Tuesday, October 27, 2026

कथा लेख्नुअघिको कथा - मातृका पोखरेल

 कथा

कथा लेख्नुअघिको कथा

- मातृका पोखरेल

चकमन्न रातमा घर्लक्क ढोका उघारे पण्डित बद्रीनाथले । उत्तरतिर सुनकोशी नदी झनै ठुलो स्वरमा सुसाइरहेको थियो । पारीपट्टि ओफ्लाङ, पिप्चाई, च्यास्मी गाउँहरू जूनको उज्यालोले दिउँसोझैं छ्याङ्ग देखिएका थिए । पूर्वतिरको थुम्की गाउँतिर रातको पछिल्लो प्रहरको सूचना दिनेगरी भाले बासेको आवाज सुनियो । राजदह गाउँका मानिसहरू कोशी नदीको कर्कश आवाज सुनेर जीवन धान्न अभ्यस्त भइसकेका थिए । रातभर निद्रा आएन पण्डित बद्रीनाथलाई । धेरैबेरसम्म कोल्टे फर्केर निदाउने कोसिस गरे । कसै गर्दा पनि निद्रा आएन । निद्रा नआई ओछ्यानमा पल्टिनु पनि एउटा यातना नै हो । सिनेमाको रिल घुमेझैं मनमा कुरा खेलिरहेकै थिए । ओछ्यानमा पल्टिनुभन्दा बाहिर घर बाहिर निस्कनु श्रेयष्कर ठाने उनले । ढोका खोलेर आँगनमा निस्कने वित्तिकै पल्लो मतानमा विरामी भाउजू खोक्दै गरेको मधुरो आवाज सुने उनले ।
"भाउजू मर्न लागिन । उपचार गर्न लैजाउ !" हिजो विरामी भाउजूलाई हेर्न आएका आफन्तहरूको सल्लाहपछि उनको मन झन् थिरमा छैन । पण्डितलाई राम्ररी थाहा छ । सकेसम्म भाउजूको उपचार गर्नु पर्थ्यो । तर कसरी ? घरमा हातमुख जोर्न झन् कठिन हुन थाल्यो । साहुहरूको ऋणले टुप्पी पनि डुबिसकेको थियो ।
बद्रीनाथको घरमा भाउजू उर्मिला धेरै वर्षदेखि आश्रय लिएर बसेकी थिइन् । बद्रीनाथका ठुला दाजुको निधन पछि भाउजू विधवा भइन् । बालविवाह गर्ने प्रचलनकै बीचमा उर्मिलाको विवाह भएको थियो । विधवा भएपछि उनले सुरुमा माइतीको शरण खोजिन् । धेरै समय माइतीमा बस्न सकिनन् र देवरको घरमा आइन् । उनको आफ्नो भन्ने कोही थिएन । पतिको नाममा कुनै सम्पत्ति पनि थिएन । शरीरमा बल छउन्जेल घरधन्दामा सघाउँथिन् ।
बद्रीनाथकी पत्नी सुशिलाले उर्मिलालाई असाध्य माया गर्थिन् । उर्मिलाको औषधोपचारदेखि खानपिनसम्ममा उनको विशेष ध्यान हुन्थ्यो । कहिलेकाहीँ आफ्नै भागको खानेकुरा पनि भाउजूलाई दिन्थिन् । तर घरको गरिबीले सबैको मन खुम्च्याएको थियो । बद्रीनाथ पनि भाउजूलाई यथेष्ट सम्मान गर्थे । तर विस्तारै उनको भित्री मनमा भाउजूको उपस्थितिले थपेको आर्थिक बोझले महत्त्व पाउन थालेको थियो ।
"चाँडै उज्यालो भइदिए हुन्थ्यो । यारी खोलाको खेतमा भरखरै रोपेको बर्खे धानको रोपोलाई खडेरीले खाइसक्यो । कुलामा तऱ्याकतुरुक पानी ल्याउन पो सकिन्थ्यो कि !" अँध्यारैमा आँगनमा निस्किएपछि मनमनै सोचे पण्डित बद्रीनाथले ।
ooo
भुइँमा राम्ररी उज्यालो नखस्दै पण्डित बद्रीनाथ खेततिर बाटो लागे । उनी पुग्नुभन्दा अगाडि नै पकले खेतमा लीलानाथ पुगिसकेका रहेछन् ।
यारी खोलाको पानीमा भर पर्नु पर्ने खेतको दुख पनि बेलिविस्तार लगायर साध्य हुँदैन । कहिले खोलामा पानीको हाहाकार कहिले भने छिनभरमैं बाढीले बगर बनाइदिने डर ।
