Sunday, December 15, 2024

ताराकान्त सर ! मुक्तिनाथ साँच्चै टाढा छ - मातृका पोखरेल

 सोचिरहेको छु, प्रा.डा. ताराकान्त पाण्डेयको बारेमा लेख्न कहाँबाट सुरू गरौं ? केही घटनाहरू जुलुशजस्तै बनेर एकाएक अघिल्तिर आउँछन् । दिनहरू बित्दै छन् । उहाँसँगको पहिलो भेटको सम्झना गर्न खोज्छु । तर यही बेलामा भएको थियो पहिलो भेट भनेर ठम्याउन सक्दिन । प्रतिभा - प्रवाहका आरम्भका दिनहरूमा फर्किन्छु । उहाँ उद्घोषण गरिरहनु भएको, कविता सुनाइरहनु भएको , समीक्षा गरिरहनु भएको पातलो शरीरको झझल्को आइरहन्छ । त्यो भन्दा पहिले पनि उहाँलाई भेटेजस्तो लाग्छ । उहाँको ढल्कोपाखाको कोठाको याद खुबै आउँछ । एउटै सानो कोठामा बसेको परिवार । उहाँकी छोरी तितिक्षा सानी थिइन् । शिलाजी तीनताक सक्रिय कवि हुनुहुन्थ्यो । त्यही सानो कोठामा स्टोभमा चिया पकाएर खाएको घुर्मैलो सम्झना छ । पक्कै नजिकको सम्बन्ध भएपछि मात्र नियमित कोठामा गइन्छ । त्यसैले ढल्कोपाखाको भेट पनि पहिलो होइन जस्तो लाग्छ । जे होस् , उहाँसँगको भेट पञ्चायतको समयमैं अर्थात ०४४ / ४५ सालतिरै भएको थियो । त्यसपछि उहाँको निधन नहुन्जेल कहिले पातलो र कहिले बाक्लो सम्बन्धले हामी एक-आपसमा नजिक भयौं ।


