Saturday, September 26, 2026

बन्दीगृह, भातको माम्री र शक्ति लम्साल - मातृका पोखरेल

 अविश्रान्त कस्ता मानिसलाई भन्ने ? कहिल्यै नरोकिने, विश्राम नगर्ने, कहिल्यै नथाक्ने मानिसलाई सम्बोधन गर्नुपर्ने शब्द हो यो । अचेल केही मानिसहरुलाई यो विशेषणले सम्बोधन गरेको भेटिन्छ । अग्रजहरूको जीवन पढ्यो भने मेरो अध्ययनमा यो विशेषणको विशेष हकदार मार्क्सवादी चिन्तक शक्ति लम्साल सबैभन्दा अग्रपंक्तिमा पर्नुहुन्छ । शक्ति लम्सालले वि. सं.२००८ साल देखि नेपालको कम्युनिस्ट आन्दोलन , प्रगतिवादी साहित्य र पत्रकारिताको क्षेत्रमा महत्त्वपूर्ण भूमिकामात्र निर्वाह गर्नुभएन, जीवनपर्यन्त लागि पर्नुभयो । जीवनभर क्रान्तिकारी खेमाको अभियन्ता र पक्षधर भएर अविचल निष्ठाका साथ क्रियाशील रहनु सामान्य कुरा छँदै थिएन । तर त्यो असामान्यजस्तो लाग्ने कामलाई शक्ति लम्सालले सामान्य बनाउनुभयो ।

वि.सं. १९९३ चैत २२ गते, अर्थात् ७ अप्रिल १९३६ मा काठमाडौंको चाबहिलस्थित चारुमार्गमा जन्मिएका शक्ति लम्सालको बाल्यकाल र युवावस्था त्यस्तो समयमा बित्यो, जतिबेला नेपाल राजनीतिक जागरणको नयाँ चरणमा प्रवेश गर्दै थियो । राणा शासनको लामो अँध्यारोपछि देशमा परिवर्तनका आवाजहरू विस्तारै मुखर हुँदै थिए। समाजमा राजनीतिक चेतनाको प्रसार हुँदै थियो । पुरानो सत्ताव्यवस्थाका विरुद्ध नयाँ विचारहरू जन्मिँदै थिए । यही ऐतिहासिक संक्रमणको बीचबाट उहाँको चेतनाले पनि आफ्नो बाटो खोज्न थाल्यो ।
शक्ति लम्सालको राजनीतिक जीवनको निर्णायक मोड वि.सं. २००८ सालमा आयो । भारतको तेलङ्गाना सशस्त्र विद्रोहका नेता कृष्णचन्द्र शास्त्रीसँगको सम्पर्कले उहाँलाई कम्युनिस्ट राजनीति र विचारधारातर्फ आकर्षित गर्‍यो ।
तेलङ्गाना सशस्त्र विद्रोह केवल एउटा राजनीतिक घटना थिएन । त्यो भूमिहीन किसान, उत्पीडित जनता र सामाजिक न्यायको आकांक्षासँग जोडिएको विद्रोह थियो । त्यस विद्रोहका कुरा सुन्नु र त्यसका प्रतिनिधि पात्रसँग प्रत्यक्ष सम्पर्क हुनु एउटा युवा चेतनाका लागि सामान्य घटना थिएन । शक्ति लम्सालको राजनीतिक चेतनामा त्यसले गहिरो प्रभाव पार्‍यो । त्यसपछि उहाँ नेपालको कम्युनिस्ट आन्दोलनलाई बाहिरबाट हेर्ने दर्शक व्यक्तिमात्र भएर बस्नुभएन ; त्यसको सक्रिय यात्रामा प्रवेश गर्नुभयो ।
वि.सं. २००९ मा साहित्यकार रमेश विकलले बुढीऔंलाको रगतले सहीछाप गराई सदस्यता फारम भराएको प्रसङ्ग उहाँको राजनीतिक जीवनको अत्यन्त अर्थपूर्ण घटना हो । त्यसको अर्को वर्ष संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो । यो सदस्यता केवल एउटा संगठनको परिचयपत्र थिएन ; यो उहाँले आफ्नो जीवनलाई एउटा विचार र आन्दोलनप्रति समर्पित गर्ने निर्णय थियो ।
त्यस समय नेपालमा कम्युनिस्ट पार्टी आफ्नो प्रारम्भिक अवस्थामा थियो । संगठन सीमित थियो, साधन सीमित थिए, तर सपना ठूलो थियो । त्यही ठूलो सपनाको प्रारम्भिक पुस्तामा शक्ति लम्साल पनि उभिनुभयो ।
मैले शक्ति लम्साललाई भेट्नुभन्दा पहिल्यै थुप्रैपटक पढेको थिएँ । एकिन नभए पनि हृदयचन्द्र जयन्ती मनाउने क्रममा पद्मोदय स्कुल, पुतलीसडकमा पहिलोपटक देखेँ जस्तो लाग्छ । त्यो कार्यक्रममा प्रहरी हस्तक्षेप भयो र हामी भाग्दै वाल्मिकी क्याम्पसमा पुगेर कार्यक्रम गऱ्यौँ । त्यसपछिका दिनमा उहाँसँग नियमित भेट भइरह्यो । हरेक महिनाको तेस्रो शनिबार आयोजना हुने 'प्रतिभा प्रवाह' साहित्यिक कार्यक्रममा उहाँ नियमितजसो आउनुहुन्थ्यो । म पनि भरसक छुटाउन्नथेँ त्यो कार्यक्रम । त्यहाँ पनि नियमित भेट हुन्थ्यो । प्रगतिशील साहित्यका गोष्ठीहरूमा थाहा पाएसम्म पुग्थेँ । शक्ति लम्साल यस्ता सबैजसो कार्यक्रममा अगुवा भएर देखा पर्नुहुन्थ्यो ।
०४६ सालको जनआन्दोलनताका शक्ति दाइसङ्ग म करिब एक हप्ता प्रदर्शनीमार्गस्थित ट्राफिक प्रहरी कार्यालयको थुनुवा कक्षमा बस्ने मौका पाएँ । म, खड्ग गुरुङलगायत केही साथीहरुलाई अत्यन्तै ठुलो यातना दिएर त्यहाँ ल्याइएको थियो । प्रत्येक दिनको यातनाका कारण हाम्रो शरीर हलचल गर्न नसक्ने अवस्थाको थियो ।

