Monday, April 13, 2020

घाम झुल्किनुअघि कथामा विश्वदृष्टि - अनिल अधिकारी

सारांश :
प्रस्तुत अध्ययन मीमांसावादी चिन्तक लुसिएँ गोल्डम्यानद्वारा साहित्यको समाजशास्त्रीय अध्ययनको लागि प्रतिपादित उत्पत्तिमूलक संरचनावादअन्तर्गतका विश्वदृष्टिमा आधारित रहेको छ । लुसिएँ गोल्डम्यान माक्र्सवादबाट प्रभावित फ्रान्सेली चिन्तक हुन् । माक्र्सवादी दर्शनभित्रको वर्गसङ्घर्ष र वर्गचेतनासम्बन्धी मान्यतामा भिन्न दृष्टिकोण राखी साहित्यसम्बन्धी चिन्तनलाई समाजशास्त्रीय प्रारुप दिएका गोल्डम्यानले समाजमा फरकफरक दृष्टिकोण र संस्कृति अँगालेका निश्चित वर्ग र समुदायमा निश्चित दृष्टिकोण, मान्यता, संस्कृति र विचारधारा हुन्छ । समाजका तिनै वर्ग÷समुदायमा रहेका दृष्टिकोण, मान्यता, संस्कृति वा विचारधारालाई त्यो वर्गको विश्वदृष्टि भनिन्छ । यस लेखमा कथाकार मातृका पोखरेलद्वारा लेखिएको घाम झुल्किनुअघि कथालाई विश्वदृष्टिका सैद्धान्तिक परिप्रेक्ष्यबाट विश्लेषण गरिएको छ । माओवादी जनयुद्ध केहीवर्षभित्रै देशभरि व्याप्त भएपछि माओवादी विद्रोहको अन्त्य र देशमा शान्ति स्थापनाका लागि तत्कालीन सरकारले सेना परिचालन गरेपछि राज्यपक्ष(शाहीसेना)ले ग्रामीण क्षेत्रमा सुरक्षाबिस्तार र विद्रोहको दोहनका नाममा निर्दोष र निरपराध जनतामाथिको हत्याहिंसा र अपहरण जस्ता क्रियाकलाप यस कथाको सामाजिक राजनीतिक सन्दर्भ हो । यस कथामा राजनीतिक सन्दर्भमा माओवादी विद्रोहले उत्कर्ष रुप लिंदै जाँदा विद्रोह र विद्रोहीको दोहन तथा सार्वभौमसत्ताको रक्षा र शान्ति स्थापनाका नाममा तत्कालीन शाहीसेनाले प्रायोजित रुपमा अविर्भाव भएको राज्यआतङ्क र त्यसबाट सृजित सन्त्रस्त परिस्थितिलाई सूक्ष्म रुपमा चित्रण गरिएको छ । नेपालका ग्रामीण क्षेत्रमा पातलो उपस्थिति जनाउने शाहीसेनाले राज्यको सुरक्षा र कथित आतङ्कको अन्त्यका लागि स्वनिर्मित कानुनको कार्यान्वयन स्वरुप जनतामाथि हठात् लादेको हिंसा, हत्या, अपहरण, झूटा आरोप तथा अमानवीय दमनप्रति ग्रामीण जनमानसको मानसिकतामा फैलिएको राज्यप्रतिको नकारात्मक धारणा र शाहीसेनाप्रतिको घृणा र आक्रोस तथा राज्यको मानवता विरोधी नृशंस कार्यको भत्र्सना गर्न नसक्ने निरिह जनताको वास्तविकता  विश्वदृष्टिका रुपमा अभिव्यक्त भएको छ भने अर्कातिर प्रभुत्वशाली वर्ग(राज्य)ले सत्तामा बसी गरिब वर्गमाथिको अत्याचारलाई शासन ठान्ने तथा शक्तिका सामु निरिह र अमूक बन्न विवश परिस्थिति तथा राज्यका विरुद्ध निम्नवर्गीय ग्रामीण जनमानसमा विकसित बन्दै गएको घृणा, क्रान्तिकारी भाव, र आक्रोशको विश्वदृष्टि प्रकट भएको छ । 

प्रमुख शब्दावली :
उत्पत्तिमूलक संरचनावाद, विश्वदृष्टि, प्रभुत्वशाली संस्कृति, परावैयक्तिक, सामाजिक संरचना, विचारधारा ।