ताराकान्त पाण्डेय र मेरा बिचमा कहिले नजिकजस्तो कहिले टाढाकोजस्तो एकप्रकारको सम्बन्ध रह्यो । त्यस्तो सम्बन्ध हुनुको पछाडि नेपालका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूमा हुर्किने गरेको मनोवैज्ञानिक प्रभाव थियो । जुन प्रभाव हाम्रा वरिपरि निरन्तर नचिरहन्थ्यो र अहिले पनि नाचिरहेकै छ । त्यही प्रभावमा थियौं हामी । वामपन्थी आन्दोलनका हामी कार्यकर्ताहरूलाई नजिक वा टाढा बन्न र बनाउन हाम्रो स्वभाव अनि व्यवहारमात्र जिम्मेवार हुँदैनथ्यो । म संलग्न पार्टी नेतृत्वले ताराकान्त सर संलग्न पार्टीसँग कस्तो व्यवहार देखाउँछ , हाम्रो नजिक टाढाको सम्बध त्यसैले निर्धारण गरिदिन्थ्यो । हामी हाम्रो दिमाग खियाएर नजिक वा टाढाको कस्तो सम्बन्ध बनाउने भन्ने कुरामा कमै प्रयत्नशील हुन्छौं भन्ने मेरो बुझाइ छ । कहिलेकाहीँ हामी हाम्रो वामपन्थी आन्दोलनले हुर्काएको त्यही मनोवैज्ञानिक प्रभावको सिकार हुन्थ्यौं । यही मनोवैज्ञानिक प्रभावबाट सिर्जित एउटा घटना म बारम्बार सम्झिरहन्छु । वि.सं. २०४७ सालमा नेकपा (चौम) , नेकपा (मशाल) र सर्वहारावादी श्रमिक संगठनको बीचमा एकता भएर नेकपा (एकता केन्द्र ) को निर्माण भयो । ताराकान्त पाण्डेय नेकपा (मशाल) को कार्यकर्ताको रूपमा र म नेकपा (चौम) को कार्यकर्ता भएर एकताकेन्द्रमा जोडिन आइपुग्यौं । एकताकेन्द्र बनेपछि धेरै जनवर्गीय संगठनहरूको एकता भइसकेको थियो तर नेकपा (चौम) समार्थित इन्द्रेणी सांस्कृतिक समाज र नेकपा (मशाल) समर्थित अखिल नेपाल जनसांस्कतिक सङ्घका बिचमा एकता हुन सकेन । पार्टी नेताहरूले एकता गराउन ठुलै प्रयत्न गरेको हामी बुझ्थ्यौं । तर पनि एकता हुन सकेन । इसासको मूल नेतृत्व पारिजात दिदी र रायन दाइले गर्नुभएको थियो । रायन दाइ एकताको विपक्षमा मुखर रूपले प्रस्तुत हुनुभएको थियो भने पारिजात दिदीको चाहना पनि यी दुई संगठनको बिचमा एकता नहोस् भन्ने थियो अरे भनेर भित्रभित्र गाईंगुईं सुनिन्थ्यो । तर रायन दाइको जसरी पारिजात दिदीको मुखर धारणा कतै प्रकट भएन । यसैबिचमा अखिल नेपाल जनसांस्कृतिक सङ्घले २०४८ सालमा कीर्तिपुरमा एउटा राष्ट्रिय भेलाको आयोजना गऱ्यो । कविद्वय कृष्ण सेन र आहुतिसँगको विशेष निकटताको कारणले मलाई पनि अखिल नेपाल जनसांस्कृतिक सङ्घको राष्ट्रिय भेलामा जान भनियो । इन्द्रेणी सांस्कृतिक समाजसँग आबद्ध अन्य कसैलाई पनि उक्त राष्ट्रिय भेलामा बोलाइएको थिएन । भेला हुनुभन्दा एकदिन अघि कृष्ण सेन र आहुति मेरो कोठामा आउनुभएको थियो । तपाईंले भेलामा प्रतिनिधि बन्न जरूरी छ भन्नुभयो । शायद , मलाई भेलामा उपस्थित गराउन आहुतिजीले कृष्ण सेनलाई प्रेरित गर्नुभएको हुनसक्छ । त्यसरात उहाँहरू दुवै मेरै कोठामा बस्नुभयो । हामीले रातभर छलफल गऱ्यौं । दुवै सांस्कृतिक संगठनको एकता गर्नुपर्छ भनेर एउटै बिचार प्रकट गऱ्यौं । म इन्द्रेणी सांस्कृतिक समाजको सामान्य कार्यकर्ता मात्र थिएँ । भोलिपल्ट सेनजी र आहुतिजीसँगै म पनि कीर्तिपुर गएँ । भेलास्थलमा पुगे पछि मेरो उपस्थितिलाई लिएर केही साथीहरुले मूलत : कृष्ण सेनसँग असन्तुष्टि प्रकट गर्नुभयो । त्यो असन्तुष्टि प्रकट गर्नेमा ताराकान्त पाण्डेय पनि हुनुहुन्थ्यो । विचार र व्यवहारमा त्यति फराकिलो सोच भएको उहाँजस्तो मान्छेले कसरी त्यो ढङ्गले सोच्नुभयो भनेर म भित्र अहिलेसम्म प्रश्न उठिरह्यो । हामीलाई हाम्रो आन्दोलनले यसैगरी हुर्किन प्रेरित गऱ्यो । जसलाई हामीले चिर्न सकेनौं र खोजेनौं पनि । हाम्रो सम्बन्धमा बेलाबेलामा यो प्रभावले प्रसस्तै भूमिका खेल्यो । हामीले पनि त्यसलाई भत्काउन सकेनौं ।

