा घटनामात्र यहाँ प्रस्तुत गरेको हुँ ।

आखिर संयोगहरू पनि कस्ता आश्चर्य लाग्ने ? त्यही ठाउँ नजिकै भालुवाङमा उहाँको दुर्घटनामा निधन हुन पुग्यो ।

प्रा.डा. ताराकान्त पाण्डेयलाई उहाँको निधन पछि समालोचकका रूपमा र अझ भन्ने हो भने मात्र समालोचकका रूपमा चर्चा गरियो । त्यो पूर्ण सत्य थिएन । समालोचक बाहेक नेपाली कविताको क्षेत्रमा पनि उहाँको अत्यन्तै महत्वपूर्ण योगदान छ । सिर्जनाको यो पाटोलाई उहाँको कर्मबाट बाहिर राखेर मूल्याङ्कन गरिनु हुँदैन भन्ने मलाई लाग्छ । चालीसको दशकमा उहाँ समकालीन कवितामा प्रतिनिधि कवि हुनुहुन्थ्यो ।

हाम्रो बीचको उमेर झण्डै आधादशक जसो फरक थियो । अर्थात् उहाँ म भन्दा उमेरले अग्रज नै हुनुहुन्थ्यो । संगठन र सिर्जनामा पनि उहाँ अग्रज नै हुनुहुन्थ्यो । तर हामीले समकालीन जस्तै भएर काम गऱ्यौं ।

भालुवाङमा उहाँको निधन भएको समाचार जव एकाविहानै सुन्नेवित्तिकै फेसबुकमा एउटा टिप्पणि लेखेको थिएँ । उहाँको निधन विचारधारात्मक निर्मितिका लागि अपूरणीय क्षति हो । मेटिन निकै गाह्रो पर्ने साँच्चैको अपूरणीय । उहाँको निधनलाई मैले अपूरणीय भन्नुको एउटा कारण थियो । गैरप्रगतिवादी शिविरमा प्रगतिवादी शिविरभित्रबाट लेखिएका समालोचनाहरू मध्ये रुचीका साथ समालोचक गोविन्द भट्ट पढिनुहुन्थ्यो । त्यो स्थान त्यसपछि ताराकान्त पाण्डेयले लिनुभएको थियो । उहाँका समालोचनाहरू विचार र कलात्मक लेखनका सुन्दर संयोजन थिए । त्यसैले मानिसहरू उहाँका समालोचनाहरू रूचीकासाथ पढ्थे । त्यहीकारण पनि मलाई उहाँको निधन विचारधारात्मक निर्मितिका लागि अपूरणीय क्षति हो भन्ने लागेको थियो ।

प्रा.डा. ताराकान्त पाण्डेयको चालीसको दशकमा प्रकाशित एउटा कवितांश राखेर उहाँलाई पुन : श्रद्धाञ्जलि अर्पण गर्दछु ।

सँगै हिंडिरहेका एक हुल यात्रीहरू
अहिले यात्रा रोकिरहेछन्
अगाडि मुक्तिनाथ झैं लाग्ने
कुनै पहाडको काखमा
एउटा कुण्ड देखिएको छ
उनीहरू त्यसैलाई मुक्तिनाथ भनिरहेछन्
आफ्नो महान् यात्रा रोकिरहेछन् ।

मित्रहरू !
म कसरी भनूँ सहयात्रीहरूलाई
यो मुक्तिनाथ हुँदै होइन
मुक्तिनाथ आएकै छैन,
मुक्तिनाथ पुग्ने यात्रीहरू !
किन रोक्ने हाम्रो महान् यात्रा !
लम्कनु पर्छ फेरि उकालो
मुक्तिनाथ धेरै-धेरै माथि छ
भ्रम र जालका यी थुम्का र डाँडाहरूदेखि धेरै-धेरै उँचाइमा छ ।

- यात्रा नरोकौ /ताराकान्त पाण्डेय

कवि पाण्डेयले आफूले लेखेको कविता जस्तै जीवन बाँच्नुभयो । थकाइ मार्ने कुराप्रति पनि उहाँ कहिल्यै सहमत हुनुभएन । सहयात्रीहरुको यात्रा रोक्ने योजनाप्रति उहाँले बारम्बार खबरदारी गरिरहनु भयो ।

000



अतृप्त पाण्डेय : समीक्षाको चौतारीमा हुर्किएका कवि - मातृका पोखरेल

 कवि अतृप्त पाण्डेयसँग मेरो परिचय वि.सं. २०५७  सालतिर भएको हो । उहाँसँग मेरो परिचय जोडीदिने सुत्रधार  चाहिँ चर्चित कवि पूर्ण विराम हुनुहुथ्यो । उहाँलाई  धेरै पहिले देखि पढेको पाठक थिएँ म ।  समीक्षा साप्ताहिकमा उहाँका बाक्लै कविता छापिन्थे पञ्चायत कालमैं । मैले पनि समीक्षा साप्ताहिक बाटै प्रकाशनको पहिलो पाइलो टेकेर साहित्यमा बामे सर्न खोजेको कारण त्यसमा प्रकाशित सामाग्रीहरुमा तीनताका विशेष ध्यान पुग्थ्यो ।  एकदिन नेपाल विद्युत प्राधिकरणको कार्यालयमा कवि पूर्ण विरामले उहाँलाई लिएर आउनुभयो । त्यसपछि पनि कवि पूर्ण विराम उहाँसँग तत्कालिन मेरो कार्यालय नेपाल विद्युत् प्राधिकरणमा दुईतीनपटक आउनुभएको सम्झना छ । म नेपाल प्रज्ञा - प्रतिष्ठानमा गए पछि पनि उहाँ नियमितजसो आइरहनुहुन्थ्यो ।   त्यसपछिका दिनहरुमा मैले कवि अतृप्त पाण्डेसँग निकै नजिक रहेर संगत  गर्ने अवसर पाएको थिएँ ।

