Friday, July 20, 2018

निषेध ! निषेध ! ‘माङ्गेना’ निषेध ! - युग पाठक

‘धनगढीमा बोल्ने वेला हेल्मेट लाउनु है युग सर,’ निक्कीले उज्याला दाँत देखाएर हाँस्दै भनिन् । गाडीभित्र हाँसो चल्यो । ‘फाइनप्रिन्ट फिभर’ नाम दिइएको एकदिने साहित्य उत्सव सुर्खेतमा सकेर हामी धनगढी जाँदै थियौँ । कर्णाली पुग्दा चर्को घामको तापलाई हुरीले उडाइसकेको थियो । एकपिल्लरे कर्णाली पुलमा सेल्फी खिच्नेहरू हुरीमा हत्तु भइरहेका थिए । चिसापानीमा तातो चिया खोज्दै हामी भने हतारहतार चियापसल छि-यौँ । धनगढीबाट आएको हुरी पूर्वतिर हुत्तियो, हेल्मेट–प्रसंगचाहिँ साँझपख धनगढी पुग्यो ।
कुरा काठमाडौंमै सुरु भइसकेको थियो । धनगढीका स्थानीय आयोजक प्रश्नवाचक मुद्रामा थिए– युग पाठकको कार्यक्रम नगर्ने कि ? अचम्म त के भने हल्ला नै चलाइएको रहेछ– ‘माङ्गेनाः नेपाल मन्थन’ नामको पुस्तक बेच्न नै हुँदैन, किन्न नि हुन्न । हल्लाको आतंक खासै प्रभावशाली त होइन रहेछ, पछि मात्र थाहा भयो । तर, आयोजकलाई हिच्किचाहट तुल्याउन त्यो सफल भइसकेको थियो । अन्ततः त्यहाँका लागि मेरो एकल सेसन तय गरियो ।


सुर्खेत र कोहलपुरबाट त्यस्तो कुनै खबर आएको थिएन । तैपनि फिल्डमा उत्रेपछि स्थिति उस्तै रहेन । सुर्खेतको कार्यक्रममा केही सहभागी मेरा तर्कहरू सुनेर आक्रोशित भए । पहिलो लहरमा बसेर ध्यानले सुन्नेमध्ये एक हुनुहुन्थ्यो– हास्यकलाकार मदनकृष्ण श्रेष्ठ । मदन दाई हामीसँगै यात्रामा हुनुहुन्थ्यो । मदन दाइले यसअघि न मलाई राम्रोसँग चिन्नुभएको थियो, न मेरा वैकल्पिक चिन्तन नै सुन्नुभएको थियो । मञ्चमा मेरो प्रस्तुति सकिनासाथ वहाँले ‘थम्ब्स अप’ दिएर हौस्याउनुभयो । धनगढी पुगेपछि भने वहाँको चिन्ता पनि प्रकट भइछाड्यो ।
भोलिपल्ट कार्यक्रम हुने हलतिर जाँदैगर्दा संयोगले हामी दुई मात्र सँगै भयौँ । वहाँले सम्झाउने भाकामा बिस्तारै भन्नुभो,‘युग भाइ, तपाईंका कुरा मलाई मन प-यो । तर, सबैलाई पचाउन गाह्रो पर्छ । यसरी भन्नुस्– तपाईंहरूको कुरा पनि ठीकै छ । तर मेरो कुरा पनि सुन्नुस् र आफैँ विचार गर्नुस् ।’ मैले मदन दाइको चिन्ता बुझिसकेको थिएँ । त्यो दिनको पहिलो सेसन नै मेरो एकल प्रस्तुती थियो । मैले पुस्तकका सारभूत कुरामा करिब ४५ मिनेट बोलेँ ।
पात सर्केको आवाज पनि सुनिएलाजस्तो गरी स्तब्ध भयो हल । के–के न होला भन्ठानिएको धनगढीमा त झन् एउटै पनि आबेगात्मक प्रश्न आएन । बरु आजसम्म सिकिएका भाष्यमाथि उठेका प्रश्नको ज्योति टल्केको देखिन्थ्यो प्रत्येक आँखामा । स्टलबाट पुस्तक फटाफट पाठकको हातमा उक्लिन थालेपछि बल्ल महसुस भयो– जिज्ञासा  ह्वात्तै बढिसकेको रहेछ ।
युगलाई रोक !

