Monday, March 25, 2013

अनुहारहरू बारे


=======================================================

कवि मातृका पोखरेलका काव्यप्रवृत्तिहरू: ‘अनुहारहरू’को सेरोफेरोमा

- पुण्य खरेल
समकालीन प्रगतिशील साहित्यिक फाँटका एक सशक्त क्रियाशील सदस्य हुन् – मातृका पोखरेल । उनको सृजनाको मुख्य क्षेत्र कविता विधा देखिन्छ । सेतो दरबारको छेउबाट र यात्राको एउटा दृश्य गरी दुई वटा कविता सङ्ग्रह सार्वजनिक गरिसकेका पोखरेलको तेस्रो कृति पनि कविता सङ्ग्रहकै रूपमा प्रकाशित हुनुले उनलाई कवि व्यक्तित्वका रूपमा नै प्रथमतः चिनारी गरेको पाइन्छ । काजी रोशन साहित्य पुरस्कार प्राप्त कवि पोखरेलको यो तेस्रो कविता सङ्ग्रह अनुहारहरू (२०६४) अघिल्ला प्रकाशित दुइ कविता सङ्ग्रहका तुलनामा अझ बढी सुन्दर र सशक्त देखिनुले पनि कवि पोखरेलको सृजनाको मूल मौलो काव्य नै रहेको ठम्याइ हुन्छ ।
स्रष्टा आफू बाँचेको समाज र भोगेको जीवनप्रति न निरपेक्ष बस्न सक्छ न त उदासिन नै रहन सक्छ । आफ्ना समाजजीवनका घात–प्रतिघात, चापप्रतिचाप, उतारचढाव, उथलपुथल जस्ता सामाजिक–राजनीतिक एवं संस्कृतिगत विगत र वर्तमानका घटनाक्रमहरूबाट ऊ कुनै न कुनै रूपमा प्रेरित प्रभावित बन्छ र स्वीकार्य–अस्वीकार्य जुनै हिसाबबाट पनि ती घटनाक्रमहरूसँग उसको कमवेसी संलग्नता, सहकार्य र सहभागिता रहन्छ भने त्यस उपर उसको क्रिया–प्रतिक्रियासमेत अभिव्यक्त भएको हुन्छ । त्यसमाथि पनि एउटा वर्गसचेत लेखकले त्यस्ता विषयवस्तु माथि अत्यन्त जिम्मेवारीपूर्ण धारणाहरू आफ्ना सृजनामार्फत प्रकट्याएको हुन्छ । यस मानेमा कवि पोखरेल पनि आफू बाँचेको पारिवेशप्रति पूर्ण सापेक्ष र सचेत छन् अनि त्यसभित्र घटित हरेक गतिविधिसँग सूक्ष्म रूपले परिचित छन् । यसै कारण कविले २०६१ देखि २०६३ को कालखण्डमा नेपाली समाजले भोगेको यथार्थलाई आफ्नो कविताको विषयवस्तु चयन गरेका छन् भने उक्त अवधिका सामाजिक, राजनीतिक, सांस्कृतिक आदि घटनाक्रमप्रति आफ्ना अनुभूति, विमति, प्रतिक्रिया, चाहना, प्रेम, घृणा आदिलाई कलात्मक रूपमा अभिव्यञ्जन गरेका छन् । अनुहारहरू यिनै विषयवस्तुको सफल प्रस्तुति हो ।
प्रस्तुत लेखमा कवि मातृका पोखरेलका काव्य प्रवृत्तिहरूलाई ठम्याउने जमर्को भएको छ र त्यसको आधार समेत कविको पछिल्लो कृति अनुहारहरूलाई मानिएको छ । अनुहारहरू भित्र प्रकटित कविको अनुहार नै यस लेखको शक्ति र सीमा दुबै बनेको छ । यसैकारण मातृका पोखरेलको लौकिक–सांसारिक अनुहार कस्तो छ, कुन रूपको छ– प्रस्तुत लेखको चासो होइन, उनका पूर्व प्रकाशित दुई कविता सङ्ग्रहभित्रका कवि मातृका पोखरेल पनि यस लेखभित्र अटाएका छैनन् मात्र अनुहारहरूले कवि पोखरेललाई कसरी चिनाउन सकेको छ, त्यसकै र त्यति मात्रकै खोजी र प्रस्तुतिभित्र प्रस्तुत लेख सिमितिएको छ जसलाई बुँदागत रूपमा संक्षेपमा चर्चा गरिन्छ ः
१. नित्य नवीन एवं अग्रगामी चिन्तन ः
कवि पोखरेल अग्रगामी चेतनाका कवि हुन् । समाजजीवनलाई यथास्थितिबाट मुक्त गर्न नयाँ सोच र दरिलो आँट चाहिन्छ । भरपर्दो विश्वास र अटल आस्था चाहिन्छ अनि प्रतिबद्ध मनहरू चाहिन्छ । यस्ता सोच, आँट, विश्वास, आस्था र मनहरूसँग कवि निशर्त हातेमालो गर्न चाहन्छन्, काँधमा काँध मिलाएर हिँड्न चाहन्छन् र नयाँ चेतनाले समाजलाई व्यूँताउन चाहन्छन् । तलको कविताङ्श हेरौं–
म तयार छु
उनीहरूको पछि लाग्न
तर उनीहरूसँग आँखा हुनुपर्छ
म साँच्चै तयार छु
उनीहिरूको पछि लाग्न
तर उनीहरूसँग
शिखर चढ्न तयार
सबल खुट्टा हुनुपर्छ
म वर्षौंदेखि खोजिरहेछु
अघि हिंड्ने मानिसहरूका
झर्झराउँदा आँखाहरू
र सबल खुट्टाहरू
(शर्त ः पृष्ठ–१)
कविले त्यस्तो नेतृत्वको खोजी गरिरहेका छन् जससँग झर्झराउँदा आँखाहरू र सबल खुट्टाहरू हुनुपर्छ । झर्झराउँदा आँखा अर्थात् नवीन दृष्टिकोण, जस्तोसुकै अन्धकारमा परिस्थितिमा पनि स्पष्ट देख्न सक्ने, पटक्कै बाटो नबिराउने र गन्तव्यसम्म दिशानिर्देश गरिरहन सक्ने अनि सबल खुट्टाहरू जसले शिखर कहालीलाग्दा असहजता र विषम परिस्थिति पार गर्न, चढ्न सक्षम बनोस्, बीचमै खुट्टा नकमाओस्, पलायन नहोस्, हार स्वीकार नगरोस् । अर्थात् समाजको आमूल रूपान्तरणको महाअभियानमा स्पष्ट दृष्टिकोण र साहसका साथ अघि बढ्ने सबैसँग कविको सहकार्य संभव छ, निशर्त कवि उनीहरूको साथ लाग्न चाहन्छन् । यो नै कविभित्रको नित्य नवीन एवं अग्रगामी चेतना हो । अर्को पङ्ति हेरौं –
हो मैले नमानेकै हो
अन्धाहरूको पछि लाग्न
र मैले नमानेकै हो
लङ्गडाहरूलाई दौडमा छनोट गर्न
धेरै पटक जनाएको छु असहमति
र फेरि लेखेको छु यो कविता ।
(ऐ ः पृष्ठ–१)
र फेरि लेखेको छु यो कविताको तात्पर्य आफूले पटकपटक अन्धा, दृष्टिकोण नभएका, नयाँ चेतना र सोच नभएका र लङ्गडा, साहस, हिम्मत, दृढता नभएका ढुल्मुले चरित्र, सैद्धान्तिक विचलन भएकाहरूसँग कुनै हालतमा सम्झौता–सहकार्य र सहया त्री बन्न नमानेको–नचाहेको भाव व्यक्त गरेका छन् र तिनसँग आफ्नो सदैव असहमति र विरोध नै रहने जनाएका छन् । यसको अर्थ स्पष्ट छ– कवि नवीन सोच, चिन्तन र प्रक्रियामा विश्वास गर्छन् र नयाँ समाजको निर्माणमा स्पष्ट दृष्टिकोण बोकेर अघि बढ्न चाहन्छन् ।
२. वर्गीय समाजको कलात्मक प्रस्तुति ः
समाजको वर्गीय स्वरूपप्रति कवि सचेत छन् र वर्गीय हित स्वार्थ–रक्षार्थ हुने अनेकौं षडयन्त्र, छलछाम, मिलेमतोसँग पनि कवि परिचित छन् । सम्पन्न र विपन्न शासक र शासित, श्रमजीवी र पूँजीपति आदि वर्गीय समाजकै उपज हुन् । जतिसुकै समानताको प्रजातन्त्रको नारा घन्काए पनि वर्ग रहेसम्म शोषणका नयाँ नयाँ रूपहरू जन्मिरहने छन् र शोषित–पीडित जनताको जीवनस्तरमा त्यसले कुनै प्रभाव पार्न सक्तैन । तलको कविताङ्श हेरौं –
पोहोर
हिल्याउँदै गरेको खेतमा
भगुवा थारुले सुन्यो गणतन्त्र
र अचम्म मानेर गम्छाले पुस्यो पसिना
पोहोर
जङ्गलमै घाँस दाउरा जाँदा
चिम्से खत्रीले सुन्यो लोकतन्त्र
र मनमनै पाल्यो नयाँ चाहना ।
(नयाँ वर्ष – २०६१, पृ–२)
भगुवा थारु र चिम्से खत्रीहरू हाम्रो समाजमा जहींतहीं छन् । उनीहरू वास्तवमै लोकतन्त्र वा गणतन्त्रलाई अचम्म मानेर सुन्छन् र गम्छाले पसिना पुस्छन् । तर आफ्ना जीवनमा त्यसले ल्याएको परिवर्तनको अनुभूति गर्न पाउँदैनन् किनभने ती थारु र खत्रीहरूको वर्गलाई न गणतन्त्र न लोकतन्त्र केही पनि आएकै छैन । अर्को कविताङ्श हेरौं –
मेरो अघिल्तिर
एउटा अनुहार छ
त्यो अनुहार
निधारभरि चन्दन लेपेर
मानव वधशालातिर
हतियार बोकेर कुदिरहन्छ
त्यो अनुहार
संविधानमा सजिलै पोत्न सक्छ
कालो रङ्ग
र आरोहण गर्ने योजना कोर्न सक्छ
लासहरूको पर्वत ।
(अनुहारहरू ः पृ–८)
हाम्रो समाजको एउटा यस्तो वर्गको प्रतिनिधि चरित्रको यहाँ चित्रण छ जसले चाहेमा जेसुकै र जस्तो प्रकृतिबाट पनि आफूलाई प्रस्तुत गर्न सक्छ, त्यो वर्ग जति शक्तिसम्पन्न छ त्यतिकै छद्मभेषी र छलकारी पनि छ । त्यो नै आम जनताको मुक्ति, न्याय र स्वतन्त्रताको जन्मवैरी बनेको छ । अर्को कविताङ्श हेरौं–
तर म
संसारका अनुहारहरूमध्ये
सबैभन्दा बढी उसैलाई घृणा गर्छु ।
(ऐ ः पृ–९)
कविले जसरी यस वर्गलाई सबैभन्दा बढी घृणा गर्छन् त्यसरी नै सबैभन्दा माया गर्ने अर्को अनुहार पनि छ हाम्रो समाजमा, तल हेरौं –
म नजिकै छ
अर्को अनुहार
यतिबेला
रिठ्ठे घर्तीले बोकेको देखेको छु
त्यो अनुहार
भारि बोकेर
साहूकी छोरी पुर्याउन गएको मधेस
थकाइ मार्न सकेको एक क्षण
दलनाको छेवैमा
दुर्गन्धित छ जुठेल्नो
भरखर कामबाट फर्केको
गनाइरहेको छ शरीर ।
(ऐ ः पृ–९)
रिठ्ठे घर्ती अर्थात् आम गरिब श्रमजीवी जनताहरूको प्रतिनिधि चरित्र, कठोर भन्दा कठोर श्रम गर्नु, अपहेलित र तिरस्कृत जीवन बाँच्नु यस वर्गको परिचय ।
तर म
संसारका अनुहारहरूमध्ये
सबैभन्दा बढी उसैलाई माया गर्छु ।
(ऐ ः पृ–९)
यसरी कविले अत्यन्तै सुन्दर ढङ्गले हाम्रो समाजको वर्गीय संरचनालाई छर्लङ्ग्याएका छन् भने शोषक–शासक वर्गप्रति चरम घृणा र शोषित–शासित आमजनताप्रति अपार माया र श्रद्धासमेत दर्शाएका छन् ।
३. प्रवल आसावादी स्वर ः
कवि पोखरेल आफ्ना कविताहरूमा प्रवल आशावादी स्वरहरू लिएर प्रस्तुत भएका छन् । जस्तोसुकै विषम परिस्थितिमा पनि कविमा नैराश्य जन्मिएको अनुभूति कविले गरेका छैनन् । मुक्ति युद्धलाई कविले नजिकबाट बुझेका छन् र यो सहज प्राप्य वा विजय पाइने लडाइँ नभएर युगौंसम्म निरन्तर बलिदान दिँदै जित्न सकिने युद्ध भएकाले कवि प्रारम्भबाटै यसप्रति प्रष्ट छन् र आसावादी छन् । न्याय, समानता, स्वतन्त्रता, स्वाधीनता र मुक्ति संसारमा कहीं कतै पनि निरङ्कुश शासकहरूले दानमा सुम्पिएका छैनन् । ज्यादै ठुलठुला सङ्घर्ष, बलिदान र जनबलबाट जबरजस्त प्राप्त भएका छन् । त्यसैले पनि कवि थोरै क्षति हुँदैमा वा प्राप्ति हुँदैमा खुसी हुनुपर्ने वा निरास बनिनु पर्ने ठान्दैनन् र प्रवल आसावादी बनेर लडिरहँदा लागिरहँदा निश्चित एक दिन नयाँ समाज र जीवनको प्राप्ति हुन्छ भन्ने कविको निष्कर्ष छ आफ्ना कवितामार्फत् । तलको कविताङ्श हेरौं –
धेरैधेरै वर्ष भयो सोचेको
नयाँ वर्ष नयाँ भएर आए हुन्थ्यो
हामीले धेरै उठाइसक्यौं
आस्थाका सगरमाथाहरू
नयाँ वर्ष
विश्वास भएर आए हुन्थ्यो ।
(नयाँ वर्ष–२०६१ ः पृ–३)
धेरैधेरै वर्ष भयो कविले नयाँ वर्षलाई नयाँ भएर आइदिने कल्पना गरेको, तर कविमा यो आसावादीता मरेको छैन । उनले आस्थाका सगरमाथा उठाउँदै नयाँ वर्ष एउटा नवीन विश्वास बोकेर आउने सपना साँचेका छन् । कवि निरास छैनन् –
हामी यतिबेला कोरिरहेछौं सडकमा
यो क्रूर इतिहासको अन्त्य
हामी बेगवान आधीझैं खोजिरहेछौं
उसको शवयात्राका मलामीहरू
(नयाँ शताब्दीको थोत्रो मान्छे ः पृ–६)
कवि क्रुर इतिहास र त्यसको संरक्षक निरङ्कुश शासक दुबैको अन्त्य र अन्त्येष्टिका लागि सहकर्मीहरू खोजिरहेछन् ।
अचेलभरि
फुट्नै लागेका चेतनाका बाँधहरू बोकेर
दौडिरहेछन्
बग्रेल्ती अनुहारहरू सडकमा
यतिबेला
केही अनुहारहरूका विरुद्ध
थुप्रै अनुहारहरू कसिरहेछन् मोर्चा
नयाँ भोलिको खोजीमा ।
(अनुहारहरू ः पृ–१०)
नयाँ भोलि कविको नवीन समाज निर्माण तर्फको आसावादिता हो ।
जबसम्म बग्ने छ
हाम्रो रगतमा पहेंलो रङ्ग
सबै कुरा सामान्य हुनेछ त्यसबेला
(सबै कुरा साँचो हुनेछ ः पृ–२०)
चेतना नआएसम्म जनतालाई ढाँट्न, छल्न सकिन्छ, तर जब सत्यतथ्यको वोध हुन्छ र जनता ब्यूँझन्छन् तब जनताले आफूमाथि भएका यावत् दलनपीडनको सावाँव्याज असुल्ने छन् भन्ने आसय छ कविको–
भोलि विहानको मिर्मिरे उज्यालोमा
हामी देख्न चाहन्छौं
हाम्रो यो जीर्ण गोठघरको
घमाइलो आँगनमा
फेरि आउनेछन् नयाँनयाँ हलीहरू
हामी स्वागत गर्नेछौं
र फेरि सँगै जोत्नेछौं
विष मात्र फल्ने
युगौंदेखिको उही चर्चित बाँझो जमिन ।
(बाँझो जमिन र हलीहरू ः पृ–२८)
पुराना हलीहरू अर्थात् नयाँ समाज निर्माणका कथित् अभियन्ताहरूमा विचलन आए पनि क्रान्ति रोकिँदैन, नयाँ शिराबाट फेरि यसको थालनी हुने नै छ भन्ने आसा कविमा छ –
नयाँ आवाजहरू लिएर
आज नयाँ योजना बनाउने
हामी भोलि नयाँ दिन बनाउने

