Saturday, September 13, 2025

कथा : होलटाइमर

  - मातृका पोखरेल


सुदुर पश्चिमको मानिस । पूर्वी पहाडको त्यो अपरिचित भूगोलमा म पहिलोपटक राजनैतिक कामको जिम्मा बोकेर पुगेको थिएँ । पार्टी संगठनका साथीहरू अत्यन्तै सहयोगी जस्ता लाग्थे । कार्यक्षेत्रमा प्रवेश गर्ने वित्तिकै मैले निकै सहज महसुस गरेको थिएँ ।

म त्यस जिल्लामा पुग्दा जनताका धेरै छोराहरू आफ्नो जीवनको वलिदान गरेर सहिदको सूचीमा लामबद्ध भइसकेका थिए । गाउँगाउँमा जनयुद्धको प्रभाव बढ्दो अवस्थामा थियो । साथीहरूको सरलपनको कारण मलाई आफ्नो जिम्मेवारी पुरा गर्न सहज भयो ।
क्रान्तिमा लामबद्ध हुने साथीहरूको संख्या उल्लेखनीय रूपमा बढ्यो । साथीहरूको भीडमा एकजना मानिसलाई मैले देखेँ । जिम्मेवारी पुरा गर्ने हिसावले उनी अलिक फरक र गम्भिर थिइन् । अर्थात् पार्टीले दिएको जिम्मेवारी अत्यन्तै मेहनत र अनुशासित ढङ्गले पुरा गर्ने । पार्टीभित्र उनको नाम 'उपमा' रहेछ । वास्तबिक नाम अर्कै थियो । उनी सहिद परिवार पनि रहिछन् । उनका पतिको जनयुद्ध सुरू हुने वित्तिकै सत्ताले हत्या गरेको रहेछ ।
उपमा स्थानीय सरकारी प्राथमिक विद्यालयकी शिक्षिका थिइन् । सहिद परिवारकी भएका कारण पनि उनलाई खुलारूपमा काम गर्न सजिलो थिएन । उनका गतिविधिमा प्रहरी /सेनाको उच्च निगरानीका कारण उनलाई पार्टी काम गर्न सहज थिएन । अत्यन्तै भूमिगत शैलीमा तर प्रभावकारी रूपमा काम गर्थिन ।
'कमरेड उपमालाई जागिर छाड्न लगाएर होलटाइमर बनाऔं ।' एकदिन जिल्ला पार्टी कमिटिको बैठकमा कमरेड ज्वालाले प्रस्ताव राखे
'उहाँलाई जागिर छोडायौं भने त्यही जागिरको भरमा टिकेको परिवार तहसनहस हुन्छ । त्यसैले उहाँलाई जागिर छोडाएर होलटाइमर बनाउनु जिम्मेवारपूर्ण काम हुँदैन ।' बैठकमा अर्को सदस्य रक्तिमले तुरुन्तै फरक मत राखेका थिए ।
उपमाको एउटा सानो छोरो थियो करिव चार पाँच वर्षको । बाबुको अनुहार तस्बिरमा मात्र देख्यो उसले ।आमाको संघर्षलाई विस्तारो अनुभूत गर्न थालेको थियो । वृद्धावस्थाका सासु ससुरा थिए । उनैको जागिरमा पूर्ण आश्रित थिए । दुःख, पीडा र संघर्षले उनको कर्तव्यबोधमा झन् निखार ल्याइदिएको थियो ।
'क्रान्तिका लागि कसैको व्यक्तिगत जीवनको सुविधालाई ध्यान दिनु गैरक्रान्तिकारी सोचाइ हो ।' होलटाइमर बनाउनु पर्छ भन्ने कमरेड ज्वालाको तर्क थियो ।
'आखिर जनयुद्धको क्रममा सुरुकै अवस्थामा सहिद भएको घरको परिवार पनि हो उपमाको परिवार । जागिर खाँदै भए पनि भूमिगत काम गरिरहेकै छन् । होलटाइमर बनाउन हतार नगरौं ।' बैठकमा सहभागी अर्का सदस्य कमरेड रेशमले पनि आफ्नो मत राखे ।
