Tuesday, October 7, 2025

समाजमा अन्याय बाँकी रहुन्जेल प्रगतिशील साहित्यको प्रकाश कहिल्यै कमजोर हुँदैन - मातृका पोखरेल (अन्तर्वार्ता )

 १. तपाईंको विचारमा साहित्यकारको स्वभाव चञ्चल कि अस्थिर ? कस्तो हुनुपर्छ ।

- अनौठो प्रश्न गर्नुभयो । यस्तो प्रश्न मैले पहिलो पटक सुन्दैछु । यो प्रश्नले के संकेत गर्छ भने साहित्यकार सबैको स्वभाव एकै प्रकारको हुनुपर्छ । तर त्यस्तो हुँदैन । हामीले चिनेका साहित्यकारहरुलाई हेऱ्यौं भने पनि साहित्यकारहरुको स्वभाव एकै प्रकारको हुन्छ भन्ने मलाई लाग्दैन । एउटा कुरामा चाहिँ केही भिन्नता हुनसक्छ । साहित्यकार अलिक बढि जिज्ञासु, हरेक कुरामा आफैंप्रति प्रश्न गर्ने चाहिँ हुनुपर्छ । साहित्यकार स्वभावतः संवेदनशील चाहिँ हुन्छन्, किनकि उनीहरू सामान्य मानिसले देख्न नसकेका सानासाना घटना, पीडा वा सौन्दर्यलाई पनि गहिरो रूपमा महसुस गर्न सक्छन् । तर त्यो संवेदनशीलता अस्थिरताको रूपमा ब्याख्या गर्नु हुँदैन । त्यसलाई समाजलाई देख्ने नयाँ दृष्टिको रूपमा ब्याख्या गर्नु उपयुक्त हुन्छ । साहित्यकार केही चञ्चल हुन्छन् भनेर व्याख्या गर्न नसकिने होइन, सत्य खोज्ने बेचैनीका कारण चञ्चल भएको देख्न पनि सकिएला । नयाँ सम्भावना र नयाँ भविष्य निर्माण गर्ने आकांक्षाका कारण चञ्चल भएको देख्न पनि सकिएला । तर साहित्यकारहरुको स्वभाव एकै प्रकारको हुँदैन ।

२. तपाईं साहित्य किन लेख्नु हुन्छ ?

- साहित्य मेरो सानै देखिको रुचीको विषय थियो र अध्ययनको पनि क्षेत्र थियो । पुराना स्रष्टाबाट केही प्रेरणा पाएँ । त्यही प्रेरणाका कारण नयाँ पुस्तालाई केही दिन पो सक्छु कि भन्ने एउटा महत्वाकांक्षाले काम गऱ्यो । त्यसलाई महत्वाकांक्षा भने पनि भयो, जिम्मेवारी भने पनि भयो । विस्तारै साहित्यको पठन र लेखन जीवन-शैलीको रूपमा विकास भयो । आरम्भमा बेग्लै सोचका साथ लेख्न सुरू गरेँ । त्यो सोचमा अहिले निकै परिवर्तन आइसकेको छ । साहित्य जीवनलाई बुझ्ने र बुझाउने प्रक्रिया पनि हो भन्ने बुझ्न थालेको छु । साहित्यले समाजलाई कति परिवर्तन गऱ्यो, सहजै मापन गर्ने विषय होइन । तर साहित्यले मलाई पनि परिवर्तन गरिरहेको बोध गरिरहेको छु । साहित्य लेखनमा मेरा फरकफरक रूचीहरुले काम गर्छन् । साहित्यमा शब्द र विचारको सौन्दर्यले मलाई प्रभाव पारिरहेका हुन्छन् । साहित्यिक सिर्जनाले जीवनलाई कलात्मक ढङ्गले प्रस्तुत गर्न पाउने खुसीले पनि मलाई निरन्तर लेख्न प्रेरित गर्छ ।

३. तपाईंका अधिकांश कवितामा उत्पीडित, अन्याय अत्याचारमा परेकालाई मूलमा राखिएको पाइन्छ । लेखनमा तीनलाई न्याय कत्तिको गर्न सकेको ठान्नुहुन्छ ?