करिब हप्ता दिनदेखीको यातनाका कारण शरीर पुरै सुनिएको थियो । हामीलाई यातना दिन तयार पारिएको चाबेल भेगको एउटा मानिस थियो गोपाल पुडासैनी भन्ने । उनी हामीलाई यातना दिंदा आफूले धेरै मानिस मारेको भनेर सगर्व भन्ने गर्थे । विद्यार्थी नेता बलराम समाललाई जिब्रोमा करेन्ट लगाएर र कुटेर आफूले नै पागल बनाइदिएको कुरा गर्थे । छयालीस सालको आन्दोलनका हामी धेरै युवाहरू उनले दिने यातनाको सिकार भएका छौं । उनैको नेतृत्वमा कष्टडीमा रहँदा हामीलाई रातको समय पारेर यातना कक्षमा लाने र करेन्ट लगाउने, पैतालामा पिट्ने र नङमा पिनले घोच्ने गरेर यातना दिइन्थ्यो । अरू यातना सहन सकिन्थ्यो तर नङमा पिनले घोचेर दिएको यातना सहन सजिलो थिएन । यातना पाउनेहरू हामी सबै विद्यार्थी थियौं । रातको निस्तब्ध वातावरणमा पनि यातना खप्न नसकेर निस्केको हाम्रो चित्कार बन्द कोठा छिचोलेर अरू बन्दीहरू भएको ठाउँमा पनि पुग्दो रहेछ । यातनाको यो क्रम गिरफ्तार भएको तीन चार दिनसम्म चल्यो । केही दिन पछि त्यही कष्टडीमा ल्याइनुभयो शक्ति लम्साल, गणेश पण्डित, जयप्रकाश आनन्दहरू पनि । हामीलाई दिइएको यातनालाई लिएर उहाँ र गणेश पण्डितले प्रहरीका हाकिमहरूसँग आपत्ति जनाउनु भएछ । त्यसपछि हामीलाई राती लगेर यातना दिने क्रम रोकियो ।