२०५६ सालतिरैको कुरा हो । सहयात्री त्रैमासिक पत्रिकाले म लगायत आठ नौ जना त्यसबेला कविता लेख्ने साथीहरुसँग कविताबारे एउटा अभिमत लिएको थियो । त्यो अभिमतमा मैंले नेपाली कवितामा तीनवटा प्रवृत्ति रहेको कुरा औंल्याएको थिएँ । त्यसमध्ये एउटा यथास्थितिवादी धारा , अर्को क्रान्तिकारी धारा र अर्को जडसूत्रवादी धारा भनेर मैले समकालीन नेपाली कविताका प्रवृत्तिहरूलाई औंल्याएको थिएँ । मैले त्यो अभिमतमा "मोटामोटी रूपमा जडसूत्रवादी प्रवृत्तिले क्रान्तिकारी भावनालाई नै मुखरित गर्छ। तर पनि नेपालको प्रगतिवादी कविता लेखनमा यो केही फरक विशेषताका साथ देखा परेको छ। यो प्रवृत्तिले कलालाई राजनीतिको प्रचार प्रसार गर्ने साधनको रूपमा मात्र स्वीकार्छ। यो प्रवृत्तिले कवितामा यथार्थलाई बढाइ चढाई प्रस्तुत गर्ने र वस्तुगत यथार्थलाई वेवास्ता गर्ने गरेको छ ।" भनेको थिएँ र यतिमात्र भनेको थिएँ । मैले माओवादी आन्दोलन र त्यो आन्दोलनका स्रष्टाहरुको कतै उल्लेख गरेको थिइनँ । तर ''क्रान्तिप्रतिको निष्ठालाई जडसूत्र भन्न पाइँदैन'' भनेर उहाँले मेरो भनाइको त्यसबेला खुबै प्रतिरोध गर्नुभयो र आफ्ना कृतिहरूमार्फत यो विचारलाई सार्वजनिक गर्नुभयो । मेरो यो सामान्य धारणाप्रति आफ्नो ठाउँबाट उहाँले निकै प्रतिरोध गर्नुभयो । त्यसरी प्रतिरोध गर्नुको पछाडि उहाँभित्र सांगठनिक प्रतिबद्धताले काम गरेको हुनुपर्छ । नत्र त्यो प्रवृत्ति नेपाली प्रगतिवादी साहित्यमा नभएको होइन । कुनै न कुनै रूपमा अहिले पनि छँदै छ । तर त्यसबेलाको माओवादी जनयुद्धलाई हेर्ने दृष्टिकोणमा यो भनाइले नकारात्मकता पैदा गर्न सक्छ भन्ने उहाँलाई लागेरै खण्डन गर्नुभएको थियो । यसले संगठनात्मक प्रतिबद्धताप्रति उहाँको सचेतनता प्रकट हुन्छ ।

प्रा.डा. ताराकान्त पाण्डेय नीजि फाइदाका लागि आफ्नो वैचारिक मूल्यलाई दाउमा नराख्ने स्वाभिमानी व्यक्तित्व हुनुहुन्थ्यो । मानिसहरूले व्यक्तिगत फाइदाका लागि विचार परिवर्तन गरेका, पार्टी परिवर्तन गरेका कैयौं दृष्टान्तहरू हाम्रा अघिल्तिर छन् । मूलत : यो समस्या वामपन्थी पार्टीहरूका कार्यकर्तामा सबैभन्दा बढी देखिने गर्छ । एउटा नियुक्ति र अवसर प्राप्त हुने भयो भने विचार र पार्टी छोड्ने वा परिवर्तन गर्ने उदाहरणहरु हाम्रो आन्दोलनमा मनग्ये भेटिने गर्छ । यो संदर्भमा प्रा.डा. ताराकान्त पाण्डेयलाई फरक र उच्चस्थानमा राखेर मूल्याङ्कन गर्नु पर्छ भन्ने मलाई लाग्छ । उहाँले चाहेको भए उहाँका अघिल्तिर थुप्रै अवसरहरू थिए । आफू हिंडिरहेको बाटोको कुइनेटोलाई अलिकति मात्र मोड्नु भएको भए उहाँलाई प्रज्ञा प्रतिष्ठानका ठुलठुला पदहरू स्वागत गर्न तयार थिए । उहाँका अघिल्तिर थुप्रै सम्भावना र अवसरहरू अरू पनि प्रसस्तै थिए । उहाँले कतै तिर पनि आँखा लगाउनु भएन । प्रा. डा. ताराकान्त पाण्डेयलाई यहाँनेर बाट यतिबेला हामीले मूल्याङ्कन गऱ्यौं भने उहाँसँग सहकार्य गरेका साथीहरूको भीडमा उहाँको वास्तविक व्यक्तित्व र उचाइ देखापर्छ । उहाँ विचारप्रति प्रतिबद्ध हुनुहुन्थ्यो भन्ने यो एउटा सानो उदाहरण मात्र हो । नैतिक मूल्यका दृष्टिले समकालीनहरूको भीडमा उहाँको व्यक्तित्व वास्तवमैं अग्लो थियो ।

