लक्ष्मी उप्रेती |
जीवन यात्रामा हिँडेका कति डोबहरु तरङ्गीत धुन बनेर बजिरहन्छन् मन मस्तिष्कमा सधैंसधैं । एकाकार गर्दै जाँदा त्यस्ता डोबका पद्चापहरु क्रमश ताती लाग्छन् शब्द बनेर स्मृतिमा छाउँदै । साँच्चिनै जीवनमा वर्षौदेखिका स्मृतिको चाङ नलाग्नु हो भने कति निरर्थक हुन्थ्यो होला यो संसार । संसार मानिसलाई अरु तत्वले जस्तै स्मृतिले पनि सार्थक बनाएको कुरा यथार्थमा सबैको जीवनमा लागु भइरहेकै छ । विस्मृतमा जानेहरुको जीवनले पनि यो कुरा बोध गराएकै छ । यो सम्झनु र विर्सनुको परेधिमा एउटा यात्रा स्मृतिपथमा ताजै छ । त्यो हो नेपालको सूदुरपश्चिम महेन्द्रनगरको यात्रा । यो यात्रा निकै सार्थक र उपलब्धीमूलक रहेको अनुभूत बारम्बार भइरहन्छ ।
रमाकृष्ण सिर्जना प्रतिष्ठानका अध्यक्ष महेन्द्रबहादुर गुरुङ पेशाले इनिनियर भएपनि हृदयमा कवि हुनुहुन्छ । उहाँ त्यसबेला पञ्चेश्वर विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । त्यसका लागि उहाँको कार्यक्षेत्र नै महेन्द्रनगर भयो । उहाँ महेन्द्रनगर भएका बेला नै रमाकृष्णको एउटा कार्यक्रम गर्ने अभिष्ट बन्यो । नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभागको सहकार्यमा गर्ने निर्णय पनि भयो । आख्यान विभाग प्रमुख मातृका पोखरेल पनि महेन्द्रनगरमा कार्यक्रम गर्ने योजनामा उत्साहित हुनुभयो । साहित्यकार खगेन्द्र गिरी कोपिला भाइको सम्पर्कबाट उपन्यास सम्बन्धि कार्यक्रम नेपालगन्जकै क्याम्पसमा पढाउनु हुने विद्धान समालोचक इन्द्रबहादुर भण्डारीलाई अनुरोधका साथ तयारी पनि गरियो । तर समय जुराउँदा जुराउँदै निकै समय वित्यो । महेन्द्रनगरका साहित्यिक संघसंस्थाहरुसँग समन्वय गर्ने काम महेन्द्रजीबाट भैरह्यो । काठमाडौँमा मातृका भाइको सल्लाहले म लागि परें । बल्ल कार्यक्रमका लागि मिति तय भयो । अनि हाम्रो यात्राले मूहर्त रुप लियो । त्यसका लागिका लागि २०७४ साल फाल्गुण १० गतेका दिन हामी जाने टुङ्गो लाग्यो ।
संस्थाका अध्यक्ष इन्जिनियर कवि महेन्द्र गुरुङको कार्यक्षेत्र महेन्द्र नगरमा नै भएकाले त्यहाँको हाम्रौ यात्रा सहज थियो । प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख मिलनसार व्यक्तित्व साहित्यकार मातृका पोखरेलसँगको मेरो चौथो पटकको साहित्यिक यात्रा थियो त्यो । त्यही यात्राको क्रममा परिचित भएकी मित्र सिता शर्मासँगै मातृकाजी र हामी रमाकृष्ण सिर्जना प्रतिष्ठानका सचिव सिताराम गुरुङ र उपाध्यक्ष म गरी चारजना काठमाडौँबाट महेन्द्रनगरका लागि २०७४ साल फाल्गुण १० गते ४ बजे गंगबु बसपार्कमा पुग्यौँ । ४ः३० मा छुट्ने गाडी हामी समय कट्नु यतै उतै टहलियो । ४ः३० मा गंगबुबाट हाम्रो गन्तव्यको यात्रा सुरु भयो । सो कार्यक्रममा सहभागिका रुपमा बिराटनगरबाट गुरु दधिराज सुवेदी र कवि विवश पोखरेललाई पनि आमन्त्रण गरिएको थियो । उहाँहरु बिराटनगरबाट नै महेन्द्रनगरका लागि यात्रारत हुनु हुने सल्लाह भयो । सोही अनुरुप हामी चारजना काठमाडौँबाट र उहाँहरु दुईजना बिराटनगरबाट समय अनुकुलता मिलाएर बाटो लागेका थियौँ ।
