Wednesday, December 24, 2025

पीताम्बर भण्डारी : समाजसेवा, जनसंघर्ष र सिर्जनाको त्रिवेणी प्रतिभा - मातृका पोखरेल

साहित्यकार पीताम्बर भण्डारी सत्तरी वर्षको उमेर व्यतित गरेर २०७४ फागुन १० गते हामी सबैसँग सदाका लागि विदा हुनुभयो । उहाँ जति समय बाँच्नु भयो सामाजिक सेवा, प्रगतिवादी साहित्य र जनपक्षीय राजनीतिको अभियन्ता भएर जीवनका उर्वर समयहरू नेपाली समाजलाई अर्पण गरेर बाँच्नुभयो । सबैले जीवनको महत्त्वका बारेमा यसरी सोच्दैनन् पनि र व्यवहारमा लागु पनि गर्दैनन् । समाजमा थोरै मानिसहरू मात्र हुन्छन् जीवनलाई देश र समाजको हितसँग जोड्ने । पिताम्बर भण्डारी त्यस्तै थोरै मानिसभित्र पर्नुहुन्थ्यो । व्यक्तिगत स्वार्थभन्दा वाहेकका यी तीनै क्षेत्रबाट उहाँले समाजमा मनग्गे योगदान गर्नुभयो ।

पिताम्बर भण्डारीलाई सम्झँदा मेरा अघिल्तिर प्राय: प्रगतिशील लेखक सङ्घका गतिविधि र प्रतिगमन विरुद्धको आन्दोलन बढि मात्रामा आउने गर्छ । उहाँसँगको मेरो पहिलो सम्बन्ध प्रगतिशील लेखक सङ्घका कार्यक्रमहरूले विकसित गरायो । सडक सङ्घर्ष र राजतन्त्र विरोधी आन्दोलनले आत्मीय बनायो । प्रत्येक पटक काठमाण्डौ आउँदा उहाँ मेरो रत्नपार्कको जागिरे कार्यालय नेपाल विद्युत प्राधिकरण निस्किएर र बोलाएर हिँड्नु हुन्थ्यो ।

२०५८ सालतिरको हिउँदको कुनै महिनाको कुरा हो । साथीहरूसहित् म पनि प्रगतिशील लेखक सङ्घ, सिन्धुपाल्चोकको सम्मेलनमा चौतारा पुगेको धमिलो सम्झना छ । त्यो सम्मेलनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको सम्झिन्छु । प्रगतिशील लेखक सङ्घको सिन्धुपाल्चोकमा उहाँसँग मेरो अर्को संयोग पनि पऱ्यो । करिब आठ वर्ष अध्यक्षको जिम्मेवारी पुरा गरेर वि.सं. २०६६ सालको जेठ महिनामा दोस्रो जिल्ला सम्मेलन गरेर उहाँ विदा हुन लाग्दै हुनुहुन्थ्यो । त्यो सम्मेलनका लागि जिल्ला अध्यक्ष पीताम्बर भण्डारीको अनुरोध अनुसार केन्द्रीय समितिबाट साथीहरूले मलाई जान आग्रह गर्नुभयो ।सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भएको त्यो सम्मेलनको उद्घाटन सत्रमा तत्कालिन एकीकृत नेकपा माओवादी सिन्धुपाल्चोकका नेता सुबोध सापकोटा र नेकपा एमाले सिन्धुपाल्चोकका नेता सरेश नेपालका बिचमा भएको वाकयुद्धले सम्मेलन सफल हुँदैन कि भन्ने म भित्र एउटा आशंका पैदा थियो । मैले मञ्चमा कार्यक्रमको सभापति रहनुभएको अध्यक्ष पीताम्बर भण्डारीसमक्ष यो शंका व्यक्त गरेँ । उहाँले मलाई यहाँको स्थानीय राजनीति यस्तै हो, केही फरक पर्दैन भनेर वारम्बार आश्वस्त बनाइरहनु भएको थियो । तर पछि पीताम्बर भण्डारी, माधव सापकोटा, सरेश नेपाललगायतले प्रगतिशील लेखक सङ्घको साझा मोर्चाको अवधारणालाई लागु गर्न प्रयत्न गर्नुभयो । त्यो सम्मेलनबाट साधुराम नेपाललाई अध्यक्ष बनाएर पीताम्बर भण्डारीले आफ्नो जिम्मेवारी पुरा गर्नुभयो । पीताम्बर भण्डारी अध्यक्ष भएको त्यो आठ वर्षको कार्यकालमा विभिन्न कार्यक्रममा उहाँले बोलाइरहनु भयो म सिन्धुपाल्चोक पुगिरहेँ । उहाँले जति समय प्रेलस, सिन्धुपाल्चोकको नेतृत्व सम्हाल्नु भयो, त्यो जिल्लालाई सक्रिय जिल्लाको रूपमा दर्ज गराइरहनु भयो ।