प्रा.डा. ताराकान्त पाण्डेय स्वास्थलाई अत्यन्तै ख्याल गर्नुहुन्थ्यो । अतिततिर फर्किएर उहाँलाई सम्झँदा ०५० / ५१ सालतिर मास्क लगाएर कलंकीको बाटो हिंडेको झल्झल्ती याद आउँछ । त्यसबेला हाम्रो बिचमा मास्क लगाउने चलन चलेकै थिएन । माक्स लगाएर हिंडेकोमा हामी उहाँलाई जिस्क्याउँथ्यौं । उहाँ हाँसेर टार्नुहुन्थ्यो । स्वास्थलाई ख्याल गरेको उहाँको अर्को घटना पनि म यतिबेला सम्झिरहेको छु । हामी एकपटक प्रगतिशील लेखक सङ्घको आयोजनामा दाङको घोराहीमा हुने कार्यक्रममा भाग लिन काठमाण्डौबाट निनु चापागाईँ, रूद्र खरेल, कृष्ण सेन 'इच्छुक', ईश्वरचन्द्र ज्ञवाली, ताराकान्त पाण्डेय र म गएका थियौं । साझा बसमा गरिएको त्यो यात्राले हाम्रा बिचमा केही रोचक स्मृतिहरु छाडेको छ । भालुवाङ नपुग्दै कालाकाटे भन्ने ठाउँ पुगेपछि कृष्ण सेन इच्छुकले त्यहाँको ऐतिहासिकताबारे बताउनुभयो । इच्छुकको इतिहाससम्बन्धी गहिरो रूची रहेछ । भारतमा भएको सिपाहीँ विद्रोह पछि बिद्रोहमा सामेल सिपाहीँहरुलाई हत्या गरिएको हुनाले त्यो स्थानको नाम कालाकाटे रहेछ । त्यहाँ पुग्दा खाजा खाने समय भइसकेको थियो । ताराकान्त सर केही खाउँ भनेर जोड गर्दै हुनुहुन्थ्यो । तर कृष्ण सेनले म तपाईंहरुलाई लमहीमा विशेष कुरा ख्वाउँछु भन्नुभएपछि हामी सबै त्यही विशेष कुरा खान लमही पुग्न तयार भयौं । 'लमहीको विशेष कुरा मलाई थाहा छ । म चाहिँ खान्न ।' भन्दै तारा सरले एउटा ग्लुकोज बिस्कुट किनेर झोलामा बोक्नुभएको मलाई याद छ । लमहीमा ठुलो फलामको तावामा राखेर चटपटे बनाइँदो रहेछ । सेनजीले त्यसैलाई विशेष कुरा भन्नुभएको रहेछ । त्यो चटपटे निकै स्वादिलो थियो । हामीले थपीथपी खायौं । त्यो चटपटे बनाउँदा आगोमा राखिएको ठुलो तावामा चटपटेको कच्चा पदार्थ हालेर फलामको सानो हाते वस्तुले हिर्काउँदा एउटा आवाज निस्कँदो रहेछ । रूद्र खरेल सरले त्यसलाई 'संगीतात्मक चटपटे' भनेर नाम राख्नुभयो । हामीले त्यो चटपटे खाइरहँदा तारा सर छेउमा उभिएर बिस्कुट खाइरहनु भयो । उहाँले त्यो 'संगीतात्मक चटपटे' खानुभएन । घोराही पुग्ने वित्तिकै हामी सबैजसो क्रमश : विरामी पर्न थाल्यौं । काठमाण्डु फर्क्युन्जेलसम्म हाम्रो स्वास्थ ठिक भएन । फर्किंदा लमही आएपछि ताराकान्त सर हामीलाई जिस्क्याउँदै हुनुहुन्थ्यो - ' फेरि 'संगीतात्मक चटपटे' नखाने ? स्वास्थमा उहाँ कति सचेत हुनुहुन्थ्यो भन्ने मैले एउटा घटनामात्र यहाँ प्रस्तुत गरेको हुँ ।