हेल्मेट त लगाएको थिएँ मैले, विचारको हेल्मेट । समाज र मस्तिष्कलाई जकडेर राखेका पुराना चिन्तन परम्परालाई आलोचनात्मक फोकसलाइट बालेर हेर्नासाथ देखिने तथ्य र तर्कले बनेको नयाँ बान्कीको हेल्मेट । सगरमाथा, बुद्ध, वीर गोर्खाली र पृथ्वीनारायणजस्ता बिम्बको रेशमी रुमालले छोपेर राखेको दर्दनाक इतिहास कुँदिएको हेल्मेट । कहिले विकास त कहिले समृद्धिको जाल हानेर चीरहरण गरिएका आमकिसान र श्रमजीवी जनताको कथाव्यथाले चट्टान बनेको हेल्मेट ।
त्यसैले, कोहलपुरमा मेरो समृद्धि–व्याख्यान सुन्नासाथ एक मौरीपालक किसान चुम्बकिएर नजिक आउनुभयो । सरकारी कार्यालयमा धाउँदा–धाउँदा पाएको निराशा र ठक्करको बयान सुनाउँदै भन्नुभयो, ‘यस्ता धेरै कार्यक्रममा म जान्छु, तर किसानको कुरा उठाएको कहिल्यै सुनेको थिइनँ । तपाईंको कुरा सुन्दा किसानको पीडा बुझ्ने मान्छे पनि रहेछन् जस्तो लाग्यो ।’ आमकिसानको ज्ञानलाई कसरी दुत्कार्छ हाम्रो सत्ताले भन्ने दृष्टान्त हो यो । तर, यो प्रवृत्ति सत्तामा मात्र सीमित छैन, संस्कृतिका रूपमा समाजभरि व्याप्त छ ।
जान्नेहरू, विकास ल्याउनेहरू, मुक्ति दिनेहरू सबका सब कतै माथिबाट आउनेछन्, आमजनता मानौँ प्रतीक्षा गर्न मात्र अभिशप्त छन् । त्यसैले सत्ताले बनाएको यो संस्कृति र यसले सिकाएको भ्रमपूर्ण इतिहास, ज्ञान र गाथामाथि प्रश्न उठायो कि सत्ता रिसाउँछ । त्यही चेतना जब जन–जनको मस्तिष्कमा भरिएको हुन्छ, सत्ता रिसाउँदा जनतालाई पनि रिस उठ्न सक्छ । जो सत्ताद्वारा सताइएको, दलनमा पारिएको र लुटिएको छ, उसैलाई पनि सत्ताले यसरी आफ्नो पक्षमा रिसाउने तुल्याउँछ । त्यसैले आफ्नै पक्षमा सत्ताका भाष्यहरूको आलोचना हुँदा पनि उसलाई चित्त बुझ्दैन । सत्ताले आफ्ना भाष्यहरूमार्फत चेतनामा गर्ने शासन भनेको यही हो ।
कोहलपुरकै कार्यक्रममा भेटिनुभएका साहित्यकार सनत रेग्मीले मलाई अर्को आश्चर्यमा पारिदिनुभयो । हातमा ‘माङ्गेना’ देखाउँदै वहाँले भन्नुभो, ‘युग भाइ, यो किताब म पढ्ने पक्षमा थिइनँ । तपाईंको भाषण सुनेपछि किनेँ ।’ साहित्यमा एउटा पुस्ता हुर्काउने अभिभावकमा पनि एउटा खास किताब पढ्दै नपढ्ने आग्रह किन पलायो ? कहीँ यो पुस्तक पढ्नै नहुने हल्ला, कहीँ लेखकलाई कार्यक्रममा बोल्नै नदिने आग्रह । आखिर यी सबमा के रहस्य छ ?