काठमाडौँबाट महेन्द्रनगर पुग्न बसमा लगभग १९,२० घण्टा लाग्ने बसको लामो यात्रामा ठाउँठाउँको साधारण होटलमा चारो टिप्दै गन्तव्यमा पुग्न आतुर थियौ. ।
राष्ट्रिय सम्पदाका वन जङ्गल आदी बसबाटै छिचोल्दै र केही पैदल हिड्नुपर्ने स्थानको नियममा छोटो दुरी नाप्दै हामी बिहान ११ बजेतिर महेन्द्रनगर बसपार्क पुग्यौं । बसपार्कबाट महेन्द्रजीको निर्देशनमा सिटि रिक्साबाट. होटलमा गयौँ र साह्रै स्वादिलो खाना खायौ ।
मातृका पोखरेल र सिताराम गुरुङलाई बस्न त्यहीं होटलमा बन्दवस्त थियो । सीताजीलाई मलाई र बिराटनगरबाट आउनुहुने अतिथीलाई पञ्चेश्वरको गेस्ट हाउसमा थियो । महेन्द्रजी त्यही प्रोजेक्टमा भएकाले त्यहाँ बस्ने वातावरण मिलाउनु भएको थियो ।
दधिराज सरहरु भन्दा हामी अगाडि पुग्यौँ । उहाँहरु २,३ घण्टा पछि मोबाइल सम्पर्कद्वारा बस्ने ठाउँमा नै आउनुभयो । महेन्द्रजी अफिस भएकाले उहाँहरुको स्वागत गर्ने सीताजी र म भयौं । एकछिनसम्म विविध विषयमा भलाकुसारी गरेपछि साँझमा टहललिन चोकतिर यसो निस्कियोँ । मातृकाजीहरु त हामी भन्दा पहिले नै घुम्न निस्कनु भएछ । प्रलेसका साथिहरुसँग सम्पर्क गरेर त्यो दिन नै बैठक पो गर्नु भ्याउनु भएछ । सहिद भिमदत्त पन्त र कमरेड मदन भण्डारीको सालिकसँग साक्षत्कार गर्यौं । हामी एकछिन् त्यसै वरिपरी घुम्यौँ । अनि १ घण्टापछि गेस्ट हाउसमा आयौँ ।
साँझ झमक्कै परिसकेको थियो । रमाकृष्ण सृजना प्रतिष्ठानकी कोषाध्यक्ष महेन्द्रजीकी श्रीमती गौरी गुरुङ कार्यक्रममा सहभागी हुनका लागि काठमाण्डु बाट फ्लाइटमा भर्खर आइपुग्नु भएको रहेछ । दाँत दुखेर त्यसबेला उहाँ हामीसँग बोल्न पनि सक्नु भएन । दाँतको दुखाइको पीडा भोगेर कार्यक्रममा सहभागी हुन आउनुभएको थियो । त्यही खाना खाएर सीताजी र म एउटा कोठामा, सर र विवशजी अर्को कोठामा गयौं ।
भोलीको कार्यक्रमको तयारी गर्नु थियो । एउटा कार्यक्रम उपन्यास विषयको कार्यपत्र नेपालगंज क्याम्पस पढाउने इन्द्रसरले तयार गर्नु भएको थियो । त्यसको कार्यपत्रको कमेन्ट गर्ने जिम्मा मेरो थियो । त्यत्रो सामथ्र्य नभए पनि आफ्नो जिम्मेवारी बहन गर्न दधिराज सरको सुझावबाट भोलीका लागि तयार भएँ ।
भोलीपल्ट बिहान चिया खाएर दधिराज सर विवश भाइ, सिताजी र म महाकाली नदीको आकर्षक स्टिल पुल चाँदनी दोधारा झोलुङ्गे पुल हेर्न गयौं । पूलबाट हिँडेर नै हामीले महाकाली नदी पार गर्यौँ । नदी पारी पनि अलिपरसम्म नेपालकै भू–भाग पर्दो रहेछ । दोधारा चांदनी पुगेर चिया खायौं । समोसा खायौं । नदी पारिको पार्कमा फाटो खिच्यौँ । कार्यक्रमको दिन भएकाले धेरै बेर नअलमलिकन फर्कियौं ।
गेष्टहाउसमा तयार भएको खाना खाएर हामी कार्यक्रम स्थल कञ्चनपुर निर्माण व्यवशायी संघको सभाकक्ष तिर लाग्यौँ । निर्धारित समयमा लेखक, कवि र विद्धान विदुषिहरु उपस्थिति धमाधम हुन थाल्यो । एकैछिनमा हल भरियो । कार्यक्रम समयमा सुरु भयो ।