वि.सं. २००७ साल कार्तिक १२ गते पाको पोखलड्‌याङ, काठमाण्डौमा जन्मिनुभएका कवि अतृप्त पाण्डेयले वि.सं. २०२९ सालदेखि कविता लेखन आरम्भ गर्नुभएको थियो । सोही साल  कवि पाण्डेयको प्रथम प्रकाशित कविता ' विवशताका परिधिभित्र'  'समीक्षा साप्ताहिक'मा प्रकाशित भयो ।  आफ्नो जीवनकालमा अर्थात वि.सं. २०६७ सालमा मात्र साठी वटा कविताहरू सङ्ग्रहित गरिएको ' समयसित रुमाल छैन' शिर्षकको एउटा कवितासङ्ग्रह प्रकाशन गर्नुभयो । 'समीक्षा साप्ताहिक'मा प्रकाशित उहाँका कैयौं कविताहरू कृतिमा सङ्‌गालिएर आएका छैनन् । 'समीक्षा साप्ताहिक'मा कविता प्रकाशित गरेर नेपाली काव्य जगतलाई उर्वर बनाउने कविहरुको ठुलै जमात छ । कवि अतृप्त पाण्डेय पनि समीक्षाको चौतारीमा हुर्किएका कवि हुनुहुन्थ्यो भन्दा पक्कै अतिरन्जना गरेको ठहर्दैन भन्ने मेरो विश्वास छ । मूल विधा कविता भए पनि उहाँले कथा र गीतमा पनि कलम चलाउनुभयो । वि.सं. २०२९ सालदेखी   नै उहाँले कथालेखनमा हात हाल्नुभयो । उहाँको पहिलो प्रकाशित कथा थियो - 'पहिलो उसको अधुरो धोको' । करिव तिस वर्ष पछि  उहाँको २०६९ सालमा एघार वटा कथाहरुको सङ्ग्रह ' हुरी नचलेको भए . .' प्रकाशित भयो । सामाजिक जीवनका विषयवस्तुलाई आफ्ना कथामा कलात्मक ढंगले सजाउन  सक्ने सामर्थ्य राख्ने कथाकार हुनुहुन्थ्यो उहाँ । त्यसैगरी उहाँका गीतहरूको सङ्ग्रह 'अतृप्तज्योति' नामको  सिडी पनि प्रकाशित छ । उक्त सिडीमा नारायण भण्डारी 'जनकपुरी' को संगीत रहेको थियो । 

२०३१ सालमा कृषि खरिद बिक्री संस्थानमा जागिर सुरु गर्नुभएका कवि पाण्डेयले २०४२ सालदेखि  हिमाल सिमेन्ट कम्पनी लिमिटेडमा काम गर्न थाल्नुभयो । त्यहाँ उहाँको परिचय कवि पूर्ण विरामसित भयो । त्यसपछि  एकअर्कालाई एकअर्काले लेखेको कविताहरू देखाउने क्रममा क्रमश : कवि विरामसँग सामीप्यता पनि बढ्दै गयो । त्यही माध्यमबाटै उहाँ कवि पूर्ण विराम सँगै  विभिन्न साहित्यिक कार्यक्रममा समेत सरिक हुन थाल्नुभयो । साहित्यिक कार्यक्रमहरूमा भएको उहाँको सहभागीताले उहाँलाई कवि, कथाकार र गीतकारमात्रै बनाएन , साहित्यिक अभियन्ता समेत बनायो । उहाँले वि.सं. २०२९ सालमैं स्रष्टा समाज, काठमाण्डौको गठन गर्नुभयो र लामो समयसम्म त्यही संस्थाबाट साहित्यिक अभियान सञ्चालन गर्नुभयो ।

कवि अतृप्त पाण्डेय


जागिरे जीवनबाट अवकाशप्राप्त भएपछि पनि उहाँ सक्रिय किसिमले साहित्यिक गतिविधिमा लाग्नुभयो । 

कवि पाण्डेय आफ्ना साहित्यिक अभियानमा सत्ता संरचनाले निर्मित मनोदशाले किनारीकृत पारिएका र  लेखकीय सचेतता  भएका प्रतिभाहरुलाई अवसर दिने कोशिस गर्नुहुन्थ्यो । मूलत: उहाँ  प्रगतिशील चेतनाले समृद्ध साहित्यकार हुनुहुन्थ्यो । तत्कालिन राजा ज्ञानेन्द्रको प्रतिगामी कदमका विरुद्ध स्रष्टाहरूको प्रतिरोध अभियानमा हामी साथसाथै सडकमा हिंडेका दिनहरूको सम्झना मलाई  यतिबेला भइरहेको छ । उहाँ आफू भन्दा पछिल्लो पुस्तालाई सामाजिक परिवर्तनमा अघि बढ्न प्रेरणा दिनुहुन्थ्यो । समाज रुपान्तरणमा स्रष्टाहरूको भूमिका हुनुपर्छ भन्ने उहाँको प्रष्ट दृष्टिकोण थियो । स्रष्टाहरुले समाजमा व्याप्त अन्याय, अत्याचार , शोषण, दमन आदिलाई डटेर सामना गर्नुपर्छ भन्ने बारेमा उहाँभित्र म कुनै द्विविधा देख्दिनथें ।