- म उत्पीडितलाई केवल पीडित पात्रका रूपमा होइन, परिवर्तनका सम्भावना बोकेका शक्ति र सामाजिक रुपान्तरणका नायकका रूपमा प्रस्तुत गर्न चाहन्छु। किनकि प्रगतिवादी साहित्यले केवल पीडा चित्रण मात्र होइन, प्रतिरोध र सम्भावनाको चित्रण पनि गर्नुपर्छ भन्ने मेरो विश्वास हो । तर, सूत्रलाई अघिल्तिर राखेर लेख्दिन । यो त मेरो मान्यता हो । मेरो दृष्टिमा साहित्य हेपिएका, अन्यायमा पारिएकालाई अधिकार खोज्न सचेत गराउने एउटा शक्तिशाली माध्यम बन्न सकेमा त्यो धेरै सुन्दर कुरा हो। त्यस दृष्टिले हेर्दा, मेरो कविताले उनीहरूको पीडा, असमानता र आवाजलाई मुख्य विषय बनाएको छ भन्ने तपाईंले महसुस गर्नुभएकोमा म खुसी छु । तर, म आफैंलाई आलोचनात्मक दृष्टिले हेर्दा, मैले लेख्ने साहित्यमा अझ धेरै गहिराइ, अझ धेरै साहस र अझ धेरै भोगाइ उतार्न बाँकी छ भन्ने महसुस गर्ने गर्छु ।

उत्पीडितहरूको संघर्षको यात्रा धेरै लामो छ । त्यो यात्रामा मेरा कविताले थोरै मात्र भए पनि सहयात्रीको आवाज उठाइदिएको महसुस गराइदिन सके भने साहित्य लेखनको मेरो उद्देश्य धेरै अर्थमा सफल भयो भन्ने ठान्छु । सामाजिक न्याय प्राप्त गर्न अझै लामो संघर्ष बाँकी नै छ, र त्यो संघर्षलाई बल दिनु पनि मेरो लेखनको प्राथमिक ध्येय हो ।

४. यत्तिखेर उडन्ते साहित्य अर्थात् जादुमयी यथार्थवाद (म्याजिकल रियालिज्म), स्वैरकल्पनाको जगजगी चलेको छ नि ? यसबारे के भन्नु हुन्छ ।

- उडन्ते साहित्यको जगजगी आजमात्र होइन, हिजाे पनि थियो । जसरी हिजोको उडन्ते साहित्य आजसम्म बाँच्न सकेनन् । त्यसैगरी आजको उडन्ते साहित्यको आयु भोलिसम्म हुँदैन भन्ने कुरामा म प्रष्ट छु । उडन्ते साहित्यको भविष्य त्यति लामो हुन्छ भन्ने मलाई लाग्दैन । उडन्ते साहित्य अर्थात जादुमयी यथार्थवादका बारेमा केही भिन्न दृष्टिकोणसहित् अचेल केही सकारात्मक वहस भइरहेको पनि पढेको छु । यसलाई समाजको गहिरो यथार्थसँग पनि जोड्न सकिन्छ भनेर केही यथार्थवादी समालोचकहरूले भन्ने गरेका छन् । समालोचकहरूले बारम्बार एउटा उदाहरण अघि सारेको देख्छु म । ल्याटिन अमेरिकी साहित्यमा यो शैलीले उपनिवेशवाद, दमन र असमानताविरुद्ध आवाज बुलन्द गर्न ठूलो भूमिका खेलेको थियो भन्ने उदाहरण । उनीहरु भन्छन्, 'त्यसरी प्रयोग गर्न सकियो भने त्यो प्रगतिशील साहित्यकै भाग बन्न सक्छ ।' जादुमयी यथार्थवाद वा स्वैरकल्पना पनि एउटा रोचक प्रयोग हो, जसले कथनलाई कलात्मक, रहस्यमय र गहिरो प्रभाव पार्ने काम गर्छ भन्ने पनि गरिन्छ । यसले सामान्य यथार्थलाई नयाँ आँखाले देख्ने अवसर दिन्छ भन्ने धारणा पनि बढ्दो छ । तर यो प्रयोग हाम्रोमा भएकै छैन भने पनि हुन्छ ।