'म जस्तो आर्थिक अवस्था अत्यन्तै कमजोर भएको र झन् बढी पारिवारिक दायित्वबाट गुज्रिएको मानिस चाहिँ होलटाइमर हुने तर मेरो भन्दा धेरै राम्रो आर्थिक अवस्था हुने मानिसलाई चाहिँ आर्थिक सुरक्षा चाहिने' कमरेड ज्वाला मिटिङमा तर्क गरिरहेका थिए ।
गैरक्रान्तिकारी भनेर कमरेड ज्वालाले तर्क गर्न थालेपछि अन्य साथीहरु थप छलफल गर्न हच्किए । छलफलमा फरक मत देखिए पछि उपयुक्त निर्णय लिने जिम्मेवारी बैठकले मलाई दियो ।
कमरेड ज्वालाको तर्कभन्दा मलाई रक्तिमको तर्क सान्दर्भिक लागिरहेको थियो । आखिर पार्टीमा काम गरेकै थिइन् उनले । जागिरले परिवारको समस्या समाधान भइरहेकै थियो । उनलाई होलटाइमर बनाउनु भन्दा यही अवस्थामैं काममा लगाउनु उचित हुन्थ्यो । तर कमरेड ज्वाला जिल्लामा सबैभन्दा प्रभावशाली नेता थिए । भरखरै यस जिल्लाको जिम्मेवारीमा आएको कारण मैले पनि उनको धारणाप्रति विमति जनाउनु उपयुक्त ठानिन । यतिबेलै विमति जनाउँदा मलाई जिम्मेवारी पुरा गर्ने ठाउँहरुमा मैले केही अफ्ट्यारा परिस्थितिको सामना पनि गर्नुपर्थ्यो । त्यही सोचेर मैले कमरेड ज्वालाको धारणालाई स्विकार गरेँ ।
पार्टी कमिटीले दिएको जिम्मेवारी अनुसार मैले उपमासँग होलटाइमर बन्न अनुरोध गरेँ ।
'छोरो सानै छ । उसलाई पढाउने बेला भएको छ । वृद्ध सासु ससुरा हुनुहुन्छ । सबैको आधार भनेको मेरै जागिर हो । जागिर छुटेपछि कसरी खाने ?' उपमाले जागिर छोडेपछिको कठिनाइ राखिन् ।
'पार्टीले हेरिहाल्छ। तपाईंलाई र तपाईंको परिवारलाई पार्टीले केही समस्या हुन दिँदैन ।' आफैंलाई विश्वास नलाग्दै मैले उनीसँग बनावटी कुरा गरेँ ।
धेरै पटकको छलफलपछि मात्र उपमा होलटाइमर हुन तयार भइन् ।
०००
उपमा होलटाइमर भएपछि पार्टीको सङ्गठन अभुतपूर्व रूपमा बढ्यो । कुनै सम्पर्क नभएका गाउँगाउँमा संगठनहरू बने । गाउँगाउँका महिलाहरूमा चेतनाको लहर फैलियो । उनले जिम्मेवारी लिएको ठाउँ वा नेतृत्व गरेको क्षेत्रमा पार्टीका आधारहरू निकै सुदृढ भए ।
जागिर छाडेर होलटाइमर बन्नेवित्तिकै उपमाका दुखका कहालीलाग्दा दिनहरू सुरू भए । उनी र उनी जस्तै कार्यकर्ताको कारणले पार्टीको प्रभाव बढ्दो क्रममा थियो । उनी होलटाइमर बनेपछि उनको घरमा रहेका वृद्ध सासु ससुरा सेनापुलिसको नियमित प्रताडनाको कारण गाउँ छोड्न बाध्य भए । उनको सानो छोरो पनि हजुरबा हजुरआमासँगै कोही छिमेकी आफन्तहरुको सहारा खोज्दै मधेशतिर गएको सुनियो ।
म त्यही कार्यक्षेत्रमा हुँदा उपमाको जीवनमा घटेको एउटा घटना कहिल्यै पनि मेरो मानसपटलबाट टाढा हुन सकेन । उपमालाई पार्टीको निर्णय बमोजिम कार्यक्षेत्र परिवर्तन गरेर हामीले संखुवासभा सरुवा गरेका थियौं ।