कवि अतृप्त पाण्डेय

उहाँसँग पछिल्लो भेट उहाँकै निवासस्थान गोल्फुटारस्थित प्याराडाइज कोलोनीमा  भएको थियो । यो भेट उहाँकी  जीवनसङ्गिनीको  निधन भएको दुइचार दिन पछिको थियो । म उहाँलाई समवेदना व्यक्त गर्न पुगेको थिएँ । जीवनसङ्गिनीको  निधनले उहाँ निकै मर्माहत बन्नुभएको मैले महशुस गरेको थिएँ । जीवनसङ्गिनीको  निधनको पीडालाई उहाँले सहजै पचाउन सक्नुभएन । उहाँको मानसिकतामा त्यसले गहिरो चोट पुर्‍यायो । नियमितजसो आफैं कार्यक्रमको आयोजना गरिरहने, अन्य कार्यक्रमहरुमा सहभागी भइरहने उहाँजस्तो गतिशील स्रष्टा कतै देखा नपरेपछि उहाँका बारेमा निकैजना साथीहरूसँग सोधीखोजी गरेँ । मैले देखेको घर भाडामा लगाएर  उहाँ छोरीहरूको संरक्षणमा कतै गइसक्नुभएको थाहा पाएँ  । त्यसपछि उहाँ सामाजिक सञ्जाल र टेलिफोन सम्पर्कबाट पनि टाढा रहन रुचाउने अवस्थामा पुगिसक्नुभएको जानकारी पनि प्राप्त गरेँ ।

'अतृप्त पाण्डे त जानु भएछ नि' कवि बलराम बिष्टले २०८० साल असार २७ गते राति फेसबुक मेसेन्जरबाट खबर दिनुभयो । 'कहिले ?' एक्कासी झसङ्ग भएँ र सोधें मैले ।

'तेह्र चौध दिन भइसकेछ ।' उहाँसँगको सूचना पनि पूर्ण थिएन ।

एकछिन पछि मैले फेरि फोन गरेर थप जानकारी लिने प्रयत्न गरें ।
'निधन भएको समय उहाँ कहाँ हुनुहुन्थ्यो ?' 
'छोरीको घर काठमाण्डौको सिनामंगलमा बस्नु हुन्थ्यो । ब्रेन ह्यामरेज भएर उहाँको निधन  भएको भनेर मैले सुनें ।' बलरामजीको प्रत्युत्तर संक्षिप्त थियो ।

'अनि कति गते रहेछ ?' बलरामजी सँग थप जानकारी लिन म जमर्को गर्दै थिएँ ।
'१३ गते भन्छन् !' बलरामजीको संक्षिप्त प्रत्युत्तर दिने बानी थियो ।

करिब एक घण्टा पछि बलरामजीको फोन आयो र फेरि भन्नुभयो ' १३ गते होइन रहेछ, १२ गते नै रहेछ । ' तिसको दशक देखि करिव सत्तरीको दशकसम्म निरन्तर कलम चलाउने स्रष्टाको बारेमा मैले पाएको सूचना यत्तिकै थियो ।

मैले भेट्न खोजिरहेको मान्छेको  निधन  १२ गते  भएको खबर आएपछि म उहाँसँग भेटघाट र सम्बन्धका विगत समयतिर फर्किएँ । उहाँसँगका वितेका समयहरु सम्झन थालें । उहाँले गर्नुभएका कार्यक्रमहरू   'हामी पढ्छौं पारिजातका कविता' , 'हामी पढ्छौं इश्वरबल्लभका कविता',  'वितेका मानिसहरूको सम्झनामा कविता गोष्ठी' आदिको याद आयो ।

कवि पाण्डेयका एकताका अत्यन्तै निकट रहेर सहकार्य गर्नुभएका कवि बलराम बिष्टले दिनुभएको सूचनाअनुसार  मैले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली दिएँ । त्यो सूचनापछि उहाँका धेरै सहकर्मीहरू अचम्मित भए । त्यो सूचनापश्चात् उहाँका मित्र एवम् साहित्यिक समाचार र सूचना राख्नमा प्रसिद्धि कमाएको फेसबुक समूह 'शब्दपथ' बाट साहित्यकार मुरारी सिग्देलले उहाँको निधनको विस्तृत  समाचार राख्नका लागि धेरै प्रयत्न गर्नुभयो । कसैगरी पनि पर्याप्त सूचना प्राप्त गर्न नसकेपछि  'शब्दपथ' मा   उहाँले थोरै सूचनाका भरमा समाचार लेख्न बाध्य हुनुपर्‍यो ।

'कति लेखक कविहरूले कलम घिसार्दा घिसार्दै मृत्युको ढोका ढकढक्याउन पुगी हाल्दा रहेछन् ।  कसैलाई थाहा हुन्न ।  गइसकेका हुँदा रहेछन्। त्यस्तै भयो कवि अतृप्त पाण्डेको कुरा गर्दा पनि । आज बल्ल थाहा भयो उहाँको मृत्यु आजभन्दा १८ दिनअघि अर्थात् असार १२ गते भइसकेको रहेछ ।' 

केही दिन पछि मैले कवि पाण्डेयका निकट मित्र नारायण भण्डारी 'जनकपुरी'  सँग उहाँका बारेमा थप जानकारीका लागि सहयोग मागेँ । उहाँले धेरै मेहेनत गरेर कवि पाण्डेयकी छोरी प्रजिता जोशीको मोबाइल नम्बर फेला पार्नुभयो र हामी प्रजिता जोशीको घर सिनामंगल पुग्यौं । नारायणजी र मैले   छोरी प्रजिता जोशीबाट नयाँ जानकारी लियौं - उहाँको निधन २०८० साल असार १२ गते राति १२ : ५१ बजे निमोनियाको कारण भएको रहेछ । 

कवि पाण्डेयको कविताझैं समयसित रुमाल त थिएन थिएन , उहाँको निधनपछि हामी प्रष्ट भयौं हामीसँग अब आँसु पनि बाँकी थिएन । हामी आँसु सकिएका संवेदनहीन मानिसमा परिणत हुँदै थियौं । हामीसँग समाज रुपान्तरणका लागि योगदान दिने सचेत मानिसहरुको निधनलाई क्षति सम्झने चेतना कमजोर हुँदै नगएको भए अतृप्त पाण्डेय यसरी सुटुक्क जानु पर्दैनथ्यो । म यस्तैयस्तै सोच्न बाध्य भएँ ।

