Thursday, November 20, 2025

कविता : गोल्डस्टार जुत्ता

   - मातृका पोखरेल


मगर कान्छा दाइ !
तिम्रो जसरी मेरो पनि इतिहास
कुनै लेखोटमा कतै लेखिएन
तिमी जस्तै म पनि अपहेलित छु
म निर्जिव गोल्डस्टार जुत्ता ।

तिमीलाई थाहा छ -
मैले पनि तिमी सँगसँगै
हिमालका चिसा गल्छेडाहरू पार गरेकै हुँ
तिमी सँगसँगै
मधेशको तातो गर्मी छिचोलेकै हुँ
जुत्ताका प्रत्येक पत्रहरूमा छन्
सर्प र बिच्छीले डसेका डोवहरु
तिमीले देखेकै छौ
धेरै लेखिए युद्धका कथा
बन्दुकका कथा पनि लेखिए
तर हाम्रा कथा कतै लेखिएनन्
जङ्गलका नागीहरूमा
हिमालका पठारहरूमा
उत्खनन् गरे म धेरै तिर भेटिन्छु
अज्ञात सहिदका खुट्टाहरूमा
अझै पनि पक्कै म टाँसिएरै बसेको छु ।

मगर कान्छा दाइ !
मलाई लगाउन पाउँदा
तिमी मात्र होइन
तिम्रा नेताहरू पनि प्रफुल्ल हुन्थे
मेरो तलुवाको चिन्ह देखेर सुरु हुन्थ्यो खोजी अभियान
मेरो निशाना पाएर हुन्थ्यो गोलाबारी
गाउँ, जङ्गल र वस्ती बढी खोजिने
म त्यही गोलस्टार जुत्ता हुँ ।

यो कथा
अचेल कतैतिर तिमी सँगसँगै
मेरो पनि कुनै लेखोटमा लेखिएन
म त्यही जुत्ता हुँ
जसलाई देखेर काँप्थे शासनका बागडोर चलाउनेहरू
अचेल पनि गाउँघरमा
सहिदका बाबुआमाहरू
आफन्तजनहरू
मलाई देखेर भावुक हुन्छन्
तिमी सपना देख्थ्यौ
म केवल साथ दिन सक्थें
मेरो इतिहास नलेखियोस् बरू
म निर्जिव गोलस्टार जुत्ता
तर तिमी चेतना सहित् हिंडेको मान्छे
तिम्रो बलिदान लेखिनै पर्छ
तिम्रो त्याग लेखिनै पर्छ
म तिमी सँगसँगै हिँडें
तिमी सँगसँगै
कति हिमालहरू चढें ?
कति बाढी तरें ?
कति जङ्गल काटें ?
अहँ कतै पनि
कुनै लेखोटमा लेखिएन
मेरै जस्तो तिम्रो पनि इतिहास ।

मगर कान्छा दाइ !
मेरो जुत्ताको तलुवामा
देशको कुन जमीनको
बास्ना आउँदैन ?
कुन सहिदको रगतले रंगिइन म ?
तिम्रै जस्तै नियति हो मेरो पनि
तिम्रो जसरी मेरो पनि इतिहास
कुनै लेखोटमा कतै लेखिएन
पढिएको र लेखिएको इतिहासभन्दा
टाढा; निकै टाढा
हामीले टेक्ने माटो मुनी
अर्कै सत्य इतिहास लुकेर बस्दो रहेछ
तिम्रो र मेरो कथाजस्तै
अर्को एउटा गुमनाम इतिहास ।

मगर कान्छा दाइ !
तिम्रो जसरी मेरो पनि इतिहास
मेरो जसरी तिम्रो पनि नाम
कुनै लेखोटमा कतै लेखिएन ।
000

No comments:

Post a Comment