२०५९ साल वैशाख २४ गते तत्कालीन नेकपा (माओवादी)ले संखुवासभाको चैनपुरमा रहेको सैनिक क्याम्पमा धावा बोल्यो । त्यो साहसिक युद्धकी एक लडाकु थिइन् उपमा । माओवादीको आक्रमण सफल नभएपछि भाग्ने क्रममा उनलाई गोली र छर्राले लाग्यो । उनी अचेत भइन् । भाग्ने क्रममा रहेका माओवादी लडाकुहरुले उनी मरिसकेको निश्कर्ष निकाले । धेरै टाढा खोल्सीमा लगेर फालिदिए, सलामी ठोके र आफू बाँच्न सुरक्षित स्थानतर्फ भागे । पानीमा खसेकी उनको लामो समयसम्म होस् खुलेन ।
केही समय पछि उपमाको होस् खुल्यो । घण्टौं घस्रेर उनी वस्तीसम्म पुगिन् । वस्तीमा पुग्दा थाहा भयो युद्ध त चार दिन पहिले भएको रहेछ । तीन हप्तापछि सहयोद्धाको सम्पर्कमा पुगिन् । उनलाई भेट्दा सबैजना चकित भए । किनकी उनलाई खोल्सीमा फालेका सहयोद्धा लडाकुहरुले उनी मरिसकेको ‘रिपोर्टिङ’ पार्टी र जनमुक्ति सेनामा गरिसकेका थिए । उपमालाई त्यसबेलामात्र थाहा भयो, पार्टीले आफूलाई सहिद घोषणा गरिसकेको रहेछ ।
उपमाको जीवनमा घटेको यो घटना मेरो मानसपटलमा बारम्बार आइरहने घटना हो । यहाँ आएर जिम्मेवारी सम्हालेको दुईवर्ष पुरा भइसकेपछि पार्टीले मलाई मध्यपश्चिमतिर कार्यक्षेत्र परिवर्तन गरेर पठायो ।
०००
शान्तिप्रक्रिया पछि म पनि पार्टीले तोकेको कार्यक्षेत्र र राजधानी दुवैतिर गरेर आधाआधा जसो बस्ने गर्दथेँ ।
एकदिन मोवाइलमा अपरिचित नम्बरबाट एउटा फोन आयो -
"दाइ ! चिन्नुभयो ?"
मैले जवाफ फर्काउन नपाउँदै मोवाइलमा तुरुन्त आवाज आयो ।
'वसन्त' दाइ होइन ?'
'हो' मैले भनेँ ।
अचेल मेरो यो नाम धेरै प्रयोग हुँदैन । 'वसन्त' मेरो पार्टीको टेक नाम थियो । पहिले पहिले यही नाम बढि प्रयोग हुन्थ्यो । मलाई अचेल वसन्त भनेर पार्टीका पुराना साथीहरूले मात्र चिन्छन् । अचेल यो नाम भन्दा वास्तविक नाम बढि प्रयोग हुन्छ अर्थात हरिशंकर ।
'वसन्त' दाइ भनेर मलाई सम्बोधन गरेपछि मैले लख काटी हालेँ । यी मानिस पार्टीकी पुरानो कार्यकर्ता रहिछन् ।
आवाज परिचित जस्तो लाग्यो । निकै परिचित जस्तो । चिनिन भन्न पनि गाह्रो लागिरह्यो ।
"अझै चिन्नु भएन ?"
मन नलागी नलागी चिनिन भन्नै पर्ने बाध्यतामा पुगेँ म ।
अत्यन्तै परिचितजस्तो लाग्ने स्वर भएकोले एकछिन फेरि अकमकाएँ ।
फेरि कुरा घुमाएँ । तपाईंको नम्बर मोबाइलमा सेभ रहेनछ । त्यसैले चिन्न गाह्रो भयो ।
'अब दाइहरूले हामीलाई चिन्न छाडेपछि हामीलाई साँच्चै चिन्ता लाग्छ !' अरू कार्यकर्ताजस्तो ठाडो कुरा नगरेर अत्यन्त शिष्ट पाराले बोली ऊ !
'दाइले विर्सिसक्नु भएछ ! दाइलाई हामीले कहिल्यै बिर्सिदैनौं नि !' ऊ भन्दै थिई । म भने अक्कमक्क परेर उसको कुरा एकोहोरो सुन्दै थिएँ ।
'खुसी लाग्यो । तर परिचय दिनुस् न !' म उसलाई चिन्न चाहन्थेँ ।
'आफ्नै दाजुलाई के परिचय दिनु ! विरानो मान्छेलाई पो परिचय दिनु ! म त दिन्न । तपाईंले एकछिन पछि चिनिहाल्नु हुन्छ नि !'