म कवि पाण्डेयकै एउटा कविताको अंश प्रस्तुत गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

र त तिमीहरूका आँसु पुछ्न
समयसित रुमाल छैन
समय हुनेहरूसित रुमाल छैन
रुमाल हुनेहरूसित समय छैन
र त भन्दै छु अझै पनि सपनामा नै अघाऊ /
रमाऊ बम्बईको मासुबजारमा बेचिएका दिदीहरू, बैनीहरू
पर्खाल, जो भत्कनुपर्ने थियो त्यो अझै भत्केको छैन
भत्काउन सकिएको छैन
तिमीहरूका आँसु पुछ्न समयसित रुमाल छैन ।

- समयसित रुमाल छैन

०००

--------------------------------------


कवि पाण्डेका प्रकाशित कृतिहरू




--------------------

मित्रहरूसँग कवि पाण्डेय





बालकृष्ण पोखरेललाई पहिलो पटक देख्दा तीनछक परें – मातृका पोखरेल

 

















-------------------------------------------------------------

बालकृष्ण पोखरेललाई पहिलो पटक देख्दा तीनछक परें

 - मातृका पोखरेल 



मातृका पोखरेल 


नेपाली भाषामा झर्रोवादी आन्दोलनका प्रणेता, चर्चित भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको ८६ वर्षको उमेरमा २०७५ साल फागुन १२ गते निधन भएपछि मानिसहरुले उहाँको योगदानको बारेमा खुलेर बहस गरे । धेरैको एउटै मत थियो– ‘नेपाली भाषाले अपूरणीय क्षति बेहोर्‍यो ।’ एउटै पैत्रिक भूमि भएको कारणले मात्र नभएर नातामा काका भतिज पर्ने भएर पनि बालकृृष्ण पोखरेलको मूल्यांकन मेरो सर्वथा रुचि र चाखको विषय थियो । 

हुन त, बालकृष्ण पोखरेल उदयपुरको रुपाटारमा जन्मिनु भएन । वि.सं.को उन्नाइस बीस सालतिरको करिब एक डेढ वर्ष बाहेक त्यो ठाउँ उहाँको कर्मथलो पनि भएन । तर सानै उमेरदेखि बालकृष्ण पोखरेल हामीले सुनिरह्यौं विभिन्न कारणले । 

बालकृष्ण पोखरेलको मात्र चर्चा हुन्थेन त्यो समयमा । बालकृष्ण पोखरेलको भन्दा बढी चर्चा उहाँका बुवा शारदाप्रसाद पोखरेल र उहाँका जिजुबुवा डिट्ठा यज्ञप्रसादको हुन्थ्यो । त्यो चर्चा हुनुका पछि पनि केही कारणहरु थिए  डिट्ठा यज्ञप्रसाद नेपाल (काठमाडौं उपत्यकालाई हाम्रो गाउँघरमा ज्येष्ठ नागरिकहरुले नेपाल भन्नुुहुन्थ्यो) का प्रसिद्ध जागिरे मात्र थिएनन्, आयुर्वेदका प्रख्यात जानकार समेत थिए । उनको आयुर्वेद ज्ञान अत्यन्तै माथिल्लो कोटीको थियो । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई किशोरावस्थामा दमको रोगले छोएछ । मातृकाप्रसाद कोइरालाका पिताजी कृष्णप्रसाद कोइरालाले यसको राम्रो उपचार डिट्ठा यज्ञप्रसादले गर्छन् भनेर उदयपुरको रुपाटार पठाइदिएछन् । डिट्ठा यज्ञप्रसादले त्यसबेला आफ्नो निवृत्त जीवन रुपटारमै बसेर बिताइरहेका रहेछन् । मातृकाप्रसाद कोइरालाले उपचारको शिलशिलामा रुपाटारमा करिब एक वर्ष बिताएछन् । एक वर्षपछि स्वास्थ्यलाभ गरेर उनी बनारस फर्किए । मातृकाप्रसाद कोइराला उपचारका क्रममा रुपाटार बसेको बेलामा कमिलडाँडा, कुमालेतिर गाईबाख्रा चराउने काम पनि गरेछन् । यो एउटा घटनाको मात्र कुरा हो । यस्तै कारणले पनि डिट्ठा यज्ञप्रसादको चर्चा प्रशस्तै हुन्थ्यो । उनै डिट्ठाले पानीको अत्यन्तै दुःख भएको रुपाटारमा ठूलो धार्मिक कार्य सम्पन्न गरेर खनाएको ‘ डिट्ठाको कुवा’ अहिलेसम्म छँदैछ । रुपाटार पढ्न बस्दा त्यो कुवाको पानी मैले पनि धेरै पटक पिएको छु । यसरी बालकृष्ण पोखरेलको भन्दा उहाँहरुको चर्चा बढी नै हुन्थ्यो । तत्कालीन समाजका र भद्रभलाद्मीहरुको छलफल सभामा । जागिरे दुनियाँमा शारदाप्रसाद र नारायणप्रसादको झनै चर्चा हुन्थ्यो । त्यो समयमा दाजुभाइ राणाकालका बडाहाकिम र न्यायाधीश हुनुहुन्थ्यो । शायद बुवाहरुले आफ्ना छोराहरुले पढुन् र त्यस्तै बुनन् भनेर उत्प्रेरित गर्न पनि हुनसक्छ, उनीहरु भन्ने गर्थे ‘हाम्रै रुपाटामा जन्मिएका शारदाप्रसाद पोखरेल र नारायणप्रसाद नेपालमा ठूला जागिर थिए ।’ तर निरक्षर बाबुआमा कस्तो जागिरे छन् भन्न जान्दैनथे । अलिअलि जान्नेहरु बडाहाकिम, न्यायाधीश भन्थे । तर निरक्षर आफ्ना सन्तानको उन्नतिको सपना देख्न खोज्ने निम्छरा बाबुआमाहरु पनि छोराछोरीलाई उत्प्रेरित गर्न यी नामहरु कण्ठ गरेर बसेका हुन्थे । बालकृष्ण पोखरेलेका जेठादाजु भैरवीप्रसाद पोखरेलको चर्चा त झन् हुने नै भयो त्यसबेला । उहाँ पञ्चायती व्यवस्थाको आरम्भका पहिलो राष्ट्रिय पञ्चायत सदस्य हुनुहुन्थ्यो र त्यस क्षेत्रको शैक्षिक क्षेत्रको उन्नयनमा उहाँको महत्वपूर्ण भूमिका थियो । हाल रुपाटारको महेन्द्र रत्न उच्च माध्यमिक विद्यालय उहाँकै नेतृत्वमा स्थापना भएको थियो । मेरो बाल्यकाल र किशोरा कालमा पञ्चायती व्यवस्था उर्लंदो उमेरको थियो । त्यसबेलाको राष्ट्रिय पञ्चायत सदस्य भइसक्नुभएको मान्छे । उहाँको चर्चा विशेष हुनु स्वाभाविक पनि थियो । मेरो बालमस्तिष्कमा बालकृष्ण पोखरेलसँग यसरी परिचय भयो । 



