Saturday, August 26, 2017

" अनुहारहरु" मा प्रतिबिम्बित अनुहारहरु - तेजविलास अधिकारी

समालोचना 

१. उठान
अनुहारहरु कविता सङ्ग्रह (२०६४) का रचनाकार मातृका पोखरेल (२०२३) हुन् । स्नातकोत्तर पुरा गरेका पोखरेलका सेतो दरबारको छेउबाट (२०५७), यात्राको एउटा दृश्य (२०६०) र अनुहारहरु (२०६४) कविता सङ्ग्रह तथा सन्त्रस्त आँखाहरु (२०६१) र घाम झुल्किनुअघि (२०६७) कथा सङ्ग्रह प्रकाशित छन् तापनि उनी मूलतः कवि हुन् । नेपाली साहित्यका क्षेत्रमा कविता र कथामा कलमलाई कुदाउँदै नेपाली समाजको चित्रण गर्ने उनी वैचारिक साधकका रुपमा चिनिन्छन् ।
परिचयको अर्को आधारका रुपमा साहित्यिक र सांस्कृतिक सङ्गठनमा समय खर्च गरिरहेका मातृकाले साहित्य सङ्घसंस्थाको नेतृत्वदायी भूमिका समेत निर्वाह गरेका छन् । झन्डै एक दर्जन साहित्यिक सङ्घसंस्थासँग आबद्ध पोखरेलका वैचारिक पृष्ठभूमि र निरन्तरता वाम राजनीतिप्रति छ । साहित्य लेखन र प्रकाशनलाई समाज रुपान्तरणसँग दाँजेर हेर्ने स्रष्टा पोखरेल सबैसँग मिल्न सक्ने रुपमा पनि चिनिन्छन् । उनले लिएको राजनीतिक वैचारिक धरातल द्वन्द्वात्मक भौतिकवाद हो भने व्यावहारिक जीवन शैली समन्वयात्मक रुपको छ ।
अनुहारहरु प्रकाशनका दृष्टिले चौथो र पछिल्लो काव्यकृति हो । यो धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङद्वारा प्रकाशित र ‘काजी रोशन साहित्य पुरस्कार, २०६४’ द्वारा पुरस्कृत कृति हो । कवि मन्तव्य र समालोचक ताराकान्त पाण्डेयको भूमिकाले कविताहरुको रचना गर्भ र समयसँगको नातालाई चिनाउँछ । प्रोल्लास सिन्धुलीयद्वारा निर्मित आवरण बाहेक ४८+१८ पेजमा समेटिएको यस पुस्तकभित्र २३ ओटा गद्य कविताहरु समेटिएका छन् ।
कविता संरचना मात्र होइन, यो त वर्तमानको भोगाइ, विगतको शिक्षा र आगामी यात्राको सङ्केत हो । कवि पोखरेलद्वारा रचना गरिएका कविताका शीर्षक, रचना मिति र प्रकाशन भएका पत्रिकाको सूचनाका आधारमा कविले समाज परिवर्तनको यात्रामा देखेका, भोगेका र अनुमान गरेका विविध आयामलाई उन्ने र बुन्ने काम गरेका छन् । समय व्रmमअनुसार यसभित्रका रचनालाई व्याख्या विश्लेषण गर्ने आधार बलियो छ भने विचारको उत्कृष्टताका आधारमा जोख्दा पनि मूल्य निरूपण गर्न गाह्रो हुँदैन । सामान्यतः २०६१ देखि २०६४ सालसम्मका कविताहरुले सङ्ग्रहलाई समसामयिक दस्तावेजका रुपमा प्रस्तुत गरेका छन् ।