१. विषयप्रवेश : 
मातृका पोखरेल (२०२३) आधुनिक नेपाली कथाको उत्तरवर्ती चरणमा देखापरेका कथाकार हुन् । । नेपाली विषयमा स्नातकोत्तर गरेका पोखरेल सूर्य उदाऊ अब समीक्षा (२०४५) पत्रिकामा कविता प्रकाशित गरी साहित्य क्षेत्रमा प्रवेश गरे पनि २०५१ सालको साथी साहित्यिक पत्रिकामा हरियो बत्तीे कथा प्रकाशित गरी कथाकारका रुपमा साहित्यमा प्रवेश गरेका हुन् । उनका संत्रस्त आँखाहरु(२०६१), र घाम झुल्किनुअघि (२०६७) कथा सङ्ग्रहका अतिरिक्त विभिन्न साहित्यिक पत्रपत्रिकामा फुटकर कथा प्रकाशित रहेका छन् । कथाका अतिरिक्त कविता, निबन्ध, समालोचना, नियात्रा, संस्मरण जस्ता साहित्यका विभिन्न विधामा कलम चलाउने पोखरेल आख्यान विधाअन्तर्गत कथा लेखनमा बढी सक्रिय देखिन्छन् । उनी आलोचनात्मक यथार्थवादी शक्ति उपयोग गर्दै प्रगतिवादी वैचारिकतातर्फ उन्मुख कथाकार हुन् (वराल र एटम, २०६७ ः १९५) । उनका अधिकतर कथामा ग्रामीण नेपाली परिवेशमा विद्यमान समसामयिक जीवनको भोगाइबाट प्राप्त अनुभवलाई आख्यानीकरण गर्दै रुढीग्रस्त समाजका मानवजीवनमा विद्यमान पीडा, द्वन्द्वबाट ध्वंसित मानवीय मूल्य र संवेदना तथा सामाजिक रुपान्तरणका लागि नवीन क्रान्तिको आवश्यकतालाई केन्द्रीय विषयका रुपमा राखी कथा लेख्ने कथाकार हुन् । समाजमा रहेका शोषण, अन्याय, अत्याचार, दमन र वेथितिका विरुद्ध व्यङ्ग्यविद्रोहको आवाज पाइने यिनका कथामा राज्यक्रान्ति र समाज परिवर्तनको आपेक्षा गरिएको पाइन्छ । यस लेखमा माक्र्सवादबाट प्रभावित फ्रान्सेली चिन्तक लुसिएँ गोल्डम्यानको उत्पत्तिमूलक संरचनावादअन्तर्गतको विश्वदृष्टि विषयक मान्यतामा आधारित रही घाम झुल्किनुअघि कथाको विश्लेषण गरिएको छ । माक्र्सवादी दर्शनभित्रको वर्गसङ्घर्ष र वर्गचेतनासम्बन्धी मान्यतामा भिन्न दृष्टिकोण राखी साहित्यसम्बन्धी चिन्तनलाई समाजशास्त्रीय प्रारुप दिएका गोल्डम्यानले समाजमा फरकफरक दृष्टिकोण र संस्कृति अँगालेका निश्चित वर्ग र समुदायमा निश्चित दृष्टिकोण, मान्यता, संस्कृति र विचारधारा हुन्छ । समाजका तिनै वर्ग/समुदायमा रहेका दृष्टिकोण, मान्यता, संस्कृति वा विचारधारालाई त्यो वर्गको विश्वदृष्टि भनिन्छ ।

२. समस्याकथन :
प्रस्तुत अध्ययनको मुख्य समस्या घाम झुल्किनुअघि कथामा अभिव्यक्त विश्वदृष्ट रहेको छ । उपर्युक्त मुख्य समस्या र यससँग सम्बन्धित अन्य समस्यालाई यसप्रकार रहेको छ :

क) घाम झुल्किनुअघि कथा रचनाको के कस्तो सामाजिक सन्दर्भ रहेको छ ?
ख) घाम झुल्किनुअघि कथामा के कस्तो विश्वदृष्टि अभिव्यक्ति भएको छ ? 

३. अध्ययनको उद्देश्य :
यस लेखमा समस्याकथनमा औंल्याइएका समाधान खोजी उक्त समस्याको निराकरण नै यस अध्ययनको उद्देश्य रहेको छ । अझ स्पष्टताका लागि अध्ययनको उद्देश्य निम्नानुसार रहेका छन् :
क) घाम झुल्किनुअघि कथा रचनाको सामाजिक सन्दर्भ खोज्नु,
ख) घाम झुल्किनुअघि कथामा विश्वदृष्टिको निक्र्याैल गर्नु । 

४. अध्ययन विधि :
प्रस्तुत अध्ययनका लागि पुस्तकालयीय विधिबाट सामग्री सङ्कलन गरिएको छ । सामग्रीको विश्लेषणका लागि साहित्यको समाजशास्त्रीय चिन्तनअन्तर्गत मीमांसावादी धाराका अग्रणी चिन्तक लुसिएँ गोल्डम्यानको उत्पत्तिमूलक संरचनावादको केन्द्रीय मान्यता विश्वदृष्टिले अघि सारेका आधारभूत पक्षलाई अध्ययनको आधार बनाइएको छ । सामग्री सङ्कलनपश्चात् निगमनात्मक विधिबाट मातृका पोखरेलद्वारा सृजित घाम झुल्किनुअघि कथालाई आधार सामग्रीका रुपमा लिई प्राप्त सामग्रीलाई विश्लेषणात्मक विधिको प्रयोग गरी निष्कर्ष निकालिएको छ । 
५. अध्ययनको सीमा :
मातृका पोखरेलद्वारा रचित घाम झुल्किनुअघि कथासङ्ग्रहका कथाहरुको विश्लेषण साहित्यको समाजशास्त्रीय चिन्तनका विभिन्न दृष्टिकोणहरुका आधारमा गर्न सकिन्छ । प्रस्तुत अध्ययनमा घाम झुल्किनुअघि कथासङ्ग्रहमा सङ्गृहित घाम झुल्किनुअघि कथालाई मात्र विश्लेषणका लागि चयन गरिएको छ । यस क्रममा साहित्यको समाजशास्त्रीय चिन्तनका अन्य  मान्यताहरुलाई नसमेटी लुसिएँ गोल्डम्यानद्वारा प्रस्तुत उत्पत्तिमूलक संरचनावादभित्रका अन्य समाजशास्त्रीय दृष्टिकोणहरुलाई समेत परिहार गर्दै विश्वदृष्टिका आधारमा मात्र प्रस्तुत कथाको विश्लेषण गरिएको छ । 