साहित्यले चाहे जुनसुकै शैली अपनाओस् - मुख्य कुरा चेतना हो । यदि साहित्यिक रचनामा शैली मात्र बाँकी रह्यो र जीवनको वास्तविकता, सुख, दुख,पीडा, अन्याय र संघर्ष हरायो भने त्यो अर्थहीन र हावादारी सिर्जनामात्र हुन्छ । हाम्रोमा यदि जादुमयी यथार्थवादले जीवनको गहिरो यथार्थ, उत्पीडितको आवाज र परिवर्तनको आकांक्षा व्यक्त गर्न सकेछ भने त्यसबेला फरक मूल्याङ्कन गरौंला । तर अहिलेसम्म लेखिएका स्वैरकल्पनामा आधारित साहित्यिक सामाग्रीहरूले नेपाली समाजलाई अभिव्यक्त गर्न सकेका छैनन् ।

५. पछिल्लो समय लेखकले लेखिसकेपछि सम्पादन गराउने तथा विषय दिएर लेख्न लगाउने चलन पनि चलेको पाइन्छ नि ? यसबारे तपाईको धारणा जान्न कस्तो छ ।

सम्पादन कुनै पनि साहित्यिक सिर्जनाको गुणस्तर बढाउने महत्त्वपूर्ण प्रक्रिया हो । भाषा, संरचना वा प्रस्तुतीलाई स्पष्ट बनाउन सम्पादन आवश्यक हुन्छ, यसलाई नकार्न सकिन्न । तर प्रगतिवादी दृष्टिले समस्या त्यहाँ हुन्छ, जहाँ लेखकको मौलिक आवाज हराउँछ र सम्पादक वा अरू कसैले दिएको विषय वा धारणा हावी हुन्छ। त्यो अवस्थामा साहित्य सिर्जनात्मक स्वतन्त्रता होइन, ठेक्का लेखनतर्फ धकेलिन्छ, जसले आलोचनात्मक चेतभन्दा बढी कृत्रिमता जन्माउँछ । भनिन्छ, अहिलेको लेखनमा यो अवस्था बढ्दो छ ।

लेखकले लेखनमा समाजको यथार्थ, उत्पीडितको पीडा, असमानता र भविष्यप्रतिको आशा भित्र्याउनुपर्छ। त्यो जिम्मेवारी अरूले दिएको विषय वा शैलीमा मात्रै सीमित हुँदा क्षीण हुन्छ। अवश्य, साझा विषयमा लेख्न आग्रह गर्न सकिन्छ, तर अन्ततः साहित्य मौलिक अनुभूति र लेखकको आफ्नै चेतबाट जन्मिनुपर्छ ।

६. साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ? र तपाईंको विचारमा साहित्य खासमा कस्तो हुनुपर्छ ?

मेरो दृष्टिमा साहित्य जीवनसँग गहिरो सम्बन्ध राख्ने, समाजको पदचाप महसुस गर्ने र त्यसलाई शब्दमा उतार्ने संवेदनशील कलाशक्ति हो । साहित्य अभिव्यक्तिको एउटा माध्यम हो । साहित्यले पाठकलाई सोच्न, प्रश्न गर्न, र परिवर्तनको सम्भावना देख्न प्रेरित गर्नुपर्छ । मलाई साहित्यले असमानतालाई प्रश्न गरोस् भन्ने लाग्छ । भविष्यतर्फको यो बाटो सुन्दर हो भन्न सकोस् भन्ने लाग्छ ।

७. तपाईं कसको प्रेरणा स्वरूप साहित्य सिर्जनामा लाग्नु भएको हो ?