बालकृष्ण पोखरेललाई मैले आफ्नो समयमा पाठ्यक्रममा पनि पढ्नुपर्थ्यो  । मैले दश कक्षा पढ्दा उहाँको एउटा निबन्ध थियो पाठ्यपुस्तकमा । त्यसबेला कटारी स्कुलमा हामीलाई नेपाली पढाउने गुरुले बालकृष्ण पोखरेलको परिचय दिने क्रममा ‘उनी उदयपुर तिरकै हुन् भन्ने सुनेको छु’ भन्नुभयो । त्यसपछि मैले उठेर बालकृष्ण पोखरेलको जानेसम्म परिचय दिएपछि गुरु छक्क पर्नुभएको घटना अहिलेसम्म पनि सम्झनामा ताजै छ । 

विराटनगरको स्थायी बासिन्दा बालकृष्ण पोखरेलको खेती सुनसरीको सीतागन्जमा थियो । म विराटनगर पढ्न गएपछि मेरो भतिजो तारानाथ पोखरेल पनि त्यहीँको वासिन्दा भएको कारणले म अक्सर सीतागन्ज गइरहन्थें । एकदिन म पुगेकै दिन बालकृष्ण काका पनि सीतागन्ज पुग्नुभएको रहेछ । भतिज ताराले उहाँ नै हो बालकृष्ण पोखरेल भनेर चिनाएपछि म छाङ्गाबाट खसेजस्तै भएँ । किताबमा छापिरहने नाम, आफूले पाठ्यपुस्तकमा पढेको नाम, सानै उमेरदेखि सुनिरहेको नाम बालकृष्ण पोखरेल । ठूलो ज्यान भएको, ठूलै टाउको भएको, हेर्दै हृष्टपुष्ट यस्तैयस्तै । मेरो कल्पनामा सजिएको बालकृष्ण पोखरेल र वास्तविक बालकृष्ण पोखरेलको कति भिन्नता । एटा सामान्य गन्जी र लुंगी लगाएर खेतका आलीमा हिँड्दै गरेको एउटा कालो वर्णको सामान्य गाउँले मान्छेजस्तो बालकृष्ण पोखरेल । म तीनछक परेको थिएँ त्यस दिन । 



विराटनगर पढ्न बस्दा बेलाबेलामा बालकृष्ण काकालाई भेट्न पुगिरहन्थें । विराटनगर छाडेपछि धेरै समय उहाँसँग टाढा भएँ । एकदिन साहित्यकार कमल सुवेदीले मेरो कार्यालय नेपाल विद्युत प्राधिकरणमा उहाँलाई लिएर आउनुभयो । मलाई भेट्टाइदिनका लागि उहाँले कमजीलाई भन्नुभएको रहेछ । त्यसपछि काठमाडौं आएको बेलामा उहाँ कहिल्यै नछुटाई मेरो कार्यालयमा भेट्न आउनुहुन्थ्यो । 

एकदिनको कुरा हो । बालकुष्ण काकालाई लिएर चिया पिउन बागबजारतिर निस्केको थिएँ । त्यसबेला प्रगति पुस्तक पसल भक्तपुर बसपार्कको अघिल्तिर थियो । हामी त्यो पुस्तक पसलमा निस्कियौं  त्यो पसल भूपनारायण पोखरेलको थियो । अहिले त्यो पसल पुतलीसडक चोकनेर सरेको छ । भूपनारायणको कुरा सुन्नेबित्तिकै बालकृष्ण काकाले सोध्नुभयो– ‘तपाईंको घर प्युठान हो ?’ भूपनारायणले सोध्नुभयो ‘कसरी थाहा पाउनुभयो ?’ तपाईंले प्रयोग गर्ने भाषा प्युठानबाहेक अन्यत्र प्रयोग हुँदैन । बालकृष्ण काकाको स्थानीय भाषिकालाई बुझ्न सक्ने सामर्थ्य   देखेर हामी छक्क परेका थियौं त्यो दिन । 