२. विषयगत विविधता 
अनुहारहरुभित्रका कवितालाई अनुहारभित्रका केही अनुहारहरु भन्न उचित होला । यसभित्र सरदरमा दुई पेजका कविताको सङ्ख्या २२ र १ पेजमा संरचित कविताको सङ्ख्या १ छ । आयामका हिसाबले छोटा कविताहरुको प्रस्तुति छन् । शीर्षकलाई अनुशीलन गर्दा ‘सर्त’, ‘नयाँ शताब्दीको थोत्रो मान्छे’, ‘अनुहारहरु’, ‘उसको मृत्यु’, ‘फरक–फरक मुर्दाघाटहरु’, ‘कसको जमिन ?’, ‘टुकुचा’, ‘टोप आतङ्क’, ‘भोलि’, ‘सिंहदरबार’, ‘समय’ र ‘उदयपुर’ रचना र संरचनाका हिसाबले अलि बढी पाठक तान्ने खालका छन् । अन्य कविताहरुले पनि कविको काव्य चिन्तन र विचारको भावभूमिलाई राम्रैसँग संवहन गरेका छन् । ‘समय’, ‘सिंहदरबार’, ‘टोप आतङ्क’, ‘अनुहारहरु’ जस्ता कविताले प्रतिगमन विरूद्धको आन्दोलनमा निकै नै ताली पाएको सन्दर्भ पनि उल्लेख गर्नु जरूरी छ । आज बाँचिरहेको सन्दर्भ झन्डै झन्डै निरङ्कुशता बाहेक शोषणको शैली र राज्यको संरचना उस्तै छ । आजको भन्दा फरक हिजोका दिनमा स्वतन्त्रताका लागि गर्नुपरेको वाक्युद्धको साक्षी बनेर यी कविताहरु हाम्रा सामु छन् ।
म तयार छु—
उनीहरुको पछि लाग्न
तर उनीहरुसँग आँखा हुनुपर्छ
म साँच्चै तयार छु
उनीहरुको पछि लाग्न ... (सर्त, पृ. १)
कविले समाजको उन्नतिका लागि गरिने प्रत्येक आन्दोलनमा लाग्ने मानिस सुदूर योजना विना हिँड्नु हुँदैन र हिँड्दैन भन्ने भाव व्यक्त गरेका छन् । ठिक कार्य गर्न साधनको प्रयोग र त्यसको स्रोत पनि सही हुनुपर्दछ भन्ने मान्यता यस कवितामा अभिव्यक्त छ । यसै गरी ‘नव वर्ष २०६१’ शीर्षक कविताले नेपाली समाजको उन्नति र प्रगतिका स्वर बोक्ने साथै परिवर्तनमा आवाज आउने स्थितिको सिर्जना गर्न विचार अगाडि बढेको सङ्केत गरेको छ ।
वर्षैभरि
चिसा भए मनहरु
सडकबाटै नियाल्यौँ हामीले
सपनाका झुल्काहरु
पोहोर
पुर्खाले भैmँ
हामीले पनि उठाइरह्यौँ मुट्ठीहरु
नयाँ जङ्गबहादुरको विरूद्धमा । (पृ. ३)
कवितामा नयाँ राजा बनेर राजतन्त्रको बिडो थाम्न कस्सिएको ज्ञानेन्द्र शाहको २०५८ जेठपछिका कदमको प्रतिकारमा नेपाली जनताले निकालेका सङ्केत स्वरको झल्को छ । हत्या र हिंसाका बिचबाट देशको संवैधानिक पदका कार्यकारी ज्ञानेन्द्रलाई जनताले चिनेका र त्यसलाई फेर्न हिँडेका कुरा साबुत रुपमा आएको छ । कविताले भने अनुरुपको परिवर्तन दुई वर्ष पनि नपुग्दै आएको सन्दर्भले कविको वैचारिक चेतनाले कविता बनी बस्ती बस्तीलाई उठाएको कुरा यथार्थ साबित भएको छ । ‘सिंहदरबार’ कविता सहज वातावरणमा मधुपर्कमा छापिनु छुट्टै कुरा हो । यो लेखनपछि धेरै ठाउँमा वाचन भइसकेको र सिंहदरबारले राजदरबारको छाया बनेर जनतालाई तर्साएको प्रमाणसहित जनताको आवाज बोक्नेको टाउकोको मूल्य तोक्ने सिंहदरबार जनताको परिवर्तनको पक्षपाती नभएकोमा कविको कटाक्ष छ ः
मेरो गाउँ,
अनिकालको रासन खेप्न
एउटा बोरा दिएर
अर्को नाइके सिंहदरबार पठाउँछ
सिंहदरबार उसको टाउकोको मोल गर्छ । (पृ. ४०)
सिंहदरबारबाट चलिरहेको शासन प्रणाली जनता कि तस्कर र दलालहरुका लागि ? प्रश्न आजसम्म उब्जिरहेको सन्दर्भमा कविले सङ्कट कालमै यो हुँकार छाडेका छन् । कविको सिंहदरबारले देखाएको बहुरुपी स्वभाव साँच्चै स्वभावगत विशेषता हो किनकि यो जनताको नाम लिने चाकरहरुको बस्ती मात्र त होइन ? प्रश्न आजसम्म अनुत्तरित छ ।
सङ्कट कालको टोप शासनमा जनताले भोगेका पीडा र छटपटीलाई ‘टोप आतङ्क’ले मुखर गरेको छ । निहत्था जनतालाई बन्दुक आतङ्कले विद्रोही बनाउने टोप शासकको मूर्त विचारको रक्षक बनेको कुराप्रति कवि निर्भीक भएर काव्य सिर्जन्छन् ।
सुविधा सम्पन्न छ पागलखाना
सबै चिजहरु छन् त्यहाँभित्र
पागलखानाको चार दिवार
युरोपभन्दा सम्पन्न छ
...
पागलहरुको एउटा नामक
खिया लागेको प्रिय आदिम टोप बोकेर
चोर ढोकाबाट लुसुक्क निस्कियो
चार दिवारबाट ऊ बाहिर आएपछि
यति बेला गाउँ आतङ्कित छ
सहर आतङ्कित छ ।
...
हामी वर्तमानका पृष्ठहरुमा
यति बेला लेखिरहेछौँ
टोप आतङ्कको इतिहास (पृ. २६)
कुनै समय कति कुरुप थियो वाक् स्वतन्त्रता ! लिनुपर्ने थियो सहारा साहित्य त्यसमा पनि कविताको । चाकरीबाजहरु ओकलिरहेका थिए राजतन्त्रको भजन । परिवर्तनका पक्षधरहरु गाइरहेका थिए स्वतन्त्रताका प्रिय नारा । यस्तै सन्दर्भमा राज्यको श्वेत आतङ्कका विरूद्ध कविले सिर्जेको कालजेयी रचना हो ‘टोप आतङ्क ।’