त्यसबेला नियमित यातना पाइरहेका हामी युवाहरूको पंक्तिले उहाँहरूलाई साँच्चैको अविभावक ठान्न पुग्यो । त्यही बसाइले मेरो र शक्ति दाइसँग पछिल्लो सम्बन्धले घनिष्टताको रूप लिन पुग्यो ।
करिब डेढ हप्ताजस्तो बितेपछि कष्टडीमैं भएको बेला एकदिन राती १२ बजेतिर प्रहरीहरू फेरि हामीलाई उठाउन आए । आज फेरि यातना दिने रहेछन् भन्ने शंका गर्दै हामी उनीहरुले भनेको ठाउँतिर गयौं । दौरासुरुवाल र कोटमा सजिएको एउटा डल्लोडल्लो मानिसका अघिल्तिर पुर्‍याइएँ म । झण्डैझण्डै यातना दिने पुलिसकै जस्तो मौखिक व्यबहार देखाउँदै 'तँ कुनचाहिँ महामानव परिस्' भन्दै मतिर टमाटरजस्ता आँखा चम्काए ती मान्छेले । उनी काठमाण्डौका तत्कालीन प्रजिअ केशवराज राजभण्डारी रहेछन् । पछि उनी निर्वाचन आयोगका प्रमुखआयुक्त पनि भए । झण्डै तीन दसक पछि म नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यरत रहेको बेला उनले लेखेको 'भजन र सङ्गीतमा जीवन' भन्ने किताब उपहार पठाइदिएका थिए । त्यसदिन हामीलाई यातना दिन होइन, जेल हाल्ने पुर्जी दिन लगिएको रहेछ । त्यही रात गणेश पण्डित, खड्ग गुरुङलगायत हामीलाई केन्द्रीय कारागार चलान गरियो । तर शक्ति लम्साल दाइलाई त्यसदिन हामीसँग छुटाएर भद्रगोल जेलमा लगियो ।
प्रहरी कष्टडीको भन्दा जेलको वातावरण धेरै खुल्ला र स्वतन्त्र प्रकारको थियो । त्यसबेला केन्द्रीय कारागारमा राजबन्दीहरूको संख्या झण्डै डेढ सय जति थियो । दिउँसो जेलको आँगनमा राजनैतिक छलफल गरेर समय बिताउँथ्यौं हामी । जेलको आँगनमा गरमागरम छलफल हुन्थ्यो । अरू कैदी बन्दीहरू पनि हाम्रो छलफल सुन्न खुबै झुम्मिन्थे ।
"शक्ति दाइ यतिबेला के गरिरहनु भएको होला ?" गणेश पण्डित बेलाबेलामा हाम्रो अनुहार हेर्दै भन्नुहुन्थ्यो । छलफलको बिचबिचमा शक्ति दाइको सम्झना गराइरहनु हुन्थ्यो उहाँ ।
शक्ति लम्साल दाइसँग प्रहरी कष्टडीमा बस्दाको एउटा घटना अहिले सम्झँदा पनि हाँसो उठ्छ । बिस्तारै कष्टडीमा राजबन्दीको संख्या बढ्दै जान थालेको थियो । त्यहाँ दिउँसो उनीहरूले दिएको थाल लिएर खानाको लागि लाइन लाग्नु पर्थ्यो । खानाको लाइनमा जाने शक्ति दाइ खुसुक्क मलाई भन्नुहुन्थ्यो - 'मातृकाजी ! मिल्छ भने पुलिसलाई भनेर मलाई माम्रीको व्यवस्था गरिदिनुस् न !' कष्टडीमैं रहेको बेला मैले उहाँलाई भातको माम्री निकै मिठो लाग्दोरहेछ भन्ने थाहा पाएँ । मेषमा बसेको र हामी प्रति प्रेमपूर्वक व्यवहार गर्ने पुलिसलाई भन्थेँ म । उनी सकेसम्म शक्ति दाइको लागि माम्रीको व्यवस्था मिलाइदिन कोसिस गर्थे ।
