Wednesday, September 3, 2025

सांस्कृतिक आन्दोलनको प्रहारको निसाना – मातृका पोखरेल

विषयको हिसाबले प्रस्तुत शीर्षक निकै महत्वपूर्ण रहेको छ । यस्तो महत्वपूर्ण विषयमा आफ्ना धारणा राख्ने मौका दिनु भएकोमा आयोजक साथीहरुलाई धन्यवाद दिन्छु । भर्खरै एकीकृत जनसांस्कृतिक महासङ्घले सांस्कृतिक क्षेत्रमा संयुक्त मोर्चा निर्माण गर्ने अवधारणा अगाडि ल्याएको छ । यो प्रहारको निशाना भन्ने वित्तिकै यो जरुरीको विषय हो भन्ने कुरा बुझिन्छ । पार्टीले जरुरी संयुक्त मोर्चासम्बन्धी अवधारणा अगाडि ल्याइराखेको छ, त्यसलाई यो विषयले थप लाभान्वित तुल्याउनेछ ।

राष्ट्रिय स्वाधीनताको रक्षाको लागि पार्टीले जे योजना बनाइरहेको छ, तत्अनुरूप नै हाम्रो प्रहारको निशाना बन्दछ । हामीले सांस्कृतिक आन्दोलनको कुरा गरिरहेका छौँ । ‘आमा’ उपन्यासका लेखक म्याक्सिम गोर्कीले भनेजस्तै संस्कृति भनेको मानिसले निर्माण गरेको दोस्रो स्वभाव हो । मानिसबाहेक अरू प्राणीजगतमा दोस्रो स्वभाव हुँदैन तर मानिसले आफ्नो प्रवृत्तिभन्दा फरक सङ्घर्षका क्रममा दोस्रो स्वभावको निर्माण गर्न सक्तछन् । त्यसकारण यो मानिससित मात्रै सम्बन्धित विषय हो । मानिससँग मात्रै सम्बन्धित भएको हुनाले पनि सांस्कृतिक आन्दोलनको प्रहारको पहिलो निशाना हामी आफैँ हौँ । ‘हावा शिखरमा बहन्छ’ भनेजस्तै शिखरमै बस्ने व्यक्तिहरू, राज्य सञ्चालन गर्ने पार्टीहरू, सांस्कृतिक रूपान्तरणको दिशामा उनीहरू आफैँ नलागिकन, उनीहरू आफैँ अग्रसर नभइकन सांस्कृतिक आन्दोलन अघि बढ्न सक्दैन । जसरी सिंचाइको क्रममा माथिबाट तलसम्म पानी आउन सजिलो हुन्छ तर बेसीबाट सिंचाइ सुरु गरेर त्यो पानीले शिखरसम्म सिंचाइ गर्न सकिँदैन । त्यसैले सांस्कृतिक विषयमा पनि माथिवाटै परिवर्तन गर्न थाल्यौं भने र यसको प्रहारको निशाना आफैँतिर सोझ्याउने थाल्यौँ भने हाम्रो आन्दोलन सफल हुन सक्छ, हाम्रो लक्ष्य पूरा हुन सक्छ । यसो भनिरहँदा त्यागको कुरा अवश्य आउँछ । ‘बन्दैन मुलुक दुईचार सपुत मरेर नगए’ भनेजस्तै यो त्यागको थालनी पनि माथिबाटै हुनुपर्दछ । अहिले हाम्रो आन्दोलनमा अत्यन्त खस्केको कुरा के हो भने हामीले हाम्रो सांस्कृतिक आन्दोलन त्यहाँबाट सुरुवात गर्नुपर्छ भनेर सोचेकै छैनौँ । यो दिशातिर हामीले ध्यानै दिएका छैनौँ । हामी सर्वहारा संस्कृतिको बारेमा धेरै कुरा गर्छौँ । अहिले सर्वहारा जीवनशैलीको कुरा धेरै नेताहरूले उठाउन छोडिसकेका छन् । यो सांस्कृतिक आन्दोलनभित्रकै महत्वपूर्ण सवाल हो । सर्वहारा सांस्कृतिक जीवनशैलीको कुरासँगै हाम्रा नेताहरूको जीवनशैलीको मूल्याङ्कन गर्नुपर्ने हुन्छ । अहिले नेताहरूको जीवनशैलीले यो तर्कलाई कमजोर बनाइदिएको छ । अहिले हाम्रा नेताहरूको जीवनशैली हाम्रो सिद्धान्त र विचारअनुरूप छँदै छैन । जनताबाट कटेको जीवनशैली के सर्वहारा जीवनशैली हुन सक्छ ? राजनीतिक पार्टीले एक किसिमको आन्दोलन गर्छ, त्यसलाई सहयोग गर्ने कुरा त छँदै छ । राजनीतिक आन्दोलनविना सांस्कृतिक आन्दोलन अघि बढ्न सक्तैन तर पनि सांस्कृतिक क्षेत्र अलि विशिष्ट क्षेत्र भएकोले यसलाई सोहीअनुरूप सोचेर अघि बढ्नुपर्छ । सांस्कृतिक सङ्गठन र अन्य जवसहरूले खेल्नुपर्ने भूमिकाहरूको बारेमा विशेष छलफलको आवश्यकता छ किनभने नेपालको कम्युनिस्ट आन्दोलनमा सांस्कृतिक एजेन्डाहरूको कार्यान्वयनको पक्षमा निकै कमजोर रहेको छ । यो पक्षमा हामीले गम्भीरताका साथ ध्यान दिन जरुरी छ ।
‘कल्चर’ शब्दको अर्थ त्यसको परिस्कृत गर्नु भन्ने हो । त्यसैलाई हामीले नेपालीमा ‘संस्कृति’ शब्दको रूपमा प्रयोग गरिरहेका छौँ । परिष्कृत गर्नुको अर्थ आफैँलाई परिवर्तन गर्नु हो । हामी आफूलाई परिवर्तन गर्ने मामिलामा, समाजलाई परिवर्तन गर्ने काममा धेरै पछाडि पर्दै गइरहेका छौँ । यसबारेमा हामीले सोच्नै छोडिसकेका छौँ । आफैँलाई परिवर्तन गर्ने कुरातिर ध्यान दिन सक्तैनौँ भने अहिले हाम्रो पार्टी हाम्रा नेता तथा कार्यकर्ताहरूलाई रूपान्तरण गर्ने कुरामा मात्र सीमित रहनेछ । नत्र सांस्कृतिक आन्दोलनको कुरा तिनीहरूलाई जिस्काइरहेको जस्तो मात्र रहनेछ । यो पक्षतिर राजनीतिककर्मीहरू विशेषतः हामी संस्कृतिकर्मीहरूले गम्भीर भएर सोच्नुपर्ने हो । हामीले स– साना कुराहरूलाई पनि ध्यान सकिरहेका हुँदैनौं । यो दैनिक जीवनका घटनाक्रमहरूमा देख्न सकिन्छ । जस्तो नेतालाई फोन गर्दा नमस्कार नगरी उसले कुरै सुन्दैन । यो हाम्रो आन्दोलनको गम्भीर विसङ्गति हो । हिजो जनयुद्धकालमा भएको दलित विवाह, अन्तरजातिय विवाहहरू आज विखण्डन हुन थालेका छन् । नेताहरूको जीवनशैली पनि त्यस्तै विकृत छन् । समग्रमा सबैको जीवनशैली बिग्रिँदै गएको छ । मूल रूपमा सांस्कृतिक आन्दोलनको प्रहारको निशाना हामीतिरै नबनाउने हो भने हामीले गर्न खोजेको काम पूरा हुन सक्दैन ।