६. सैद्धान्तिक आधार :
लुसिएँ गोल्डम्यान (१९१३–१९७१ ई.) साहित्यको समाजशास्त्रीय चिन्तक हुन् । साहित्यको समाजशास्त्रीय अध्ययन परम्परामा दुईवटा विचारधाराहरु मध्ये मीमांसावादी धाराका सशक्त चिन्तकका रुपमा यिनको विशिष्ट स्थान रहेको छ । मीमांसावादी धाराअन्तर्गत पर्ने माक्र्सवादी वर्गसङ्घर्ष र वर्गचेतना विषयक मान्यतामाथि फरक धारणा राख्दै आफ्नो साहित्यसम्बन्धी चिन्तनलाई समाजशास्त्रीय स्वरुप दिने काम गरेका छन् (पाण्डेय, १८) । यसै सन्दर्भमा उनलाई साहित्यिक समाजशास्त्री वा साहित्यको समाजशास्त्रका व्याख्याताका रुपमा चिनिन्छ । उनका अध्ययनका मुख्य तीन स्रोत – जर्ज लुकासको आरम्भिक चिन्तन, पिजेको मनोविज्ञान र संरचनावाद, माक्र्सवादी द्वन्द्वात्मक भौतिकवाद र वर्गीय दृष्टिकोण तथा युङ्गको सामूहिक अवचेतन र साहित्यको संरचना प्रक्रिया जस्ता बहुसैद्धान्तिक अवधारणलाई जोडेर उत्पत्तिमूलक संरचनावादको विकास गरेका हुन् । लेखकको विचार र समाजको विचारबाट औसत विचारको विकास हुने धारणा राखी त्यही धारणा विश्वदृष्टिका रुपमा परिभाषित गरेका छन् । उनका दी ह्युमेन साइन्स एण्ड फिलोसोफी (१९५२) दी हिडन गड (१९६४) एस्से अन् दी सोसोलोजी अफ लिट्रेचर (सन् १९८०) जस्ता समाजशास्त्र विषयक गहन विचार व्यक्त गरिएका पुस्तकाकार कृतिहरु प्रकाशित छन् । 

लुसिएँ गोल्डम्यानको सिद्धान्तलाई उत्पत्तिमूलक संरचनावाद भनिन्छ । यसभित्र साहित्य विश्लेषणका विभिन्न आधारहरु मध्ये विश्वदृष्टि सबैभन्दा महत्वपूर्ण र चर्चित मान्यता हो । उनी के मान्छन् भने प्रत्येक कृति व्यक्ति÷लेखकको सिर्जना हुन्छ तथा कृतिमा लेखकका जीवनानुभूति व्यक्त हुन्छन् तर त्यो पछि लेखकको निजी नभएर समाजको अनुभूति बन्न पुग्छ । लेखक कृति लेखनको माध्यम मात्र हुन्छ तर त्यो लेखकको निजी विचार हुँदैन किनभने त्यो कुनै जाति, समाज विशेषको अनुभूति हुन्छ । यसप्रकार साहित्यिक कृतिले सामूहिक चेतना वा परावैयक्तिक चेतनालाई अभिव्यक्त गर्छ अनि त्यो परावैयक्तिक चेतना लेखकको निजी निर्मित हुँदैन । त्यसको निर्माण प्रक्रियामा सम्बद्ध वर्ग वा समुदायका मानिसहरु सहभागी हुन्छन् र तिनको सहभागिता तथा अन्तर्सम्बन्धबाट त्यस वर्ग वा समुदायको पूर्णतम् सम्भावित चेतनाका रुपमा विश्वदृष्टिको निर्माण हुन्छ । गोल्डम्यानका अनुसार एक वर्ग वा समूहको जीवनजगत्का बारेमा सुसङ्गत दृष्टि नै विश्वदृष्टि हो । यसको विकास कुनै समूह वा वर्गले सामाजिक ऐतिहासिक प्रक्रियामा गर्छ । एक्लो व्यक्तिको विचार वा संवेग जतिसुकै आकर्षक भएपनि त्यसबाट विश्वदृष्टि निर्माण हुँदैन किनभने व्यक्ति विशेषका विचार वा अनुभूति अत्यन्त सीमित प्रकारका हुन्छन्; त्यसमा सङ्गति र पूर्णताको अभाव रहन्छ । त्यसैले विश्वदृष्टि बन्नको लागि सामूहिक सहभागिता र अन्तक्र्रिया आवश्यक हुन्छ । वास्तवमा व्यक्ति÷मान्छेहरुले एउटा सामूहिक चेतनाको संरचना निर्माण गर्दछन् (ऐजन, १८) । त्यसैले ऐतिहासिक कालखण्डका निश्चित र समान सामाजिक आर्थिक ढाँचामा रहँदा निश्चित र समान समूहका मानिसको त्यसप्रतिको अवधारणात्मक प्रतिक्रिया नै विश्वदृष्टिका रुपमा स्थापित बन्दछ । यसलाई त्यस परिस्थितिप्रति समूह विशेषका मानिसको सोचाइ, अनुभव र व्यवहारको समग्रताका रुपमा लिन सकिन्छ । यसरी सामूहिक चेतनारुपी विश्वदृष्टिको निर्माण हुँदा उही समुदायभित्र फरकफरक दृष्टिकोण विकसित हुनसक्छ तर सामूहिक चेतनासँग त्यसको समायोजन नहुँदा त्यो वहिष्कृत जस्तै हुन्छ । गोल्डम्यानले प्रारम्भमा महत्व नदिएको यो मान्यता कृति विश्लेषणका सन्दर्भमा ती वहिष्कृत विचार वा चेतनालाई पनि अध्ययन गर्न सकिने दृष्टिकोण अगाडि सारेका छन् । 

विश्वदृष्टि दर्शक, कला र साहित्यमा भिन्नभिन्न रुपमा प्रकट भए पनि समग्रमा यसको रुप एउटै हुन्छ । विश्वदृष्टि एउटा निश्चित कालखण्डमा एउटा वर्गका विचार, अनुभूति र व्यवहारको समग्रतामा प्रकट हुन्छ । विश्वदृष्टि सामाजिक वर्गको जीवनमा निहित हुन्छ तर त्यो दर्शन, कला र साहित्यमा व्यस्त हुन्छ । त्यसैले विश्वदृष्टिको खोजको आरम्भ कृतिबाट हुन्छ, वर्गको अध्ययनबाट हुँदैन (ऐजन, १९) । यसलाई उनी विचारधारा वा वर्गचेतना मान्दैनन् । उनी विचारधारालाई छद्म चेतना भन्छन् अनि वर्गलाई आर्थिक वर्गका रुपमा होइन; सामाजिक वर्गका रुपमा लिन्छन् (ऐजन, १९) । 