जेलबाट निस्केपछि शक्ति लम्साल दाइसँग नियमित भेट हुने नै भयो । साहित्यिक सम्बन्ध त पुरानै थियो । तर त्यसपछि उहाँले मलाई पत्रकार बनाउन निकै कोसिस गर्नुभयो । ०४८/ ४९ सालतिर इटुम्बहालबाट पृष्ठभूमी साप्ताहिक लगायतका जनपक्षीय पत्रिकाहरू प्रकाशित हुन्थे । उहाँ सबैजसो पत्रिकाको कुनै न कुनै जिम्मेवारी लिनुहुन्थ्यो । कुनै पत्रिकाको मूल जिम्मेवारी हुन्थ्यो उहाँको र कुनैको सहायक । पत्रिकाको पेज हेरेर राति ११ /१२ बजे उहाँसँग हिंडेरै केही पटक उहाँको घर विशालनगर, चण्डोल आएको छु । राति १/२ बजे घर पुग्दा पनि कृष्णा भाउजू उस्तै अत्मियताका साथ हामीलाई खाना बनाएर ख्वाउनु हुन्थ्यो । स्मृतिका ती घटना सम्झेर म यतिबेला शक्ति लम्साललाई वास्तवमा हामी हजारौंको हृदयमा बस्न लायकको शक्ति लम्साल बनाउन कृष्णा भाउजूको मनग्गे भूमिका हुनुपर्छ भन्ने अनुमान गर्छु । मलाई पत्रकार पनि बनाउने उहाँको चाहनालाई मैले पुरा गर्न सकिन ।
शक्ति लम्साल विचारप्रति दृढ र स्वाभिमानी व्यक्ति पनि हुनुहन्थ्यो । मैले उहाँको जीवनमा नजिकैबाट देखेको र भोगेको एउटा घटना सम्झन्छु । वि.सं. २०४७ सालमा तीनवटा कम्युनिष्ट पार्टीहरू नेकपा (चौम) , नेकपा (मशाल) र सर्वहारावादी श्रमिक संगठनको बीचमा एकता भएर नेकपा ( एकता केन्द्र ) बनेको थियो । एकता भएपछि उहाँ एकता केन्द्रमा जोडिन आइपुग्नु भयो । हुन त, उहाँले पहिले पनि नेकपा (चौथो महाधिवेशन) समूहको राजनैतिक र वैचारिक कार्यदिशाकै सेरोफेरोमा आबद्ध रहेर काम गरिरहनु भएको थियो । ने.क.पा. (चौथो महाधिवेशन) विभाजन भए पछि उहाँ नेकपा (मशाल) मा आबद्ध रहेर काम गर्नुभयो । वि.सं. २०४२ सालमा नेकपा (मशाल) मा पुनः अनावश्यक विवाद हुँदा यसप्रकारको विवाद नगर्न र पार्टी विभाजन नगर्न उहाँले सुझाव दिनुभयो तर उहाँको सल्लाह विपरित फेरि पनि पार्टी विभाजन भएपछी दबाबस्वरुप विद्रोह गरि कृष्णदास श्रेष्ठ नेतृत्वको नेकपा (मालेमा) मा समाहित हुनुभयो । नेकपा (मालेमा) मा पोलिटब्युरोको रुपमा सकृय रहनु भयो । उहाँ मार्क्सवाद, लेनिनवाद र माओ विचारधारालाई पथप्रदर्शक मान्ने सबल क्रान्तिकारी पार्टीको पक्षमा हुनुहुन्थ्यो । नेकपा (एकता केन्द्र) बनेपछि शक्ति लम्साल नेकपा (मालेमा) बाट एकताकेन्द्रमैं फर्कनु भयो । त्यसबेला पार्टीले उहाँलगायत बलराम बाँस्कोटा, कृष्ण के.सी. र मलाई मध्य काठमाण्डौंको मध्यइलाका कार्यक्षेत्र निर्धारण गरेर एउटा समिति बनाइदियो । यो समिति काठमाण्डौंको जिल्ला समितिको अन्तर्गत थियो । हाम्रो यस समितिको इन्चार्ज हरिबोल गजुरेल हुनुहुन्थ्याे । हामी इन्चार्ज हरिबोल गजुरेलसँग शक्ति दाइलाई यति सानो जिम्मेवारीमा राख्नु हुँदैन भनेर भन्थ्यौं । उहाँलाई पार्टीको केन्द्रीय समितिमा राख्न पहल गर्नुस् भन्थ्यौं । पार्टीले दिएको भूमिका अनुसार काम गर्नुपर्छ भनेर शक्ति दाइ उल्टै हामीलाई सम्झाउनु हुन्थ्यो । पद र प्रतिष्ठाका लागि लुछाचुँडी गर्ने अहिलेको पुस्ताका लागि उहाँको यो बुझाई अचम्मको लाग्न सक्छ । उहाँलाई पार्टीले दिएको त्यस जिम्मेवारीलाई लिएर म अझै सन्तुष्ट बन्न सकिनँ ।