‘प्रगतिशील’ निषेध
भन्नैपर्ने कुरा के भने, यस्तो पहिलोचोटि भइरहेको थिएन । करिब डेढ वर्षअगाडि झापाको काँकडभिट्टामा आयोजित ‘साहित्य कला उत्सव’को तेस्रो शृंखलामा नामै तोकेर खगेन्द्र संग्रौला र युग पाठकलाई बोलाउन नपाइने अघोषित उर्दी जारी गरियो । काँकडभिट्टामा अध्ययन संस्कृतिको विकास गर्ने अभिप्रायले युवाले खोलेको ‘रिडर्स झापा’ले यो उत्सव आयोजना गर्ने गर्छ ।
पहिलोपटक काँकडभिट्टामा उत्सव आयोजना गर्ने बेलादेखि नेपथ्य आयोजकका रूपमा सहयोगी भूमिका निर्वाह गरेका पात्रलाई कार्यक्रममै नबोलाउने निर्णय गर्नु ‘रिडर्स झापा’का मित्रका निम्ति चानचुने सकसको विषय थिएन । त्यसमाथि अध्यक्ष उज्ज्वल प्रसाईं तथा सबै सदस्य हाम्रा अनन्य मित्र छन् ।
हामीले उठाउँदै आएका सामाजिक न्यायका मुद्दाकै कारण एकथरि दलका नेता र संकीर्ण शिक्षा–दीक्षाद्वारा हनुमानतुल्य अन्धभक्त बनाइएका तिनका कतिपय कार्यकर्ता हामीलाई रुचाउँदैनन् । यो त बुझिन्छ । तर, आयोजक साथीलाई दबाबै दिएर हामीलाई निषेध गर्नु सामान्य कुरा थिएन । त्यतिवेला उत्सवको सफलताका निम्ति मौन रहनु नै उचित ठानियो ।
तर, विचारलाई निषेध गर्ने र खास प्रकारको विचार बोकेकै आधारमा लेखकहरूलाई प्रवेश निषेध गर्ने प्रवृत्ति खतरनाक हुन्छ । समाजको स्वास्थ्यका लागि यो हानिकारक कुरा हो । ‘माङ्गेनाः नेपाल मन्थन’ प्रकाशित भएको केही समयपछि यही प्रवृत्ति अझ खतरनाक ढंगले सतहमा आयो । यसपटक यही प्रवृत्तिको चोट चितवनमा सहनुप-यो । तर, निषेधकारी वाण हानिएको थियो काठमाडौंबाट । डेढ वर्षको अवधिभित्र समयरेखामा मिलाएर राख्दा पूर्वबाट बग्दै यो प्रवृत्ति पुग्छ पश्चिम झापा, त्यसपछि चितवन÷काठमाण्डौं, अनि धनगढी ।
‘माङ्गेना’माथि पुस्तक–बहस कार्यक्रम चितवनमा आयोजना गर्ने तदारुकता थियो कवि सरिता तिवारीको । प्रगतिशील लेखक संघकी केन्द्रीय सचिवसमेत रहेकी सरिताले कार्यक्रम प्रलेस चितवन शाखाको तत्वावधानमा हुने जानकारी मलाई दिनुभएको थियो । त्यसैअनुरूप तयारी सुरु भयो । प्रलेस चितवनका अध्यक्ष सुमनराज श्रेष्ठसँग म नियमित सम्पर्कमै थिएँ । जब सामाजिक सञ्जालमा कार्यक्रम तालिका सार्वजनिक गरियो, ‘शाकाहारी’ सर्पले तुरुन्तै फँडा उठाइहाल्यो ।
घटना यसरी अघि बढ्यो । सुरुमा प्रलेस केन्द्रले यो पुस्तकमाथि कार्यक्रम राखेकोमा रोष प्रकट गरेको खबर आयो । त्यसपछि जिल्ला शाखालाई केन्द्रको अनुमतिबेगर आफूखुसी कुनै कार्यक्रम राख्ने अधिकार नभएको दाबी पेस गरियो । अनि केन्द्रीय महासचिव आरएम डंगोलले सरिताजीलाई फोन गरेरै कार्यक्रम क्यान्सिल गर्न सुझाब दिए । प्रलेसको जिल्ला शाखाको स्वायत्ततामाथि बहस चल्यो । कार्यक्रम हुने दिनसम्म आइपुग्दा सरिताजीलाई तनावमा पारिसकिएको थियो । तर, सरिताजीले पुस्तकमाथि छलफल चलाइछाड्ने गजबको दृढता प्रदर्शन गर्नुभयो र कार्यक्रम सम्पन्न भयो ।