धर्मसंकटमा परेँ म । र मन नलागी नलागी फेरि भनेँ ।
' अहँ चिनिन ।'
ऊ मसँग मजाक जस्तै गरेर बोलिरहेकी थिइ ।
'तर जे भए पनि पार्टी र तपाईंको उन्नति र प्रगतिमा खुसी हुने मान्छे हुँ ।'
उनले म सँग भेट्न खोजिन् ।
मैले हुन्छ भनेँ उनी बसेको ठाउँको ठेगाना मागें ।
एकदिन फोनको आवाजबाट परिचय पाउन नसकेको उनीसँग भेट्न म कोटेश्वर पुगें ।
एउटा निर्माण हुँदै गरेको अधूरो घरको छतबाट उनले मलाई देखिछन् र बोलाइन् ।
'वसन्त दाइ!' उनको अनुहार उज्यालो भयो।
म भने उनको अवस्था देखेर तिल्मिलाएँ ।
'तपाईं यहाँ…?' म छक्क पर्दै सोधेँ ।
'जीवन त चलाउनै पर्छ नि दाइ ।' उनले काँधमा बोकेको बालुवा गिट्टीको बोरा ओराल्दै भनिन् ।
मैले अलिकति विषय बदलें।
'बाबु ठुलो भइसक्यो होला नि? अहिले कहाँ पढ्छ ?'
पहिले हँसिलो देखिएको उनको अनुहार एक्कासी अँध्यारो भयो । उनको स्वर पनि फरक भयो ।
'म होलटाइमर भएर हिँडेपछि उसले पढ्न पाएन दाइ ! जागिर छाडेपछि आर्थिक अवस्था पुरै बिग्रियो । एकप्रकारले पारिवारिक अवस्था क्षतविक्षत भयो ।'
'पार्टीसँग त सम्पर्कमैं हुनुहुन्छ होला नि !' उनीसँग विदा हुने बेलामा मैले सोधें ।
'कहाँ सम्पर्कमा हुनु दाइ ? कसैसँग पनि छैन । पुराना साथीहरू भेट हुँदा पनि अचेल नदेखेझैं गर्नुहुन्छ ।' उपमाले अँध्यारो अनुहार लगाउँदै भनिन् ।
'दाइ ! यति ठुलो परिवर्तन गर्ने आन्दोलनमा सहभागी हुन पाइयो भनेर पूर्णत सन्तुष्ट छु ।' कुराकानीमा उनले आफूले भोगेका दुख र अभावलाई लुकाउने कोसिस गरिरहेकी थिइन् ।
'ज्वाला कमरेडको घर त्यही हो । उहाँसँग भेट भइरहन्छ । तर किन हो, त्यतिका कठिन समयमा सँगै काम गरेको कमरेड अचेल मसँग बोल्न पनि हिच्किचाउनु हुन्छ ।' उपमाले पूर्वतिरको विशाल कम्पाउण्ड भएको घरतिर औंलाले देखाउँदै भनिन् ।
'कमरेड ज्वाला अर्थात् उपमालाई स्थायी सरकारी जागिर छुटाएर राजनीतिमा होलटाइमर बनाउन प्रस्ताव गर्ने कमरेडको घर यही हो ?' म भित्र प्रश्नैप्रश्नको हुण्डरी चल्यो ।
'म जस्तो आर्थिक अवस्था अत्यन्तै कमजोर भएको र झन् बढी पारिवारिक दायित्वबाट गुज्रिएको मानिस चाहिँ होलटाइमर हुने तर मेरो भन्दा धेरै राम्रो आर्थिक अवस्था हुने मानिसलाई चाहिँ आर्थिक सुरक्षा चाहिने' कमरेड ज्वालाले त्यसबेला गरेको तर्क यतिबेला पनि मेरो कानमा गुञ्जिरहेको थियो ।
'यही हो कमरेड ज्वालाको घर ! विशाल घर रहेछ ।' अनायास म अचम्मित हुन पुगेँ ।
एकातर्फ कमरेड उपमासँग कुरा गर्दै थिएँ, अर्कोतर्फ सोच्दै थिएँ - ' उपमाजस्ता कतिजना कार्यकर्ताहरू होलान् जसले पार्टीको लागि जीवनका सुख, सुविधा र भविष्यका सम्पूर्ण सपनाहरू सबै त्यागे तर अहिले उनीहरू पूर्णत: बिर्सिएका छन् ।'
म उपमासँग फेरि भेट्ने वाचा गर्दै फर्किएँ, तर मेरो मन उनले काँधमा बोकेको गिट्टी र बालुवाको बोराभन्दा धेरैधेरै भारी थियो ।
🌑

No comments:

Post a Comment