हामी भोलि नयाँ नेपाल जन्माउने ।
(भोलि ः पृ–३६)
भाले बास्नु भन्दा अगाडि
म भोलि विहानै
नयाँ समयको स्वागतमा
गाउँ जाँदैछु ।
(समय ः पृ–४२)
उपर्युक्त दुबै कविताङ्शमा कविको भोलिप्रति चरम आसावादिता प्रकटिएको छ । भोलि निश्चयनै नयाँ समय आउने छ, नयाँ नेपाल जन्मिनेछ र वर्तमानमा मौलाएका ज्यानमारा–जनतामारा विषवृक्षहरूको समूल अन्त्य भई जीवन बाँच्न प्रेरित गर्ने लहलह लालुपाते, सुनगाभा र गुराँसहरू फुल्नेछन्, यो कविको भविष्यप्रतिको प्रवल आसावादिता हो ।
४. कलात्मक व्यङ्ग्य चेतना ः
कवि पोखरेलको व्यङ्ग्य चेतना अत्यन्त कलात्मक रूपमा प्रकटिएको देखिन्छ सङ्ग्रहभित्रका कविताहरूमा । समाजजीवनमा टाँस्सिरहेका प्रतिगमनकारी, यथास्थितिवादी चिन्तन, विकृति विसङ्गति, वेथिति, राजनीतिक वेइमानी, वैचारिक पलायनता र गद्दारी, निरङ्कुशता, पराधीनता, अन्याय–अत्याचार दलनपीडन उत्पीडन, होचीअर्घेली, सांस्कृतिक विचलन र मूल्यह्रासता, दासत्व, युद्धप्रिय मानसिकता, वर्गीय विषमता जस्ता समाजजीवन विरोधी अग्रगामी चेतनाका वाधक र नयाँ समाज र संस्कृति निर्माणका तगाराहरूप्रति कविको भयानक आक्रोस र विद्रोह छ, विमति छ तर ती उपर कविले प्रहार गरेको जुन व्यङ्ग्य छ त्यो प्रखर मात्र नभएर अत्यन्त कलात्मक रूपमा समेत प्रकट भएको छ । तलको कविताङ्श हेरौं–
आर्यघाटको छेउमा उभिएर
लासहरूको आगो ताप्तै
जाडो मारिरहेछन् शासकहरू