आखिर संयोगहरू पनि कस्ता आश्चर्य लाग्ने ? त्यही ठाउँ नजिकै भालुवाङमा उहाँको दुर्घटनामा निधन हुन पुग्यो ।

प्रा.डा. ताराकान्त पाण्डेयलाई उहाँको निधन पछि समालोचकका रूपमा र अझ भन्ने हो भने मात्र समालोचकका रूपमा चर्चा गरियो । त्यो पूर्ण सत्य थिएन । समालोचक बाहेक नेपाली कविताको क्षेत्रमा पनि उहाँको अत्यन्तै महत्वपूर्ण योगदान छ । सिर्जनाको यो पाटोलाई उहाँको कर्मबाट बाहिर राखेर मूल्याङ्कन गरिनु हुँदैन भन्ने मलाई लाग्छ । चालीसको दशकमा उहाँ समकालीन कवितामा प्रतिनिधि कवि हुनुहुन्थ्यो ।

हाम्रो बीचको उमेर झण्डै आधादशक जसो फरक थियो । अर्थात् उहाँ म भन्दा उमेरले अग्रज नै हुनुहुन्थ्यो । संगठन र सिर्जनामा पनि उहाँ अग्रज नै हुनुहुन्थ्यो । तर हामीले समकालीन जस्तै भएर काम गऱ्यौं ।

भालुवाङमा उहाँको निधन भएको समाचार जव एकाविहानै सुन्नेवित्तिकै फेसबुकमा एउटा टिप्पणि लेखेको थिएँ । उहाँको निधन विचारधारात्मक निर्मितिका लागि अपूरणीय क्षति हो । मेटिन निकै गाह्रो पर्ने साँच्चैको अपूरणीय । उहाँको निधनलाई मैले अपूरणीय भन्नुको एउटा कारण थियो । गैरप्रगतिवादी शिविरमा प्रगतिवादी शिविरभित्रबाट लेखिएका समालोचनाहरू मध्ये रुचीका साथ समालोचक गोविन्द भट्ट पढिनुहुन्थ्यो । त्यो स्थान त्यसपछि ताराकान्त पाण्डेयले लिनुभएको थियो । उहाँका समालोचनाहरू विचार र कलात्मक लेखनका सुन्दर संयोजन थिए । त्यसैले मानिसहरू उहाँका समालोचनाहरू रूचीकासाथ पढ्थे । त्यहीकारण पनि मलाई उहाँको निधन विचारधारात्मक निर्मितिका लागि अपूरणीय क्षति हो भन्ने लागेको थियो ।

प्रा.डा. ताराकान्त पाण्डेयको चालीसको दशकमा प्रकाशित एउटा कवितांश राखेर उहाँलाई पुन : श्रद्धाञ्जलि अर्पण गर्दछु ।

सँगै हिंडिरहेका एक हुल यात्रीहरू
अहिले यात्रा रोकिरहेछन्
अगाडि मुक्तिनाथ झैं लाग्ने
कुनै पहाडको काखमा
एउटा कुण्ड देखिएको छ
उनीहरू त्यसैलाई मुक्तिनाथ भनिरहेछन्
आफ्नो महान् यात्रा रोकिरहेछन् ।

मित्रहरू !
म कसरी भनूँ सहयात्रीहरूलाई
यो मुक्तिनाथ हुँदै होइन
मुक्तिनाथ आएकै छैन,
मुक्तिनाथ पुग्ने यात्रीहरू !
किन रोक्ने हाम्रो महान् यात्रा !
लम्कनु पर्छ फेरि उकालो
मुक्तिनाथ धेरै-धेरै माथि छ
भ्रम र जालका यी थुम्का र डाँडाहरूदेखि धेरै-धेरै उँचाइमा छ ।

- यात्रा नरोकौ /ताराकान्त पाण्डेय

कवि पाण्डेयले आफूले लेखेको कविता जस्तै जीवन बाँच्नुभयो । थकाइ मार्ने कुराप्रति पनि उहाँ कहिल्यै सहमत हुनुभएन । सहयात्रीहरुको यात्रा रोक्ने योजनाप्रति उहाँले बारम्बार खबरदारी गरिरहनु भयो ।

000

No comments:

Post a Comment