शक्ति लम्सालको जीवनको एउटा महत्त्वपूर्ण पक्ष के हो भने उहाँले नेपाली कम्युनिस्ट आन्दोलनका प्रारम्भिक महत्वपूर्ण मोडहरूमा केवल दर्शकको भूमिका निर्वाह गर्नुभएन, सक्रिय सहभागी हुनुभयो । आन्दोलनको मैदानमा होमिने र बाहिरबाट दर्शकको रूपमा हेर्नेका दृष्टिकोणहरू समान नहुन सक्छन् । नेपाली कम्युनिस्ट आन्दोलनका प्रारम्भिक अवस्थादेखि झण्डै साठीको दशकसम्मको आरोह अवरोह भोगेको व्यक्तित्व हुनुहुन्थ्यो ।
बाबु कृष्णप्रसाद र आमा राधादेवी लम्सालका सन्तान शक्ति लम्सालले औपचारिक रूपमा मेट्रिकसम्मको शिक्षा प्राप्त गर्नुभयो । तर उहाँले वास्तविक शिक्षा पाठ्यपुस्तकभन्दा बाहिरको जीवन र मार्क्सवादको वैचारिक आलोकबाट प्राप्त गर्नु भयो । समाज, राजनीति, वर्गीय असमानता, जनताको दुःख र परिवर्तनको हुटहुटीले उहाँको ज्ञानको गहिराई विशाल बन्दै गएको पाइन्छ । जीवनको यही विश्वविद्यालयले उहाँलाई एउटा राजनीतिक चेतनाले सम्पन्न अभियन्तामा रूपान्तरण गर्‍यो ।
मैले बुझेका शक्ति लम्साल कम्युनिष्ट पार्टीभित्र हुर्कँदै गएको सत्तालोलुपता, आर्थिक तथा सामाजिक विचलनको प्रखर बिरोधी हुनुहुन्थ्यो । क्रान्तिको नाउँमा चलाइएका जनविरोधी कृत्यको उहाँ कहिल्यै समर्थक हुनुभएन । उहाँ सांस्कृतिक क्रान्तिका अब्बल अनुयायी हुनुहुन्थ्यो ।
वि.सं. २०७२ कार्तिक २५ गते नेपाली बाम अन्दोलनले एकजना अविश्रान्त र अविचलित योद्धा गुमाएको दिन हो । समाज रूपान्तरणलाई मूल ध्येय बनाएर उहाँले रुख, गुलाब, अजय, आजाद, पथिजस्ता विभिन्न छद्म नाम प्रयोग गरेर पनि लेख्नु भयो । रुखझैँ उभिएर, गुलाबझैँ सौन्दर्य जोगाएर, ‘अजय’ विश्वास बोकेर, ‘आजाद’ आकांक्षा लिएर र ‘पथिक’ बनेर हिँडेको त्यो जीवन आज भौतिक रूपमा हामीमाझ छैन । तर इतिहासको लामो बाटोमा उहाँका पाइला लामो समयसम्म देखिनेछन् । पक्कै पनि परिवर्तनको सपना देख्ने मानिसले आफ्नो समयसँग कति इमानदार भएर बाँच्नुपर्छ ? भन्ने प्रश्न गरेको बेला शक्ति लम्सालको जीवन त्यस प्रश्नको एउटा जीवन्त उत्तर हुनेछ ।
शक्ति लम्सालको जीवनलाई पढ्दा एउटा निष्कर्ष सजिलै निकाल्न सकिन्छ । उहाँले आफ्नो समयका कठिन प्रश्नहरूबाट भाग्ने बाटो कहिल्यै रोज्नुभएन । उहाँ मेरो हृदयमा सदैव कम्युनिष्ट आदर्श र निष्ठाको बिम्ब बनाउन सफल एकजना क्रान्तिकारी तपस्वीको रूपमा सम्मानित भएर बाँच्नुभयो ।
ooo