समाजमा विश्वदृष्टि कसरी बन्छ भन्ने सन्दर्भमा समाजमा कुनै एउटा वर्ग वा समुदायले अर्काे वर्ग वा समुदायसँग विभिन्न किसिमका सम्बन्धहरु बनाउँछ । त्यस्तै एउटा परिवेशको मानिसले अर्काे परिवेशको मानिससँग सम्बन्ध बनाउँछ र अन्तत्र्रिmया गर्छ । यस क्रममा भिन्नभिन्न पेसा, वर्ग, परिवार, परिचित, अपरिचित, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका समूहभित्र प्रत्येकले एकअर्काको चेतनामा प्रभाव पारी एउटा अनौठो जटिल तथा विशृङ्खल संरचनाको निर्माण गर्छन्; त्यस्तो अवस्थामा एउटै विचारको निर्माण नभई यस प्रक्रियामा समान परिवेशका अर्थात् सजातीय मानिसहरुको समूहभित्र समभाव र समविचारको एउटा व्यवस्था÷संरचनाको निर्माण सम्भव हुन्छ तर त्यसभित्रै पनि एकका विचारले अर्काका विचारलाई काट्छन् र तिनका विचारमा अन्तर्कृया  हुन्छ र कम अनुभवसिद्ध, कम यथार्थिक विचार वहिष्कृत भई एउटा सुसङ्गत र सुसम्बद्ध चेतनाको निर्माण हुन्छ र यही चेतना विश्वदृष्टि बन्न पुग्छ । यसक्रममा जुन चेतना सङ्गतिपूर्ण छैनन् ती हराएर जान्छन् तर एकपटक एउटा विश्वदृष्टि बनी सकेपछि त्यो सधैँ कायम रहँदैन किनभने विश्वदृष्टिको परिवर्तन हुने प्रक्रिया चलिरहन्छ । जसरी सामाजिक सम्बन्ध र संरचनामा पुरानो सन्तुलन भत्किने र नयाँ सन्तुलन कायम हुने प्रक्रिया चलिरहन्छ त्यसरी नै त्यसैको सापेक्षतामा विश्वदृष्टि पनि भत्किने र बन्ने क्रम चलिरहन्छ । 

गोल्डम्यानका अनुसार कुनै वर्गको विश्वदृष्टिको संरचना र कृतिभित्र रहेको संसारको संरचनामा समानधर्मिता हुन्छ । समाजशास्त्रीहरु यही समानधर्मिताको खोजी गर्दछन् भन्ने दृष्टिकोण उनको रहेको छ । महान् रचनामा यो समानधर्मिता सबैभन्दा बढी हुन्छ । उनले सामान्य अनुभवदेखि भिन्न विशुद्ध काल्पनिक परिकथामा पनि संरचनाका स्तरमा एउटा वर्गको जीवन विषयक अनुभवसँग समानधर्मिताको सम्भावना रहन सक्छ (पाण्डेय, १५०) भन्ने चर्चा गरेका छन् । अर्काे प्रकारले भन्दा कृतिभित्रको संसार र समाजमा देखिने विश्वदृष्टि र त्यसको निर्माण प्रक्रियाले बाहिरको वास्तविक संसार÷समाजभित्र पाइने विश्वदृष्टि र त्यसको निर्माण प्रक्रियासँग साधम्र्य÷समानधर्मिता राख्नुपर्दछ । यही साधम्र्यलाई गोल्डम्यानले संरचनाको समानधर्मिता भनेका छन् । यही संरचनाको समानधर्मिताको खोजी सहित्यको समाजशास्त्रमा गरिन्छ । साहित्यकारले रचनामा अभिव्यक्त गरेको वर्ग, समुदायको विचार, समाजमा रहेका वर्ग र समुदायको विचारका बीचको सम्बन्धबाट कृतिको समानधर्मिता छुट्टिने तर्क गोल्डम्यानको रहेको छ । साहित्यमा व्यक्त यसप्रकारको विचार र सामूहिक चेतनालाई विश्वदृष्टि भनिन्छ । उपर्युक्त सैद्धान्तिक अवधारणका आधारमा विश्वदृष्टिको खोजी घाम झुल्किनुअघि कथामा गरिएको छ । 