म आफैँ प्रलेसको साधारण सदस्य हुँ र पूर्वकेन्द्रीय सदस्य पनि । वामपन्थी साहित्यकारको साझा ठानिएको र आफैँले पनि ओढेको छाता आफ्नै साहित्यिक नेताले निजी वा पार्टीको छाता बनाइसकेको यो जस्तो गजबको उदाहरण के होला ? महासचिव डंगोल मेरा पनि असल मित्र हुनुहुन्छ, तर वहाँलाई एउटा पुस्तकप्रति यत्रो निषेधको खेल खेल्न किन मन लाग्यो ? कार्यक्रम भइसकेपछि पनि सरिताजीलाई कारबाही गर्ने धम्की दिने उत्साह डंगोलजीलाई कुन सिद्धान्त वा नैतिकताले दियो ? अनि डंगोलजीकै होमा हो मिलाउन प्रलेसका केन्द्रीय अध्यक्ष मातृका पोखरेललाई कुन चेतनाले ब्युँझायो ?
बहाना र तर्क जे–जस्तो दिइए पनि रोक्न खोजिएको थियो– ‘माङ्गेना’माथिको बहस । त्यसो त सरकारी पुस्तकालयका लागि पुस्तक खरिद गर्न आएका एक कर्मचारीले तोकेरै यही पुस्तकचाहिँ नकिनेको घटना पनि सुनिएको थियो । सम्भवतः आफ्नो पार्टीको नेपथ्य आदेशअनुरूप ती कर्मचारीको ब्रह्म नै कलमी भएको थियो । त्यस्तै, चरित्रमा टाक्सिएर बस्न प्रलेस हाँक्न चुनिएका साहित्यिक नेताहरूलाई सुहाउँछ कि सुहाउँदैन ? यो छुवाछुत संस्थागत गर्ने जात व्यवस्थाकै चरित्र हो कि होइन ?
जान्नेहरू, विकास ल्याउनेहरू, मुक्ति दिनेहरू सबका सब कतै माथिबाट आउनेछन्,  आमजनता मानौँ प्रतीक्षा गर्न मात्र अभिशप्त छन् । त्यसैले सत्ताले बनाएको यो संस्कृति र यसले सिकाएको भ्रमपूर्ण इतिहास, ज्ञान र गाथामाथि प्रश्न उठायो कि सत्ता रिसाउँछ 
पुस्तक र चेतनामाथि प्रतिबन्ध लगाउने पञ्चायत होस् कि शाहीशासन, जनताको शक्तिले त्यसको जरोकिलो उखेलेर फ्याँकिदियो । तर, पञ्चायती अञ्चलाधीश र शाहीकालीन जर्नेलहरूको त्यही निषेधकारी चरित्रको बिरासतलाई आधुनिक चेतनाका संवाहक ठानिएका पात्रले नै जोगाएर अभ्यास गर्न खोजिरहेको दृश्य पक्कै पनि प्रीतिकर होइन । यो नेपाली समाजको एक आधुनिक त्रासदी नै हो । प्रतिरोधी आवाजलाई बुटले मात्र कुल्चने होइन रहेछ, निषेधकारी मलमलको पछ्यौराले लपेटेर पनि निसास पार्न खोजिनेरहेछ ।
किताब लेख्ने ‘अपराध’
फाइनप्रिन्ट फिभरका क्रममा सुर्खेत, धनगढी र कोहलपुरमा मैले जे अनुभव गरेँ, त्यसले एउटा कुरा स्पष्ट पारिदियो । ‘माङ्गेना’मा जे छ छँदै छ, तर त्यसमा जे छ भनेर प्रचार गरिएको छ वा युग पाठकका बारेमा जेजस्ता पूर्वाग्रह छरिएको छ, त्यो भ्रम टुट्न धेरैबेर लाग्नेचाहिँ होइन रहेछ । बीचमा ठड्याइएको काँडेतारको बार नाघेर जनतासम्म पुग्न एउटा छलाङ लाउने हिम्मतचाहिँ गर्नै पर्नेरहेछ । माङ्गेना भनेकै शीर उठाउने पहल, यसका लागि चेतनाको छलाङ मार्न पैतालादेखि जोड लगाएर हैंसे त गर्नैप-यो ।