Tuesday, September 1, 2026

कविता : रसुवा ! त्यसबेला म तिमीसँगै हुनेछु

 - मातृका पोखरेल


आँखाभरि भोलि बोकेर
जसरी बिहानको पहिलो घाम
हिमालको निधारमा आइपुग्छ
तिमी त्यसरी नै आउनू
अँध्यारोले छोपेका घरहरूको छानोमाथि
एउटा उज्यालो लिएर आउनू
रसुवा ! त्यसबेला म तिमीसँगै हुनेछु ।

भोलि पनि बिर्सनु हुँदैन हामीले
आमाको काखबाट हराएका बच्चाको आवाज
सुनाउनु पर्छ फेरि पनि
सधैँसधैँ छेउमा
उसको हराएको घरको तस्बिर
राख्नु पर्छ साँचेर
बुढो बाबुको खाली आँगनमा
फर्केर आउने पाइतालाको आवाज
सँगसँगै राख्नुपर्छ
एक्लिएको विश्वासको छेउमा
अझै बाँकी रहेको
जीवन र सपनाको स्पर्श
यी सबैसबै राख्नु पर्छ
हामीले सजाउनु नै छ उजाड बगरहरूमा
फेरि अर्को वसन्त
रसुवा ! त्यसबेला म तिमीसँगै हुनेछु ।

जीवनको आकाशमा निराशालाई भगाउनु छ
भोलि सबैरै
फेरि एउटा गाउँ बसाउनु पर्छ
फेरि एउटा भविष्य उठाउनु पर्छ
फेरि एउटा सभ्यता उठाउनु पर्छ
त्यसबेलासम्म हामीले
धैर्यताका बीजहरूले
आफ्नै घर, आँगनमा
विश्वास रोपिसक्नुपर्ने छ
ए चेतनाको वसन्ती मान्छे !
विश्वास नरोपी
बगरमा त्यसै उम्रिँदैन वसन्त
रसुवा ! त्यसबेला म तिमीसँगै हुनेछु ।

ooo

सल्लाघारी, भक्तपुर
२०८३ भाद्र १६ गते

[ २०८३ साल भाद्र १० गते भोटे कोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा पारेको व्यापक जनधनको क्षतिपछि लेखिएको कविता ]




======================================================













Tuesday, August 11, 2026

कविता : म साँच्चै बौलाएँ कि के हो ?