रमाकृष्ण सिर्जना प्रतिष्ठानले हरेक वर्ष अर्पण गर्ने ०७३ सालको पुरस्कारहरु त्यहीका प्रतिभाहरुलाई दिने निर्णय भएको थियो ।
रमाकृष्ण सिर्जना प्रतिष्ठानका अध्यक्ष कवि महेन्द्र गुरुङको सभापतित्वमा उक्त गोष्ठीका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ आख्यन बिभाग प्रमुख मातृका पोखरेल हुनु हुन्थ्यो । पहिले सत्रमा सोही अनुसार पुरस्कार अर्पण गरियो । कार्यक्रम अन्तर्गत पुरस्कार अर्पण गर्ने कार्यक्रम पहिलो चरणमा भयो । प्रतिष्ठानको नवौ वार्षिकोत्सवमा भएको कार्यक्रममा निम्न व्यक्तिहरु पुरस्कृत हुनुहुन्थ्यो ।
१–प्रा. कृष्णदत्त चठौत (कवि भवानी स्मृति रमाकृष्ण साहित्य सम्मान २०७४)
२ उप प्रा.मदनसिंह बोहरा (डा. हर्क गुरुङ स्मृति रमाकृष्ण विज्ञान प्रविधि सम्मान २०७४)
३. प्रेमवती राना –बीर झागल गुरुङ स्मृति रमाकृष्ण जनजाती उन्नयन सम्मान २०७४)
गरि तीन जना पुरस्कुत भएका थिए ।
त्यसपछि कार्यक्रमक दोस्रो चरणमा दुइवटा कार्यपत्र र त्यसमा टिप्पणी गर्ने पालो आयो । नेपालगंजका समालोचक श्री इन्द्रबहादसर भण्डारीले उपन्यास विश्लेषणको शैली वैज्ञानिक आधार विषयको कार्यपत्र प्रस्तुत गर्नुभयो भने त्यसको टिप्पणी लक्ष्मी उप्रेतीबाट भयो । अनि महेन्द्रनगरका साहित्यकार श्री पन्चमराज भट्टले डोटेली संस्कृतिका विविध पक्ष विषयको कार्यपत्र प्रस्तुत गर्नुभयो भने डा. पद्मराज कलोनीबाट टिप्पणी भयो । त्यसपछि काठमाडाँै बिराटनगर र स्थानीय कविहरुको कवि गोष्ठी जम्यो । मुक्तक, गीत गजल एक एक पाठ गर्ने जोसिला मनहरुले हामीलाई उत्पात आनन्दित तुल्याउनुभयो । त्यसपछि मन्तव्यको क्रम सुरु भयो । संस्थाका सचिव सिताराम गुरुङ र कोषाध्यक्ष गौरी गुरुङको सहयोग उलेख्य रह्यो । तीन जनलाई पुरस्कार वितरण, दुइटा कार्यपत्र प्रस्तुत र टिप्पणी, कवि गोष्ठी त्यसपछि मन्तव्यको कार्यक्रम लगभग ५ घण्टामा सकियो । कार्यक्रम अवधिभर उपस्थित सहभागीहरु कार्यक्रम हल नछाडि बस्नुभयो ।
सहभागिहरुको धैर्यता देख्दा साहित्यप्रतिको लगाव र आस्था त्यहाँका जनसमुदायमा प्रचुरमात्रा भएको हामीले अनुभव भयो । कार्यक्रम सकिएर घर आउँदा लगभग ६ बजेको थियो । नास्ता चियाको प्रबन्ध कार्यक्रम स्थलमा नै भएकाले भोकको समस्या हु्ने भएन । त्यसरी त्यो दिन सार्थकताका साथ बितेको रमाइलो स्मृति बारम्बार आइरहन्छ । नयाँ साथीभाइ र अग्रज अनुज साहित्यकारहरुसँग परिचय भएर सामिप्यतामा रमाएको त्यो क्षण उपलब्धीमूलक भएको मैले बारम्बार अनुभूत गरिरहेकी छु ।
त्यो दिनको साहित्यिक कार्यक्रम एउटा ऐतिहासिक कार्यक्रमका रुपमा रहेको छ ।
भोलीपल्ट अर्को एउटा सुखद संयोगको मौका थियो । त्यो थियो नैनतालको यात्रा । यात्रा साँच्चीकै सुखद सुरम्य र सुन्दर भयो भने त्यो मनमा सधैँ अमिट बनि मस्तिष्कमा कोरिदो रैछ । साँझ परिसकेको थियो बस्ने ठाउँ आइपुग्दा । हिजोको कार्यक्रम र आजको नैनताल यात्राको रमाइलोमा हामी आल्हादित भएका थियौं ।