आज मात्रै टेलिविजनको पर्दामा
श्रममन्त्रीको अनुहार
हाँसिरहेको थियो ।
(फरकफरक मुर्दाघाटहरू ः पृ–१५,१६)
इराकमा हत्या गरिएका बाह्र जना नेपालीको सम्झना–सन्दर्भमा प्रस्तुत यी कविताङ्शमा आफ्ना नागरिकप्रति गैरजिम्मेवार र संवेदनाहीन निर्लज्ज कुरूप शासकको अनुहार प्रति तीब्र घृणा र व्यङ्ग्य गरिएको छ । अर्को कविताङ्श हेरौं
खुनी पञ्जा उठाएर
उसले जति नै विद्रोह गरोस्
अब हामी
वर्षै भरि कुकुरतिहार मनाउन सक्तैनौं ।
(उनीहरूले सोचेका भए ः पृ–२१)
जनताका आस्था–विश्वासका मठहरूमाथि खुलेआम पिसाव गर्दै हिड्ने निरङ्कुश शासक र उसको विधि संयन्त्रलाई कुकुर र कुकुरतिहारका रूपमा प्रस्तुत गदै तिनप्रति कविको विमति समेत यहाँ प्रकटित छ ।
भोलि के होला ?
हिजो मान्छेलाई
प्रेम गर्थे मान्छेहरू
अहिले सहरमा
तस्वीरलाई प्रेम गर्छन् मान्छेहरू ।
(भोलिको तस्वीर ः पृ–३४)
शहरी–नागर सभ्यताले मान्छेभित्र संवेदना, श्रद्धा, प्रेम, मानवता, कर्तव्य सबैसबै निलिसकेर केवल कृत्रिम जीवनमा रूपान्तरण गरिसकेको र गरिछाड्ने यथार्थलाई प्रस्तुत गर्दै अब सहरियाहरू मान्छेलाई नभएर उसको तस्वीरलाई प्रेम गर्ने सन्दर्भबाट व्यङ्ग्य गरिएको छ उपर्युक्त कविताङ्शमा ।
हिजो खोजिएको अमलेखगञ्ज
स्वतन्त्रताका लागि
अशक्त मनहरूको थियो
अहिले मैले खोज्दै गरेको अमलेखगञ्ज
दास बन्न आसक्त मनहरूका लागि हो ।
(म खोज्दैछु अर्को अमलेखगञ्ज ः पृ–३७,३८)
प्रस्तुत कविताङ्शमा कविले अर्को अमलेखगञ्जको आवश्यकता वोध गरेका छन् तर त्यो अमलेखगञ्ज स्वतन्त्रताका लागि आसक्त मनहरूका लागि होइन । त्यो त त्यस्ता दास बन्न आसक्त मनहरूका लागि हो जसलाई जतिसक्तो चाँडो समाजबाट डाँडो कटाउनुपर्छ । अग्रगामी चेतनाका वाधक, प्रतिगमनकारी, यथास्थितिवादी आदि सबैलाई कविले दासहरूका बिम्बमा व्यङ्ग्य गरेका छन् ।
कवि सिङ्गो राष्ट्रको शासन–प्रशासन, विधि–नियम, संचालन गर्ने सिंहदरवारलाई जादुघरका रूपमा चित्रित गर्छन्, हेरौं –
मलाई
सिंहदरवार र जादुघर
उस्तै उस्तै लाग्छन् ।
(सिंहदरवार ः पृ–३९)
जादुघरबाट जादुवालाले प्रस्तुत गरेका अनेक रोमाञ्चक तिलस्मी, अद्भूत र अतिरञ्जनात्मक खेलहरू, चटकहरूसँग सिंहदरवारका नेता, कर्मचारी, मन्त्रीगण आदिका कार्यसँग सामिप्य देखाउँदै जादुवालले दर्शकको चेतनालाई लुप्त पारेझैं जनताका दैलाबाट सहिदका नाममा सपथ खाएर जनताको हितरक्षार्थ लागि पर्ने प्रतिवद्धता बोकेर सिंहदरवार छिरेका नेताहरूले पनि ठीक जादुवालाले झैं जनतालाई बुझिनसक्नु रहस्यका छलकारी आश्वासन दिँदै चित्रविचित्रका गतिविधिहरू गरेर जनताको चेतनालाई लुप्त पार्ने प्रयास गरे । छेपाराले रङ फेरे झैं उनीहरू फेरिए । आफूले टेकेको माटो र गरेको प्रतिवद्धता बिर्सिए र जनताका नजरमा उनीहरू पनि एउटा रहस्यमयी जादुवाल बन्न पुगे । कविले यसै मर्मलाई साह्रै भित्री तवरमा व्यङ्ग्य गरेका छन्, जादुघर र सिंहदरवारको सामिप्य देखाएर ।
सारमा भन्दा कविको व्यङ्ग्य चेतना कलाका आवरणमा प्रकटिएको छ । कहीं कतै पनि कोही र केहीप्रति ठाडो आक्षेप र विरोध पाइँदैन । बिम्ब र प्रतीकमा प्रकटिने कविको व्यङ्ग्यचेतना प्रखर, नवीन र कलात्मक छ ।
५. प्रतीकात्मकता ः
कवि पोखरेल आफ्ना कविताहरूमा प्रतीक प्रयोगका दृष्टिले पनि पूर्ण सफल छन् । कथ्यलाई बिम्बमा–प्रतीकमय बनाएर प्रस्तुत उनका कविताहरूले अर्थ गाम्भीर्यमा बिन्दुमा सिन्धु अटाएका छन् । अर्थात् देख्ता सरल लाग्ने तर विशद्–वृहत् भावलाई समेट्न सक्षम छन्, उनका कविताहरू । कविभित्रका आक्रोश, विद्रोह, नैराश्य, हर्ष, विषाद्, असहमति, असन्तुष्टि, डाह, छटपटी, परिवर्तन आदि भावहरूलाई प्रतीकीकरण बिम्बीकरण गरी प्रस्तुत गर्छन् उनी । यस्तो प्रयोगबाट एकातिर गहन भाव संप्रेषण गर्न उनी सफल भएका छन् भने अर्कातिर रूपपक्ष पनि उत्तिकै सशक्त र सुन्दर बनेको पाइन्छ अनि कथ्य झन् उज्यालिएर प्रकटिएको देखिन्छ, तल हेरौं –
लेख्न मन थियो
उज्यालोको कविता ...
अँध्यारोको महान्वाणी लेख्न
कलमलाई आदेश भएको बेला
अँध्यारोको बिरुद्धमा लेख्ने कुरै भएन,
(कविताको विषय ः पृ–१३)
उज्यालोको कविता, अँध्यारोको महान्वाणी, कलमलाई आदेश यी तीन वटै पदावली सामान्य हिसाबले जति सरल बुझिन्छन् अर्थ गाम्भीर्यका रूपमा त्यति नै फराकिला लाग्छन् । उज्यालोको कविता नवीन चेतनाको द्योतक हो । अँध्यारोको महान्वाणी, प्रतिगमनकारी चिन्तन र कलमलाई आदेश, लेखकहरूलाई बाध्य बनाइएको स्थितिका रूपमा अर्थ संप्रेषण गरिहेको देखिन्छ । अर्को कविताङ्श –
मेरो चेतनाको बारीमा
ऊ वनमारा रोप्छ ।
(कसो जमिन ? ः पृ–१७)
यहाँ कविले मेरो चेतनाको बारीलाई नयाँ समतामूलक समाजजीवन निर्माण गर्ने दृष्टिकोणका रूपमा, ‘ऊ’लाई निरङ्कुश एवं प्रतिगामी चिन्तनयुक्त शासक–व्यक्ति विशेष वा समूह विशेषलाई र वनमारा रोप्छ लाई संहारक वा विनाशक तत्व संयन्त्र, विधि वा सोचका रूपमा अभिव्यक्त गरेका छन् ।
कवि नयाँ जीवनका चाहना र प्राप्तिलाई सुन्नै नचाहने यथास्थितिवादी शासकको चरित्रलाई यसरी प्रस्तुत गर्छन् तलको कविताङ्शमा–
ऊ बगर
नयाँ जीवको सहनाई
उसलाई अप्रिय लाग्छ
जब कतैबाट आउँछ चिसो बतास
ऊ चिन्तामग्न हुन्छ ।
(ऊ बगर खडेरी पर्खन्छ ः पृ–२२)
अवसरवादी नेतृत्वको पलायनतालाई कविले प्रस्तुत गरेको बिम्ब हेरौं –
हाम्रो बाँझो बारीमा
लोकतन्त्रको खेत जोत्ने
एक हुल हलीहरू
हाम्रो बस्तीबाट आज राती सुटुक्क भागे
(बाँझो जमिन र हलीहरू ः पृ–२७)
उपर्युल्लिखित कविताङ्शहरू कविले प्रयोग गरेका बिम्ब र प्रतीकका नगन्य नमुनाहरू मात्र हुन् । सिङ्गो सङ्ग्रह नै यस दृष्टिले उल्लेख्य छ । यी बिम्बप्रतीकहरू कतै प्रकृति, इतिहास र पुराणबाट कतै लोकजीवनबाट, कतै समकालीन समाजजीवनबाट र कतैचाहिं कवि स्वयम्को कल्पनाबाट (वैयक्तिक) टिपिएर प्रस्तुत गरिएका छन् । वैयक्तिक प्रतीक प्रयोगका कतिपय स्थानमा भने कविको भाव सम्प्रेषण खज्मजिएको पनि पाइन्छ, यो चाहिं कविको सीमा हो । अन्यथा शीर्षकदेखि कथ्यसम्मै कविले बिम्बप्रतीकको निर्वाह सफलता पूर्वक गरेका छन् ।
६. रोचक प्रस्तुति–अमूर्त भाव ः
कहिलेकाहीं लेखककविहरू यथार्थविरत काल्पनिकतामा विचरण गर्न पुग्दछन् । यसो हुनका अनेक कारणहरू हुन्छन् । कारण जे भए तापनि अतिकल्पनाले अमूर्ततालाई साथ लिइदिन्छ, विशेष कविता विधामा । किन भने कविताविधा स्वयम्मा थोरैमा धेरै अभिव्यक्त गरिने रचना विशेष हो । अमूर्तताले बहुअर्थीभाव अभिव्यञ्जनामा सहयोग पुर्याउँछ जसले लेखकसँग सम्प्रेषणीय सङ्कट उत्पन्न गराउँछ पाठकको । परिणामत ऊ आफ्ना खुसीले अर्थ उत्पादन गर्न पुग्छ यसले कवि र पाठकबीच ऐक्यभाव उत्पन्न गराउन सक्तैन । अझ सामान्य चेतनास्तरको पाठकका लागि यस्ता रचनाहरू दुरुह साबित हुन्छन् । एउटा वर्गसचेत लेखकले यस्ता कुरा विचार पुर्याउनु पर्ने हुन्छ । जहासम्म कवि पोखरेलको कुरा छ, उनका सङ्ग्रहका न्यून कविताका ज्यादै कम कविताङ्शहरूमा यस्तो प्रवृत्ति परिलक्षित भएको छ । परस्पर सम्बन्धविच्छेद भएझैं लाग्ने पङ्क्तिहरू पूर्वापर सम्बन्ध टुटी व्यष्टिमा नै वा समष्टि भावमा अर्थ वोध गर्नुपर्ने र अर्थतारतम्यताप्रति नै पुनर्विचार गरिनु पर्ने अवस्था देखिन्छ । केही कविताङ्शहरू हेरौं –
ऊ बगर,
इतिहासको आदिम कथादेखि
खडेरीको यात्रा
सबैभन्दा पहिले
उसैका छातीबाट वस्तीतिर बुर्कुसी मार्छ
उसको यात्रामा बादल टेकिएकै छैन
उसको विश्वासमा शिखर कुल्चिएकै छैन
ऊ बगर
बादलिएको आकास फटाउन
सबै हुट्टिट्याउँहरूसँग
एक पर्म सहयोग माग्छ ।
(ऊ बगर, खडेरी पर्खन्छ ः पृ–२१)
सबै कुरा साँचो हुनेछ त्यसबेला
बगरमा पल्टिएका
काला ढुङ्गाहरू बोकेर
घोडाहरू शिखर चढ्न खोज्नेछन्
र भ्यागुत्ताहरू चराको प्वाँख टाँसेर
सिंहदरबारभित्र पस्नेछन्
आजका मितिको
टुकुचाको पानी अँजुलीमा उघाएर
शुद्धजलको बहस छेड्नेछन् पण्डितहरू
बाघमाथि चढेर मृग
आफ्नो लक्ष्यको
सुदूर यात्रा तय गर्नेछ
लाटकोसेराहरू
घामको सुन्दरताको बखान गर्न
व्यासासनमा बस्नेछन्
र इतिहासको क्रूर नियति बोकेर
बर्तमान बगिरहने छ
अनाथ रगतको बागमती
(सबैकुरा साँचो हुनेछ ः पृ–१९)
माथिका दुबै कविताङ्श सरल–सहज भाववोधका दृष्टिले टाढा रही सामान्य पाठकको पहुँचभन्दा बाहिर भएको प्रतीतिन्छन् । र व्यष्टि–व्यष्टिभित्र बुझिनु–अर्थिनु पर्ने अथवा समग्र कविताको भावलाई आधार बनाएर अर्थ खोजिनु पर्ने स्थिति सिर्जना भएको देखिंदा सिङ्गो संरचनालाई न्यूनाधिक क्षति पनि गरेको देखिन्छ । तर श्रुतिमधुरता र प्रस्तुतिगत–शब्द संयोजनआदि) हिसाबले चाहिं रोचक र सुन्दर देखिन्छन् ।
कफ्र्यू नलागेको दिनसँग पनि
डर छ उसलाई
त्यतिकै डर छ
जून लागेको रातसँग
असाध्यै डराउँछ
स्वतन्त्रताका आँखाहरूसँग
ऊ अर्थात्
नयाँ शताब्दीको थोत्रो मान्छे
गरिब देशको धनी मान्छे ।
(नयाँ शताब्दीको थोत्रो मान्छे ः पृ–६)
प्रस्तुत कविताङ्श प्रतीकात्मक भएर पनि अवोधगम्य छैन, सहज–सरल उति नदेखिए पनि जटिल र असम्प्रेषणीय पनि छैन, अर्थात् बुझ्न सकिन्छ लेखकको भावना । अब यसपछिको अर्को अनुच्छेद हेरौं –
उसले बारम्बार देखिरहेको छ
एउटा कुकुर
आधा चपाइसकेको संविधान
मुखमा झुन्ड्याएर
ऊ सधैं हिंडने बाटोमा डुलिरहेको छ
उसको कुनै अङ्गमा छुँदैन
यो घटना
(ऐ ः पृ–६)
यहाँ उसले बारम्बार देखिरहेको र ऊ सधैं हिड्ने बाटोमा डुलिरहेको एउटा कुकुर छ जसको मुखमा आधा चपाइसकिएको संविधान झुन्डेको छ । स्पष्ट छ संविधान चपाउने व्यक्ति उही हो तर आधा चपाइएको संविधान मुखमा झुन्ड्याएर उसकै बाटामा डुलिरहने त्यो कुकुरचाहिं कसको बिम्बमा आएको छ त ? जनताको बिम्बमा कुकुर आएको हो भने शब्द प्रयोग उचित भयो र ? अनि उसको दृष्टिबिन्दुबाट जनतालाई कुकुरका रूपमा सङ्केत गर्न खोजिएको हो भने त्यो पनि अमूर्त र अस्पष्ट महसुस हुन्छ ।