- साहित्य सिर्जनामा लाग्ने प्रेरणा मैले धेरैतिरबाट प्राप्त गरेँ । पहिलो प्रभाव पर्ने वातावरण घर परिवारबाटै थियो । घरमा पौराणिक साहित्यिक पुस्तकहरूको वाचन र चर्चा भइरहन्थ्यो । संस्कृत साहित्य र फलित ज्योतिषका छन्दोबद्ध श्लोकहरुको खुबै प्रयोग हुन्थ्यो । पहिलो प्रभाव त्यही हुनुपर्छ । त्यसले मेरो साहित्य तर्फको रूची बढायो । त्यसपछि दाजु र मामासँग काठमाण्डौ पढ्न आएँ । मामा मोहिनी अधिकारी भानुभक्त मेमोरियलमा पढाउनु हुन्थ्यो । व्यवस्थित ढङ्गले सृजनकर्ममा नलागे पनि मामा प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो । मामासँग बस्दाबस्दै मैले गौरी, मुनामदनलगायत कैयौं काव्यहरू कण्ठ पारिसकेको थिएँ । यिनै परिवेशहरू मेरा साहित्य सिर्जनाका प्रेरणा हुन् ।

८. नेपाली साहित्यमा नलेखिएको विषय कुनै बाँकी छ ?

परिवर्तनशील समाजमा नयाँनयाँ विषयहरूको उपस्थिति भइरहन्छ । त्यसैले साहित्यको काम कहिल्यै पूर्ण हुँदैन । वर्गीय असमानताका कैयौं विषयहरू लेख्नै बाँकी छन् । हिजोको नेपाली साहित्यमा गोर्खा भर्तिमा रगत बगाउने नेपाली युवाहरुको संवेदनाका बारेमा धेरै लेखियो, त्यो भन्दा खाडी राष्ट्रमा नारकीय जीवन बिताउने नेपाली युवाको बारेमा यथेष्ट मात्रामा लेखिएको छैन । नेपाली जनतामाथि थोपरिएका अन्याय र अत्याचारका स्वरूपहरू फेरिँदै गएका छन् । तिनीहरूमाथि केही लेखिँदै छन् तर लेखिन बाँकी धेरै छन् । फेरि अर्को महत्वपूर्ण कुरा साहित्यमा के लेखियो भन्दा कसको पक्षमा र कसको हितमा लेखियो भन्ने पनि हो । उच्च वर्ग र मध्यम वर्गका कथा-व्यथा धेरै साहित्यमा लेखिए पनि तल्लो वर्ग वा दविएका आवाजको पक्षमा लेखिन धेरै विषयहरू बाँकी छन् ।

९. तपाईंलाई साहित्यमा लागेर अहिलेसम्म के पाएँ, अनि के गुमाएँ जस्तो लाग्छ ?

- मैले साहित्यमा लागेर जीवन र समाजलाई बुझ्ने दृष्टि पाएँ । साहित्यले मलाई मानिसभित्रको पीडा, संघर्ष र सपनालाई पढ्न सक्ने आँखा दियो । यसमा मेरा दुइटा चरण छन् भन्ने लाग्छ । पहिले साहित्य लेख्दा अरू आफूले पढेर प्रभावित भएका साहित्यकारलेझैं लेख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । भित्रभित्र नाम कमाउने धुनले काम गऱ्यो जस्तो लाग्छ । त्यसपछि साहित्यलाई मैले परिवर्तनको एउटा साधन पनि बन्न सक्दो रहेछ भन्ने कुरा बुझेँ । यही बुझाईले मलाई साहित्यमार्फत् उत्पीडित मानिसको पक्षमा बोल्न सिकायो ।

१०. नेपालमा अहिले साहित्य लेखेर बाँच्ने दिन आएको हो ?

साहित्य लेखनमैं जीवनका सम्पूर्ण समय लगानी गर्ने साहित्यकारहरूको अझै पनि साहित्य लेखेर मात्र बाँच्न सक्ने अवस्था भएको छैन । बजारलाई उपयोग गर्न जान्ने केही लेखकहरूले लेखेरै आर्थिक अवस्था राम्रो बनाएको चर्चा पनि नसुनिने होइन । तर आम रूपमा साहित्य लेखन व्यवसायिक बन्न सकेको छैन । हाम्रो समाजमा सांस्कृतिक श्रमको मूल्य अन्य श्रमजत्तिको मानिएको छैन । पुस्तक लेख्ने, विचार लेख्ने, र चेतना जगाउने कार्य अझै पनि विलासी कार्य ठानिन्छ, आवश्यक कार्य होइन भन्ने मान्यता राखिन्छ । त्यसैले साहित्यिक श्रमलाई आर्थिक रूपमा टेवा दिने वातावरण सिर्जना हुन सकेकाे छैन । तर, हिजोको तुलनामा केही नभएको भन्न सकिँदैन । कछुवा गतिमैं किन नहोस् सकारात्मक संकेतका झिल्काहरू देखिन थालेका छन् ।