७. घाम झुल्किनुअघि कथा रचनाको सामाजिक सन्दर्भ :
कथाकार पोखरेलको घाम झुल्किनुअघि कथा समकालीन सन्दर्भसँग जोडिई रचना गरिएको कथा हो । नेपालको राजनीतिक इतिहासमा द्वन्द्वकालीन सन्दर्भ (२०५२–२०६२)सँग जोडिई द्वन्द्वकालीन ग्रमीण नेपाली परिवेशको सामाजिकतालाई चित्रण गरी लेखिएको कथा हो । नेपालको पूर्वी पहाडी उदयपुर जिल्लाअन्तर्गत कटारी – ओखलढुङ्गा सडकभित्र महाभारत पर्वतशृङ्खलामा पर्ने बेतिनी गाउँलाई केन्द्रविन्दुमा राखी कथाले सामाजिक सन्दर्भलाई कार्यपीठिका बनाएको छ ।  २०५२ सालमा आरम्भ भएको माओवादी जनयुद्ध केहीवर्षभित्रै देशभरि व्याप्त भएपछि माओवादी विद्रोहको अन्त्य र देशमा शान्ति स्थापनाका लागि तत्कालीन सरकारले सेना परिचालन गरेपछि राज्यपक्ष(शाहीसेना)ले ग्रामीण क्षेत्रमा सुरक्षाबिस्तार र विद्रोहको दोहनका नाममा निर्दोष र निरपराध जनतामाथिको हत्याहिंसा र अपहरण जस्ता क्रियाकलाप यस कथाको सामाजिक राजनीतिक सन्दर्भ हो । कथाको प्रमुख विषयको उठान गर्नुपूर्व कथाकारले हिउँदकालीन समयमा मध्यपहाडी क्षेत्रको प्राकृतिक जटिलतासँग अभिन्न सम्बन्ध रहेको ग्रामीण नेपाली जनजीवनको यथार्थ र सङ्घर्षलाई संक्षिप्त रुपमा चित्रण गरेका छन् । पूर्वप्रातःकालीन समयमा प्राकृतिक प्रतिकूलताको पर्वाह नगरी जीवनसङ्घर्षका लागि जुट्नुपर्ने आम ग्रामीण समाजका नरनारीहको दिनचर्या कष्टकर रहेको सामाजिक सन्दर्भलाई उद्धृत गर्दै धेरै मानिसको फरकफरक आवाजबाट उद्वेलनमा परेकी माइली स्वयं स्पष्ट नभएपछि छोराको सहयोगबाट प्रष्ट भएकी छैन । आधारातमा उठेर जिजीविषाका लागि सङ्घर्ष गर्ने माइली र उसको दैनिकी तथा उसको जीवनको पूर्वप्रसङ्गको उठान गरिएको छ । कटारी–ओखलढुङ्गा सडक निर्माणको जिम्मा पाएको शाहीसेनाको जवानसँग बासनात्मक प्रेममा परी गर्भधारण गरेपछि स्थानान्तरण भएको लोग्नेसँग हालसम्म भेट नभएकी माइली सेनाभित्र रिकुटे चरित्र भएका व्यक्तिको सामीप्यबाट कौमारित्व भञ्जन गराई आमा भएर बिना लोग्ने बाँच्न विवश अनेकौं ग्रामीण नारीकी प्रतिनिधि हो । यही सेनाको बासना र मोहजालमा परेकी समाज र परिवारका लागि असहज बनेपछि सेना शब्दलाई घृणा गर्न गर्दछे । राम्रोसँग उज्यालो भइनसकेका पूर्वप्रातःकालीन समयमा हात बाँधेको एउटा निहत्था मानिसलाई डोहो¥याउँदै शाहीसेनाको जत्था माइलीको आँगनमा प्रवेश गरेपछि माइलीको शरीर र मानसिकतामा भय र आतङ्कले एकैपटक प्रवेश गर्दछ । चियापसल चलाएर जीवन निर्वाह गर्ने माइलीका लागि उसको पसलमा आउने जस्तोसुकै चरित्रको व्यक्ति भए पनि चिया खुवाउने धर्म तथा शाहीसेनाप्रतिको उसको घृणाबीचको अन्तद्र्वन्द्वलाई हटाउन चिया छैन भन्ने बाहाना बनाउँदा पनि चूल्होसम्म पुगी सेनाका जवानले निरीक्षण गरेपछि तिनको सहचर्यबाट माइली मुक्त हुन सकेकी छैन । माइलीको मानसिकतामा हात बाँधिएको व्यक्ति को हो र सेनाले त्यसमाथि कनि यस्तो व्यवहार गरिरहेका छन् भन्ने उल्झनका बीच उज्यालोको आगमनसँगै उसले हातमा हत्कडी, जुत्ताचप्पलविहीन खुट्टा, मैलो सेतो कमिज र छोटो कछाडमा अपराधी झैं उभिएको व्यक्ति कहीं चिनेको गाउँकै मान्छे हो भन्ने निष्कर्षमा पुग्दछे । यो मान्छे को हो ? यहाँ किन ल्याइयो ? उसको अपराध के हो ? जस्ता अनेकौं प्रश्न मस्तिष्कमा आए पनि त्यसको प्रतिकार र प्रतिवाद गर्न नसक्ने तथा जिज्ञासा राखे त्यही व्यक्तिको अवस्था व्यहोर्नु पर्ने तत्कालीन परिस्थितिलाई हृदयङ्गम गर्दै मौन रहेकी माइलीले सेना र त्यो मान्छेका बीचको संवाद सुन्दा भाइ माओवादी विद्रोहमा लागेकोले परिवारको सदस्य पनि माओवादी नै हुने तथा भाइ दाजुका घरमा आई केही समय पहिले बसेको आरोपमा सेनाको भाषामा आतङ्ककारीलाई सहयोग र आश्रय दिने व्यक्ति आतङ्ककारी नै हो भन्ने आरोपमा अमानवीय यातना दिँदा प्रतिकार गर्न नसकी सर्वसाधारणले अमूक भई हेर्नुपर्ने बाध्यात्मक सन्दर्भ कथामा समेटिएको छ । शारीरिक र मानसिक यातनापछि जीवनरक्षाका लागि भाग्न उक्साउने तथा भागेका व्यक्तिलाई पछाडिबाट गोली हानी नृशंश हत्या गरी आमनागरिकलाई आतङ्कित तुल्याउने सामाजिक सन्दर्भको पुष्टिसँगै कथाको समापन भएको छ । 