त्यसका निम्ति पहिलो काम त काँडेतार चिन्नु पनि हो । यसैलाई रूपचन्द्र विष्टले ‘थाहा’को शक्ति भनेका हुन् । मन मस्तिष्कमा छाप ठोकेर सत्ताले बनाएको विचार र मान्यता भत्काउने काम सजिलो छैन । त्यसमाथि हरेक आन्दोलनपछि वैचारिक प्रतिगमनको आँधी आउने नेपालजस्तो मुलुकमा यो काम झनै कठिन छ । किनभने प्रतिगमनको वैचारिक आँधी त्यसै आउँदैन । त्यस्तो आँधी निर्माण गर्ने बुद्धिजीवीहरू काँडेतार लगाउन झनै माहिर हुन्छन् । सत्ताले निर्माण गरिदिएको चिन्तन र मान्यताले उहिल्यै स्विकृति बनाइसकेको हुनाले पुरानो विचारको झार यसैउसै हलक्क भइहाल्छ ।
त्यसैले लेखक र पुस्तक दुवैलाई निषेध गर्ने खेल भित्रभित्रै चलिरह्यो । आजसम्म आइपुग्दा मैले अरू पनि त्यस्ता सन्देश सुनेको छु । कुनै सहरमा एकथरी मित्र बहस चलाउन चाहन्छन्, लेखकलाई प्रश्न सोधेर -याख-याखती पार्ने इच्छा सुनाउने साथीहरू पनि छन् । तर, उनीहरूको त्यति इच्छालाई पनि अर्कोथरीले रोक्ने काम गरिरहेका छन् । कति ठाउँबाट त ‘तपाईंलाई ल्याउने भन्यो कि विवाद उठाइहाल्छन् एकथरी मित्रहरू, केही गर्न सकिएन’ भन्ने सन्देश आए । आखिर बहसको कुरा हो, तर्कवितर्क गर्न सकिने कुरा हो, यसमा ‘विवाद’को भाष्य कहाँबाट आयो त ?
स्पेनका कवि फेडेरिको गार्सिया लोर्काको प्रसंग यहाँ स्मरणीय छ । विद्रोही कविता लेख्ने र मुखर भएर बोल्ने भएकै कारण उनको हत्या गरिएको थियो । त्यसअघि नै समलिंगी भनेर उनका विरुद्ध विवादको भाष्य खडा गरिएको थियो । उनको हत्यालाई स्वाभाविक देखाउने एउटा प्रपञ्च थियो त्यो । केही वर्षदेखि भारतमा पनि सत्ताको आलोचनामा लेख्ने÷बोल्ने लेखक, पत्रकारको हत्या शृंखलामा भइरहेको छ ।
कस्मिरका पत्रकार सुजात बुखारीको हत्या यसैको पछिल्लो उदाहरण हो । हिन्दू शुद्धता, गाईको रक्षा आदिका नाममा असहिष्णुता र निषेधको राजनीति त्यो स्तरमा पुगेको हो । विचारको बहसलाई जब विवाद वा नकारात्मकको भाष्यले पुकार्न थालिन्छ, त्यसले समाजलाई दर्दनाक असहिष्णुतातिर धकेल्छ र सत्ताधारीलाई विद्रोही विचार तथा विचारकको हत्या गर्ने अनुकुलता प्रदान गर्छ ।
सत्ताले स्थापित गरेभन्दा फरक मान्यता र तर्कलाई गाली, भत्र्सना र नकारात्मक भन्ने बिल्ला भिराउने चलन नेपालमा पनि उसैगरी मौलाएको छ । त्यसो त शासकहरूले अराष्ट्रिय तत्व, राजद्रोही, राज्यविप्लव आदि बिल्ला भिराएर क्रान्तिकारी तथा सुधारकलाई जेलमा सडाएको, बेपत्ता पारेको र हत्या गरेको इतिहास छ हामीसँग पनि । तर, यस्तै तर्कलाई जब विचार र बहसलाई नै निषेध गर्ने गरी समाजको भर्खरै खुलेको सार्वजनिक वृत्तमा लगिन्छ, खतरा आज पनि उस्तै छ भनेर मान्नुपर्छ ।
