- मातृका पोखरेल
पानी पर्ने दिन
आँखा झिमिक्कै पार्न पाइँदैन
रातभर अनिँदो बस्नुपर्छ
अब यो घर
हिजोको जस्तो रहेन ।
फेरि पनि मनभित्र
एउटा पुरानो उत्कण्ठा सल्बलाइरहेकै छ —
मात्र यो घरले
हुरी छेकीदिए हुन्थ्यो
वर्षादको पानी रोकिदिए हुन्थ्यो
छानाबाट हरदम डर चुहिरहन्छ
न झकाउन सकिन्छ
न निदाउन सकिन्छ
लेउ लागेका भित्ताहरूले
अविश्वास र असुरक्षा लेखिएका
म्यादहरू तामेली गरिरहेकाछन् ।
उहिले भन्नेहरूले भने -
यो हामी धेरै अट्ने घर हो भने
यो घरमा बसेपछि कोही अपमानित हुनु पर्दैन भने
हामी सबैले पत्यायौं
र घरलाई खुवै माया गऱ्यौँ
म जस्तै
इतिहासका धेरै पाइलाहरू
यस घरको आँगनमा आए
भविष्य खोज्नेहरू आए
मुक्ति खोज्नेहरू आए
नयाँ सपना बोकेर आएका
थकित अनुहारहरू आए
सबै मिलेर माटो र रगत मुछे
घरको जग बढाए
र पसिनाको गाह्रो लगाए ।
जब तिमीले अगुवा भएर भन्यौ -
यसलाई सबैको घर बनाउँछु
त्यही दिनदेखि
मेरो घर भन्दै गोमनहरू पस्न थाले
मेरो घर भन्दै आए खजुरा र बिच्छीहरू
घर क्रमशः खण्डहर बन्दै छ
भविष्य खोज्नेहरू निरास छन्
मुक्ति खोज्नेहरू हरेस खान थाले
सपना देख्नेहरू देख्न छाडे
यतिवेला -
उनीहरु निरन्तर घर छाडिरहेछन्
यो घरलाई विश्वास गरेकोमा पछुतो मानिरहेछन्
सोचौं, धेरै सोचौं
घरको आस्था भनेको -
कम्तीमा विश्वासको निद्रा लाग्नुपर्छ
कम्तीमा भोलिको भरोसा बन्नुपर्छ
फेरि पनि घर चाहिन्छ
तर घर घरजस्तै
जहाँ पानी परेपछि पनि निदाउन सक्नुपर्छ
जहाँ बच्चाहरू निर्भयसँग खेल्न सक्नुपछ
जहाँ आमाहरूले मुस्कुराएर आशीर्वाद दिन सक्नुपर्छ
जबसम्म तिमी
यो घरलाई सबैको भन्छौ
वर्ग प्रेमको यो घर भत्काउन योजना कोर्नेहरू
भान्साको पिर्कामा बसेर
डाडु पनिउँ समाइरहेछन्
कोठाचोटा कब्जा गरिरहेछन् ।
मलाई अब मेरो घर
खण्डहर होइन
भव्य र सुरक्षित चाहिएको छ
अरबको मुटु फुटाउने तातो हावामा भविष्य खोजिरहेको
कान्छो भाइलाई बोलाउनु छ र भन्नु छ
मुम्बईमा बेचिएकी बहिनीलाई
स्वदेश फर्काएर विश्वास दिलाउनु छ
सोचौँ—
धेरै सोचौँ
कालकुट विष पिएर बाँचेको यो घर
कम्तीमा विश्वासको निद्रा लाग्ने ठाउँ बन्नुपर्छ
म अहिलेसम्म
यही घरभित्र बसेर
यो घरलाई मेरो भनेर दावी गर्ने
गोमन सर्पहरूसँग लडिरहेको छु
खजुरा र बिच्छीहरूसँग लडिरहेको छु
जबसम्म यो घर खण्डहर हुन्छ
त्यस दिनसम्म
म यो प्रश्न बोकेर
तिमीसँग लडिरहन्छु
लडिरहन्छु ।
ooo



































