यसप्रकार द्वन्द्वकालीन राजनीतिक सन्दर्भअन्तर्गत विद्रोही र सत्तापक्षबीचको सङ्घर्षको आधारभूमिमा संरचित यस कथाले द्वन्द्वकालीन समयमा ग्रामीण नेपाली समाजमा भोगिएका, देखिएका र अनुभव गरिएका कष्टकर, सन्त्रस्त तथा भयावह पर्यावरणलाई कुशलतापूर्वक संयोजन गरेको छ । चियापसल गरेर जीविकोपार्जन गर्ने एकलप्रायः महिलाको जीवन, जिजीविषाका लागि उसले गरेका सङ्घर्ष एवं द्वन्द्वकालीन समयमा आम नागरिकले प्रत्यक्ष देखेभोगेको द्वन्द्वकालीन भयावह र विभत्स अवस्थालाई कथामा प्रस्तुत गरिएको छ । शाहीसेनाको जवानसँगको असफल प्रेमबाट अपूर्ण गृहस्थी बसालेका अनगिन्ती ग्रामीण नारीको प्रतिनिधित्व गरेकी माइलीको चिया पसल र पूर्वप्रातःकालीन समयमा घटित घटनाको पृष्ठभूमिमा सृजित परिवेशलाई कथाले चित्रण गरेको कथामा माओवादी जनयुद्ध आरम्भ भएको केही समयपछि विद्रोह अन्त्य गर्न राज्यपक्षले सेना परिचालन गरेपछि आरम्भ भएको द्विपक्षीप ज्यादती र त्यसबाट सृजित भयावह परिवेशअन्तर्गत राज्यपक्ष अर्थात् नेपाली सेनाले विद्रोह र विद्रोहीको दोहनका नाममा सञ्चालन गरेका विभिन्न सुरक्षा कारवाहीमा आरोपित निर्दोष नागरिकलाई आतङ्ककारीका नाममा दिई यातना र ज्यान मार्नेसम्मका कृत्यको साक्षी भएर पनि अमूक बस्नुपर्ने बाध्यात्मक परिस्थितिलाई प्रस्तुत गरिएको छ । यसरी प्रस्तुत कथाले ग्रामीण नेपाली परिवेशको द्वन्द्वकालीन राजनीतिक पर्यावरणभित्र आमनागरिक के कसरी जीवनयापन गर्न बाध्य थिए ? भन्ने यथार्थलाई रेखाङ्कन गरेको छ । यसरी यस कथामा कथाकारको अनुभूति र धारणा समकालीन नेपाली राजनीति र त्यसको प्रभावसँग अन्तर्सम्बन्धित युद्धग्रस्त ग्रामीण समाजका विपन्न वर्ग वा समुदायसँग जोडिएको छ । यसप्रकार राज्य र राज्यका मतियारहरुको मानव र मानवता विरोधी कार्यप्रतिको आक्रोस तथा भत्र्सना लेखकीय धारणा वा अभिव्यक्ति नै कथामा युद्धग्रस्त ग्रामीण समाजका विपन्न वर्ग वा समुदायको धारणा वा अभिव्यक्तिसँग संश्लेषित भई विश्वदृष्टिका रुपमा अभिव्यक्तिएको छ ।  

८. घाम झुल्किनुअघि कथामा विश्वदृष्टि :
घाम झुल्किनुअघि कथा नेपाली राजनीति इतिहासको द्वन्द्वकालीन सन्दर्भ (२०५२–२०६२) सँग सम्बन्धित कथा हो । २०५२ सालमा सुरु भएको माओवादी सशस्त्र विद्रोह र त्यसको बिस्तारसँगै विद्रोह र विद्रोहीको दोहन गरी देशमा शान्ति स्थापना गराउन तत्कालीन सरकारले तत्कालीन सरकारको असफल जनविरोधी निर्णय र त्यसको प्रभावले सृजित राज्यआतङ्क, संत्रस्त नेपाली पर्यावरण तथा भयावह ग्रामीण समाजको यथार्थलाई यस कथाले प्रस्तुत गरेको छ । यस कथामा युद्धरत राज्य र विद्रोही पक्षबीचको शक्तिसङ्घर्षमा अचानो बनेका निरपराध निहत्था नेपाली जनता, राज्यपक्षबाट निर्दोष जनतामाथि प्रायोजित रुपमा लादिएको अत्याचार तथ राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको रक्षाका नाममा सरकारी संयन्त्र, सुरक्षा निकाय र तिनका मतियारबाट गरिएका कृत्यले आममानिसमा परेको नकारात्मक छाप/प्रभाव विश्वदृष्टिका रुपमा अभिव्यक्तिएको छ । यसका अतिरिक्त विपन्न आर्थिक अवस्थामाट गुज्रिरहेको सङ्घर्षशील ग्रामीण नेपाली समाजले जिजीविषाका लागि अहोरात्र गर्नुपर्ने सङ्घर्ष तथा प्रेमलाई बासना पूर्तिको माध्यमका रुपमा उपभोग गर्ने कुपित मानवीय प्रवृत्तिका कारण समाजबाट विस्थापित प्रायः बन्न पुगेका नेपाली नारीको कष्टकर एवं पीडाप्रद पक्ष पनि कथामा विश्वदृष्टिका रुपमा जोडिएर आएका छन् । 