२०६६ साल पुस ११ गते पिताम्बर भण्डारीले आफ्नो पहलमा काठमाण्डौबाट हामी नयाँ पुराना धेरै साहित्यकारहरुलाई किउल लग्नुभयो । त्यो कार्यक्रममा कृष्णचन्द्र सिंह प्रधान, तेजेश्वरबाबु ग्वंग, मोहन दुवाल, जगन्नाथ आचार्यलगायत अग्रज पुस्ताका साहित्यकार पनि हुनुहुन्थ्यो । हामी नयाँ पुस्ताका साहित्यकारहरूको ठुलो संख्या थियो । एउटा सामान्य गाउँमा त्यो स्तरको कार्यक्रम गर्नु सामान्य कुरा थिएन । सयौं पाहुनाहरुलाई रात बस्ने व्यवस्था मिलाउनु सामान्य कुरा छँदै थिएन । त्यसबेला खाएको खिरको सम्झना अझै पनि छँदै छ । अझ त्यही राति केही युवा साथीहरूसँग किउलको सामान्य एउटा छाप्रो पसलमा एकसय रुपैयाँमा एउटा सिंगो कालिज किनेर खाएको सम्झना पनि उत्तिकै ताजा छ । त्यहीँको कार्यक्रममा सिन्धुपाल्चोकको शैक्षिक उन्नयनमा पनि योगदान पुऱ्याउनुभएका वरिष्ठ साहित्यकार एवं संस्कृतिविद श्री तेजेश्वरबाबु ग्वंगःलाई व्यथित सिन्धु प्रतिभाका रुपमा र प्रख्यात छन्द कवि जगन्नाथ आचार्यलाई सिन्धुप्रतिभाका रुपमा सम्मानित गरेको थियो । त्यो कार्यक्रम आयोजनाको एकल केन्द्र हुनुहुन्थ्यो पीताम्बर भण्डारी । उहाँले आफू कुशल व्यवस्थापक रहेको परिचय पनि त्यो कार्यक्रमबाट राम्रोसँग दिनु भएको थियो ।

उहाँ जहाँ संलग्न हुनुभयो, त्यहाँ संगठन, क्रियाशीलता र परिणाम सकारात्मक देखिने गरेको साथीहरूको प्रतिकृया हुन्थ्यो । उहाँ हरेक समुदायलाई आफैँ सँगै हिँडेर विकास गर्न प्रेरित गर्ने असल जन-अभियन्ता हुनुहुन्थ्यो । नेपाली समाजको रूपान्तरणका प्रत्येक उपलब्धीमा पिताम्बर भण्डारीहरूको यथेष्ट योगदान छ । सिन्धुपाल्चोकको आउँदो पुस्ताले उहाँको योगदानलाई सम्झिएर इतिहासप्रति न्याय गर्न सक्नुपर्छ ।

००० 













----------------------------------------------------------------------




Thursday, December 18, 2025

कविता : घर घरजस्तै भइदिए हुन्थ्यो

 मातृका पोखरेल


पानी पर्ने दिन
हुरी चल्ने रात
आँखा झिमिक्कै पार्न पाइँदैन
रातभर अनिँदो बस्नुपर्छ
अब यो घर
हिजोको जस्तो रहेन ।
फेरि पनि मनभित्र
एउटा पुरानो उत्कण्ठा सल्बलाइरहेकै छ —
मात्र यो घरले
हुरी छेकीदिए हुन्थ्यो
वर्षादको पानी रोकिदिए हुन्थ्यो
छानाबाट हरदम डर चुहिरहन्छ
न झकाउन सकिन्छ
न निदाउन सकिन्छ
लेउ लागेका भित्ताहरूले
अविश्वास र असुरक्षा लेखिएका
म्यादहरू तामेली गरिरहेकाछन् ।

