कविता कुनै युगको विशिष्ट सामाजिक वस्तुस्थितिको आलोचनात्मक र लयात्मक अभिव्यञ्जना हो । त्यसैले कवितामा सामाजिक चेतनाको गतिको दिशानिर्देशले प्रमुखता पाएको हुन्छ । कविताका यिनै आधारभूत पक्षको केन्द्रीयतामा रचना गरिएका कविताहरूको सङ्ग्रह हो मित्रताको आकाश । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञपरिषद्का सदस्य र प्रगतिशील लेखक सङ्घको केन्द्रीय अध्यक्षसमेत रहिसकेका कवि मातृका पोखरेलको यो चौथो कविता कृति रमाकृष्ण सृजना प्रतिष्ठानले बजारमा ल्याएको हो ।
मित्रताको आकाश सङ्ग्रहभित्रका कविताले मूलतः सामाजिक रुपान्तरण, राजनीतिक, सांस्कृतिक क्षेत्रका वैचारिक विचलन, पुँजीवादी उपभोक्तावादी बजारसंस्कृतिका विकृति, अशिक्षा, गरिबी र प्राकृतिक विपद्सँग जुधिरहेका नेपालीहरूको दारुण अवस्थालगायतका नेपाली समाजका वास्तविकतालाई विषयको केन्द्रमा राखेका छन् । त्यसैले यिनमा यात्राको गन्तव्य र सपना हराएका योद्धाका विचलित मानसिकता र नेपालको नीतिनिर्माणका क्षेत्रमा हुने गरेको छिमेकीको ठाडो हस्तक्षेपबाट जन्मेका अनुत्तरित प्रश्नहरूले पाठकलाई फेरि एकपटक झकझकाउन खोजेका छन् । भारतीय विस्तारवादी चरित्रलाई विषयवस्तु बनाइएको ‘दिल्लीका मच्छरहरू’ कविताका केही पङ्क्तिलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ :
मधेसको गर्मीमा मात्र होइन
हिउँले ढाक्ने चिसा लेकहरूसम्म
वेग हानेर पुगने योजना कोर्छन् उनीहरू
सगरमाथाकै काखमा पुगेर
हाम्रो अभिमानलाई डस्न खोज्छन् उनीहरू
स्वाभिमानको एक झप्को निद्रा÷ सुत्न पनि दिँदैनन्
आत्मसम्मानको एक झल्को सपना÷देख्न पनि दिँदैनन्
हामी लिपुलेकबाट
एक जोडा सेता परेवाहरू उडाउन खोज्छौँ
उनीहरू हाम्रा परेवाका प्वाँखमा
विषालु सुँडहरूले चिल्छन् (पृ.४७)
उपर्युक्त पङ्क्तिमा तराई, पहाड र हिमालमा समेत दिल्लीका मच्छडहरूको बिगबिगी रहेको प्रसङ्गबाट नेपालका कुनै पनि क्षेत्र भारतीय हस्तक्षेपबाट अछुतो नरहेको अवस्थालाई बिम्बात्मकता प्रदान गरिएको छ ।
त्यसै गरी ‘ऐना’, ‘सहरमा मार्क्स ’, ‘मान्छेहरूको भर्याङ’, ‘बाटो छाडेपछि’, ‘लेख्नै बाँकी छ’, ‘ऋषिकुटीतिर फर्केर फर्केर हेर्दा’ शीर्षकका कविताचाहिँ वैचारिक विचलनको काव्यिक अभिव्यञ्जनाका रूपमा आएका छन् ।
कविताले समेटेका विषयवस्तुलाई कविले आफ्नो दृष्टिकोणमा ढालेर सुन्दर ढङ्गले प्रस्तुत गर्नका लागि शिल्पको प्रभावकारिता सर्वोपरि रहन्छ । मित्रताको आकाशभित्रका कवितामा मूलतः आत्मालाप र आख्यानीकरण एवम् अंशतः सम्बोधन र बिम्बमय अभिव्यक्तिलाई शिल्पका रूपमा उपयोग गरिएको छ । आत्मालापको शिल्पले कविताको विषय, भाव र विचारधाराप्रति पाठकलाई सहमत गराई त्यसमा प्रकटित भाव र विचार अफ्नै हुन् भन्ने बोध गराउँछ र पाठकमा आन्तरिक जागृतिको सञ्चार पनि गर्छ । यस दृष्टिकोणले ‘मित्रताको आकाश’, ‘प्रश्नहरूको बाढी’, ‘जङ्गबहादुर’, ‘ऐना’, ‘सहरमा मार्क्स’, ‘दिल्लीका मच्छरहरू’, ‘सपना र टर्चलाइट’लगायतका कविता सबल रहेका छन् । कविताको विषयसँग कथयिता, त्यससँग सम्बन्धित पात्र र परिवेशको संयोजन हुँदै जाँदा कविताले आख्यानात्मक संरचना ग्रहण गर्छ । यसले पाठकमा वस्तुस्थितिको पीडानुभूतिसँगै कविको सचेतता विस्तारमा कथात्मक प्रभावसहितको सहजता सिर्जना गर्छ । यस चिन्तनका दृष्टिले ‘नागार्जुनको सर्प’, ‘मैले उति बेलै भनेको थिएँ’, ‘नरेश शाक्यका आँखा’, ‘नयाँ आँधीको स्वाागतमा’ आदि कविता सबल देखिएका छन् । कविले कवितामा कथयिताका माध्यमबाट प्रत्यक्ष रूपले कसैलाई सम्बोधन गर्दा अवलम्बन गरिने सम्बोधनको शिल्पले कविको वैचारिकतालाई आत्मीय बनाई पाठक र कविताबिचको दूरी कम गरेको छ । उदाहरणका निम्ति ‘चस्मा’ कविताको एउटा अंश :
तिम्रो बजारबाट किनेको चस्माबाट
उस्तै देखियो
गुन्डागर्दी र राजनीति
उस्तै उस्तै देखियो
दलाली र निष्ठा
समाजसेवा र व्यापार
केही फरक देखिएन...