पहाडी क्षेत्रमा हिउँदको चीसो वातावरण र समयलाई परवाह नगरी बाँच्नकै लागि अहोरात्र खटिने माइलीको जीवनको पूर्वप्रसङ्ग उल्लिखित घटनाबाट आरम्भ भएको कथामा व्यक्ति मनोविज्ञान, राज्यआतङ्क, आर्थिक विपन्नता, राज्यद्वारा प्रायोजित अत्याचारका सामु निरीह, नतमस्तक र मूकदर्शक भई बस्नुपर्ने आमनागरिकको बाध्यता तथा ग्रामीण पहाडी क्षेत्रको कष्टकर जीवनशैली विश्वदृष्टिका रुपमा अभिव्यक्तिएको देखिन्छ । देशमा माओवादी विद्रोहको बिस्तारसँगै विद्रोहीले ग्रामीण क्षेत्रलाई आफ्नो आधार इलाकाका रुपमा स्थापित गरेपछि माओवादी कार्यकर्ता ग्रामीण क्षेत्रमा बसोबास गरी शहर र शहरोन्मुख क्षेत्रमा रहेका सुरक्षासंयन्त्रमाथि आक्रमण गर्ने तथा युद्ध सकिएपछि फेरि गाउँमै फर्किएर सुरक्षित रहने रणनीतिअनुसार माओवादी कार्यकर्ताको आश्रयस्थल बनेको ग्रामीण इलाका समयसमयमा सुरक्षाफौजको आकस्मिक उपस्थितिबाट आतङ्कित बन्ने मात्र नभई निर्दोष नागरिकलाई गिरफ्तार गरी सुरक्षास्थिति सशक्त रहेको देखाउने राज्यको नीतिलाई यसरी प्रस्तुत गरिएको छ : हत्कडी लगाइएको एउटा मान्छे सैनिकहरुको बीचमा जाडोले कामिरहेको थियो । जुत्ता–चप्पल नलगाएको खाली खुट्टा, सेतो नैनसुतको मैलो कमिज र छोटो कछाड लगाएको त्यो मान्छे.......... (पोखरेल, १७)

ग्रामीण समाजका विपन्न समूदायमा गई बिना कसुर सुरक्षाका नाममा  गिरफ्तार गरिएको व्यक्तिले आफूलाई निर्दोष प्रमाणित गर्नका लागि गरेको अनुनयलाई उपहास गर्दै आतङ्ककारी गतिविधिमा संलग्न रहेको पर्याप्त प्रमाण आफैंसँग रहेको दाबी गर्ने सैनिकले परिवारको सदस्य फरक आस्था भएकै कारण देखाइ कसरी निर्दोष नागरिकलाई आतङ्ककारी प्रमाणित गर्दथे भन्ने तथ्यको पुष्टि यस प्रसङ्गमा पाउन सकिन्छ  :

‘म त माओवादी हुँदैहोइन हजुर !’
‘तेरो भाइ भएपछि तँ पनि माओवादी नै होस् ।’
‘भाइसँग एकवर्ष देखि भेट भएको छैन ।’
‘तैंले खोजिस् भने भेट्न सक्छस् !’
‘छाडिदिनुस् हजुर, म माओवादी होइन ।’
‘एकबर्ष अघि तेरो घरमा आएर ऊ बास बसेको प्रमाण छ हामीसँग ।’
‘ऊ आएर बसेको त हो हजुर !’
‘आतङ्ककारीलाई सहयोग गर्ने पनि आतङ्ककारी नै हुन्छ ।’ (ऐजन, १७)

यसैगरी प्रजातान्त्रिक सार्वभौमसत्ता, कानुनी राज्य, विधिको शासन र मानवाधिकारका पक्षपाती भनी विश्व राजनीतिक रङ्गमञ्चमा आफूलाई उभ्याउने सत्तासीनले सेना परिचालन गरी राज्यमा शान्तिस्थापना र सार्वभौमसत्ता रक्षाका नाममा के कसरी आमनागरिकलाई चरम यातना दिई नृशंस हत्या गरेका थिए भन्ने तथ्यको उद्घाटन विश्वदृष्टिका रुपमा यसरी भएको छ  :

माइली हेर्दै थिई एउटा सैनिकले त्यो एक्लो मान्छेमाथि एकलात्ती हान्यो र ऊ अर्कोतिर पुगेर लड्न मात्र के लागेको थियो अर्कोतिरबाट अर्को सैनिकले फेरि अर्को लात्ती बर्सायो । मान्छेको जात त बलियो हुँदो रहेछ, त्यति गर्दा पनि मरेको छैन बाँच्न पाइन्छ कि भनेर अझै हाँस्दैछ । ऐजन पृ. 
ढिलो नगर भागीहाल फेरि कमान्डर कड्कियो । उसले हातले भित्तालाई छोड्यो र अलिकति हिंड्न खोज्यो । जीउ थरथर काँपे जस्तो लाग्यो । तर पनि ऊ लड्नबाट सम्हालियो र बिस्तारै पूर्वतर्फ लाग्यो । (ऐजन, १९)

ड्याङ्ग, ड्याङ्ग, ड्याङ्ग महाभारत पर्वत नै भत्किने गरेर आएको तीनवटा आवाजले ...... तुषारोले खाएका पाखाका विरुवाहरु भाडीलाई लाछ्दै उसको शरीर खोल्सातिर झर्‍यो । बाटामाथि धुवाँका पातला धर्साहरु अलिअलि देखिंदैदेखिंदै बिलाए । (ऐजन, १९)

कथाकारले व्यक्ति मनोविज्ञानमा विद्यमान घृणा र क्रोधका रुपमा रहेका यथार्थलाई कथामा प्राथमिकताका साथ प्रस्तुत गरेका छन् । कथामा चित्रित यस्तो यथार्थ जहाँ ग्रामीण परिवेशमा बस्ने सोझा र अपठित नारीलाई विवाहको प्रलोभनमा पारी तिनको शारीरसँग खेल्ने तर वैवाहिक सम्बन्ध नराख्ने अमानवीय चरित्र भएका सैनिक जवानका कुकृत्यका कारण परिवार र समाजबाट विस्थापित बन्न पुगेका नारीहरुको पीडा र तिनले भोग्नुपरेको सामाजिक अवस्थालाई चित्रण गर्दै कथाकार लेख्दछन् :