महेन्द्र रत्न उच्च मावि रुपाटारले स्वर्ण महोत्सव मनाउने भयो । मैले बाल्यकालको महत्वपूर्ण समय बिताएको विद्यालय । मेरा थुप्रै भावनात्मक सम्बन्धहरु गाँसिएका छन् त्यहाँ । त्यो स्वर्ण महोत्सवमा बालकृष्ण पोखरेल प्रमुख अतिथिको रुपमा निम्त्याइनुभएको थियो । कार्यक्रममा मेरा बालसखा एवम् उक्त विद्यालयका प्रधानाध्यापक तोयाबहादुर बुढाथोकीले मलाई पनि निम्तो दिनुभएको थियो । आफ्नो पैतृक थलोले सम्मान गरेर निम्त्याएकोमा बालकृष्ण काका निकै खुसी देखिनुहुन्थ्यो । कार्यक्रममा उहाँले त्यो क्षेत्रको ऐतिहासिकता बारेमा जति बोल्नुभयो; त्यो क्षेत्रमा बसोबास गर्नेहरुलाई आफ्नो मातृभूमि र कर्मभूमिप्रति आस्था विकास गराइ दिनुभयो । 

कार्यक्रम सकेर हामीसँगै फर्कियौं । बालकृष्ण काकालाई विराटनगर पु¥याइदिनका लागि तोयाजी पनि साथै आउनुभएको थियो । कुमालटारबाट डढुवाको उकालो लाग्नेबित्तिकै गाडी बिग्रियो । तोयाजीले कटारीबाट अर्को गाडी मगाउनुभयो । अर्को गाडी नआउन्जेल हामीले उकालो हिँड्ने विचार ग¥यौं, बालकृष्ण काकाकै प्रस्तावमा बाटोमा उहाँले उकालो हिँड्ने तरिका पनि हामीलाई सिकाउनुभयो । कुनै बेला तत्कालीन राजा वीरेन्द्रको सवारीमा कवि भूपिसँग धरानदेखि धनकुटासम्म हिँडर गएको रोचक संस्मरण पनि सुनाउनुभयो । डढुवाको थाप्लोमा रहेको मेघराज राईको पसलमा नपुगुन्जेल हाम्रा गाउँहरुको ऐतिहासिक कथाहरु सुन्दै गयौं हामीले उहाँबाट । मनमनै लागिरह्यो, ‘उहाँले कहिल्यै नजानेका गाउँहरुको इतिहास कसरी थाहा पाउनुभयो ?’ तोयाजी र म पछिल्तिर बसेर खुसुखुस कानेखुसी गथ्र्यौं । डढुवामा खाना खाँदाखाँदै हामीलाई लिन अर्को गाडी आइपुग्यो । हामी त्यस दिन कटारी गएर बस्यौं । 



बालकृष्ण पोखरेल पछिल्लो पुस्तालाई उत्प्रेरित गर्न अत्यन्तै उत्सुक र जागरुक हुनुहुन्थ्यो । म पनि केही घटनामा यसको साक्षी छु । ‘गरिमा’ पत्रिकाको कुनै अंकमा मेरो कथा छापिएको थियो ‘इतिहासको चिहानमाथि उभिएर’ भन्ने शीर्षकको । त्यो कथाको भावभूमि बालकृष्ण काका र मेरो पैत्रिकस्थल थियो । शायद राति नै पढ्नुभयो होला त्यो कथा उहाँले । बिहानको साढे तीन नबज्दै फोन गर्नुभयो र अत्यन्तै खुसी हुनुभयो । ‘एउटै कथा लेखेर तिमीले जन्मभूमिको ऋण तिर्‍यौ ।’ उहाँले ‘यस्ता अरु विषयहरु छन् भने खोजी गर र लेख’ भन्नुभयो । यस्ता थुप्रै प्रसङ्गहरु छन् उहाँसँग मेरा । मसँग मात्र होइन धेरै युवा लेखकहरुलाई उहाँले उत्प्रेरित बनाउनुभएको प्रसंग मैले सुनेको पढेको छु । 

बालकृष्ण पोखरेललाई मानिसहरुले भाषाशास्त्रीको रुपमा बुझे । मानिसले ठूलो योगदान जेमा ग¥यो, त्यसपछिका योगदानहरु छायाँमा पर्दा रहेछन् । भाषाको क्षेत्रको त उहाँ सिंगै सगरमाथा हुनुहुन्थ्यो । तर पनि कथा, कविता, उपत्यास, निबन्ध, समालोचना र अनुसन्धानलगायत नेपाली वाङमयका विविध विधामा उहाँको उपस्थिति प्रभावशाली छ । नेपाली कथा समालोचकहरुले ‘सोधाइ र जबाफ’ कथासङ्ग्रह जस्तो उत्कृष्ठ कृतिका बारेमा गर्नुपर्ने जति चर्चा नगरेको भन्ने मलाई बारम्बार लागिरहन्छ । 

बालकृष्ण काका मनोवैज्ञानिक ढंगले मलाई नजिक बनाउन खोज्नुहन्थ्यो । म प्रगतिशील साहित्यको विद्यार्थी हुँ भन्ने उहाँलाई राम्ररी थाहा थियो । धेरै पहिलेदेखि मेरो बारेमा भेटेका मानिसहरुबाट जानकारी लिइरहनुहुन्छ भन्ने कुरा मैले पनि सुन्थें । मलाई नजिक बनाउन उहाँ प्रगतिशील साहित्यको सहारा लिनुहुन्थ्यो । यो कुरो म राम्ररी बुझ्दथें । भेटेको बेलामा श्यामप्रसाद शर्मा, गोकुल जोशी, पारिजातहरुको खुबै चर्चा गर्नुहुन्थ्यो । उहाँको मुखबाट श्यामप्रसाद र गोकुल जोशी सम्बन्धी धेरै रोचक कुरा सुनेको छु मैले । यी प्रसंगहरु बेलाबेलामा उपयुक्त ठाउँमा चर्चा पनि गरेको छु । बालकृष्ण पोखरेल कुनै समयको प्रगतिशील साहित्यिक आन्दोलनको सक्रिय अभियन्ता हुनुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घको संस्थापक सदस्य पनि हुनुभयो । यिनै कारणले पनि प्रगतिशील साहित्यिक आन्दोलनको प्रारम्भिक कालखण्डको बारेमा उहाँबाट मैले धेरै कुरा बुझ्ने मौका पाएको छु । 