११. साहित्य पनि अब ‘कमोडिटी’ भइसकेको कुरोमा विवाद रहेन । यसको प्रचुर विज्ञापन आवश्यक हुन थालेको छ । यसलाई कसरी लिनु भएको छ ?

- विज्ञापन के का लागि भन्ने विषयमा ध्यान दिन जरुरी छ । साहित्यको प्रचार आवश्यकता नै छैन भन्ने होइन । आवश्यकता छ । तर कहिल्यै असल विचार, सुन्दर मूल्य र चेतनाको प्रचार भएको हामीले देखेनौं । पाठक कहाँ पुग्न पनि प्रचार त चाहियो । तर अहिले गरिने विज्ञापनको कुरो त्यतिमा मात्र सिमित छैन । पैसाको कुरो मात्र छैन । त्यहाँ विभिन्न विचार दृष्टिकोणहरू मिसिएर आएका हुन्छन् । अनावश्यक प्रचारले राम्रा साहित्यलाई पछिल्तिर छोडेर कमसल साहित्य सतहमा आइरहेको पनि पाइन्छ । यसो हुनुको पछाडि प्रचार राजनीतिको महत्त्वपूर्ण भूमिका रहेको छ । सारमा भन्नुपर्दा यो अवस्था आउनु समाजमा विचारको अवमूल्यन र चेतनाको वस्तुकरणको परिणाम हो ।
१२. पुरस्कार र सम्मान पनि पाउनु भएको छ । कस्तो महसुस हुन्छ पुरस्कार सम्मान थापिरहँदा ?

- पुरस्कार र सम्मान पाउँदा खुसी लाग्नु स्वभाविकै हो । किनभने त्यो समाजका पाठक र सहयात्रीहरूले दिएको एउटा थप जिम्मेवारीको संकेत पनि हो । कुनै पनि पुरस्कारहरू साध्य होइनन्, सिर्जनयात्राको बीचमा आउने मिठा अनुभूति हुन् । मलाई त्यस्तो लाग्छ । म पुरस्कारलाई गन्तव्य ठान्दिन, पुरस्कार पाउँदा मैले लेखेका शब्दहरूले कसैलाई सकारात्मक ढङ्गले छोएको रहेछ भन्ने अनुमान गर्छु ।

१३. प्रसङ्ग बदलौं, प्रगतिशील साहित्यको बारेमा प्रकाश पारिदिनुहोस् न ?

- प्रगतिशील भन्नु अघि बढ्नु हो । समाजमा जुनप्रकारको व्यवस्था कायम रहेको छ । त्यो भन्दा अघि बढ्नु प्रगतिशीलता हो । अघि बढ्न प्रेरित गरेर लेखिएको साहित्य प्रगतिशील साहित्य हो । प्रगतिशील साहित्यको उद्देश्य समाजमा समानता, न्याय र परिवर्तनको पक्षमा उभिनु हो ।

एक अर्थमा भन्नुपर्दा प्रगतिशील साहित्य अन्याय, असमानताका विरुद्धको प्रतिरोध अभियान हो । प्रगतिशील लेखक हुन मार्क्सवादी हुनु पर्दैन तर पछिल्लो चरणमा मार्क्सवादी जीवनमूल्यलाई स्वीकार गरेर लेखिएको साहित्य प्रगतिशील साहित्य मान्ने गरिएको छ । यस्तो व्यापक विषयको बारेमा अन्तर्वार्ताको एउटा प्रश्नमा धेरै भन्न के सकिएला र ?