समग्रमा भन्दा यस प्रवृत्तिका कविताङ्शहरू (माथि पनि भनियो) सङ्ग्रहभित्र थोरैछन् । यसको कारण बिम्बप्रतीकको प्रयोगवहुलता पनि हो, तर थोरैमा भावुकतावश भएको यथार्थविरतता र विचलन पनि हो । यस किसिमको प्रस्तुतिले ठुलै क्षति नगरोस् तर माथि पनि भनिएको छ – एउटा वर्गसचेत कविको लेखनीमा अन्ततः यसले नकारात्मकता नै सिर्जना गरिदिन्छन्, यो चाहिं पक्कै हो ।
७. भाव र कलाको सुन्दर संयोजन ः
सुन्दर विचारको प्रस्तुति सुन्दर कलामार्फत हुन सके त्यस्ता सिर्जनाले पूर्णता प्राप्त गर्दछन् र दीर्घकालीन प्रभाव छाड्दछन् । प्रगतिशील लेखनमा कलापक्षको उपेक्षा गरिन्छ भन्ने आक्षेप समेत छ । यस दृष्टिबाट हेर्दा एकाध कविताङ्शभित्रका अस्पष्टता, दुरुहता वा अमूर्त एवं विसृङ्खलित भाव पक्षलाई सामान्य एवं नगण्य मानिदिने हो भने कवि पोखरेल आफ्नो कविता सङ्ग्रह अनुहारहरू लाई भाव र कलाको उचित सन्तुलन एवं संयोजन भएको सुन्दर कृतिका रूपमा प्रस्तुत गर्न सक्षम र सफल देखिन्छन् । आफ्ना जीवनका जीवन्त अनुभूतिहरू, समाजसापेक्ष आर्जित सत्यहरू, आफ्ना भविष्यका सुन्दर भावनाहरू, चाहनाहरू, सहमति र विमतिहरूलाई निकै परिश्रमसाथ कलाका आवरणभित्र अभिव्यक्त गरेको देखिन्छ कविले । र तिनले समाजजीवनका यथार्थ र कविको धारणालाई एकातिर अभिव्यञ्जन गरेका छन् भने अर्कातर्फ कलागत मूल्यलाई समेत उचालेका छन् । यसलाई प्रकट्याउने सन्दर्भमा कविले प्रशस्त नवीनता र निजत्वसमेत प्रस्तुत गरेका छन् । केही दृष्टान्तस्वरूप कविताङ्श हेरौं –
देशको मानचित्र बोकेर
गाउँगाउँ घुमी हिंड्ने
हामीले सधैं देखिरहेको
हाम्रै चेतनाको बारीमा
घाम रोपेर हिंड्ने एउटा मान्छे
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्यो ।
(उसको मृत्युमा ः पृ–११)
अग्रगामी चेतना छर्दै गाउँवस्तीलाई ब्यूँझाउँदै हिंड्ने र तिनकै निमित्त बलिदान भएका तमाम मुक्तियोद्धाहरूलाई कविले अति सरल विशेषणबाट मूत्र्याएका छन् एउटा असल मान्छेका रूपमा । ठीक यसै तलको कविताङ्श हेरौं –
उसको मृत्युमा
शोकले निन्याउरा भए
झुप्राहरू
नियास्राले सुस्ताए
दलानहरू
अनुहारहरू फुङ्ग उडाएर
बेहोसझैं भए
गाउँका गोरेंटाहरू ।
(ऐ ः पृ–११)
उसको मृत्युमा महल शोकले निन्याउरो भएन, नियास्राले बरन्डाहरू सुस्ताएनन् र सहरका फराकिला चिल्ला सडक र राजमार्गहरू बेहोस् भएनन् किनभने त्यो असल मान्छे मात्र झुप्राहरू, दलानहरू र गाउँका गोरेंटाहरूको मुक्तिका लागि मरेको थियो । जति गम्भीर भाव छ त्यतिकै सरल बिम्बप्रतीक – कलापक्ष ।
त्यस असल मान्छेभित्र कति ठुलो वैचारिक आस्था, दृढता र प्रतिवद्धता रहेछ अनि मुक्तिप्रति अटल विश्वास रहेछ, तल हेरौं –
सहयात्रीहरूको एक हुल झैं
शिखर चढेको बेला तिर्खाएर
टुकुचाको नालीमा फाल नहालेको
चेतनाको माछापुच्छ«े
(ऐ ः पृ–११)
यसैको अर्को अनुच्छेद हेरौं –
सुनको थिएँ
माटोको मायामा जून फल्छ
विवेकको छातीमा घाम उदाउँछ
इतिहास लेख्न सकुन्जेल
जून मर्दैन
घाम मर्दैन
मैले सुनेकै थिएँ
माटोको माया गर्ने मान्छे
मृत्युपछि पनि वास आउँछ
घाम र जूनमा रूपान्तर भएर
(ऐ ः पृ–१२)
जनताको लागि मर्नेहरू जनताका मनमा सदा अमरता प्राप्त गर्दछन्, यही वाक्यलाई कविले लोभलाग्दो भाकामा व्यक्त गरेको छन् । र कविले एउटै शब्दमा सहिद नभनेर बढो कलात्मक तवरले एउटा असल मान्छे भन्ने पदावलीबाट सहिद शब्दको पर्याय दिएका छन्, सायद सहिद शब्दको अवमूल्यन प्रति कवि खिन्न छन् ।
भाव र कलाको अझ सुन्दर समन्वय देख्न पाइन्छ सहिद सन्दर्भबाट प्रकटित कविताहरू अचेल मान्छेहरू र वनफूल र सपनामा । प्रौढ कालिगढका पारखी हातहरूबाट कुँदिएका यी कविताहरू सिङ्गो सङ्ग्रहभित्रकै सर्वाधिक सशक्त र सुन्दर रचना प्रतीत हुन्छन् । तल कविताङ्श हेरौं –
गुराँस फूल
जब तिम्रो सपनालाई
सन्तानहरूले विपनामा छाम्छन्
तिमी त्यसबेला खुबै खुसी हुनू
हामीले नदेखे पनि
विजयोत्सव मनाउनू
तिमी त्यतिबेला
रातो माछापुच्छ«े भएर हाँस्नू
गुराँस फूल
तिम्रो वेगवान यात्रालाई
मेरो सलाम !
(अचेल मान्छेहरू ः पृ–२९,३०)
कविले सहिदप्रति श्रद्धाञ्जली स्वरूप व्यक्त गरेका यी कोमल भावहरू उतिकै कोमल सरल एवं सहज भाषाशैलीमार्फत् प्रकटिएका छन् । शब्दसज्जामा जुन सरलता देखिन्छ भाव गम्भीरतामा उतिकै व्यापकता परिलक्षित भएको छ । अर्को अंश हेरौं–
मिथक कथा जस्तै
बच्चाहरूले सुनाउँदै जानेछन्
यो कथा पछिसम्म
पुस्तापुस्ताको अन्तराल पछिसम्म
त्यसबेला पनि मान्छेहरू
साम्मीको मैदानमा
एउटा गुराँस हरायो भन्छन् ।
(ऐ ः पृ–३०)
सहिदहरू अनन्तकालसम्म जनमनमा बाँचिरहने सन्दर्भलाई कविले अत्यन्त सुन्दर ढङ्गमा प्रस्तुत गरेका छन् साथै उपर्युक्त दुबै कविताङ्शबाट आफ्नो भविष्यप्रतिको आशावादी विचारलाई पनि प्रकट गरेका छन् कविले ।
सहिद सेतु सुनारको स्मृतिमा संरचित वनफूल र सपना कविताको निम्न अंश हेरौं–
प्रिय आफन्तहरू
भोलिको समयलाई
बेलाबेला सम्झाइरहनू
मैले रोपेको विरुवामा
फेरि झुन्डिनु हुँदैन कालीपोकेहरू
मेरो यात्रामा
कसैले कुनै शोकगीत नगाउनू
मेरा साना सन्तानहरूलाई
बुझ्ने भएपछि सुनाइदिनू
तिम्रा नीला आँखाहरूको
प्यारो अनुरोध पूरा गर्न
ऊ सागर हिंडेकी छ
मसँग लोभको कुनै दरवार छैन
म वनफूल
मलाई बगैंचाका फूलहरूसँग
अलिकति गुनासो छ ।
(पृ–४४)
प्रस्तुत कविताङ्शमा प्रकटित भाव शास्वत र सार्वजनीन भएर सहिदका भावनामा आवद्ध हुन पुग्छ । देश र जनताको मुक्तिका लागि गौरवशाली मृत्युवरण गर्ने जुनसुकै कालखण्ड र भूगोलका सहिदहरूको एक मात्र सपना के यही होइन र ? यति गहिरो विचारलाई उति नै सरलतामा प्रस्तुत गर्न सक्नु कविको कालीगढी शिल्पको उदाहरण हो ।
सारमा, भाव र कलाका बीच कुशल समन्वय र सुन्दर प्रस्तुति कवि पोखरेलको विशिष्ट काव्यप्रवृत्ति रहेको देखिन्छ । प्रगतिशील साहित्यभित्र पनि कलाको उच्चतम निर्वाह भएको हुन्छ भन्ने दृष्टान्त दिन यस सङ्ग्रहका अधिकांश कविताहरू सक्षम छन् । यस मानेमा कवि पोखरेल के भन्ने मात्र होइन कसरी भन्ने कुरा समेतमा पूर्ण सचेत छन् भन्ने प्रष्टिन्छ ।
८. संक्षिप्तता र पूर्णता ः
फूटकर कविता आफैंमा पनि काव्यविधाको लघुरूप नै हो र यसमा जीवनका कुनै एक विशिष्ट अनुभूतिलाई संक्षिप्त आयाममा प्रस्तुत गरिन्छ तथापि निकै लामालामा कविताहरू पनि प्रयोगमा आइरहेकै देखिन्छ । प्रस्तुत सन्दर्भमा हेर्दा कविता सङ्ग्रह अनुहारहरू जम्मा ४६ पृष्ठमा २३ वटा कविताहरू समेटेर संरचित छ । यस मानेमा दुई पृष्ठभन्दा पनि कम आकारका एउटा सिङ्गो कविताको संरचना तयार भएको सहज अनुमान हुन्छ । प्रस्तुत सङ्ग्रहको सबभन्दा लामो कविता अनुहारहरू नै हो र यसैबाट सङ्ग्रहको नामकरण भएको छ । यो एक पदे पङ्क्तिदेखि ६ पदे पङ्क्ति रहेको जम्मा ५९ हरफमा संरचित भएको देखिन्छ । यसले के पुष्टि गर्दछ भने कवि लामालामा, पट्यारिला र शब्दजञ्जालमा फँसेका कविताको रचना गर्न आकर्षित छैनन् बरु संक्षिप्तता र पूर्णताभित्रै रमाउन चाहन्छन् र यसैलाई एउटा प्रवृत्तिकै रूपमा विकास गर्न रुचाउँछन् । त्यसैले सिङ्गो सङ्ग्रहका कविताहरू विषयगत र प्रस्तुतिगत दुबै हिसाबले संक्षिप्त र पूर्ण बनाएर कविले प्रस्तुत गरेका छन् ।
९ गद्य लयात्मकता ः
भावाभिव्यक्तिको माध्यम साहित्यमा भाषा हो र यो पद्य वा गद्यमध्ये कुनै एक पथबाट अगि बढेको हुन्छ । कविताको भाषा पद्यमय हुन्छ र यो लयका विभिन्न आरोहअवरोहमा उठ्तै र बस्तै, तन्किँदै र खुम्चिंदै गन्तव्यमा पुग्दछ । गणितीय हिसाबमा आउनुपर्ने शास्त्रीय लय (वार्णिक, मात्रिक आदि) र स्वतन्त्र वा मुक्त लयलाई आत्मसात गर्ने गद्यलय नै कवितामा भाव प्रस्तुतिका माध्यम हुन् । कवि पोखरेलले आफ्नो सङ्ग्रहमा मुक्त वा स्वतन्त्र लयलाई मात्र आफ्ना विचार अभिव्यक्तिको माध्यमका रूपमा स्थान दिएका छन् । यसरी हेर्दा कवि पोखरेलको लयगत प्रवृत्ति गद्यात्मक वा अन्तर्लयात्मक रहेको छ ।
१०. परिष्कृत–परिमार्जित भाषाशैली ः
कवि पोखरेलको भाषाशैली परिष्कृत र परिमार्जित देखिन्छ । शब्द चयन, प्रतीक प्रयोग, बिम्बसंयोजन, आर्थीसम्बन्ध लगायत सिङ्गो प्रस्तुतिकरण समेतलाई कविले अत्यन्त संयमी बनेर नियालेका छन् र त्यसभित्रका कसरमसर अस्पष्टता, द्वैअर्थकता आदिलाई भेटेसम्म, देखेसम्म पन्छाएर प्रस्तुत गरेका छन् । अति सुन्दर र सुक्तिमय पदावलीको रचना गर्नेदेखि सांगितिकताको निर्वाह गर्नसम्म कविले निकै जाँगर देखाएर कलागत मूल्यलाई उचालेका छन् । भावानुसारी शब्द चयन र संयोजन अनि अर्थसंप्रेषण सम्मलाई कविले अति मिही र सूक्ष्मतापूर्वक दृष्टिपात गरी यथासंभव सुन्दर रचना सिर्जना गर्ने अभीष्ट पूरा गरेका छन् । यस दृष्टिबाट हेर्दा कवि पोखरेल परिष्कृत परिमार्जित भाषाशैलीलाई आत्मसात गर्दै कविता सृजना गर्ने स्रष्टा देखिन्छन् ।
निष्कर्ष ः
उपर्युल्लिखित प्रवृत्तिगत अन्तसाक्ष्यका केन्द्रीयतामा कवि मातृका पोखरेललाई हेर्दा उनी सदैव समृद्ध, उन्नत र अग्रगामी चेतनायुक्त नयाँ समाजको निर्माणमा निरन्तर प्रतिवद्ध जीवनवादी–आसावादी कविका रूपमा उपस्थित हुन्छन् । यथास्थितिको समूल अन्त्य र नयाँ जीवनसंस्कृतिको प्रवल आग्रह बोकेका कवि पोखरेल वर्गीय विषमताप्रति तीब्र असहमती जनाउँदै निम्नवर्गीय जनताप्रति अपार माया र स्रद्धा प्रकट्याउँछन् । विचार र कला दुबैमा सुन्दरता भर्न निपुण कविले स्वार्थी र भ्रष्ट नेतृत्व, कुरूप संस्कृति, वैचारिक ढुल्मुलेपना, अनुत्तरदायी शासन प्रणाली, दास मनोवृत्ति, निरङ्कुशता, राजनीतिक बेइमानी र भ्रष्टाचार आदि पक्ष मािथ सशक्त व्यङ्ग्य समेत गरेका छन् । प्रजातन्त्र, स्वतन्त्रता, स्वाभिमान, न्याय, समानता र मुक्तिका लागि प्रबल पक्षधर कवि पोखरेलले सुन्दर विचारलाई सुन्दर रूपमा सजाएर पछिल्ला दिनहरूमा पनि यस्तै सृजना प्रदान गरिरहन सक्षम बनिरहून्, अहिले यति नै ।
================================================================
================================================================