जनकवि गोकुल जोशीसँग उहाँको भारतको कुनै रेल्वे स्टेशनमा भेट भएछ । कवि जोशी आफ्ना सानासाना रचनाका पुस्तिकाहरु बेच्दै हुनुहुँदो रहेछ । त्यसपछि कवि जोशीलाई उहाँले आफ्नो घर विराटनगर लिएर आउनुभएछ । उहाँसँग कवि जोशीका थुप्रै मीठानमिठा अनुभवहरु छन् । मसँगको भेटमा उहाँ बारम्बार भन्नुहुन्थ्यो ‘गोकुल जोशी नेपाल आमाको सपुत हो । उसलाई उपयुक्त सम्मान दिन नसकेकोमा म यति बेला दुःखी छु ।’ निकै पटक दोहो¥याएर भन्नुभएको थियो उहाले यो कुरा । कति कुराहरु छन् गोप्य जस्ता लाग्ने । शायद उहाँले विश्वास गरेरै वा किन हो भन्नुभयो । तर उहाँले भनेका कैयौं कुराहरु बाहिर भन्ने आँट गर्न पनि म सक्दिनँ । 



केही वर्षअघिकै कुरा हो । कोटेश्वरको डेरा जीवनबाट हामी भक्तपुरको सल्लाघारीमा छाप्रो हालेर सरिसकेको समयको कुरा । रत्नपार्क बसपार्कबाट बस चढ्ने तयारी गर्दै थिएँ । मोबाइलमा घण्टी बज्यो । हेरें, बालकृष्ण काकाको रहेछ । फोन नम्बर हेर्नेबित्तिकै उठाउँ कि नउठाउँ भन्ने दोधारमा परें । समयको चाप छ भने म उहाँको फोन उठाउँदिनथें । उहाँलाई थोरै समयले पुग्दैनथ्यो । त्यसै गरी फोन उठाउन मैले हच्किने अरु दुई जना विशिष्ट र आदरणीय व्यक्तित्वहरु हुनुुुहुन्छ । करिव एक डेढ घण्टाको खाली समय भयो भने मात्र म उहाँहरुको फोन उठाउँछु । नत्र घरमा बेलुका खाना खाएपछि आफैं फोन गर्छु । त्यसदिन पनि पहिले मोबाइलमा उहाँको फोन उठाउने आँट गर्न सकिनँ, किनकि म बसको यात्रामा थिएँ । मलाई बसबाट सल्लाघारी पुग्ने पौने घण्टा लाग्थ्यो । पहिलो पटकको कल उठाइनँ । उहाँले दोस्रो पटक तुरुन्तै पुनः फोन गर्नुभयो । जरुरी होला भन्ने ठानें र उठाएँ । 

‘भतिज ! आज मैले नयाँ कुरा पत्ता लगाएँ ।’ बालकृष्ण काकाको स्वरमा खुसीको भाव छचल्किरहेको थियो । 

‘के हो काका ?’ म पनि जिज्ञासु भएँ । 

‘मैले विद्यापतिको कुल पत्ता लगाएँ !’ काकाको खुसीको सीमा थिएन । 

‘को विद्यापति ?’ म त एकछिन द्विविधमामा परें । 

मेरो ध्यान मैथिली भाषाको महाकवि विद्यापतितिर गएछ । यो कुरामा उहाँमा यत्रो खुसी किन ? म भित्र प्रश्न खेलिरहेको थियो भने उहाँ फोनमा लगातार बोलिरहनुभएको थियो । एकछिनपछि कुरा बुझें मैले । उहाँले नेपाली भाषाको कथामा उल्लेख गर्नुभएको ‘विद्यापति’ को रहेछ । अर्थात् ‘गीत गोविन्द’, ‘गीतवाणी’, ‘सात राग’, र ‘सात नायिका’ का अनुवादक, रचयिता हीनव्याकर्णी विद्यापतिको रहेछ । यी रचनाहरुको मौलिक कृति नै बालकृष्ण पोखरेलसँग रहेको कुरा हामी साहित्यका विद्यार्थीहरुले पढ्दै आएका थियौं । बालकृष्ण पोखरेलले वि.सं. २०१९ सालमै रचना पत्रिकामा ‘विद्यापति र उनको गीत गोविन्द’ शीर्षक लेखमा विद्यापति को हुन् यो अझै खोजीको विषय छ’ भनेर लेख्नुभएको थियो । त्यो लेखमा उहाँले ‘गीत गोविन्द’ को अनुवाद वि.सं. १८८८ मा भएकोले उनी वि.सं. १८५० भन्दा अघि नै जन्मिएको अनुमान गर्नुभएको छ । 