३. आज कविताको मूल्याङ्कन
कवि पोखरेलले सङ्केत गरेको ‘भोलि’ कविताको भावभूमि आजको अवस्थाप्रति सङ्केतित छ । नेपाली समाजको अवस्था फेरियो फेरिएन त्यो आज मूल्याङ्कनको विषय हो । नेपाललाई फेर्न गरिबलाई हटाउने होइन गरिबीलाई फाल्नुपर्दछ । के हामीले कविताप्रति न्याय गर्न पनि परिवर्तनलाई संस्थागत गर्न जरूरी छैन ! 
भाइहरु लडेको चिनो
रगतले कट्कटिएको थोत्रो कमेज सिएर
एउटा नयाँ झन्डा बनाउने
त्यही झन्डा बोकेर
विजयको जुलुस निकाल्ने
सन्तान गुमाएका आमाहरुको
च्यातिएको मन
विजयको धागोले सिउने । (भोलि, पृ. ३५)
हामी र हाम्रो नेतृत्व जनताको भोक र शोकप्रति कति सजग र सचेत छ ? कविहरुले कवि र हामीप्रति प्रतिप्रश्न गरेका छन् । हामीले सपना त बाँडेनौँ ? वा ती वास्तविक हुन् भने किन हामी सांस्कृतिक रुपान्तरणलाई महत्त्व दिँदैनौँ ?
शताब्दीयौँदेखि
हामी सबैको घाँटीमा झुन्डिएको छ 
काउछोको माला
बस्तीको चौतारो खोजेर
त्यसको थुप्रोमा डढेलो सल्काउने
र, हामी नयाँ नयाँ चन्द्रमा हुने
हामी भोलि नयाँ नेपाल जन्माउने । (पृ. ३६)
हामीले नयाँ त अवश्यै बनायौँ तर नेपाल चाहिँ बन्दै छ वा बिग्रँदै छ ? पुनः प्रतिप्रश्न हामीतिरै सोझिएको छ । जनताको आवाज बोल्ने हामी र जनतालाई सपना देखाउने हामी कहाँ चुक्यौँ ? कविता पुनः पठन र मनन गर्नुपर्ने पो हो कि ? साँच्चै हामीले गरेका प्रतिबद्धतामा हामी नै चुक्यौँ कि ? यो दस्तावेज यही भन्छ । कवि पोखरेलले नेपाली माटोमा प्राप्त उपलब्धिलाई ठिक ढङ्गले सदुपयोग गर्नुपर्ने आह्वान गरेका छन् ।
मेरो पुर्खाले
गोडमेल गर्दा नदेखेको एउटा झार
झ्याँगिएर विषवृक्ष भएछ,
त्यो हल्किएको देखेर
म व्रmोधले आहत भएँ
म अतीतसँग व्रmुद्ध भएँ
म सेतू सुनार !
मैले खाडलमाथि उठ्न
बलिदानको एउटा भ¥याङ लाएँ
प्रिय आफन्तहरु !
म जङ्गली पूmल !
म सेतू सुनार !
तपाईंहरुभन्दा टाढा
मेरो अर्को कुनै सपना छैन । (पृ. ४५)
नेपाली धर्तीमा नेपालीहरु नै छुवाछुत र भेदभावको सिकार भएकोप्रति कविले सेतु सुनारले दिएको सहादत गतिलो जवाफ भएको जिकिर गरेका छन् । यस अतिरिक्त श्रम र सिपमा दक्ष भएर पनि पछाडि परेको श्रमजीवी नागरिकको जीवनले पीडा भोगिरहनु परेकोतर्पm कवि चिन्तित छन् । जन आन्दोलनको सिलसिलामा २०६३ वैशाख ४ गते नेपालगन्जको चोकमा गोली लागी मृत्यु भएकी सहिद पार्टी विशेषको नभई दलित र दमितको आवाज बोक्ने सदा सदा बाँच्ने नेपाल आमाकी उत्कृष्ट सन्तान भएको कुरा प्रष्ट पारेका छन् ।
नेपालको ऐतिहासिक स्थानहरुमध्ये टुकुचा खोलाको चरित्रलाई शासकहरुले अर्कै अर्कै बनाइदिएको र विवश विवश बग्नु र नबग्नुको दोधारमा यस्ता खोला र नदीले बाध्यात्मक रुपमा अपराध स्विकारेको तथ्य कवि प्रस्तुत गर्दछन् ।
उहिले उहिले ऊ
आफ्ना किनारहरुमा
किसानहरुसँगै खेल्थ्यो
हिलो माटो बोकेर
साँझ फर्कन्थ्यो घरमा
...
अचेल टुकुचा
उहिले उहिलेको इतिहास जस्तो छैन
अचेल टुकुचा
उहिले उहिलेको जस्तो प्रिय छैन । (पृ.२४)
कवि सबै पक्षलाई जागेर कुरुप यथार्थ विरूद्ध लाग्न आह्वान गर्छन् । नेपाली समाजले लिएको उपभोक्तावादी संस्कृतिका विरूद्ध लड्नुपर्ने कुरामा उनी दृढ निश्चयी छन् ।