शाहीसेना भन्ने बित्तिकै उसको मनमा घृणाको एउटा विशाल पोखरी निर्माण भएको छ । शाहीसैनिककै रुपमा उसको जीवनमा एउटा मान्छेले प्रवेश गर्‍यो र उसको व्यक्तिगत संसारलाई हिरोशिमा र नागाशाकीमा अमेरिकाले खसालेको एटम बलमे झैं पलभरमै खण्डहर बनाइदियो । (ऐजन, १६)

माइलीले त्यो मान्छेलाई फेरि हेरी –त्यो मान्छे स्यालको जमातमा टीठलाग्दो पाठोले जीवनको भीख मागिरहेको झैं देखिन्थ्यो  (ऐजन, १७) । सामन्तवाद अनुप्रणित राज्यव्यवस्थाले जनताले समाज र समाजमा विद्यमान उतीडनको प्रतिकारका लागि सङ्घर्ष गर्न युद्धमा होमिएका कयौं योद्धाका परिवारका सदस्यलाई विद्रोहको दमनका नाममा यातना दिइन्थ्यो वा दिइएको थियो भन्ने यथार्थको बकपत्र यस कथामा भएको छ । यातनालाई मात्र कम आकलन गरी मान्छेको हत्यालाई अति सामान्य रुपमा लिने फासीवादी चरित्र र व्यवहारले जनमानसमा राज्यप्रति हुर्कंदै गरेको विद्रोहको लहर, घृणा र राज्यनिसिद्ध स्थानका रुपमा ग्रामीण क्षेत्रको अवधारणाले मूर्तता पाउँदै गएको सन्दर्भ र तत्कालीन यथार्थको प्रभावकारी संयोजन कथामा भएको छ । 

९. निष्कर्ष   
कथाकार मातृका पोखरेलद्वारा लिखित घाम झुल्किनुअघि कथा प्रथमपटक कौशिकी साहित्यिक मासिक पूर्णाङ्क ८५ (२०६५)मा प्रथमपटक प्रकाशित भई  घाम झुल्किनुअघि (२०६६) कथा सङ्ग्रहमा सङ्गृहित भई पुनर्प्रकाशित  कथा हो । आलोचनात्मक यथार्थवादी धारको निरन्तरताका रुपमा संरचित यस कथामा नेपालको राजनीतिक परिवेशमा द्वन्द्वकालीन समयका विषयलाई सम्बोधन र संयोजन गरिएको छ । उत्पत्तिमूलक संरचनावादका सैद्धान्तिक प्रणेता तथा मीमांशावादी समाजशास्त्री लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादित एवं व्याख्येय विश्वदृष्टि विषयक मान्यताको केन्द्रविन्दुमा रही यस कथाको विश्लेषण गरिएको छ । उनका विचारमा समाजमा रहेका वर्ग वा समूह÷समुदायको जीवन र जगतप्रति प्रकट भएको दृष्टि वा चेतना नै विश्वदृष्टिका रुपमा स्थापित हुन्छ । २०५२ सालमा सुरु भएको माओवादी विद्रोहमा शाहीसेना परिचालन गर्नुपूर्व देशका विभिन्न क्षेत्रमा विकासनिर्माण र शान्ति सुरक्षाको जिम्मा पाएका शाहीसेनाका जवानबाट ग्रामीण क्षेत्रका हजारौं अपठित सोझा युवतीलाई प्रेम र विवाहको नाममा दैहिक सुखभोग गरी छाडिदिने दुष्प्रवृत्तिबाट आक्रान्त बनेका नारी समाज र   परिवारबाट समेत लाञ्छित र विस्थापित भई जीवनयापन गर्न वाध्य र विवश छन् भन्ने ग्रामीण नेपाली परिवेशको अङ्कन कथाको पृष्ठभूमिमा राखिएको छ । यस कथामा राजनीतिक सन्दर्भमा माओवादी विद्रोहले उत्कर्ष रुप लिंदै जाँदा विद्रोह र विद्रोहीको दोहन तथा सार्वभौमसत्ताको रक्षा र शान्ति स्थापनाका नाममा तत्कालीन शाहीसेनाले प्रायोजित रुपमा अविर्भाव भएको राज्यआतङ्क र त्यसबाट सृजित सन्त्रस्त परिस्थितिलाई सूक्ष्म रुपमा चित्रण गरिएको छ । नेपालका ग्रामीण क्षेत्रमा पातलो उपस्थिति जनाउने शाहीसेनाले राज्यको सुरक्षा र कथित आतङ्कको अन्त्यका लागि स्वनिर्मित कानुनको कार्यान्वयन स्वरुप जनतामाथि हठात् लादेको हिंसा, हत्या, अपहरण, झूटा आरोप तथा अमानवीय दमनप्रति ग्रामीण जनमानसको मानसिकतामा फैलिएको राज्यप्रतिको नकारात्मक धारणा र शाहीसेनाप्रतिको घृणा र आक्रोस तथा राज्यको मानवता विरोधी नृशंस कार्यको भत्र्सना गर्न नसक्ने निरिह जनताको वास्तविकता विश्वदृष्टिका रुपमा कथामा अभिव्यञ्जित भएको छ ।

सन्दर्भसामग्री  
पाण्डेय, ताराकान्त, माक्र्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र, ललितपुर : साझा प्रकाशन २०७३ । 
पाण्डेय, मेनेजर,साहित्यकी समाजशास्त्रकी भूमिका, चण्डीगढ  : हरियाणा साहित्य एकादमी, सन् १९८९ । 
पोखरेल, मातृका, घाम झुल्किनुअघि, काठमाडौं  : साझा प्रकाशन, २०६७ ।
बराल, कृष्णहरि र नेत्र एटम, नेपाली कथा र उपन्यास, काठमाडौं  : अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन प्रा.लि. २०६७ । 
शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल, शोधविधि तेस्रो संं., ललितपुर  : साझा प्रकाशन २०६२ । 

No comments:

Post a Comment