सुकिला मैला मनहरु
प्रिश्रमबाट आएको ज्याला
र कमिसनबाट आएको नगद (पृ.३२)
यसमा समकालीन नेपाली समाजको वास्तविकताप्रति कविको असन्तुष्टिलाई प्रभावकारी बनाउन पुँजीवादी बजारलाई सम्बोधन भएको छ । ‘तिम्रो बजारमा किनेको चस्मा’ भन्ने क्रममा कथयिताले गरेको ‘तिमी’ सम्बोधनबाट उपर्युक्त पङ्क्तिमा उपभोक्तावादी बजारसंस्कृतिको विवेकहीनतासँगै पुँजीवादी मोडेलको संसदीय प्रजातन्त्रका कुरुपताप्रति पाठकलाई सचेत बनाउन कविता यो सफल भएको छ ।
माक्र्सवादी वैचारिक धरातलमा उभिएको प्रस्तुत कृतिका कविताको चेतनाचाहिँ पुँजीवादी साम्राज्यवादको प्रतिरोधतर्फ क्रियाशील रही सामाजिक रुपान्तरणका दिशातर्फको अग्रसरतामा अधिक केन्द्रित छ । समान्तवादका आधारमा स्थापित नेपालको राज्यसत्ता जरैदेखि फेर्नुपर्ने कविताको चेतना ‘बूढो घोडा’ कवितामा यसरी प्रस्तुत भएको छ :
तिमी जतिसुकै छडीले हिर्काऊ
जतिसुकै लगाम खैँचेर
घोडाको पेटमा खुट्टाले ठोक
यो जीर्ण कालो घोडा
रातो लुगा लगाएको मान्छेलाई बोकेर
सभ्यताको उकालो चढ्न पटक्कै मन पराउँदैन ।....
ए, रातो मान्छे !
तिमीले नयाँ यात्राका लागि नयाँ घोडा खोज्नुपर्छ । (पृ.७३–७५)
यहाँ जीर्ण कालो घोडाले रातो मान्छेलाई बोकेर सभ्यताको उकालो चढ्न नमानेको सन्दर्भबाट समकालीन राजनीतिलाई सङ्केत गर्दै कम्युनिस्टहरू सत्तामा पुग्दा पनि कुनै दर्शनीय परिवर्तन ल्याउन नसकेको मूल कारक पुरातन बुर्जुवा चिन्तनले ग्रस्त राज्यसत्तालाई जरैदेखि परिवर्तन गर्न नसक्नुलाई बताइएको छ । जीर्ण कलो घोडाको बिम्बमार्फत कविले यसमा बुर्जुवा सत्ताको अन्त्यको आवश्यकतालाई सङ्केत गरेका छन् । त्यसरै गरी ‘ऐना’ कवितामा चाहिँ नेपालीहरूले आफ्नो मौलिक पहिचान गुमाउँदै गएको वास्तविकताप्रति व्यङ्ग्य गर्दै आफ्नो अनुहार विदेशीको जस्तो देखेर डराएको सन्दर्भबाट उत्तरउपनिवेशवादी चेतना अभिव्यक्त भएको छ । यसका साथै राजनीतिक पार्टीभित्रका अवसरवादी चरित्रको आलोचना, सामाजिक कुरुपता र वैचारिक विचलनप्रति खबरदारी गराउँदै यी कविता राष्ट्रिय स्वाभिमान र सद्भावका पक्षमा उभिन सफल भएका छन् ।
यसरी हेर्दा कतिपय सन्दर्भमा चाहिँ समकालीन राजनीतिक क्षेत्रका विशिष्ट घटनालाई सामान्यीकरण गर्नबाट चुकेका भए पनि मित्रताको आकाशभित्रका कविता आम श्रमजीवी जनतामा देखिएको राजनीतिक चरित्रप्रतिको असन्तुष्टि चित्रण गर्दै नयाँ परिवर्तनको सम्भावनालाई सङ्केत गर्न सफल छन् । नेपाली समाजमा ऐजेरु बनेर मौलाएका विभेद, अनैतिकता, भ्रष्टाचारका साथै विविध क्षेत्रका विकृतिहरूको उद्घाटन गरी त्यसको समाधानका मार्गसमेत सङ्केतित प्रस्तुत सङ्ग्रहका कविता समकालीन काव्यिक चेतनाका दृष्टिले सबल छन् ।
www.nagariknews.nagariknetwork.com बाट साभार
www.nagariknews.nagariknetwork.com बाट साभार
No comments:
Post a Comment