मूलतः विद्यापतिको कुल फेला पार्ने सन्दर्भ बालकृष्ण पोखरेल र मेरा लागि निकै महत्वको विषय थियो । बालकृष्ण काकाको यो अनुसन्धान किन पनि सत्यको नजिक छ भने वि.सं. १८५० तिर विद्यापतिको जन्म भएको ठहर्नु र कान्छा जीवा विद्यापतिको पनि जन्ममिति मिल्नु, विद्यापतिले लेखेका सम्पूर्ण हस्तलिखित सामग्रीहरु कान्छा काका नारायणप्रसादको दराजमा फेला पर्नु नै हो । वि.सं. २०१९ सालमा रचना पत्रिकामै ‘विद्यापति र उनको गीतगोविन्द’ शीर्षकको लेख छापिएको ५२ वर्षपछि उहाँले रचनामा नै विद्यापति बारेको आफ्नै अनुसन्धानको लेख प्रकाशन गर्नुभयो । इतिहासको गर्तमा लुप्त भएका विद्यापतिको खोजी उहाँको र मेरो लागि त महत्वपूर्ण छँदै थियो, नेपाली साहित्यको लागि पनि महत्वपूर्ण विषय थियो । 



२०७५ साल माघ ५ गतेको राति कतार एयरपोर्टबाट मुनाल पोखरेल (दाइ) को फोन आयो । उहाँको फोन आउनुभन्दा अगाडि त्रिपुरा दिदीले सिलगुढीबाट काका बिरामी भएको जानकारी गराइसक्नुभएको थियो । त्रिपुरा दिदीको घर (सिक्किम, भारत) गएको बेला बालकृष्ण काका उहीँ बिरामी हुनुभयो । उहाँलाई सिलगुढी हुँदै काठमाडौंको नर्भिक अस्पताल ल्याइयो । उपचारपश्चात् केही सुधार देखिएपछि उहाँलाई विराटनगर नै फर्काइयो । विराटनगरमै रहेको बेला उहाँ फेरि बिरामी पर्नु भयो । २०७५ फागुन १२ गते बालकृष्ण पोखरेल हामीबाट सदाका लागि बिदा हुनुभयो । 

नेपाली भाषाका गुरुहरुका पनि गुरु प्रा. बालकृष्ण पोखरेलको निधन भाषा÷साहित्यमा अभिरुचि राख्ने सबैका लागि दुःखद थियो । भारतको बनारसमा पढ्न बसेको बेला उहाँको नेतृत्वमा सुरु भएको ‘झर्रोबादी आन्दोलन’ नेपाली भाषाको इतिहासमा कहिल्यै बिर्सन नसकिने घटना थियो । अर्थात्, बिटुलिएको नेपाली भाषालाई चोखो बनाउन उहाँले क्रान्तिको नेतृत्व गर्नुभएको थियो । नेपाली भाषालाई समृद्ध बनाउन बालकृष्ण पोखरेलले खेल्नुभएको भूमिकाको तुलना अरु कसैसँग हुनसक्छ भन्न मलाई लाग्दैन । वि.सं. २०३३ सालतिर त्रिविले अनिवार्य नेपाली विषयलाई समेट्नु, ‘नेपाली वृहत् शब्दकोष’ प्रकाशनको मूल नेतृत्व गर्नु, नेपाली भाषाको अभिलेखलाई व्यवस्थित गरेर ‘पाँच सय वर्ष’ जस्तो कृति तयार गर्नु, आदि धेरै कामको नेतृत्व उहाँले गर्नुभयो । हामीले अहिले पनि पढिरहेको नेपाली भाषाको कालक्रम र पाँच भाषिकाको वर्गीकरण बालकृष्ण पोखरेलको एक्लो योगदान हो । 

नेपाली भाषाको खोजीमेली गर्ने बालकृष्ण पोखरेलको तुलना अर्कोसँग अहिले हुन सक्दैन । हामी खस हवौं र हाम्रो भाषा खस हो भन्ने कुराको बोध हामीलाई गराउने योगदान उहाँकै हो । 

निधन हुनुभन्दा केही अघिसम्म पनि उहाँ सिर्जनामा तल्लिन हुनुहुन्थ्यो । आफ्नै पैत्रिक थलोलाई केन्द्रित गरेर लेखिरहनुभएको ‘रुपारानी’ महाकाव्य अधुरै रह्यो । मेरा लागि यो महाकाव्य सर्वाधिक चासोको विषय थियो । इतिहासमा ‘युगपुरुष’ हुने अवसर अत्यन्तै थोरैले पाउँछन् । बालकृष्ण पोखरेल नेपाली भाषा साहित्यका युगपुरुष हुनुहुन्थ्यो भन्न कसैले हिचकिचाइ रहनुपर्ने जरुरी छैन । नेपाल सरकारले अझै पनि यो तथ्यलाई बुझेको छैन । मलाई विश्वास छ, यो सत्य र तथ्यलाई नुबझ्ने छुट इतिहासले लामो समय कसैलाई पनि दिन सक्दैन । 

बालकृष्ण पोखरेलहरु इतिहासमा यदाकदामात्र जन्मिँदा रहेछन् । यस्ता मानिसहरुको उपस्थितिले उनीहरुले अँगालेको क्षेत्रमा भुइँचालो आउँदोरहेछ र पुरानो केही ढलेर नयाँ निर्माणको प्रादुर्भाव हुँदो रहेछ । नेपाली भाषामा पनि बालकृष्ण पोखरेलले एउटा भुइँचालो ल्याउनुभयो । कसैले ल्याउन नसकेको भुइँचालो । फेरि कहिले जन्मेलान् यसरी भुइँचालो ल्याउन सक्ने बालकृष्ण पोखरेल ? कहिलेकाहीँ हामीबाट बिदा भएका विशिष्ट प्रतिभाहरुका बारेमा म यसरी पनि सोच्ने गर्दछु । 

सबै मानिसहरुको मृत्यु अपूरणीय हुँदैन । भावनात्मक रुपमा हामी अपूरणीय भनिदिन्छौं । तर बालकृष्ण पोखरेलको निधन नेपाली भाषा साहित्यका लागि सोरैआना अपूरणीय क्षति हो । नेपाली भाषाका कुलगुरु प्रा. बालकृष्ण पोखरेलप्रति हार्दिक श्रद्धान्जली !