१४. नेपालमा रहेका पुरस्कार प्रति तपाईंको धारणा कस्तो छ, साथै प्रगतिशील साहित्यको क्षेत्रमा अबको तपाईको योजना कस्तो छ, हाम्रा पाठकलाई बताई दिनुहोस् ।

- नेपालमा पुरस्कारहरू प्रशस्त छन्, तर ती सबैको मूल्य र दृष्टि समान छैन । पुरस्कारहरू पनि विभिन्न उद्देश्यकासाथ स्थापना गरिएका छन् । कैयौं पुरस्कारहरू सिर्जनाप्रतिको निष्ठालाई प्रदान गरिन्छन् । कैयौं पुरस्कारहरू सिर्जनाको निष्ठा र मूल्यको गहिराइभन्दा पनि व्यक्तिगत सम्बन्ध, संस्थागत प्रभाव र सामाजिक पहुँचलाई मापन गरेर प्रदान गरिएको पाइन्छ । म सबै पुरस्कारहरूलाई नकारात्मक रूपमा हेर्न आवश्यक ठान्दिनँ । तर पुरस्कारका बारेमा धेरै बेथितीहरू बढिरहेको हामीले सुन्ने गरेका छौं ।

पुरस्कारहरूलाई पनि वर्गीय रूपमा हेर्नुपर्छ । कैयौं पुरस्कारहरू मरिसकेको सामन्तवादलाई पुनर्स्थापना गर्न बल गर्ने साहित्यलाई मलजल गर्न राखिएका छन् । कुनै पुरस्कार हरू यथास्थितिबादलाई सबल बनाउन खोज्ने साहित्यको पक्षमा केन्द्रित देखिन्छन् । कुनै पुरस्कार समाजलाई प्रगतिपथको दिशातर्फ अघि बढाउन प्रयत्नरत साहित्यलाई उत्प्रेरित गर्न प्रदान गरिन्छन् । त्यसैले मूलत : तीन प्रकारका पुरस्कारहरू नेपाली साहित्यको क्षेत्रमा स्थापित छन् ।

प्रगतिशील साहित्यको क्षेत्रमा वैचारिक र सिर्जनात्मक कार्य गर्ने योजना छ । हेरौं समयले कति साथ दिन्छ ? प्रगतिशील साहित्यलाई अझ गहिरो गरी जनजीवनसँग जोड्न चाहन्छु ।

५. नेपाली साहित्यमा प्रगतिशील साहित्यकारको स्थान एवं भूमिका कस्तो पाउनु भएको छ ?

नेपाली साहित्यमा प्रगतिशील साहित्य र साहित्यकारको भूमिका अग्रणी छ भन्ने ठानेको छु । प्रगतिशील साहित्य अहिले मूलधारमैं छ । प्रगतिशील साहित्य मूलधारमैं भएपछि साहित्यकारको स्थान त्यसैले बताइहाल्छ ।

१६. वेदना, शब्दसंयोजन अनि गोरखापत्र संस्थानको मधुपर्क बिचमा के कस्तो फरकपन पाउनु भएको छ ?

- वेदना , शब्दसंयोजन, मधुपर्कजस्ता पत्रिकाहरू फरकफरक उद्देश्यका साथ संचालन भएका पत्रिकाहरू हुन् । पञ्चायत कालको विषम परिस्थितिमा प्रकाशन भएको वेदना प्रगतिवादी साहित्यको मुखर पत्रिका थियो । 'वेदना' 'संकल्प', 'झिसमिसे', 'लहर', 'कलम' जस्ता पत्रिकाहरू प्रगतिशील साहित्यलाई अघि बढाउने मिसनसहित् स्थापित भएका थिए । आफ्नो समयमा यी पत्रिकाले अतुलनीय काम गरे । 'शब्दसंयोजन' खुल्ला वातावरणमा प्रकाशित भएको पत्रिका हो । सबै प्रकारका साहित्यलाई यसमा स्थान दिइन्छ । 'मधुपर्क' राज्य संरक्षित पत्रिका हो । त्यहाँको स्वतन्त्रता सिमित हुन्छ । त्यो स्वभाविकै पनि हो । कोही बहादुर सम्पादक भएका बेला त्यसको रूपलाई केही परिवर्तन पनि गरेका छन् ।