समकालीन नेपालको अनुहार : ‘अनुहारहरू’
धनप्रसाद सुवेदी ‘श्रमिक’

मातृका पोखरेल समकालीन नेपाली प्रगतिवादी साहित्यका सशक्त सर्जक हुन् । कविता, कथा, निबन्ध आदि विधामा कलम चलाउने मातृका पोखरेलको मुख्य सिर्जना क्षेत्र भने कविता हो । उनका तीनवटा कवितासङ्ग्रह र एउटा कथासङ्ग्रह प्रकाशित छन् । सिर्जनाका साथै नेपाली प्रगतिवादी साहित्यिक–सांस्कृतिक आन्दोलनमा सक्रिय रहेका पोखरेल यस आन्दोलनका नेता पनि हुन् । यहाँ उनै मातृका पोखरेलको पहिलो पुस्तकाकार कृति ‘अनुहारहरू’ (कवितासङ्ग्रह–२०६४) का बारेमा सङ्क्षेपमा चर्चा गरिएको छ । ‘अनुहारहरू’ कवितासङ्ग्रह धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङले प्रकाशित गरेको हो । यो कृति काजी रोशन पुरस्कार, २०६४ बाट पुरस्कृत भएको छ । यस सङ्ग्रहमा तेइसवटा कविताहरू सङ्कलित छन् । यसमा लेखकको मन्तव्य, डा. ताराकान्त पाण्डेयको भूमिका र प्रकाशकीय पनि छापिएको छ । यस सङ्ग्रहमा ‘सर्त, नयाँ वर्ष २०६१, राजमार्ग र चिन्तित मनहरू, नयाँ शताब्दीको थोत्रो मान्छे, अनुहारहरू, उसको मृत्युमा, कविताको विषय, फरकफरक मुर्दाघाटहरू, कसको जमिन, सबै कुरा साँचो हुनेछ, ऊ बगर; खडेरी पर्खन्छ, टुकुचा, टोपआतङ्क, बाँझो जमिन र हलीहरू, अचेल मान्छेहरू, उनीहरूले सोचेका भए, भोलिको तस्बिर, भोलि, म खोज्दैछु अर्को अमलेखगन्ज, सिंहदरबार, समय, वनफूल र सपना’ तथा ‘उदयपुर’ शीर्षकका कविता सङ्कलित छन् । सङ्ग्रहमा समेटिएको ‘सर्त’ कविताले परिवर्तनको महान् यात्रामा सही विचार र सशक्त नेतृत्वको आवश्यकता बोध गरेको छ । भविष्यद्रष्टा कुशल नेतृत्वले मात्र प्रगतिको यात्रालाई सही गन्तव्यमा पु¥याउन सक्छ र त्यस्तै नेतृत्वको पछि मात्र लाग्न सकिन्छ भन्ने कविको चाहना ‘सर्त’ शीर्षकको कवितामा प्रस्टसँग आएको छ । यस कवितामा कविले आगामी दृष्टिकोणलाई ‘आँखा’, अग्रगामी यात्रालाई शिखर चढ्ने कुरा र सबल नेतृत्वलाई झर्झराउँदा आँखाहरू र सबल खुट्टाहरू भएको मान्छेको रूपमा प्रस्तुत गरेका छन् । यस सङ्ग्रहमा सङ्कलित दोस्रो कविता ‘नयाँ वर्ष–२०६१’ हो । यस कवितामा देशभित्र एक वर्ष (२०६०) मा भएको राज्यआतङ्क तथा जनप्रतिरोध, संसारभर साम्राज्यवादी अमेरिकाले फैलाएको आतङ्क र जनदमनको स्मरण गर्दै आउन लागेको वर्षचाहिँ योभन्दा भिन्न शोषितपीडित जनताले चाहेअनुसारको परिवर्तनशील भएर आए हुन्थ्यो भन्ने कामना गरिएको छ । ‘राजमार्ग र चिन्तित मनहरू’ कवितामा आधाशताब्दी लामो नेपाली कम्युनिस्ट आन्दोलनको प्रतीतको रूपमा ‘थोत्रिँदै गएको सडक’ लाई उभ्याइएको छ । नेपाली कम्युनिस्ट आन्दोलनले अपेक्षित परिवर्तनको अगुवाइ गर्न नसकेकोमा कविको चिन्ता ‘चिन्तित मनहरू’ का रूपमा प्रकट भएको छ । तर पनि कवि निराश भने छैनन् । उनी लेख्छन्ः– शताब्दीयौंपछिको सहर–बस्तीलाई सुहाउने सुन्दर सडकको पूर्वाधार काममा छ । (पृ.५) ।यस सङ्ग्रहमा सङ्कलित ‘नयाँ शताब्दीको थोत्रो मान्छे’ शीर्षकको कवितामा नेपालको राजतन्त्र र त्यसको नाइके राजालाई प्रतीकात्मक रूपमा उभ्याइएको छ । नेपालको राजा कफ्र्यु नलागेको दिन र जुनेली रात दुवैसँग डराउँछ भन्दै ‘गरिब देशको धनी मान्छे’, ‘नयाँ शताब्दी थोत्रो मान्छे’, ‘द्वापर युगको मान्छे’ जस्ता प्रतीकद्वारा उसको (राजाको) चरित्रलाई प्रस्ट्याउने काम गरिएको छ । यस कविताले राजा ज्ञानेन्द्रद्वारा गरिएका जनदमन, कुकृत्य र उसको चरित्रको भण्डाफोर गरेको छ । यस सङ्ग्रहकै शीर्षकका रूपमा रहेको ‘अनुहारहरू’ शीर्षकको कविता यस सङ्ग्रहको एउटा सशक्त कविता हो । यस कवितामा नेपाली जनताको मुक्ति आन्दोलन, त्यसमाथिको शासकीय दमन र शोषितपीडित वर्गप्रतिको पक्षधरताको चित्रण छ । शासक वर्ग क्रुर र निर्मम ढङ्गले जनदमनमा उत्रिएको छ, नेपाली जनताहरू प्रतिरोध गरिरहेका छन् । त्यहाँ शासकको अनुहार बाहिरबाट हेर्दा जतिसुकै सफा र सज्जापूर्ण देखिए पनि उसको भित्री अनुहार भने ज्यादै बर्बर, हिंस्रक र डरलाग्दो छ । कविले यस्तो अनुहारप्रति तीव्र घृणा प्रकट गरेका छन् । कविलाई अन्याय, अत्याचारको प्रतिरोध गरिरहेका श्रमजीवी शोषितपीडित जनताका मैलाधुस्रा अनुहारहरू राम्रा र सुन्दर लाग्छन् । यसरी यस कविताले कविको वर्गीय दृष्टिकोण र वर्गीय पक्षधरतालाई प्रस्ट पारेको छ । यस सङ्ग्रहमा सङ्कलित ‘उसको मृत्युमा’ शीर्षकको कवितामा एक जना क्रान्तियोद्धाको सहादतको प्रसङ्ग उल्लेख गरिएको छ । यसले जनयुद्धमा सहादत हुने कृष्णसेन ‘इच्छुक’हरूको सम्झना गराउँछ । यस सङ्ग्रह सङ्कलित ‘कविताको विषय’ शीर्षक कवितामा नेपालमा सङ्कटकाल लागेको बेला अभिव्यक्ति स्वतन्त्रतामाथि भएको नाङ्गो हस्तक्षेप र प्रतिबन्धप्रति विरोध, आक्रोस र व्यङ्ग्य गरिएको छ । ‘फरकफरक मुर्दाघाटहरू’ शीर्षक कवितामा २०६१ भदौ १५ गते इराकमा बाह्रजना नेपालीको हत्या भएको विषयलाई मार्मिक रूपमा चर्चा गरिएको छ । यस सङ्ग्रहमा सङ्कलित ‘कसको जमिन’ शीर्षक कवितामा नेपालको सिमाना र सार्वभौमसत्तामाथिको वैदेशिक हस्तक्षेपको विरोध गरिएको छ । ‘सबै कुरा साँचो हुनेछ’ शीर्षक कवितामा जनचेतना र जनप्रतिरोध नभएस्म्म अन्याय, अत्याचार, शोषण, दुष्प्रचारहरू कायम रहन्छन् भन्ने भाव व्यक्त गरिएको छ । यस सङ्ग्रहमा सङ्कलित ‘ऊ बगर; खडेरी पर्खन्छ’ शीर्षक कवितामा कहिल्यै सुख, खुसी र सन्तुष्टि भोग्न नपाउने, पीडितहरूको जीवन यथार्थलाई खडेरी पर्खने बगरसँग तुलना गरिएको छ । ‘टुकुचा’ शीर्षक कवितामा ‘टुकुचा’ नदीको दुर्गन्धित अवस्थाको चित्रण गर्दै यसको इतिहासको सफा र सुन्दर पक्षको स्मरण गरिएको छ । यस कविताले विगतमा जनताको लागि, परिवर्तनका लागि त्याग, समर्पण गरेका नेताहरू सत्ता र कुर्सीको मोहमा फसेर जनविरोधी भएको तथ्यलाई प्रतीकात्मक रूपमा चित्रण गरेको छ । यस सङ्ग्रहमा सङ्कलित ‘टोप आतङ्क’ शीर्षक कवितामा जनदमनमा उत्रिएको शासकको कुकृत्यलाई देखाइएको छ । यस कविताले २०६१ माघ १९ पछि राजा ज्ञानेन्द्रले पुराना पञ्चहरूलाई अगाडि सारेर जनदमनमा उत्रिएको सन्दर्भलाई साधारणीकरण गरेको छ । यस सङ्ग्रहको अर्को कविता ‘बाँझो जमिन र हलीहरू’ हो । यस कवितामा जनआन्दोलनलाई साथ नदिने कुनै समूह वा पार्टीविशेषलाई सङ्केत गर्दै केही समूह वा पार्टी विशेषले छाड्दैमा जनआन्दोलन रोकिँदैन भन्ने कविको उद्घोष व्यक्त भएको छ । यस सङ्ग्रहमा सङ्कलित ‘अचेल मान्छेहरू’ शीर्षक कवितामा सहिद विजय ढकाल ‘विश्वास’ को सहादतको प्रसङ्गबाट मुक्तियुद्धमा संलग्न योद्धाहरूको सहादतको महिमागान गाइएको छ । ‘उनीहरूले सोचेका भए...’ शीर्षकको कवितामा अन्याय, अत्याचार, शोषण, सदाकाल टिक्दैन । जनताहरू परिवर्तनका लागि उठेपछि अन्याय–शोषणको अन्त्य भइछाड्छ भन्ने भाव व्यक्त गरिएको छ । यसमा नेपालमा सामन्ती शासनव्यवस्थालाई ‘इतिहासले बोकेको एउटा गलगाँड’ का रूपमा लिँदै त्यसबाट छुटकारा पाउने उद्घोष गरिएको छ । यसमा नेपालको राजतन्त्रलाई नेपाली जनताको दुस्मनका रूपमा चित्रित गर्दै अब त्यसलाई हटाउने उद्घोष गरिएको छ । यस सङ्ग्रहमा सङ्कलित ‘भोलिको तस्बिर’ कवितामा नयाँ पुस्तामा मौलाउँदै गएको उपभोक्तावादी पश्चिमा संस्कृतिले सिर्जना गर्ने एकलकाँठे र व्यक्तिवादी चिन्तनप्रति चिन्ता व्यक्त गरिएको छ । उपभोक्तावादी–पुँजीवादी संस्कृतिको प्रभावमा मान्छेले आफ्ना मान्यजन र अग्रजहरूप्रति श्रद्धाभाव व्यक्त गर्ने प्रवृतिलाई भुल्ने खतरा रहेको कुरालाई यस कवितामा कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।यस सङ्ग्रहमा सङ्कलित ‘भोलि’ शीर्षकको कवितामा सुन्दर र विकसित नयाँ नेपालको परिकल्पना गरिएको छ । भोलिको नेपालमा अन्याय, अत्याचार, शोषण, अभाव, गरिबी आदिको अन्त्य हुनेछ र नेपाल र नेपालीहरू प्रगतिको शिखर चुक्न सक्नेछन् भन्ने विश्वास व्यक्त गरिएको छ । यस सङ्ग्रहमा सङ्कलित ‘म खोज्दैछु अर्को अमलेखगन्ज’ शीर्षक कवितामा राजनीतिक स्वतन्त्रता मात्रैले जनताको कल्याण हुँदैन । राजनीतिक स्वतन्त्रतासँगै पराधीन र पराश्रित चिन्तनबाट मुक्त भएर स्वाधीन र स्वाभीमानी मान्छे बनेर मात्र जनताले साँच्चिकै स्वतन्त्रता र मुक्तिको महसुस गर्न सक्छन् । यसर्थ अब हामीले स्वाधीन र स्वाभीमानका लागि सङ्घर्ष गर्नुपर्दछ भन्ने यस कविताको भाव रहेको छ । नेपालका नेताहरू सत्ताबाहिर रहँदा र सत्तामा नपुग्दासम्म जनताका मित्र देखिन्छन्, तर सत्ता (सिंहदरबार) मा पुगेपछि जनविरोधी बन्न पुग्छन् । यही यथार्थलाई यस सङ्ग्रहमा सङ्कलित सिंहदरबार कवितामा राम्ररी उजागर गरिएको छ । यसमा सङ्कलित ‘समय’ शीर्षकको कवितामा शान्ति र परिवर्तनका पक्षमा देखिएका नयाँ सम्भावनाहरू आशाप्रद छन् तर तिले पूर्णता पाउँछन् वा पाउँदैन भन्ने आशङ्का छ भन्ने भाव व्यक्त गरिएको छ । यस सङ्ग्रहमा सङ्कलित ‘वनफूल र सपना’ शीर्षकको कविताले जनआन्दोलन–२ मा सहादत हुने सहिद सेतु सुनारको सन्दर्भबाट शोषित–पीडित नेपाली जनताहरूले परिवर्तनको आन्दोलनमा निर्णायक भूमिका पूरा गरेको तथ्यलाई प्रस्ट्याएको छ । यस सङ्ग्रहमा सङ्कलित ‘उदयपुर’ शीर्षकको कवितामा कविको आफ्नो जन्मभूमि उदयपुरको दीनहीन अवस्थाको चित्रण गर्दै आउँदा दिनमा उदयपुरजस्ता नेपालका सबै गाउँबस्तीहरूमा अग्रगामी परिवर्तन हुनेछ र समग्र नेपालको प्रगति उन्नति हुनेछ भन्ने आशा व्यक्त गरिएको छ । यस सङ्ग्रहका सबै कविताहरूमा नेपाली समाजको यथार्थ चित्रण भएको छ । यस सङ्ग्रहका कवितामा शोषित–उत्पीडित वर्गको वर्गीय पक्षधरता व्यक्त भएको छ । यस सङ्ग्रहका सबै कविता यथास्थितिको विरुद्ध अग्रगामी परिवर्तनको पक्षपाती छन् । यसर्थ यस सङ्ग्रहका कविताको मूलप्रवृत्ति प्रगतिवादी रहेको छ । यस सङ्ग्रहमा सङ्कलित तेइसवटै कविता गद्यलय (मुक्त छन्द) मा रचिएका छन् । यसमा सङ्कलित सबै कवितामा नेपाली समाज, इतिहास, राजनीति, संस्कृति र प्रकृतिका सरल र स्वाभाविक बिम्ब र प्रतीकहरूको प्रयोग गरिएको छ । कविता कलाका दृष्टिले नेपाली प्रगतिवादी कवितामा देखिने कमजोरीबाट यस सङ्ग्रहका कविताहरू धेरै मुक्त छन् । यो यस सङ्ग्रहका कविताहरूको सबल पक्ष हो । ‘प्रगतिवादी कविताहरूमा कला हँुदैन, नारा हुन्छ’ भन्नेहरूका लागि यस सङ्ग्रहमा सङ्कलित कविताहरूले राम्रो जबाफ दिएका छन् । यसका लागि कवि मातृका पोखरेल स्याबासीका पात्र बनेका छन् । कहीँ कतै निराशा देखिनु र नेपाली जनताको बलिदानी सङ्घर्षको विराट स्वरूपलाई प्रस्ट देखाउन नसक्नुजस्ता कमजोरीहरू रहँदारहँदै पनि यो कविताकृति नेपाली प्रगतिवादी कवितायात्राको एउटा सफल कृति बनेको छ ।