नेपाली सांस्कृतिक पूर्वाधार भनेको सामन्ती संस्कृति नै हो भनेर हामीले धेरै पहिलेदेखि भन्दै आएका हौँ । त्यसकारण हाम्रो सांस्कृतिक आन्दोलनको प्रहारको मुख्य निशाना पनि सामन्ती संस्कृतिलाई मान्दै आएका छौँ । यसतर्फ पनि हामीले धेरै ध्यान दिन सकेका छैनौँ । यस विषयमा हामीले सूक्ष्म ढङ्गले छलफल गरिरहेका छैनौँ । पार्टी सत्तामा भएको बेला नै सुन्दरी प्रतियोगिताको विरुद्धको आन्दोलन कमजोर भयो । सत्ताबाहिर रहँदा एउटा संस्कृतिको कुरा गर्ने र सत्तामा गएपछि अर्को संस्कृतिको कुरा गर्ने हुँदा यो ज्यादा खतरनाक छ । हिन्दू धर्मले नेपालमा नारी उत्पीडन, दलित उत्पीडन गर्न सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको छ । मनुस्मृतिले यस्तै भनेको छ । हाम्रै नेताहरू पुराणमा गएर माला लगाउन थालेका छन् । यसबाट के बुझ्न सकिन्छ भने हामीले प्रहार गर्नुपर्ने सामन्ती संस्कृतिको कुरै गर्न छाडिसक्यौँ । यसकारण प्रमुख विरोधी संस्कृति भनेको अहिलेको सामन्ती संस्कृति नै हो तर पनि हामीले यसमा केन्द्रित हुन सकेका छैनौँ । हामीसित यत्रो विशाल पार्टी छ, यत्रो विशाल संस्कृतिकर्मीको पङक्ति छ तर पनि स-साना समूहले गरेको काम जति पनि हामीले गर्न सकिरहेका छैनौँ । हामी हाम्रो जीवनलाई सांस्कृतिक रूपमा उन्नत बनाउँदै लैजान सकेका पनि छैनौँ । हामीले कम्युनिस्ट आन्दोलनभित्र गर्न सक्ने थुप्रै काम छन् । तर हामीले गरिरहेका छैनौं । बाहिरको लडाइँ त हामीले लडिरहेकै छौं त्यो बरू सजिलो हुन्छ तर भित्रको लडाइँ लड्न गाह्रो हुन्छ । बाहिर सँगसँगै भित्र पनि निसाना बनाउन जरुरी छ र सङ्घर्ष गर्न जरुरी छ ।
कार्यक्रममा निमन्त्रणा गर्नुभएकोमा आयोजक साथीहरुलाई धन्यवाद !
000
[२०६७ चैतमा अखिल नेपाल लेखक सङ्घको आयोजनामा न्यु प्लाजा, काठमाण्डौमा 'सांस्कृतिक आन्दोलनको प्रहारको निसाना' विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत मन्तव्य]

No comments:

Post a Comment