अब भोली फर्कने दिन । फर्कनका लागि ३,४ बजे गाडी छुट्ने समय भएकाले बिहान फेरी अर्को अवसर जुट्यो । बाल ब्रह्मचारी गुरुले विगत केही वर्षदेखि महेन्द्रनगरमा नेपाल आमाको ७५ फिट अग्लो ढलोटको मूर्ति राख्ने उदेश्यले भिमदत्त न. पा ८ मा त्यसम्बन्धी अभियान संचालन हुँदैछ भनेर दधिराज सरले भन्नुभयो । त्यसपछि त्यो बिहानको समयको सदुपयोग पनि हुने आध्यात्मिकताको केही स्वाद पनि पाइने लोभ भयो । महेन्द्रजीले बिहानका लागि चारजना अट्ने गाडीमा जुटाई दिनु भयो । दधिराज सर, विवशजी, सीताजी र म भएर बाटो लाग्यौं । बसेको ठाउँबाट निकै टाढा पर्ने त्यो आध्यात्मिक धाममा सोध्दै खोज्दै लगभगएक घण्टामा पुग्यौं । भिमदत्त न. पा ८ भम्केनीधाममा नेपालआमाको मूर्ति निर्माण स्थल । त्यहाँ जान जङ्गल फाँडेर माझमा बाटो खनेर सहज भएको थियो । निर्माणाधिन सो मूर्ति अष्टधातुको ७५ फिट अग्लो विश्वकै अग्लो बनिने योजना भएको थाहा पाइयो । नेपाली शिल्प र शैलिमा, नेपालीहरुकै लगानिमा सिमा स्तम्भका रुपमा संग्रालय सहितको पहिलो उक्त मूर्ति बनाउने लक्ष्य भएको महत्वपूर्ण कुरा सन्तबाट सुन्यौं । उक्त क्षेत्रमा नेपाल माताको ७५ फिट अग्लो मूर्ति का दुई छेउमा गौमाता र बाघको मुर्ति रहने र जगतगुरु आश्रम,पाश्र्वं दृश्य स्थल, सम्पूर्ण देवीदेउताका कुण्ड, सस्कृत पाठशाला, छात्रावास, अध्यापक निवास, स्वास्थ्य चौकी, पाहुना गृह, साधु महन्तहरुकालागि उचित आवस, प्रशासनगृह आदि पूर्वाधारहरु धमाधम तयार हुदै गरेको बाल ब्रह्मचारी गुरुले क्रमैसंग देखाउदै जानकारि गराउनुभयो । यो धार्मीक पर्यटन प्रबर्धनको दृष्टिले पनि महत्वपूर्ण मान्न सकिन्छ । त्यसपछि बाल ब्रह्मचारी गुरुको प्रवचन, भजन सुनेर हामीले प्रसाद लियौं । वरपर घुमेर संभव भएजति हेरेउ मन अझै भरिएको थिएन । तर ढिलो भएकाले एकछिनमा बाटो लागेउ । उक्त स्थानको अवलोकन गर्दा, बालगुरुका वाणी र भजन सुन्दा, नै लगभग दुई धण्टा वितेको थियो । त्यसपछि एक धण्टा जिपको गुडाई पछि वासस्थान पुग्यौं । अनि खाना खायौँ र एकछिन आराम गरेर फर्कने तरखरमा लाग्यौँ ।
२ बजे तिर दधिराज सर र विवशजी त्यो दिन धनगढीमा बस्ने योजना बनाउनु भयो । भोली उतैबाट बिराटनगर फर्कने भएर हामीबाट छुट्टिनु भयो । हामी चारजनालाई काठमाडौँ जाने रात्रीबसमा महेन्द्रजीले विदा गर्नुभयो । अस्ति आउँदा जसरी आएका थियौं, त्यसरी नै काठमाण्डु नपुगुन्जेल बसको यात्रामा रमाइरह्यौँ । आउँदा जुन उत्साहले आएका थियौं , त्यो भन्दा अलिक फरक उत्साहका साथ काठमाडौँ पुगेर आ–आफ्नो जीवनलाई गति दिने योजनामा लाग्यौं ।
महेन्द्रनगरको यात्रा यसरी सम्पन्न भयो कि फेरी त्यहाँ यात्रा गर्नेु अवस्था भयो भने अरु नै संयोग जुट्ला तर यस्ता सुखद् संयोग कमै मात्रामा हुनसक्ला । यस यात्राका लागि धन्यवादका मुख्य पात्रा महेन्द्रजी हुनुभयो । महेन्द्रनगरका साहित्यिक मनहरुलाई पनि आभार व्यक्त नगरिरहन सकिंदैन। उहाँहरुले यसरी चासो नराखेको भए कहाँ सम्भव हुन्थ्यो त यो यात्रा ?
ooo
No comments:
Post a Comment