उहिले भन्नेहरूले भने -
यो हामी धेरै अट्ने घर हो भने
यो घरमा बसेपछि कोही अपमानित हुनु पर्दैन भने
हामी सबैले पत्यायौं
र घरलाई खुवै माया गऱ्यौँ
म जस्तै
इतिहासका धेरै पाइलाहरू
यस घरको आँगनमा आए
भविष्य खोज्नेहरू आए
मुक्ति खोज्नेहरू आए
नयाँ सपना बोकेर आएका
थकित अनुहारहरू आए
सबै मिलेर माटो र रगत मुछे
घरको जग बढाए
र पसिनाको गाह्रो लगाए ।

जब तिमीले अगुवा भएर भन्यौ -
यसलाई सबैको घर बनाउँछु
त्यही दिनदेखि
मेरो घर भन्दै गोमनहरू पस्न थाले
मेरो घर भन्दै आए खजुरा र बिच्छीहरू
घर क्रमशः खण्डहर बन्दै छ
भविष्य खोज्नेहरू निरास छन्
मुक्ति खोज्नेहरू हरेस खान थाले
सपना देख्नेहरू देख्न छाडे
यतिवेला -
उनीहरु निरन्तर घर छाडिरहेछन्
यो घरलाई विश्वास गरेकोमा पछुतो मानिरहेछन्
सोचौं, धेरै सोचौं
घरको आस्था भनेको -
कम्तीमा विश्वासको निद्रा लाग्नुपर्छ
कम्तीमा भोलिको भरोसा बन्नुपर्छ
फेरि पनि घर चाहिन्छ
तर घर घरजस्तै
जहाँ पानी परेपछि पनि निदाउन सक्नुपर्छ
जहाँ बच्चाहरू निर्भयसँग खेल्न सक्नुपछ
जहाँ आमाहरूले मुस्कुराएर आशीर्वाद दिन सक्नुपर्छ
जबसम्म तिमी
यो घरलाई सबैको भन्छौ
वर्ग प्रेमको यो घर भत्काउन योजना कोर्नेहरू
भान्साको पिर्कामा बसेर
डाडु पनिउँ समाइरहेछन्
कोठाचोटा कब्जा गरिरहेछन् ।

मलाई अब मेरो घर
खण्डहर होइन
भव्य र सुरक्षित चाहिएको छ
अरबको मुटु फुटाउने तातो हावामा भविष्य खोजिरहेको
कान्छो भाइलाई बोलाउनु छ र भन्नु छ
मुम्बईमा बेचिएकी बहिनीलाई
स्वदेश फर्काएर विश्वास दिलाउनु छ
सोचौँ—
धेरै सोचौँ
कालकुट विष पिएर बाँचेको यो घर
कम्तीमा विश्वासको निद्रा लाग्ने ठाउँ बन्नुपर्छ
म अहिलेसम्म
यही घरभित्र बसेर
यो घरलाई मेरो भनेर दावी गर्ने
गोमन सर्पहरूसँग लडिरहेको छु
खजुरा र बिच्छीहरूसँग लडिरहेको छु
जबसम्म यो घर खण्डहर हुन्छ
त्यस दिनसम्म
म यो प्रश्न बोकेर
तिमीसँग लडिरहन्छु
लडिरहन्छु ।

ooo

२०८२ साल पुस ५ गते प्रकाशित

Tuesday, December 2, 2025

कविता : खण्डहरबाट एउटा आवाज

मातृका पोखरेल

[ आफ्नो मातृभूमिको रक्षाका लागि सङ्घर्षशील प्यालेस्टाइनीहरूमा समर्पित ]


म प्यालेस्टाइन !
माथि आकाश हेर्छु
यसको नीलो रङ्गमा रमाउने अधिकार खोज्छु
अनगिन्ती तारापिण्डहरूसँग हराउने सपना देख्छु
म आफ्नै देशमा अपरिचित र असहाय
हो, म प्यालेस्टाइन !