१७. प्रगतिशील र अन्य साहित्यमा तपाईंले के कस्तो फरक पाउनुभएको छ ?
- सर्वप्रथम त प्रगतिशील साहित्य र गैर प्रगतिशील साहित्यमा लेखनको उद्देश्यमैं फरक छ । प्रगतिशील साहित्य जीवनजगतको विकासशीलतामा आस्था राख्ने रचनादृष्टिको सिद्धान्त हो । गैरप्रगतिशील साहित्य जीवनजगतको विकासशीलतामा अनास्था राख्ने मात्र होइन विरुद्धमा क्रियाशील हुने धारा हो ।

प्रगतिशील साहित्यकारले दुई - चार जना बौद्धिक पाठकहरूको निम्ति लेख्दैन । उसका पाठकहरू समाजमा रहेका ठुलो संख्याका शोषितपीडित जनताहरू हुन् । प्रगतिशील लेखक परम्पराकै सापेक्षतामा कलालाई साधनमात्रै ठान्ने सोचबाट मुक्त हुन्छ । गैर प्रगतिशील साहित्यमा रूप पक्षलाई सबैभन्दा बढि महत्त्व दिन्छ तर प्रगतिशील लेखकहरूले रूप र अन्तर्वस्तुलाई समान ढङ्गले महत्त्व दिन्छ ।

गैरप्रगतिशील साहित्य धारा व्यक्तिवादी र जनविरोधी साहित्यिक धारा हो । यो धाराले जनतासँगको सम्बन्धलाई स्वीकार गर्न आवश्यक ठान्दैन । यो धाराको महत्त्वपूर्ण काम प्रगतिशील साहित्यिक धाराको समाज रूपान्तरणको उद्देश्यका विरुद्धमा ठाडो विरोध गर्नु हो । गैरप्रगतिशील धाराको मूल काम भनेको रूप र अन्तर्वस्तुको संयोजनमा लेखिएको सुन्दर सिर्जनालाई पनि 'नारा' भनेर मानसिक तुष्टि लिनु हो । गैरप्रगतिशील धाराले आफ्नो धारा अन्तर्गत क्रियाशील स्रष्टाले जति कमजोर साहित्य लेखे पनि सुन्दर साहित्य भनेर प्रचार गर्छ ।

गैरप्रगतिशील साहित्यिक धाराले कलालाई सामाजिक समस्याको समाधानमा सहभागी हुन नदिनु हो । तर प्रगतिशील धाराले यसको विपरित समाजलाई प्रगतिको दिशामा अघि बढाउने र मानव विकास एवम् समुन्नतिमा सघाउ पुऱ्याउँछ ।

१८. प्रगतिशील साहित्यको भविष्यलाई कसरी आँकलन गर्नु भएको छ ?
- आजको सन्दर्भमा प्रगतिवादी साहित्यको मूल दायित्व दलाल पुँजिवादी शोषक–शासक समाजव्यवस्था र सामाजिक सम्बन्धहरूमा आमूल परिवर्तन गर्नु हो । यसका निम्ति उत्पीडित जनतामा आवश्यक चेतना जगाउनु जरूरी छ । यो काम नगरी अघि बढ्नै सकिँदैन ।

असमानता र शोषणको स्वरूप नयाँ नयाँ कलेवरमा हाम्रा अघिल्तिर उपस्थित भएको छ । प्रतिरोधको आवश्यकता झनै बढेको छ । प्रगतिशील साहित्य मानव चेतनाको पछिल्लो र परिष्कृत साहित्यिक चिन्तन हो । जसले अन्याय, विभेद र शोषणविरुद्ध सधैं प्रतिरोधको स्वर उठाउँदै आयो । आजको पुस्ताले प्रश्न गर्न झनै सिकेको छ । समाजमा अन्याय बाँकी रहुन्जेल प्रगतिशील साहित्यको प्रकाश कहिल्यै कमजोर हुँदैन ।
०००

प्रस्तुति : शितल गिरी

No comments:

Post a Comment