४. कविताहरुको संरचना र विचार पक्ष बिचको तादाम्यता
कविता विचारको भावात्मक प्रस्तुति हो न कि जार्गनहरुको थुप्रो । नेपाली समाजको समकालीन पीडा र समवेत स्वरालाई सच्चा चित्रकारका रुपमा उठाउने चेष्टा गर्दागर्दै पनि कवि शब्द चयन र अनुच्छेद गठनमा चुकेका छन् । आलङ्कारिक पद विन्यास र सहज वृत्तिभन्दा पृथक् वैचारिक धार उज्यालिन नसके जस्तो लाग्छ । कविले वाक्यहरुलाई सपाट प्रस्तुत गर्दा कविताभन्दा गद्य बढी भएको छ । यस अतिरिक्त विचारलाई सामान्य भाषामा व्यक्त गर्न सक्नु उनको मौलिक पहिचान हो । कवि कवितामा जति सरल र स्पष्ट छन् जीवनमा समेत पृथक् नभएकाले उनका सिर्जना र दैनन्दिन जीवनबिच तादात्म्य छ । उनका कविताले जसरी निरन्तरको श्रमपछि निखार पाए सोही अनुरुप नेपाली समाजको विकासका लागि प्रगतिशील चिन्तन र व्यवहार आवश्यक रहेकोतर्पm उनको कलम सचेत र सक्षम छ ।

५. समग्रमा
‘टोप आतङ्क’का विरूद्ध ‘समय’ खर्चिएका पोखरेल टुकुचा सफा गर्ने एक अभियन्ता हुन् । समकालीन कवि र कविता माझ उनको प्रतिनिधिमूलक उपस्थिति केवल राजनीतिको आडमा उठेको देख्नेहरुप्रति उनी आव्रmोशित छैनन् । उनी त कविता र कविताभित्रको विषयमा झन्डै चालिसको दशकबाटै निरन्तर अग्रणी छन् । अनुहारहरुभित्र उनको काव्यिक अनुहार देखिनुमा उनकै श्रम र सिप कारण हो भन्न कन्जुस्याइँ गर्नुपर्ने देखिँदैन ।

000 









साभार - शब्दाङ्कुर साहित्यप्रधान मासिक , वर्ष - १५ , अङ्क - ७ , पूर्णाङ्क - १७५ , - २०७३ बैसाख 

No comments:

Post a Comment