‘माङ्गेना’लाई पनि गाली, भत्र्सना र नकारात्मक किताबको बिल्ला भिराउने तगडा कोसिस भए । तर्क जुन जमिनमा उभिएका छन्, त्यो जमिनलाई नै तलबाट थुतेपछि के देखिन्छ ? उही त हो– फगत गाली, निन्दा, भत्सर्ना र नकारात्मक कुरा । अनलाइनखबरका सम्पादक अरुण बरालले पनि त्यस्तै देख्नुभयो । नेपालको राज्यसत्ताले बनाएका विभिन्न भाष्यको पुस्तकमा भएको विश्लेषणात्मक आलोचनालाई अरुणजी फगत ‘नेपाल देशको नाम, नेपाली जाति, नेपाली भाषा, गौतम बुद्ध, पृथ्वीनारायण, बलभद्र, अमरसिंह थापा, महेन्द्र, देवकोटा, भानुभक्त आदिको निन्दा र भत्र्सना’ देख्नुहुन्छ (अनलाइन खबर, २०७४ भदौ ३१) ।
बरालको प्रतिप्रश्न छ, ‘गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भन्दा टाउको दुखाइ किन ?’ हुन त हो, बुद्ध नेपालमै जन्मिएको भन्दैमा बिग्रेको के छ ? तर, गुह्य कुरा तब देखिन्छ जब सत्ताधारीले यही वाक्य हजारपटक दोहो-याएर नक्कली गौरवमा रमाउन सिकाएको र आमजनतामाथि थोपरिएको शोषण, अत्याचार, गरिबी र चीरहरणलाई स्वाभाविक मान्न लगाएको तथ्य देखिन्छ ।
एकीकरणको भाष्यले पृथ्वीनारायणलाई एक शासक होइन, देउता बनाउँछ । एकता दिवसको नाममा पृथ्वीनाराणको पूजा दिवस मनाउने परम्परा रोकिएको ११ वर्षपछि किन फेरि राज्यले त्यही दिवस थोपर्ने निर्णय ग-यो ? यस्ता तथ्यलाई आलोचनात्मक नजरले हेर्दा मात्र प्रतिगमन कसरी यस्तै भाष्यको सहाराले ल्याइन्छ भन्ने ज्ञान पाइन्छ ।
के राज्यसत्ताले बनाएका मूल्यमान्यता स्वतः सकारात्मक हुन् जसको आलोचनाचाहिँ स्वतः नकारात्मक हुन्छ ? सकारात्मक हुन् भने ती कसका लागि सकारात्मक हुन् ? संसारका अनेक रङलाई केवल कालो र सेतोको दायरामा ल्याएर गरिने परिभाषा र विचारको मुद्दालाई सकारात्मक र नकरात्मक मात्र देख्ने दृष्टिकोण उस्तैउस्तै हुन् । सकारात्मक र नकारात्मक मात्र देख्नेले पक्ष र विपक्ष मात्र देख्छ । त्यहाँ नयाँ विचारको आविष्कार वा चिन्तनको सम्भावना नै नष्ट हुनपुग्छ । आलोचनात्मक चेत त्यहीँ पुगेर ध्वस्त हुन्छ ।
बरालले त पुस्तकलाई निन्दा र भत्र्सनाको पुलिन्दा मात्र देख्नुभयो । दया गर्नुभयो । यही भाष्यको चरम रूप के हुन्छ त्यो देखाइदिनुभयो विद्वान् भीम भुर्तेलले । बरालले पुस्तकमा गरिएको तर्कको जमिन थुतेर प्रशंसा र भत्र्सनाको तराजुमा राख्नुभएको थियो, भुर्तेलले त हुँदैनभएको जमिनमा मेरा तर्कलाई उभ्याइदिनुभयो । वहाँले लेख्नुभएको छ, ‘पृथ्वीनारायणले नेपाल एकीकरण नगरेको, राज्यविस्तार गरेको र अब पहिलेकै बाइसे/चौबिसे राज्यतर्फ फिर्ता हुनुपर्छ भन्नेजस्ता तर्क पाइन्छ यो पुस्तकमा’ (कान्तिपुर, ०७४ आश्विन २१) । यस्ता हुँदैनभएका तर्क त वहाँका तीक्ष्ण नजरले देखिहाले, पृथ्वीनारायणदेखि देवकोटासम्मलाई ‘अपराधी’ भनेको तथ्य पनि फेला पारे ।
