Friday, April 20, 2018

अनेकोटले हेर्ने आँखा - मातृका पोखरेल

मलाई सबैभन्दा बढी
अनेकोटले हेर्ने आँखा
र उसले देख्ने सपना मन पर्छ ।

मलाई जसरी मनपर्छ
अनेकोटका आँखा
सबैलाई मन पर्दैन त्यसरी
कोही डराउँछन्  उसका आँखासँग
र झन् डराउँछन्  उसका सपनासँग
तर म जति पटक उसलाई हेर्छु
उसको आँखाबाट एउटा नयाँ घाम उदाएको देख्छु
म प्रत्येक रात
आफूले देखेका सपनामा उसले देखेका सपना खोज्छु
चैत लागेपछि
माइला लामाको गीत
अर्जुन पराजुलीको कविता
निर्मला देवकोटाकी आमाको आँसु
च्याङ्बा लामाकी जीवन संगिनीको
हत्या गरिएका रहरहरू संगसंगै
म एकपटक अनेकोटको छातीमा उभिन्छु
र फेरि सुम्सुम्याउछु
सपनाका सुन्दर आकृतिहरूलाई
अनेकोटले देख्ने आँखा
मलाई साँच्चै मन पर्छ ।


सबैले देख्दैनन्
इन्द्रेणीमा पोखिएको रङ्ग
जसरी अनेकोटले देख्छ
सबैले बुझ्दैनन्
भोकाएका मान्छेहरूको हृदय
जसरी अनेकोटले बुझ्छ
सबैले छाम्न सक्दैनन्
विस्तारवादी आराहरूले रेटिएको
संवेदनाको छाती
तर अनेकोटले राम्ररी छाम्नसक्छ
म विश्वस्त छु
अनेकोट मेरो विश्वासको धाम हो ।


भन्नेहरूले भनेकैछन्
आस्थाको भूगोलमा मेटिदै गएको छ सिमाना
ऊ चिन्ताग्रस्त छ
भन्नेहरूले यसो पनि भनेकाछन्
अर्को ज्वालामुखीको स्वागतमा
ऊ फूलका मालाहरू बोकेर उभिएको छ
ऊ जे सोचिरहेको छ
हामी सबैको सपना सोचिरहेको छ ।

मलाई सबैभन्दा बढी
अनेकोटले हेर्ने आँखा
र उसले देख्ने सपना मन पर्छ ।


                     000 

कलम साहित्यिक त्रैमासिक,  वर्ष-१८, अङ्क  -४, पूर्णाङ्क - ५४, वैशाख - असार २०६७ 

No comments:

Post a Comment