=========================================================
=========================================================








=========================================================
=========================================================
समालोचना
कला र विचारमा माझिएका र परिवर्तनको राग बोकेका कविता

 पूर्ण इन्फादा

पृष्ठभूमि
नेपाली कविता साहित्यको उद्भवसँगै कविहरूले कवितालाई आफ्नो जीवनभोगाइ र आस्थाअनुरूप परिभाषित गर्ने काम गरिरहेका छन् । समकालीन माक्र्सवादी–प्रगतिवादी विचारमा आस्था राखेर कविता सिर्जनामा लाग्ने कवि मातृका पोखरेल पनि आफ्नो ढङ्गबाट कवितालाई परिभाषित गर्छन् । मातृका पोखरेल समाजको अवस्थालाई उजागर गर्दै त्यसलाई अझ सुसभ्य र उन्नत बनाउने काम साहित्यले गर्नुपर्छ भन्ने मान्यता राख्दछन् । साहित्यमा सबै एकापट्टि भन्ने मान्यताप्रति विमति राख्छन् र राजनीतिमा झैं को कतापट्टि भन्ने कुरालाई नकार्दा उट्पट्याङ जस्तो हुन्छ भन्ने ठहर छ उनको । कवितालाई सामाजिक र ऐतिहासिक सन्दर्भबाट अलग्याएर आकस्मिक संयोगका रूपमा हेर्न मिल्दैन भन्ने क्रिस्टोफर कडेलको भनाइसँग कवि मातृका पोखरेल ऐक्यबद्धता जनाउँछन् । जीवन र समय अभिव्यक्त नभएको कविता पढ्न नरुचाउने कवि मातृका पोखरेल प्रिय मानिसले भोगेका पीडा र शोषणलाई उजागर गरेर भविष्यप्रति उनीहरूलाई कविताका माध्यमबाट बाटो देखाउनुलाई कर्तव्यबोध ठान्दछन् ।
नेपाली कविता साहित्यमा एक थरि मान्छेहरू राजनीतिबाट कवितालाई अलग राख्नुपर्छ भन्ने ढोङ देखाउँछन् र स्वयं राजनीति गरिरहेका हुन्छन् । एक थरि कविहरू कविता राजनीतिबाट निरपेक्ष हुन सक्दैन भन्दछन् र आफ्नो आस्थाअनुरूप कविता सिर्जना गर्दछन् । कवि मातृका पोखरेल पनि पछिल्लो विचारका पक्षपाती हुन् । यही कारणले नेपाली कविता साहित्यमा उनको छुट्टै पहिचान छ । कथित कलाका नाममा कवितामा अस्वाभाविक रङ दलेर अमूर्त र रहस्यमय बनाउन उचित नठान्ने कवि मातृका पोखरेल समकालीन नेपाली साहित्यमा कविता, कथा, संस्मरण आदि विधामा कलम चलाउने र आस्थाको साहित्य लेख्ने स्रष्टा हुन् । उनले विशेष गरेर कविता विधामा बढी सक्रियता देखाएको पाइन्छ ।
उदयपुरको ठाना गाउँमा वि.सं. २०२३ साउन ९ गते जन्मेका कवि मातृका पोखरेलले प्रवेशिकासम्मको शिक्षादीक्षा गाउँमै अध्ययन गरे भने आईए महेन्द्र मोरङ क्याम्पस, विराटनगरबाट गरे । त्यसपछि रन्थनिँदै काठमाडौँ हाँकिएका कवि पोखरेलले स्नातक आरआर क्याम्पसबाट गरे र बीएड र एमए नेपाली विषयमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट गरे । 
सानै उमेरदेखि माक्र्सवादी दर्शनको प्रभावमा परेका मातृका पोखरेलले उच्च शिक्षा हासिल गर्दा झन् वैचारिक रूपमा निक्खर र प्रतिबद्ध हुँदै गएको भेटिन्छ । माक्र्सवादी वैचारिक दर्शन नै सबैभन्दा उत्कृष्ट र वैज्ञानिक हो भन्ने उनको ठहर छ । यसबाट मात्रै उत्पीडित वर्गले उन्मुक्ति पाउन सक्छ भन्ने विश्वास छ उनमा ।
बाल्यकालदेखि साहित्य सिर्जना गर्न रुचाउने मातृका पोखरेलले कति कविता लेख्दै च्यात्दै गरे । थुप्रै प्रतियोगितामा भाग लिएर अरूलाई पछार्न पनि सफल भए । गाउँको विद्यालयदेखि उच्च शिक्षा अध्ययनका क्रममा विराटनगरमा समेत कहिले प्रतियोगी बने त कहिले आयोजक बनेर नेपाली काव्य साहित्यको सेवामा लागिरहे । ०४४।४५ सालतिर समीक्षा (साप्ताहिक) पत्रिकामा ‘सूर्य उदाऊ अब’ शीर्षकको कविता पहिलोपटक प्रकाशित गरेपछि भने उनलाई साँच्चिकै कविताको नशा लागेको पाइन्छ । त्यसपछि काठमाडौंलाई केन्द्र बनाएर निरन्तर साहित्यलेखनमा लागिरहेका छन् । सेतो दरबारको छेउबाट (२०५६), यात्राको एउटा दृश्य (२०६०) र अनुहारहरू (२०६४) गरी उनका तीनवटा कविताकृति प्रकाशित भइसकेका छन् । विभिन्न पत्रपत्रिकामा फुटकर रचनाहरू प्रकाशित भइरहेका छन् । उनले वेदना (त्रैमासिक) र ज्योति (त्रैमासिक) इन्द्रेणी जस्ता साहित्यिक पत्रिकाको कुशल सम्पादन पनि गरिरहेका छन् ।
कवि मातृका पोखरेलका कवितामा कला र विचारको संयोजन सरल भाषा शैलीका माध्यमबाट गरिएको हुन्छ । उनका कवितामा निम्नवर्गीय समाजका मान्छेको उत्पीडन मुखरित भएको हुन्छ भने सम्भ्रान्त र उत्पीडक वर्गको तेजोवध गरिएको हुन्छ । कवि मातृका पोखरेल समाज वर्गीय हुने हुनाले साहित्य पनि त्यसबाट अलग रहन सक्दैन भन्ने मान्यता राख्दछन् । मानवीय स्वतन्त्रता र उज्यालोको पक्षमा कवि जहिले पनि कविताका माध्यमबाट आवाज उठाउन चाहन्छन् । भविष्यप्रति आशावादी भएर कलम चलाउने स्रष्टा मातृका पोखरेल यथास्थितिमा रमाउन चाहनेहरूसँग तीव्र आक्रोश व्यक्त गर्दछन् । राजनीतिक बेइमानी र संशोधनवादका विपक्षमा सधैँ उभिने कवि मातृका पोखरेल वर्गीय, जातीय र लिङ्गीय समानताको पक्षमा आफ्ना कवितामार्फत् ऐक्यबद्धता जनाउँदछन् । जनतालाई फोस्रा आश्वासन र सपना देखाएर व्यक्तिगत स्वार्थपूर्तिमा लाग्नेप्रति व्यङ्ग्य र आक्रोश व्यक्त गर्छन् भने निरन्तर क्रान्ति र परिवर्तनलाई आत्मसात् गर्दछन् ।
कवि मातृका पोखरेलका कवितामा कला, विचार र भावसम्प्रेषणीयता उच्च रूपमा देख्न सकिन्छ । यति मात्रै होइन, उनका कवितामा वैचारिक आक्रोशपूर्ण व्यङ्ग्य आक्रामक ढङ्गबाट प्रस्तुत भएको पनि भेट्न सकिन्छ । सरल भाषिक सम्प्रेषणीयतामा संरचित उनका कविता सामान्य पाठकले समेत बुझ्न सक्छन् । रमरम बौद्धिकताको खेल कवितामा खेल्न रुचाउने मातृका पोखरेलका कवितामा गद्यात्मक लय भेट्टाइन्छ । आन्तरिक र बाह्य दुवै रूपमा कविताको बनोट संरचना कसिलो छ । उनका तीनवटा कवितासङ्ग्रहमा पहिलोभन्दा दोस्रो र दोस्रोभन्दा तेस्रो सङ्ग्रह बढी प्रौढ देखिन्छ । यस आलेखमा उनका तीनवटै कविता सङ्ग्रहका चौसट्ठी कविताको तल उल्लेख गरिएका दृष्टिकोणबाट अध्ययन गर्ने प्रयास गरिएको छ ।
१. वैचारिक चेतना
२. व्यङ्ग्य प्रयोग
३. बिम्ब संयोजन
४. कलाको प्रयोग
कवि र कवितालाई हेर्ने र अध्ययन गर्ने सबैका आ–आफ्नै किसिमका शैलीगत विशेषता र दृष्टिकोणहरू हुन सक्छन् । मैले पनि यो छोटो अध्ययनमा आफ्नै किसिमको दृष्टिकोण अघि सारेको छु । माथि उल्लेख गरेभन्दा भिन्न शीर्षक र दृष्टिकोणबाट पनि कवि मातृका पोखरेलका कवितालाई अध्ययन–विश्लेषण गर्न नसकिने होइन तर अहिले यिनै पक्षमा केन्द्रित रहेर अध्ययन गर्ने प्रयास गरेको छु ।
वैचारिक चेतना
कवि मातृका पोखरेलका कवितामा वैचारिक चेतनाको उद्बोधन बेजोड ढङ्गले मडारिएको हुन्छ । उनका कवितालाई अन्य विभिन्न कोणबाट समेत अध्ययन गर्ने धृष्टता गरेर कविमाथि कतै घोर अन्याय पो गरेँ कि भनेर मलाई एक किसिमले छटपटी भइरहेको छ यतिखेर । ‘मलाई मेरा प्रियजनहरूले भोगेका शोषणका पीडाहरू उनेर उनीहरूलाई भविष्यको बाटो देखाउने कविता लेख्ता म त्यसमा आफ्नो कर्तव्यबोध भेट्टाउँछु’ भन्ने उद्घोष गर्ने कवि मातृका पोखरेल कवितामा विचारको सघनता रुचाउँछन् भनेर अड्कल गर्न कुनै किसिमको कठिनाइ हुन्न । कवि कवितामा मानवजुनी भोगाइको समय छचल्किएको हेर्न रुचाउँछन् । वैचारिक सघनता नभएको कवितालाई उनी मृतप्रायः ठान्छन् । त्यसमा पनि माक्र्सवादी भौतिकवादी दर्शनको रुझान राख्छन् कवि मातृका पोखरेल । सेतो दरबारको छेउबाट र यात्राको एउटा दृश्य हुँदै अनुहारहरूसम्म आइपुग्दा उनले कतै पनि वैचारिक पक्षलाई कमजोर हुन दिएका छैनन् कवितामा । निम्नवर्गीय मानव समाजका जटिलतम भोगाइलाई कवितामा जीवन्त रूपमा र चित्रात्मक रूपमा देखाउने प्रयास गरेका हुन्छन् कवि मातृका पोखरेलले ।
कवि मातृका पोखरेलका कवितामा अन्तर्वस्तु र शैलीको सुन्दर र कलात्मक संयोजन पाइन्छ । उनका कविताको अन्तर्वस्तु भनेको माथि उल्लेख गरेअनुसार उत्पीडित मानवसमाजको मूल्य र मान्यता खोज्नु हो । समाजमा सबैले आ–आफ्नो अस्तित्व खोजिरहेका हुन्छन् । उनका कविताले विपन्न समाजका मान्छेको अस्तित्वको खोजी व्यग्र रूपमा गरेका हुन्छन् । वर्गीय चेतनाको उद्बोधनलाई उनका कविताले मूल रूपमा लिएको पाइन्छ । जसको उदाहरणका रूपमा तलको कवितांशलाई लिन सकिन्छ–
म सगौरव घोषणा गर्छु
कुनै छाप्राको भड्खारोमा भए पनि
गलतीका कुनाकाप्चाहरूमा
हुनेखाने भुँडीवालहरूले कुल्चे पनि
मेरा कविता अजम्बरी हुन् ।
(अजम्बरी कविताः सेतो दरबारको छेउबाट, पृ. २)
यहाँ कविले उत्पीडित वर्गप्रति श्रद्धा व्यक्त गरेका छन् । साहित्यले उत्पीडित वर्गको चेतनालार्य बोक्नुपर्छ भन्ने दृष्टिकोण सगौरव अघि सारेका छन् । कवितालाई उत्पीडित वर्गको पक्षमा लड्ने अजम्बरी अस्त्रको रूपमा र उत्पीडकको लागि घातक हतियारका रूपमा प्रयोग गरेका छन् । कविता वैचारिक अस्त्र हो भन्ने दृष्टिकोणलाई पुष्टि गरेका छन् कवि मातृका पोखरेलले । उनले यहाँ दुर्गम क्षेत्रका निम्न वर्गप्रति सम्मान व्यक्त गरेका छन् ।
कवि मातृका पोखरेलका कवितामा सामन्तवादी प्रवृत्तिप्रति एकदमै घृणा व्यक्त गरिएको हुन्छ । उनका कवितामा समाजको गतिशीलता रोक्न सामन्तवादी र यथास्थितिवादी जड पहाड भएर उभिएका छन् भन्ने ठहर गरिएको छ । पुराना राज्यसंयन्त्रले बहुसङ्ख्यक जनताको हितका पक्षमा केही गर्न नसक्ने दृष्टिकोण कविले कवितामा अभिव्यक्त गर्दछन् ।
अदालतका प्रत्येक मिसिलहरूमा
हामीहरू सबैले हेरे हुन्छ
ऊ चेतनासँग मुद्दा लड्छ
जेलघरहरू सर्जमिनमा साथ दिन्छन्
भुइँचालोको सूचना पाएको म्याद बोकेर
अचेल ऊ वरिपरि निहाल्छ
हाम्रो बस्तीको बीचमा ।
(सेतो दरबारः सेतो दरबारको छेउबाट, पृ. २७)
कविले यहाँ राज्यको महत्वपूर्ण अदालत पुराना कानुनको चाङ लगाएर बसेको र न्याय र मुक्तिको पक्षमा लड्नेहरूका विरुद्ध शासकको इसारामा चेतनाहरूमाथि निर्मम ढङ्गले खनिएको दृष्टिकोण अघि सारेका छन् । चेतनाको संवाहक जनताले नयाँ तरिकाले विद्रोहको तयारी गरिरहेको अवस्थामा शासकले कसरी दमन गर्न सकिन्छ भनेर योजना बनाएको नग्न चित्रलाई यहाँ प्रस्तुत गरिएको छ । राज्यका सम्पूर्ण अङ्गहरू परिवर्तन नगरीकन देश र जनताले परिवर्तनको अनुभूति गर्न सक्दैनन् भन्ने दृष्टिकोण राखेका छन् कविले ।
कवि पोखरेल साम्राज्यवाद र विस्तारवादले नेपाली रगतको अवमूल्यन भएकोमा चिन्ता व्यक्त गर्दछन् । साथै विदेशी अस्तित्वका लागि होइन, नेपाली अस्तित्वका लागि लड्नुपर्ने र रगत बगाउनुपर्ने धारणा राख्छन् । नेपाली युवाहरूले सयौँ वर्षदेखि राष्ट्रिय मुक्तिका लागि होइन, विदेशीको स्वार्थका लागि रगत बगाउन विवश हुँदै आएकोमा चिन्ता व्यक्त गरेका छन् । 
अब छोङपाङले बुझ्नुपर्छ
र छोङपाङहरूको देश नेपालले बुझ्नुपर्छ
के हामी फेक्ल्यान्डको लागि जन्मिएका हौं ?
कि कारगिलको लागि हुर्किएका हौं ?
आफ्नै अस्तित्व चोइटिएको बेलामा
भन छोङपाङ !
(छोङपाङ ! तिमीले कस्तो सपना 
देख्यौ ?,’ सेतो दरबारको छेउबाट, पृ. ३२)
यहाँ कवि मातृका पोखरेलले छोङपाङलाई बिम्बका रुपमा उभ्याएर सिङ्गो नेपाली जातिले भोग्नुपरेको नियतिलाई देखाएका छन् । नेपाली समाजको युवा प्रतिनिधि पात्र छोङपाङ हो । थुप्रै छोङपाङहरूले आफ्नो राष्ट्रको अस्तित्व खतरामा परेको बेलामा पनि फोकल्यान्ड, कारगिल, मलेसिया, हङकङ, बर्मा, सिङ्गापुरजस्ता ठाउँमा गएर साम्राज्यवादको स्वार्थका लागि रगत बगाएको कुरालाई इङ्गित गरेका छन् । यहाँ कविले नेपाली सामन्त शासकले आफ्नो सत्ता नडगमगाओस् भनेर युवा बुद्धि र बललाई बिदेसिन विवश पारेको अवधारणा अघि सारेका छन् । साथै आफ्नै देशमा मुक्ति युद्धमा सामेल भई राष्ट्रको अस्तित्व जोगाउनुपर्ने र विदेशीको गुलाम बन्न नहुने दृष्टिकोण जोडतोडले राखेका छन् ।
कवि मातृका पोखरेलका कवितामा समसामयिक अवस्थाको विशृङ्खल विषयवस्तु माक्र्सवादी यथार्थवादी दृष्टिकोणका आधारमा उठाइएको हुन्छ । सामाजिक उत्पीडनको विपक्षमा उभिएका हुन्छन् उनका कविता । अन्याय र अत्याचारको धज्जी उडाउँदै उत्पीडितको आवाजलाई कविताका माध्यमबाट अघि सारेका हुन्छन् कविले ।
उनीहरूलाई आफ्नो मान्छे भन्नुपर्दा
इज्जत गुम्ला भन्ने डर मान्नेहरू
चिनेर पनि नचिनेझैं गर्नेहरू
तिम्रो मानसको म साक्षी बन्न चाहन्नँ
इतिहासले तिमीलाई गर्ने घृणामा
मेरो पनि सहमति छ ।
(आफ्नै जस्तो लाग्योः सेतो दरबारको छेउबाट, पृ. ४१)
कविले यस कवितांशमा समाज वर्गविभाजित हुन्छ । उपल्लो वर्गले तल्लो वर्गलाई जहिले पनि घृणा र उपहास गर्छ भन्ने विचार अघि सारेका छन् । वर्गकै कारण आफन्तलाई पनि आफ्नो नभन्ने र नचिनेजस्तो प्रवृत्ति हाम्रो समाजमा बढ्दै गएकोमा खेद व्यक्त गरिएको छ । कवि वर्गविभाजित समाजको अन्त्य चाहन्छन् 
र यस्तो अन्यायी र अत्याचारी समाजको अन्त्य निम्नवर्गीय समाजले कुनै दिन गर्नेछ भन्ने कुरामा विश्वस्त छन् । वर्गविभाजित समाजमा हुने उत्पीडन साक्षी बनेर नबस्ने उद्घोष गर्छन् ।
कवि मातृका पोखरेल अन्याय र अत्याचारका विरुद्धमा भएको सङ्घर्ष वा आन्दोलनलाई समर्थन गर्छन् र ती लड्ने योद्धाहरूलाई होसियार हुन सचेत गराउँछन् ।
प्रत्येक दिन, प्रत्येक रात
मुखियाहरूका आँखाबाट
आफूलाई लुकाउनुपर्छ
साइँला तिमीले दाग्नुपर्नेहरू पनि
सुरक्षित लुकिरहेका छन् ।
(दुस्मनहरू सुरक्षित रहेको बेला ः यात्राको एउटा दृश्य, पृ.११)
यस कवितांशमा कविले नेकपा 
(माओवादी) ले गरेको दसवर्षे जनयुद्धको झल्को दिएका छन् । वर्गसङ्घर्षको यात्रामा हिँडेका न्यायप्रेमी साइँलाहरूलाई गाउँका वर्गदुस्मन मुखियाहरूबाट बचेर हिँड्नुपर्ने सुझाव दिन्छन् कवि । जुन किसिमले वर्गदुस्मनको सफाया हुनुपर्ने त्यो अझै नभइसकेको र तिनीहरू विभिन्न रूपमा लुकेर बसेका अनि तिनीहरूको अत्याचार समाप्त भइनसकेको विचार व्यक्त गरेका छन् यहाँ ।
कवि मातृका पोखरेल आफ्ना प्रायः कवितामा विसङ्गत इतिहासको अन्त्यको खोजी गर्छन् । समतामूलक समाजको स्थापनाको अपेक्षा पाइन्छ उनका कवितामा ।
हामी यति बेला कोरिरहेछौं सडकमा
यो क्रूर इतिहासको अन्त्य
हामी वेगवान् आँधीझैँ खोजिरहेछौं
उसको शवयात्राका मलामीहरू ।
(नयाँ शताब्दीको थोत्रो मान्छे ः अनुहारहरू, पृष्ठ ७)
यो माथिको कवितांशमा कविले निर्मम इतिहास जलाउनुपर्ने उद्घोष गरेका छन् । निर्मम र विसङ्गत इतिहासका निर्मातालाई बेगवान् आँधीको चक्रमा पारेर संवेदनाहीन अन्त्य गर्नुपर्ने अभिव्यक्तिलाई मुखरित गर्छन् । अथवा यहाँ कविले निरङ्कुश इतिहासको अन्त्यका लागि निर्मम सडक विद्रोहको आह्वान गरेका छन् ।
कवि मातृका पोखरेल उज्यालो इतिहासको निर्माणका लागि कविता लेख्छन् । मुठीभर व्यक्तिले सामाजिक संरचनामा हस्तक्षेप गरेकोमा निर्मम ढङ्गले रुष्ट हुन्छन् ।
केही अनुहारहरूका विरुद्ध
थुप्रै अनुहारहरू कसिरहेछन् मोर्चा
नयाँ भोलिको खोजीमा
यिनीहरूले नियालिरहेको पूर्व
मेरो पनि भविष्य हो ।
(अनुहारहरू ः अनुहारहरू, पृ. १०)
यस कवितामा कवि पोखरेलले परिवर्तनको चाहनालाई व्यक्त गरेका छन् । वर्ग शोषकप्रति घृणा र वर्ग शोषितप्रति सद्भाव व्यक्त गरिएको यस कवितामा भयानक विद्रोहपछि मात्र नयाँ समयको जन्म हुने र त्यस समयमा सबैले स्वतन्त्रता समानताको अनुभूति विचारलाई नग्न रूपमा प्रस्तुत गरेका छन् कविले ।
उनका कवितामा राष्ट्रिय स्वाभिमान र स्वाधीनताको चेतना मुखरित भएको पाइन्छ । इतिहासमा धेरैपटक नेपाली स्वाभिमान र स्वाधीनता अपमानित भएकोमा दुःखित देखिन्छन् कवि ।
शताब्दीयौंदेखि बोकिरहेको छु
सार्वभौमसत्ता गुमेको टाउको
मेरो चेतनाको बारीमा ।
(कसको जमीनः अनुहारहरू, पृ.१७)
नेपालीहरूले इतिहासका अनेकन मोडमा आफ्नो सार्वभौमसत्तामाथि विदेशीले नगन हस्तक्षेप गर्दा पनि शासकले मौन बसेको र राष्ट्रियतालाई महत्व नदिएकोमा चिन्ता व्यक्त गरेका छन् कविले उद्धृतांश कवितामा ।
कवि मातृका पोखरेलका कवितामा वैचारिक सघनता व्यग्र रूपमा मडारिएको हुन्छ । सामाजिक, राजनीतिक, आर्थिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय वर्गीय विचारलाई कला र सौन्दर्यका माध्यमबाट प्रस्तुत गरिएको पाइन्छ । समतामूलक मानव समाजको मूल्य र मान्यतालाई उनका कवितामा उत्खनन गर्ने जमर्को गरेको भेटिन्छ ।

