- मातृका पोखरेल
बाहिर बिछट्टै अँध्यारो छ
यो अँध्यारोमा पनि
प्रेरणाको एउटा श्वेत चन्द्रमा उदाएको
म सधैँ देख्ने गर्छु
यिनै प्रेरणाहरू बोकेर
शब्दका मोतीहरू सँगालेर
म आशाको माला गाँसिरहन्छु
सधैँसधैँ यस्तै अँध्यारोमा पनि
म त्यो श्वेत चन्द्रमालाई भेटिरहन्छु
हो त्यही कारण
म यो अँध्यारोमा पनि निरन्तर हिँडिरहन्छु ।
मानिस हुँ म पनि
निराशाको सागरमा
धेरै पटक डुबुल्की लगाइसकेको छु
हिँड्ने बाटोमा पाइलाहरू ढलपल नगरेका ह्वैनन्
तर पनि हरेक कदममा आत्मविश्वास उमारेकै छु
मलाई राम्ररी थाहा छ,
असफलताका अनुभव पनि सम्पत्ति हुन्
सफलतै सफलता ज्ञानको भण्डार होइन
हरेक हार एउटा शिक्षक हो
हरेक शिक्षक एउटा मार्गदर्शक हो
हो त्यही कारण
मैले यो अँध्यारोमा पनि यात्रा जारी राख्ने निर्णय गरेको छु ।
सपनाहरू टुक्रिएका छैनन् पनि भन्दिन
आशाका पर्खालहरू भत्किएका छैनन् पनि भन्दिन
तर यो विखण्डनको महाप्रलयमा
विश्वासका टुक्राहरू जोडेर
नयाँ सपनाको महल बनाइरहन्छु
हरेक टुक्रा एउटा अनुभव हो
हरेक अनुभव एउटा आधार हो
हो त्यही कारण
म यो भग्नावशेषमा उभिएर
एउटा स्वप्नबगैंचा निर्माण गरिरहेकोछु ।
जीवनको दौडमा कहिलेकाहीँ थकित हुन्छु
पसिनाले भिजाएको शरिर बोकेर
थकानको यो अक्करे भीरमा पनि
विगतका विजयहरूको सुगन्ध महसुस गरिरहेको छु
म त्यही सुगन्धहरू सुँघेर
नयाँ ऊर्जाको भण्डार सञ्चय गरिरहन्छु
हरेक श्वास एउटा प्रयास हो
हरेक प्रयास एउटा प्रतिज्ञा हो
हो त्यही कारण
म यो थकानमा पनि निरन्तर दौडिरहेकोछु ।
बाटो नहराएको पनि होइन कहिलेकाहीँ
ठक्कर नखाएको पनि होइन ढुङ्गा र काँढाहरूमा
दिशा भ्रमित नभएको पनि होइन कहिलेकाहीँ
तर यो निख्खर कालो अन्धकारमा पनि
मेरो मनको आँगनमा एउटा दियो बलिरहेकैछ
म त्यसै उज्यालोको सहारामा
आफ्नै बाटो कोरिरहन्छु
हरेक मोड एउटा चुनौती हो
हरेक चुनौती एउटा अवसर हो
म जान्दछु
यो अँध्यारो अनन्त होइन
म सधैँसधैँ यस्तै अँध्यारोमा पनि
त्यो श्वेत चन्द्रमालाई भेटिरहन्छु ।
आशाको दियो ननिभोस्, होसियार छु
विश्वासको झण्डा झुक्नु हुँदैन, होसियार छु
भ्रमको गन्तव्यमा साहसको हतियार खस्नु हुँदैन, होसियार छु
जीवन पनि युद्धभूमि नै हो
म जान्दछु
भोलि फेरि उज्यालो हुनेछ
म फेरि उठ्नेछु
म फेरि हिँड्नेछु
म फेरि जित्नेछु
म सधैँसधैँ यस्तै अँध्यारोमा पनि
त्यो श्वेत चन्द्रमालाई भेटिरहन्छु ।
ooo
No comments:
Post a Comment