- मातृका पोखरेल


अचेलभरी
​म बौलाएँ कि के हो ?
नसोचेका कुरा देखिरहेको छु
आफैँलाई विश्वास नलागेजस्तो
के भइरहेको छ मलाई ?
​के साँच्चै ऊ तपस्वी थिएन पहिले ?
कि मैले भेट्दै दलाल थियो ऊ ?
के गल्लावाल नै थियो पहिल्यैदेखि ?
के देखिरहेको छु म
कि साँच्चै म बौलाएँ ?
आजकल
आफैँलाई विश्वास नलागेका आवाजहरू
निरन्तर सुनिरहेको छु
​के मान्छेको भन्दा
फ्याउरोको हुंकार सुन्दर हुन्छ ?
पक्कै नहुनु पर्ने
अचेल मलाई त्यस्तै बोध भइरहेको छ
वा मेरो कानले के सुनिरहेको छ ?
आफ्नै कानसँग आफैँलाई अविश्वास लागिरहेको छ
म भ्रममुक्त छु
​उनीहरू झूट बोल्न मञ्चमा माइक खोसिरहेका छन्
आफ्नो व्यभिचारको व्यापार बढाउन
‘जनता’को नाम यति धेरै लिन्छन्
अचेल मलाई ‘जनता’ शब्द
कुनै अपमानको सम्बोधन जस्तो लाग्छ
​हिजो जादुजस्तो लाग्ने उसको आवाज
कर्कश स्वरजस्तो सुन्छु
साँच्चै म बौलाएँ कि के हो ?
हिजो उसको आह्वानमा
मैले सडकमा आगो बालेँ
तर आज ऊ
बिचौलियाको योजना झोलाभरी बोक्छ
अब मेरो चेतनाले विद्रोह गरिरहेछ
​हिजो विद्रोह गर्न उद्वेलित गर्ने उसका तर्कहरू
आज कसरी मालिकको स्तुतिमा गाइने
हनुमान चालिसाका भजन भए ?
साँच्चै म बौलाएँ कि के हो ?
के देख्दै छु आज ?
​कि मेरो आँखामा मोतीबिन्दु उम्रियो ?
कि मेरो मगजको तार खुस्कियो ?
​ऊ हिजो उज्यालोको दूत बनेर आएको थियो
उसको ओठमा नयाँ युगको मन्त्र थियो
उसका आँखामा भोलिको बिहान थियो ।
​तर आज -
ऊ आफ्नै पुराना शब्दहरूमा आगो लगाउँदै छ
ऊ आफ्नै इतिहासको मूल्यलाई
सट्टाबाजीको बैनापत्रमा लेखिरहेको छ
​कि यो मेरो भ्रम हो ?
​अचेल घरिघरि मलाई
मेरा आँखामाथि शङ्का लाग्छ
मेरा कानमाथि अविश्वास लाग्छ
मलाई हिजोआज उसको अनुहार
मान्छे बेच्ने गल्लावालजस्तो देख्छु
कि म साँच्चै बौलाएँ ?
अचम्म लागिरहेको छ -
​म मात्रै बौलाएँ कि
अरू पनि बौलाइरहेका छन्
ऊ हिजै थियो कि गल्लावाल ?
आज मात्र बनेको हो ?
प्रश्न घुमिरहेको छ मभित्र
म साँच्चै बौलाएँ कि के हो ?
ooo

 

Sunday, August 9, 2026

'सम्झनामा कवि गोष्ठी' सम्पन्न

 


वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई स्रष्टाहरूले २०८३ साउन २४ गते बिहान  'सम्झनामा कवि गोष्ठी' गरेर सम्झेको खबर छ।

साहित्यकार नगेन्द्रराज शर्माको गत असार ३१ गते ८९ वर्षको उमेरमा निधन भएको थियोे। नगेन्द्रराज शर्मा नेपाल साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष पनि हुन्।

नेपाल साहित्यिक पत्रकार संघद्वारा आयोजित उक्त कवि गोष्ठी संघका अध्यक्ष मोहन दुवालको सभापतित्वमा सम्पन्न भएको  थियो। कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन', संघका वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकी, केन्द्रीय उपाध्यक्ष रामप्रसाद पन्त, अभिव्यक्तिका सम्पादक पवन आलोक, डा.तुलसी भट्टराई, शब्दपथका प्रधान सम्पादक किशोर पहाडी, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, दोभान पत्रिकाकी सम्पादक बालिका गिरी तथा नगेन्द्रराज शर्माका जेष्ठ सुपुत्र प्रणयराज शर्मा मञ्चासीन रहेका थिए।

नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवालले साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको व्यक्तित्व तथा कृतित्वका बारेमा संक्षेपमा प्रकाश पार्नुका साथै शर्मा आफ्नो पत्रकार गुरु भएको बताए। उनकै प्रेरणाले आफू साहित्यिक पत्रकारितामा लागेको बताए। आज वाचन गरिएका कविताहरू जनमत पत्रिकामा छापिने र विशेषाङ्कका रूपमा निस्कने पनि उनलेे बताएका थिए।

कवि गोष्ठीमा तीन दर्जनभन्दा बढी कविहरूले नगेन्द्रराज शर्माप्रति समर्पित  आ-आफ्नो रचना वाचन गरेर सुनाएका थिए।