मेरै घरमा बसेर
मलाई बन्दुक ताक्नेहरू
मेरो सपनामा खुवै आउँछन्
त्यो घरको ढुङ्गा
त्यो आँगनको माटो
त्यो झ्यालबाट देखिने दृश्य
त्यो आमाको स्वर
एकाएक हराए
अब म सँग
गुमेको सभ्यताको एउटा कथा बाँकी छ ।

ती खण्डहर सडकहरू
एकैचोटि समाप्त भएका ती बैठक कोठाहरू
ती भत्किएका गेटहरू
ती जलेका पलङ र कुर्सीहरु
आफ्नो सभ्यता खण्डहर भएको दृश्य हेर्न विवश
मानौं म एक पर्यटक हुँ
यो शहरमा बाँचेका मानिसहरू कसैसँग गुनासो गर्दैनन्
अचेल हाम्रो आँखाबाट आँसु बग्दैन
धुवाँको ज्वाला निस्कन्छ ।

म फेरि हेर्छु -
त्यहीँ नेर थियो मेरो एउटा घर
मारिनु भन्दा अघि
त्यही छेउमा थिइन मेरी आमा
त्यहीँ खेलिरहेका थिए मेरा बच्चाहरू
सम्झनास्वरूप यतिबेला मेरो हातमा
मेरो छोराको छुटेको एउटा जुत्ता छ
उसको जलेको किताब छ म सँग
मेरो हातमा छ उसको टिफिन बट्टा
र आमाको मजेत्रो ।

प्रत्येक विपना
मृत्युको ध्वनी बजाउँदै वस्तीमा आउँछ
त्रासद बमको गन्धले वस्ती ढाकिन्छ
फेरि रात पर्छ
तर निद्रा आउँदैन
किनभने सपनामा पनि
ऊ मलाई बन्दुक ताकिरहेको हुन्छ
विपनाजस्तै त्यहाँ पनि मृत्यु आउँछ
सपनामा पनि युद्ध छ
सपनामा पनि चित्कार छ
सपना भनेको
मेरो परिभाषामा अर्को रणभूमि हो
जहाँ चित्कारको प्रतिध्वनि
आकाशले पनि सम्हाल्न सक्दैन
मसँग अब
सभ्यताको एउटा कथा छ
त्यो कथा जलेको धुवाँभित्र कैद भएको
एउटा इतिहास हो ।

म बारम्बार नयाँ बिहान खोज्छु
मेरो छोराको जुत्तामा
अझै पनि माटोको गन्ध आउँछ
त्यो माटो जसले हजारौं बसन्त देखेको थियो
त्यो माटो जुन मेरो र मेरो हो
किनभने म प्यालेस्टाइन हुँ
म कदापि हार मान्दिनँ
प्रतिरोध नै मेरो अस्तित्व हो ।

०००

२०८२ साल पुस ५ गते प्रकाशित

Thursday, November 20, 2025

देवकोटा लुसुन प्रज्ञा-प्रतिष्ठानको चौधौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

देवकोटा लुसुन प्रज्ञा-प्रतिष्ठानको चौधौं वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले आफ्नै सभाकक्षमा २०८२ साल मंशिर ४ गते बिहिवार एउटा छलफल कार्यक्रमको आयोजना गऱ्यो । वर्तमान समयमा नेपालका महान् साहित्यकार लक्ष्मी प्रसाद देवकोटा र चीनका महान साहित्यकार लुसुनका कृतिहरू अध्ययन गर्नु र गराउनु जरूरी छ कि छैन ? भन्ने विषयमा आमन्त्रित अतिथि वक्ताहरूले खुलेर छलफल गरे । कार्यक्रममा साहित्यकार पुष्कर लोहनी, ईश्वरचन्द्र ज्ञवाली, एल.बि. क्षेत्री, सुवास श्रेष्ठ, सुरेश कीरण, नन्दु उप्रेती, डा. सिर्जना शर्मा लगायतले आ- आफ्ना विचार राख्नु भएको थियो । कवि भवानी खतिवडाले महाकवि देवकोटाका विषयमा लेखिएको एउटा कविता बाचन गर्नुभएको थियो । समारोहमा साहित्यकारहरू विश्वदीप अधिकारी, डा. पुष्करराज भट्ट, सीता शर्मा, रमणलाल कर्ण, पुरुषोत्तम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

देवकोटा लुसुन प्रज्ञा-प्रतिष्ठानका अध्यक्ष सुनिल कुमार पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका उपाध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो ।

000