झुटको यो जमिन खडा गरिसकेपछि वहाँले यो लेखकलाई ‘माङ्गेना’ लेखेबापत फौजदारी अपराधमा मुद्दा लगाउनुपर्ने दलिल पनि पेस गर्नुभयो । राज्यसत्ताले विभिन्न समुदाय, दलित, महिला, किसानको मनमस्तिष्कलाई उपनिवेश बनाएको तर्क पुस्तकमा अवश्य छ । त्यसो गर्दा उसले खस÷आर्य भनेर संविधानले नामकरण गरेको समुदायलाई माथिल्लो दर्जामा राखेर व्यवहार गरेको तर्क पनि पुस्तकमा छ । त्यसो हुँदा विभिन्न आदिवासी, जनजाति, मधेसी, थारू, महिला, कर्णालीवासी, सुदूरपश्चिमवासी, दलित र अल्पसंख्यक उत्पीडनमा परेको व्याख्या पनि छ । यसले समाजमा असन्तुलन ल्याएको, राज्यप्रति भरोसा जुटाउन नसकेको र समाजले प्रगति गर्न नसकेको तर्क त झन् छँदै छ ।
तर, कतै पनि खस/आर्य समुदायलाई समुदायकै रूपमा ‘अपराधी’ भनिएको छैन । त्यसो भन्ने कुरा पनि होइन । ब्राह्मणवाद भनेको खास प्रवृत्ति, चिन्तन, जीवनशैलीको कुरा हो, बाहुनजातको कुरा होइन । त्यसैगरी, खास समुदायलाई च्यापेर, उच्चासनमा राखेर राज्य चलाउँदा अरू समुदाय उपनिवेशजस्ता हुनपुगे भनेको राज्यको चरित्र केलाएको हो, खस÷आर्य समुदायको भत्र्सना गरेको होइन । यति कुरा विद्वान् भुर्तेलले नबुझेको भन्न मिल्दैन । तर, भुर्तेलको सीधा भनाइ छ, ‘युगले समूल खस÷आर्य जातलाई नै गरेको अपराधी चित्रण ‘हेट क्राइम’ हो । यस्तो कार्य प्रजातन्त्रको जननी बेलायत र संसारको सबभन्दा ठूलो लोकतन्त्र भारतसमेतमा फौजदारी अपराध मानिन्छ ।’
‘माङ्गेना’ लेख्ने युगलाई फौजदारी अपराधमा जेल किन हालिएन भन्नेमा भुर्तेलको आश्चर्य छ । जसले पुरानै तर्कका आधारमा पुस्तकको आलोचना गरे, त्यो उनीहरूको अधिकार हो । तर, समीक्षा लेख्ने नाममा लेखक र उसको विचारलाई नै निषेध गर्ने, नकारात्मकको परिभाषाभित्र घचेटेर सास थुन्न खोज्ने यो हर्कतलाई के भन्ने ? बरालले भन्नुभएझैँ सामान्य आलोचना ? कि निषेधको राजनीति ?
म स्वयंले भोगिरहेको निषेधका एपिसोडलाई त मैले पचाएको थिएँ, जब निषेधका असहिष्णु छुरा राज्यकै तहबाट चलाउन खोजिँदै छ, चुप बस्नु मनासिब लागेन । इतिहास आखिर शासकको मात्र हुँदैन, समाजका विभिन्न तहतप्काले पनि इतिहासमा आफ्नो भूमिकाको जवाफ सुरक्षित राख्नुपर्छ ।
www.nayapatrikadaily.com बाट साभार 

No comments:

Post a Comment