व्यङ्ग्य प्रयोग
कवि मातृका पोखरेल कवितामा विचारको अलावा व्यङ्ग्य पक्षको पनि सघन उपस्थिति रुचाउँछन् । विविध किसिमका विकृतिका विरुद्ध कवितामा कलात्मक व्यङ्ग्यको आवश्यकता हुन्छ भन्ने मान्यता राख्छन् उनी । व्यङ्ग्यले कवितालाई जीवन्तता पनि दिन्छ, त्यसकारण कवितामा व्यङ्ग्यको सम्प्रेषणीयता आवश्यक पनि ठानिन्छ । व्यङ्ग्य पनि कविताको एक किसिमको सौन्दर्य हो । यसले कवितामा अलङ्कारको काम गर्दछ ।
मेरी आमा बिपनामा मात्र होइन
सपनामा पनि झस्किनुहुन्छ
अबुई कालो सर्प ?
(कालो सर्प ः सेतो दरबारको छेउबाट, पृ.७)
यहाँ कविले सामाजिक असङ्गति र धमिराहरुलाई कालो सर्पका रुपमा चित्रण गरेर त्यस्तो प्रवृत्तिमाथि नग्न व्यङ्ग्य गरेका छन् । यो प्रवृत्ति मानव समाजका लागि खतरापूर्ण हुन्छ भन्ने दृष्टिकोण राखेका छन् ।
रामैं खालको भ्रम पार्छ
जे जति कुराहरु गर्छ
रातो किताब बोकेरै गर्छ
रातो झन्डा ओढेरै गर्छ ।
(उसले पनि हाम्रै जस्तो कुरा गर्छः यात्राको एउटा दृश्य, पृ.१७)
यस कवितांशमा कविले नेपाली सामाजिक क्रान्तिमा जहिले पनि खुट्टो कमाएको र मानव जातिका सपनामा भ्रमको बज्र प्रहार गरेको कुरालाई इङ्गित गर्दै संशोधनवादी धारप्रति तीखो व्यङ्ग्य प्रहार गरेका छन् । जुन संशोधनवादको चरमचुलीमा पुगेको छ, त्यसैले रातो झन्डा र रातो किताब बोकेर क्रान्तिको फोस्रो कुरा गर्नु भ्रम मात्र हो भन्दै व्यङ्ग्य–बाण हानेका छन् कविले ।
मेची महाकाली लुटिएको बेला
कसरी लेख्न सक्छु हिलारी क्लिन्टनको महिमा ?
तिमी जति गाली गर्छौ गर
म कविताको इज्जतका लागि लेख्छु ।
(म तिम्रा कविताको विरुद्धमा लेख्छु ः यात्राको एउटा दृश्य, पृ.२४)
नेपाली कविता साहित्यमा शक्तिको पूजा गर्ने र सत्ताको भजन गाउने प्रवृत्तिप्रतिको व्यङ्ग्य हो यो कविको । आफ्नो देशको साँध–सिमाना मिचिइरहेको कुरामा चिन्ता नगर्ने तर आफ्नो सीमित स्वार्थ पूर्ति गर्न हिलारी क्लिन्टनलाई देवत्व बनाएर कविता प्रतियोगिता गरी भजन गाउने जुन प्रवृत्ति हाबी हुँदै गएको छ नेपाली कवितालेखन परम्परामा, त्यसप्रतिको नग्न र आक्रोशपूर्ण व्यङ्ग्य गरेका छन् कविले यो कवितांशमा ।
ऊ हाम्रै सहरमा बस्छ
यतै वरिपरि बस्छ
घर देश जलाउँछ
आगो ताप्छ
म कसरी भन्न सक्छु ?
ऊ मेरै देशको नागरिक हो ।
(नागरिक ः यात्राको एउटा दृश्य, पृ.३६)
यहाँ कवि मातृका पोखरेलले स्वदेशीको आवरणमा विदेशी शक्तिले देशको अवस्था जर्जर बनाएकोमा व्यङ्ग्य गरेका छन् । देशको बिग्रँदो अवस्थाप्रति चिन्ता नजनाउने बाह्य इसारामा हिँड्नेप्रति कटाक्ष छ कविको यहाँ । विश्व इतिहासमा रोम दनदनी जलिरहेको बेला त्यहाँका शासक निरोले बाँसुरी बजाइरहेको अवस्थाको झल्को शासकवर्गले दिएको र देश र जनताप्रति अनुत्तरदायी भएकोमा कविले व्यङ्ग्यको झटारो हानेका छन् यस कवितामा ।
उसले बिस्तारै–बिस्तारै
पसिनाको स्विमिङ पुल
बनाउने कुरा सोच्यो
अनाथ मानिसको रातो रगतलाई
होलीमा खेल्ने लोलाको
रातो पानीकै मूल्यमा हे¥यो ।
(बाटाहरू १ः यात्राको एउटा दृश्य, पृ.४८)
यस कवितांशमा कविले जनताको रगतलाई स्विमिङ पुलको पानी र रगतलाई होलीमा खेल्ने पानीका रूपमा लिई अवमूल्यन गर्ने शासकवर्गको प्रवृत्तिमाथि कटाक्ष गरेका छन् । जनतालाई सत्तामा पुग्ने भ¥याङ बनाउने प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएकोमा चिन्ता र व्यङ्ग्य एकै पटक गरेका छन् यहाँ कविले ।
दरबारतिर खेताला भिÏयाइरहेका छन्
जनताको आँसुमा सर्वत घोल्दै
मान्छेको जिब्रो र गिदीलाई परिकार बनाएर ।
(यात्राको एउटा दृश्यः यात्राको एउटा दृश्य, पृ. ५४)
यहाँ कविले समतामूलक समाजको कोरा नारा दिएर सत्तामा पुगेकाहरूले जनताको बलिदानलाई सर्वतका रूपमा लिएको र स्वतन्त्रताको प्रतीक ‘जिब्रो’ र चेतनाको प्रतीक ‘गिदी’लाई मीठो परिकार बनाएकोमा आपत्तिपूर्ण कटाक्ष गरेका छन् । जनताको बलिदानीपूर्ण आन्दोलनलाई अपमान गर्दै उनीहरूका स्वतन्त्रतामा अङ्कुश लगाउने सामन्तवादको प्रतीक दरबारको खुसीका लागि काम गर्ने प्रवृत्तिमा विमति जनाउँदै व्यङ्ग्यको झटारो हानेका छन् ।
निधारभरि चन्दन लिपेर
मानव वधशालातिर
हतियार बोकेर कुदिरहन्छ ।
(अनुहारहरूः अनुहारहरू, पृ. ८)
कविले यस कवितांशमा ‘मुखमा रामराम बगलीमा छुरा’ भन्ने उखानलाई स्मरण गराएका छन् । बाहिर हेर्दा एउटा रूप र भित्री काम अर्कै गर्ने प्रवृत्तिलाई नाङ्गेझार बनाएका छन् उनले । बाहिर धर्मभीरुको रूपमा देखिने तर लुकाएर हतियार बोकेर निर्दोष जनताको हत्या गरेर मानव वधशाला बनाउने क्रूर तानाशाहहरूप्रतिको नग्न व्यङ्ग्य हो यो कविको ।
अचेल टुकुचा
किसानहरूको सिनाज्याम्मे सुन्दै
बागमतीतिर बग्दैन
मान्छेहरूलाई नाक छोप्न लगाउँदै
सैनिक व्यारेकतिर लुक्छ ।
(टुकुचा ः अनुहारहरू, पृ. २४)
यहाँ कविले काठमाडौंँ सबैभन्दा फोहोर पानी बग्ने खोलो टुकुचाका कारण आममानिसले नाक थुन्नुपरेको तर त्यही खोलो नेपालको सुरक्षार्थ भनेर स्थापना भएको सैनिक ब्यारेकतिर लुक्न गएको परिदृश्यलाई देखाएर नेपालको द्वन्द्वकालीन समयमा सेनाबाट भएको आम नरसंहारकारी कुकृत्यलाई इङ्गित गरेका छन् । टुकुचाको फोहोर पानीले जसरी आम मानिसलाई नाक थुन्न बाध्य गराएको छ, त्यसरी नै सेनाको कुकृत्यले आम जनमानसमा सन्त्रास फैलाएको छ भन्ने कुरालाई देखाएर कविले तानाशाही प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन् ।
मलाई
सिंहदरबार र जादुघर
उस्तैउस्तै लाग्छ ।
(सिंहदरबारः अनुहारहरू, पृ. ३९)
सिंहदरबार नेपालको शासनसत्ता चलाउने सर्वोच्च निकाय भएको ठाउँ हो । यहाँबाट जनताले शान्ति, सुरक्षा र सुशासनको अनुभूति गर्नुपर्ने हो । जनताका दैनन्दिनका समस्या समाधान हुनुपर्ने हो । सरकार सबै कुरा जनताका लागि भनेर खोक्रो आदर्श यहाँबाट बाँड्छ तर जनताले पाउने उपलब्धि शून्य मात्र छ । जादुगरले छिनको छिनमै विभिन्न किसिमका खेल देखाउँछ तर ती सबै अर्थहीन लाग्छ वास्तविकता थाहा पाएपछि । सिंहदरबार पनि यस्तै जनतामा भ्रम छर्ने ठाउँका रूपमा विकास भएकोमा आक्रोशको व्यङ्ग्य ओकल्छन् कवि मातृका पोखरेल ।
यसरी कवि मातृका पोखरेलका कवितामा विचारजस्तै व्यङ्ग्य पनि सघन छ तर कलात्मक छ । व्यङ्ग्यले उनका कवितालाई सिङ्गारपटार पारेको छ । पाठकलाई सहजै आकर्षण गराएको छ ।

बिम्ब संयोजन
कवि मातृका पोखरेलका कवितामा प्रयोग गरिएका बिम्बहरू भिन्न शैलीका छन् । भिन्न शैलीका हुँदाहुँदै पनि समसामयिक बिम्ब बन्न पुगेका छन् उनका कविताका बिम्बलाई मिहिन ढङ्गले हेर्दा । नेपाली कविता साहित्यमा उत्पीडनमा परेका कुरालाई उनले हार्दिकताका साथ बिम्बका रूपमा प्रयोग गरेका छन् । उनका कवितामा क्रान्तिबिम्ब, ऐतिहासिक बिम्ब, दृश्यबिम्ब, प्राकृतिक बिम्ब, संवेदनात्मक बिम्ब, प्राकृतिक बिम्ब र निजी बिम्बको प्रयोग भएको पाइन्छ । माक्र्सवादी सौन्दर्य शास्त्रीय चिन्तनमा विश्वास गर्ने कवि मातृका पोखरेल समाजका उपेक्षित कुरालाई आफ्ना कवितामा बिम्ब र प्रतीकका रूपमा उभ्याउन रुचाउँछन् ।
उनका कविताका बिम्ब–प्रतीकलाई हेर्दा बुर्जुवा समाजले नदेखेका कुरालाई सुटुक्क टिपेर प्रयोग गरेजस्तो लाग्छ । उनले आफ्ना कवितामा उत्पीडनमा परेका बिम्ब–प्रतीकको प्रयोग गरेर सामाजिक न्याय दिने काम गरेका छन् ।
कति आलोकित धु्रवताराहरू भिमानका जङ्गलमा निभे
क्षितिजवारिका
काला गाउँहरूमा निभे
तर, उनीहरू झन्–झन् चम्किरहे ।
(आकाश तिमीलाई निम्ता छ ः सेतो दरबारको छेउबाट, पृ. ६)
यहाँ कवि मातृका पोखरेलले वर्गसङ्घर्षको लडाइँमा राज्यपक्षबाट निर्मम हत्या गरेका ऐतिहासिक पात्र आजादलाई आलोकित धु्रवताराको प्रतीक दिएर बिम्बको प्रयोग गरेका छन् । भिमान आज पनि सामाजिक न्यायको लडाइँमा ऐतिहासिक स्थलका रूपमा चिनिन्छ । यसै गरी निरङ्कुशताविरोधी आन्दोलनमा थुप्रै स्वतन्त्रताप्रेमीले जीवनको बलिदान दिए तर तिनीहरू इतिहासमा चम्किरहेको र इतिहास आलोकित भइरहेको ऐतिहासिक तथ्यको उजागर गर्ने ऐतिहासिक बिम्बको संयोजन गरेका छन् कविले ।)
मैले वरिपरि बत्तीहरू खोजेँ
थुप्रै–थुप्रै प्रकारका बत्तीहरू
अँध्रोोका विरुद्धमा ।
(अँध्यारोका विरुद्धमा ः यात्राको एउटा दृश्य, पृ. १३)
यस कवितांशमा कविले बत्ती र अँध्यारोबीचको द्वन्द्व देखाएका छन् । बत्ती मानवीय जीवनको अपरिहार्य पथप्रदर्शक र अँध्यारोलाई पथ अवरोधकका रूपमा देखाएका छन् । यहाँ कविले दृश्यबिम्बको रूपमा बत्ती र अँध्यारोलाई यहाँ देखाएका छन् ।
र भन्यो
‘शान्ति’ जिन्दाबाद
भोका पेट र नाङ्गा आङहरूलाई
गोमन सर्पले झैँ डस्दै भन्यो
‘धैर्य’ जिन्दाबाद ।
(सर्प पूजा ः यात्राको एउटा दृश्य, पृ. २५)
यहाँ कविले गोमन सर्पजस्तो भयानक प्राकृतिक बिम्बको प्रयोग गरेका छन् । शान्ति र धैर्यजस्ता स्थिर बिम्ब निम्नवर्गीय समाजलाई चुप लगाएर बस्न बाध्य पारेको कुरा देखाएका छन् कविले ।
युगौँदेखि सुतेका
मगर कान्छाहरू उठे
च्याङ्बा र दिलमायाहरू उठे ।
(उज्यालो हुनुअघि ः यात्राको एउटा दृश्य, पृ. ४४)
यहाँ कविले सांस्कृतिक जातीय बिम्बको प्रयोग गरेका छन् । अनेकन उत्पीडनका कारण आफ्नो आवाजलाई दबाएर बसेका मगर कान्छा, च्याङ्बा र दिलमायाहरूले आफ्नो अधिकारका निम्ति उठेको कुरा देखाएका छन् । जातीय उत्पीडनको ज्वलन्त प्रमाण देखाइएको छ यहाँ ।
हाम्रो अघिल्तिर
शिकार ढुक्तै गरेको कालो नाग
टाउको घुमाइरहेछ
र कुबाटोमा हिँड्नेहरूको सुरक्षार्थ
हिसाब किताब मिलाइरहेछ ।
(बाटाहरू–२, यात्राको एउटा दृश्य, पृ. ५०)
यहाँ कविले जसले सामाजिक अपराध गर्छ, अराजकता मच्चाउँछ र अरूमाथि थिचोमिचो गर्छ, त्यसैको सुरक्षाका लागि सत्तासीनहरू कालो नाग भएर प्रकट भएको र त्यस्तो प्रकृतिलाई सुरक्षा दिएको कुरा वीभत्स प्राकृतिक दृश्यबिम्बका माध्यमबाट देखाएका छन् ।
एउटा बूढो साइकलमा
प्रत्येक दिन नापिरहेछु
आधा शताब्दी पुरानो
थोत्रिँदै गएको सडक ।
(राजमार्ग र चिन्तित मनहरू ः अनुहारहरू, पृ. ४)
यहाँ कविले बूढो साइकल र थोत्रो सडक बिम्बबाट पुरानो राज्यसत्तालाई इङ्गित गरेका छन् । यसको आयु अब धेरै लामो छैन र यसैमार्फत यात्रा गर्ने हो भने भविष्य सुरक्षित हुन्न । त्यसकारण नयाँ इतिहास सुरुआत हुनुपर्छ भन्ने धारणा बूढो साइकल र थोत्रो सडकलाई ऐतिहासिक बिम्ब बनाएर राखेका छन् ।
ऊ बगर
नयाँ जीवनको सहनाई
उसलाई अप्रिय लाग्छ ।
(ऊ बगर ः खडेरी पर्खन्छ ः अनुहारहरू, पृ. २२)
कविले यहाँ सांस्कृतिक बिम्बका रूपमा सनईलाई प्रयोग गरेका छन् । सनईलाई नयाँ जीवनको गीत गाउने समयसापेक्ष युगबोध गराउने परिवर्तनकारी साधनका रूपमा देखाएका छन् । जसमा समयअनुसार नयाँ युगको नयाँ आवाज यसबाट प्रसारण गर्न सकिन्छ तर पुरानो चिन्तन भएका र ढुङ्गाको जस्तो मन भएका तानाशाहलाई यसको धुन मन पर्दैन भन्ने धारणा अघि सारेका छन् ।
दुई वर्ष वा पाँच वर्षमा
कुदाइरहेको भए हुन्थ्यो
लिगलिगकोटमा नयाँ–नयाँ दौडबाजहरू
हामी नौला चन्द्रमाहरू छोइरहन्थ्यौँ ।
(उनीहरूले सोचेका भए...ः अनुहारहरू, पृ.३२)
यहाँ कविले ऐतिहासिक बिम्ब लिगलिगकोटका माध्यमबाट नेपालको ऐतिहासिक परिवर्तन चाँ–चाँडो भएको भए नेपाली नयाँ–नयाँ शासन व्यवस्थाको अनुभूति गर्न पाउने थिए र जुनचाहिँ उत्तम ठहरिन्छ, त्यसैलाई आत्मसात् गर्ने थिए भन्ने धारणा राखेका छन् ।
कवि मातृका पोखरेलले कवितामा प्रयोग गरेका बिम्बहरूले वर्तमान समयको क्रूर यथार्थतालाई उद्घाटन गरेका छन् । उनका कवितामा बिम्ब कविताजस्तै सरल छन् तर समयसापेक्ष छन् । उनले प्रयोग गर्ने बिम्बहरू कविले प्रयोग गरेभन्दा भिन्न शैलीका छन् । समाजमा रहेका उपेक्षित र उत्पीडित पात्र र वस्तुलाई बढी महत्व दिएका छन् । यिनै विन्यासयुक्त बिम्बले कविताको अन्तर्वस्तुलाई सौन्दर्यात्मक र प्रगतिशील बनाएका छन् ।