रचना वाचन गर्नेहरूमा मोहन दुवाल, पवन आलोक, देविका तिमिल्सिना, किशोर पहाडी, डा.राजेन्द्रप्रसाद अधिकारी, राम प्रसाद पन्त, सूर्यप्रसाद लाकाजु, राधेश्याम लेकाली, मणि लोहनी, यादव भट्टराई, कृष्ण प्रधान, रामसुन्दर देउजा, प्रा.डा. सावित्री श्रेष्ठ, डा.दामोदर पुडासैनी'किशोर', डा.शैलेन्दुप्रकाश नेपाल, वियोगी बुढाथोकी, प्रल्हाद पोखरेल, डा.रामप्रसाद दाहाल, ललिता दोषी, कृष्ण बाउसे, मातृका पोखरेल, डा.छाया दत्त न्यौपाने, ठाकुर शर्मा भण्डारी, तेज विलास अधिकारी, डा. पुष्करराज भट्ट, राममणि ढुङ्गेल, राम विनय, सुभाषचन्द्र पौडेल 'भीमफेदीया', बुद्धिराज पाण्डे, तुलसीराम पुडासैनी, सृजना दुवाल, नवराज पुडासैनी 'ज्योत्सना', डा.शेखरकुमार श्रेष्ठ, रेणुका भट्टराई'मञ्जरी', गोपाल बराल, प्रणयराज शर्मा घिमिरे कृष्ण सुवेदी'भारद्वाज', वसन्त रिजाल तथा जगत वाशिष्ट  रहेका थिए।

डा.तुलसी भट्टराई, श्रीओम श्रेष्ठ'रोदन', विष्णुप्रसाद शर्मा पराजुली, अच्युत घिमिरे तथा बालिका गिरीले नगेन्द्रराज शर्माको व्यक्तित्व र साहित्यिक पत्रकारितामा उनलेे पुर्याएको योगदानको चर्चा गर्दै श्रद्धा सुमन अर्पण गरेका थिए।

पुतलीसडकस्थित ग्रीनलीफ रेष्टुरेन्टमा भएको कार्यक्रमको सञ्चालन संघका महासचिव चेतनाथ धमलाले गरेका थिए।

कार्यक्रमको शुरूवात नगेन्द्रराज शर्माको तस्बिरमा पुष्प गुच्छा र फूलको माला अर्पण गर्दै उहाँको स्मरणमा एक मिनेट मौन धारण गरिएको थियोे।

अन्तमा उहाँको तस्बिर जेष्ठ सुपुत्र प्रणयराज शर्मा घिमिरेलाई हस्तान्तरण गरिएको थियो।

ooo

शब्दपथबाट













































----------------------------------

कविता :

नगेन्द्रराज शर्मा एउटा नाम हो
[नगेन्द्रराज शर्माको सम्झनामा समर्पित]


- मातृका पोखरेल

​केही मान्छेहरू छन्
समयको भीडमा
समयकै निधारमा
अभावमा किनेको कलमले
एउटा उज्यालो लेखेर जान्छन् ।

​नगेन्द्रराज शर्मा !
त्यही उज्यालोको एउटा नाम हो ।

​सस्तो प्रशंसा र होहल्लाको बजारबाट टाढा,
आफ्नै निष्ठाको एकान्त रोजेर
अन्धकारका भित्ताहरूमा
अक्षरका ससाना दियोहरू बाल्दै
अविचलित निरन्तर हिँडिरहने

​नगेन्द्रराज शर्मा !
त्यही साधनाको एउटा नाम हो ।

​सिर्जनालाई
समयको कठघरामा उभ्याउने साहस
सबैसँग हुँदैन
त्यही साहस बोकेर
उनले जोगाउन खोजे कलमको स्वाभिमान
उनले जोगाउन खोजे विचारको स्वतन्त्रता
उनले जोगाउन खोजे साहित्यको मर्यादा

​नगेन्द्रराज शर्मा !
त्यही अभियानको एउटा नाम हो ।

​नयाँ पुस्ताका अज्ञात आँखाहरूमा
सपनाका बीउ रोप्दै,
आफ्ना अनिँदा रातहरूलाई कालो मसी बनाएर
शब्दहरूको बगैँचा गोडमेल गर्ने
सिर्जनालाई नै जीवनको आस्था मान्ने

​नगेन्द्रराज शर्मा !
त्यही समर्पणको एउटा नाम हो ।

​युगहरू बदलिन सक्छन्,
समयको लय फेरिन सक्छ,
प्रतिवद्धताको गहिराइमा
साहित्यको निस्वार्थ उँचाइमा
हामीलाई बाटो देखाउँदै हिँडिरहने

​नगेन्द्रराज शर्मा !
त्यही यात्राको एउटा  नाम हो ।

ooo