कलाको प्रयोग
मातृका पोखरेल वैचारिक पक्षलाई कवितामा कलात्मक ढङ्गले प्रस्तुत गर्नुपर्छ भन्ने मान्यता राख्ने कवि हुन् । कलाबिनाको विचार मात्रै थोपर्दा कविता निरस हुन्छ र कविता जस्तो बन्दैन भन्ने कुरामा विश्वास राख्छन् कवि मातृका पोखरेल । कलाको सम्प्रेषणीयताले नै कविताको अन्तर्वस्तु उज्यालिने भएकाले कवितामा कलाको अनिवार्यता हुन्छ । अलङ्कार वा कलाबिनाको कविताले काव्यको उपहास गर्छ भन्ने कुरामा विश्वास गर्ने कवि मातृका पोखरेलका कवितामा वैचारिक र कलात्मकताको सुन्दर सम्मिश्रण पाइन्छ ।
वैचारिक रागलाई कलाको लेपनले सुनमा सुगन्ध मिसिएजस्तै सौन्दर्यात्मक बनाउन चाहन्छन् कवि मातृका पोखरेल कवितालाई । कला र विचारको संयोजनले मात्रै कविता हुन सक्छ भन्ने कुरामा सचेत कवि मातृका पोखरेलको उदाहरणका रूपमा तलको कवितांशलाई लिन सकिन्छ ।
मैले उनीहरूको अनुहारमा हेरेँ
चिउँडोबाट दुखिरहेको देश
तप्प–तप्प बगिरहेको थियो ।
(यसपटक दसैँमा ः यात्राको एउटा दृश्य, पृ. १५)
यहाँ कविले प्रयोग गरेको कवितालाई हेर्दा पाठकको मनलाई ह्वात्तै लोभ्याएको छ । मजुरको पसिना, चिउँडोबाट चुहिएर यही देशमा खसेको छ । उनीहरूले देशलाई ढाकरमा बोकेर भए पनि जोगाइरहेका छन् । तर उनीहरूको पीडा र मर्मलाई देश चलाउने शासकले बुझ्न नसकेको कुरालाई देखाएका छन् । श्रमजीवी जनताप्रति सम्मान व्यक्त गरिएको यस कवितांशमा कविले उच्च काव्यात्मक कलाको प्रयोग गरेका छन् । ‘चिउँडोबाट दुखिरहेको देश’ जस्तो पदावलीको प्रयोग गरेर मजदुरको पीडालाई कलात्मक तरिकाले देखाएका छन् कवितामा ।
कवि मातृका पोखरेलका कवितामा काव्यिक कलाको सुन्दर संयोजन पाइन्छ । उनका कविता पढ्दा पाठकले आफ्नो पीडालाई कलात्मक ढङ्गले शब्दमा उनेको अनुभूति गर्दछन् ।
उसले आज बिहानै समाचार सुनी
जङ्गबहादुरहरू,
माथवरसिंहहरूको हत्यारा खोज्ने
आयोग बनाइरहेका छन् ।
(अब आफ्नै बाटो रोज्नुपर्छ ः यात्राको एउटा दृश्य, पृ. २६)
जुन मान्छेहरू आफैं हत्या गर्दै हिँड्छन् र हत्याराको खोजी गर्नुपर्छ भन्दै आयोग बनाउँदै हिँड्छन् । जङ्गबहादुरले आफ्नै मामा माथवरसिंहको हत्या गरेर आफ्ना प्रतिपक्षीहरूलाई सखाप पार्नका लागि कोत सबै  मानिसलाई जम्मा गरेजस्तै वर्तमानमा पनि क्रूर तानाशाहहरूले त्यस्तै कार्य गरिरहेको नग्न सत्यलाई कविले ऐतिहासिक बिम्बको प्रयोगबाट देखाएका छन् । हत्यारा जङ्गबहादुरले आयोग बनाएको दृश्यलाई देखाएर अनुकरणीय कलाको प्रयोग गरेका छन् ।
जलजला काख फराकिलो पार्नुपर्छ
यात्रा अझै लामो छ
जूनसँग अँगालो हालेर
नाच्ने दनि अझै–अझै टाढा छ ।
(जलजला ः यात्राको एउटा दृश्य, पृ. ३०)
कविले यहाँ काख फराकिलो पार्नुपर्छ भन्ने सुन्दर पदावलीको प्रयोगबाट सङ्कीर्ण र तुच्छ विचारलाई परित्याग गर्नुपर्ने धारणा राखेका छन् । सङ्घर्षको सयरलाई लक्ष्यमा पु¥याउनका लागि धेरैभन्दा धेरै मान्छे र तिनका मस्तिष्कलाई एकाकार गरेर अघि बढे मात्रै लक्ष्यमा पुग्न सकिन्छ भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् कविले ।
सदीऔंदेखि अचानो बनेर
आफन्तहरू पीडा हाँसिरहेछन्
पुसमाघको ठिहीमा
चिसो हिउँले काटिएको मन
भविष्यको पर्खालमा टाँगेका छौं ।
(भविष्यका लागिः यात्राको एउटा दृश्य, पृ. ३७)
नेपाली समाजले सदियौंदेखि अरूको पीडालाई आफ्नो बनाएर हिँडिरहेको तर कुनै पनि किसिमको उपलब्धि हासिल नभएको र दुखित मन लिएर भविष्यमा त केही होला कि भन्ने आशा लिएर बाँच्नुपरेको यथार्थतालाई कविले यहाँ देखाएका छन् ।
एक थुँगा फक्रेको फूल
आफ्ना लागि राखिन
कलिला जूनहरूको श्रद्धाञ्जलीमा
मेरो बगैंचा मरुभूमिझैं रित्तियो ।
(कलिला जूनहरूको श्रद्धाञ्जलीमाः यात्राको एउटा दृश्य, पृ.४२)
यहाँ कवि मातृका पोखरेलले कलात्मक ढङ्गले नेपालमा भएका थुप्रै आन्दोलनमा थुप्रै मान्छेले बलिदान दिए तर उपलब्धि चाहिँ मात्र शून्य हात परेकोमा आक्रोश व्यक्त गरेका छन् । सहिदलाई वर्षमा एक दिन बगैंचा रित्तिने गरेर मात्र फूल चढाउने तर उनीहरूका आदर्शलाई बिर्सिने प्रवृत्तिको विरोध गरेका छन् । के हाम्रो देश सहिद मात्र जन्माउने देश हो ? हामीले परिवर्तन अनुभूति कहिल्यै पनि नपाइने हो ? भनेर शङ्का व्यक्त गरेका छन् कविले ।
अझै घोडा चढेर
आक्रोशित मुद्रामा
सहिदगेटका सालिकहरूलाई
जङ्गबहादुरहरू
नेपथ्यबाट घुरिरहेछन् ।
(एउटा पुजारीको आत्मकथा ः यात्राको एउटा दृश्य, पृ. ५८)
परिवर्तनलाई नरुचाउने मानिसहरू परिवर्तनको प्रतीकका रूपमा ठड्याइएका सालिकहरूलाई हेरेर आक्रोशित भइरहेको दृश्यलाई देखाएका छन् कविले । यथास्थितिका पुजारीहरू जहिले पनि जङ्गबहादुरले जस्तै परिवर्तनप्रति औँलो ठड्याउँछन् भन्ने कुरालाई यहाँ कविले कलाको उच्च प्रयोगबाट देखाएका छन् ।
मजस्तै उनीहरू पनि खोजिरहेछन्
झर्झराउँदा आँखा भएका मान्छेहरू
निर्दोष अनुहारको सम्झनामा ।
(सपना ः यात्राको एउटा दृश्य, पृ. ६०)
यहाँ कविले झर्झराउँदा आँखा कलात्मक पदावलीको प्रयोग गरेका छन् । निर्दोष मान्छेहरूले द्वन्द्वकालीन अवस्थामा आहत हुनुपरेको र सचेत मान्छेहरूप्रति भएको बर्बर दमन र यातनाका विरुद्ध सबै जनाले सचेत ढङ्गले प्रतिरोध गर्नुपर्ने र आफ्नो सपना साकार पार्नुपर्ने आग्रह गरेका छन् ।
म तयार छु–
उनीहरूको पछि लाग्न
तर उनीहरूसँग आँखा हुनुपर्छ ।
(सर्त ः अनुहारहरू, पृ. १)
सँगसँगै यात्रा गर्नका लागि सँगै हिँड्ने साथीको पनि फराकिलो सोचाइ र सचेत मस्तिष्क हुनुपर्छ । अरूका सर्तलाई आफ्नो बनाउने क्षमता हुनुपर्छ भन्ने कुरालाई कविले आँखा हुनुपर्छ भन्ने कलात्मक पदावलीका माध्यमबाट अघि सारेका छन् । यहाँ आँखालाई चेतनाको प्रतीकका रूपमा लिइएको छ ।
घाम रोपेर हिँड्ने एउटा मान्छे
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे म¥यो ।
(उसको मृत्युमा ः अनुहारहरू, पृ. ११)
घाम रोप्नु भनेको नयाँ विचार प्रसारण गर्नु हो । उत्पीडनमा परेका मान्छेलाई त्यसको विरुद्धमा उठ्न सचेत गराउनु हो । यस्तै चेतनाको संवाहक र असल मानिसलाई बेपत्ता बनाउँदै हत्या गरेको कुरालाई कविले कलात्मक रूपमा यहाँ प्रस्ुत गरेका छन् ।
लाटोकोसेराहरू,
घामको सुन्दरताको बखान गर्न
व्यासासनमा बस्नेछन्
र, इतिहासको क्रूर नियति बोकेर
वर्तमान बगिरहने छ ।
(सबै कुरा साँचो हुनेछ ः अनुहारहरू, पृ. १९)
यहाँ कविले स्वतन्त्रता र स्वाधीनताको कुरा लाटोकोसेरारूपी तानाशाहहरूले बखान गरेकोमा खिन्नता प्रकट गरेका छन् । लाटोकोसेरो जो दिनभरि निदाएको अभिनय गर्छ र रात परेपछि सिकार गर्न अनुकूलता ठान्छ, त्यसैले घामको सुन्दरताको बयान गर्नुले के कुरा देखाउँछ भने जुन तानाशाह लोकतन्त्र भन्नेबित्तिकै तर्सन्छ, त्यसैले लोकतन्त्रको कुरा गर्नु इतिहासलाई बङ्ग्याउनु मात्र हो भन्ने धारणा कविले कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् ।
मिथक कथाजस्तै
बच्चाहरूले सुनाउँदै जानेछन्
यो कथा पछिसम्म
पुस्तापुस्ताको अन्तरालपछिसम्म ।
(अचेल मान्छेहरू ः अनुहारहरू, पृ. ३०)
यहाँ कविले कलात्मक शब्द संयोजन गरेका छन् । यही कलात्मक शब्द शिल्पका माध्यमबाट इतिहासको कुनै कालखण्डमा घटेका विभत्स घटनाहरू पुस्तौनी अन्तरालपछि मिथक जस्तै भएर रहन्छन् र एकपछि अर्को पुस्तामा सर्दै जान्छन् भन्ने कुरालाई देखाएका छन् ।
म क्रोधले आहत भएँ
म अतीतसँग क्रुद्ध भएँ
म सेतु सुनार
मैले खाडलमाथि उठ्न
बलिदानको एउटा भ¥याङ लाएँ ।
(वनफूल र सपनाहरू ः अनुहारहरू, पृ. ४५)
कवि मातृका पोखरेलले यहाँ विगतका अमानवीय इतिहाससँग विमति राख्दै नयाँ मानवीय मूल्य र मान्यता भएको इतिहास निर्माणका लागि सेतु सुनारले बलिदान दिएको कुरा देखाएका छन् । विगतका इतिहासहरू विभेदकारी भएको र मानवीय मूल्यलाई समेत खाडलमा हालिएको, त्यसैका आडमा मान्छे–मान्छेबीचको विभेद खडा भएको र समतामूलक समाजका लागि नयाँ इतिहास रच्नुपर्ने आग्रह कविले सेतु सुनारका माध्यमबाट कलात्मक ढङ्गले प्रस्ुतत गरेका छन् ।
कवि मातृका पोखरेल कलात्मक मूल्य र मान्यताको सम्मानबाट मात्रै कवितामा वैचारिक पक्षलाई बलियोसँग प्रस्तुत गर्न सकिन्छ भन्ने धारणा राख्छन् । उत्पीडनमा परेका कुरालाई सरल ढङ्गले कलात्मक रूपमा प्रस्तुत गर्नु उनको विशेषता हो । यही विशेषताले नै उनलाई कवितामा जीवन्त बनाएको छ; उनका लागि कविता कालजयी बनेका छन् ।

उपसंहार
चालीसको दशकदेखि नेपाली कविता साहित्यमा समर्पित कवि मातृका पोखरेलका सेतो दरबारको छेउबाट, यात्राको एउटा दृश्य र अनुहारहरू गरी तीनवटा कृतिहरू अहिलेसम्म प्रकाशित भएका कृति हुन् । उनका कवितासङ्ग्रहले वर्तमान नेपाली समाजका विकृति र विसङ्गतिमाथि हस्तक्षेप गर्नुपर्छ भन्ने मान्यता बोकेका छन् । पहिलो कृतिभन्दा पछिल्लो कृति बढी कलात्मक देखिन्छ । कला र विचारको संयोजनबाटै सुन्दर कविताको निर्माण हुन्छ भन्ने कुरामा उनी विश्वास राख्छन् । यो नै कवि मातृका पोखरेलको निजत्व पनि हो । विचार, कला, व्यङ्ग्य र बिम्बको संयोजन नवीन ढङ्गबाट गरेका हुन्छन् उनले कवितामा । यसले गर्दा उनका कविता जीवन्त बनेका छन् । परम्परागत र शास्त्रीय चिन्तनभन्दा भिन्न कोणबाट नेपाली कविताको पहिचान हुनुपर्छ भन्ने मान्यता उनका कविताले राखेका छन् । यो नै कवि मातृका पोखरेलको निजत्वपूर्ण उपलब्धि र पहिचान हो ।

सन्दर्भसूची
पोखरेल, मातृका, सेतो दरबारको छेउबाट, (सृजनशील प्रकाशन, मैतीदेवी, काठमाडौं, प्र.सं., वि.सं २०५६)
पोखरेल, मातृका, यात्राको एउटा दृश्य, (विवेक सिर्जनशील प्रकाशन प्रा.लि. प्र.सं., वि.सं. २०६०)
पोखरेल, मातृका, अनुहारहरू, (धवलागिरि साहित्य प्रकाशन, २०४१, बाग्लुङ, प्र.सं.,वि.सं. २०६४)
डा. पाण्डेय, ताराकान्त, प्रगतिवाद र कविता, (शीला योगी, काठमाडौं, प्र.सं., वि.सं. २०५६)
डा. गौतम, लक्ष्मणप्रसाद, समकालीन नेपाली कविताका प्रवृत्ति (पैरवी प्रकाशन, रामशाहपथ, काठमाडौं, प्र.सं., वि.सं. २०६०)
कड्वेल, क्रिस्टोफर, विभ्रम और यथार्थ (राजकमल प्रकाशन प्रा.लि., दिल्ली, सन् १९९८)

=====================================
समिक्षा 
 " अनुहारहरु" मा प्रतिबिम्बित अनुहारहरु 
- तेजविलास अधिकारी 









साभार - शब्दाङ्कुर साहित्यप्रधान मासिक , वर्ष - १५ , अङ्क - ७ , पूर्णाङ्क - १७५ , - २०७३ बैसाख 



No comments:

Post a Comment