''अब बसाइँ जानु पर्ने भयो । यो ठाउँमा बसेर हातमुख जोर्न नसकिने भयो । त्यसमाथि भाउजू विरामी भएर थला परेको एक महिना नाघी सक्यो !'' एउटा ढुङ्गामा अढेस लगाउँदै खुइया गरेर लामो श्वास फेर्दै पण्डित बद्रीनाथले लीलानाथलाई सुनाए ।
''आदमाराका खड्काहरूले पोहोरै बसाइँ आउनुस्, यहाँ हामी छँदैछौ भनेकै थिए । आफ्नै पुराना जजमानहरू । पोहोरै जानुपर्ने रहेछ ।'' पाण्डित बद्रिनाथ यारी खोलाको शिरतिर फर्किएर झनै निरास देखिए ।
''बसाइँ गए पनि आफ्नो कर्म कतै जाँदैन । बर्मा गयो कर्म सँगै भन्थे नि हाम्रा पुर्खाहरू । तपाइँ आफैं पण्डित जस्तो मान्छे । मैले धेरै कुरा के गर्नु पर्छ र !'' लीलानाथ एकछिन मौन बसेजस्तो गरे । त्यसपछि एउटा बिंडी झिके र दुई तीन सर्को ताने । पारीपट्टीको भुङ्जु डाँडातिर फर्किएर विस्तारै फुसफुसाए ।
''त्यो त हो । ओफ्लाङका साहुहरूको पश्चिम लालबन्दीतिर बसाइँ गएर बिल्लीबाठ भयो भन्छन् ।'' लीलानाथको कुराप्रति सहमति जनाए पण्डितले ।
''भाउजू पनि तिम्रा लागि ठुलै दुःख भइन् ।'' बिंडीको ठुटो भुइँमा थिचेर निभाउँदै भने लीलानाथले ।
''बिरामी ठिक भए भइहाल्थ्यो । कहिले के कहिले के ? भाउजूलाई पनि कहिल्यै विमारले छाडेन ।'' पण्डित बद्रिनाथले दिक्दारी पोखे ।
''एउटा उपाय छ !''
"के उपाय?" पण्डितले ठाडा कान पारे ।
''बाला चतुर्दशीमा पशुपतिनाथ तीर्थ गर्न लैजानू । त्यो पवित्रस्थान हो। भीडभाड हुन्छ। मानिसहरू हराउँछन्। बुझ्यौ नी मैले भन्न खोजेको ?'' यति भनेपछि लीलानाथको अनुहारमा एउटा चमक देखियो ।
''बुझेँ !'' भुइँतिर हेर्दै बोले पण्डित बद्रिनाथ ।
लीलानाथको कुरा सुनेर पण्डितलाई आफ्नो छाति एकैछिनमा भारी भएजस्तो लाग्यो । आफ्नै हातखुट्टा लुला भए जस्तो लाग्यो ।
''ए.. ए . यो कस्तो कुरा गर्नुभएको तपाईंले ? म ब्राह्मण हुँ, पुरोहित हुँ । यस्तो पापको कुरा ... ?'' पण्डित हड्बडाए ।
''मैले मित्रको भलो होस् भनेर सल्लाह दिएको हुँ । पशुपतिमा हराएका मानिसहरूलाई पुलिसले लगेर त्यहीँभित्रको अनाथआश्रम वा वृद्धाश्रममा राख्छ । सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने । यो भन्दा राम्रो अर्को उपाय छ भने भन्नुस् ! अझै सोच्नुस् ! के बितेको छ र ?'' । लीलानाथ कुटिल हाँसो हाँसे ।
पण्डित बद्रिनाथलाई यारी खोलाको खेतमा पानी लगाउँदालगाउँदै लिलाकान्तले गरेको कुरा जति सम्झ्यो उतिउति आफैंभित्र एउटा डरको सगरमाथा अघिल्तिर उभिन्थ्यो । शरीर चिसो हुन्थ्यो ।
०००
वर्षा लाग्यो । वर्षाले विकराल रूप देखाउन थाल्यो । खडेरीले थिलथिलिएको वस्ती र समाज फेरि वर्षाको बाढी पहिरोको अर्को कहर भोग्न बाध्य भयो ।
पण्डित बद्रिनाथको जीवन एकप्रकारले हिङ विनाको टालो जस्तो भएर गुज्रिरहेको थियो । उनी धार्मिक कर्मकाण्ड गरेर गुजारा चलाउने मानिस थिए, तर आजकल उनका जजमानहरूको संख्या पहाडी गाउँबाट मधेशतिर बसाइँ सराईको क्रम सँगसँगै घट्दै गइरहेको थियो । गरिबी निरन्तर बढ्दो क्रममा थियो ।
यस वर्षको भदौ महिना पनि बिदा हुनै लाग्यो । भदौरे झरीले आतङ्क सिर्जना गर्न छाडेको छैन । सुनकोशी नदीले आफ्नो ताण्डव रूप दैनिक जसो देखाइरहेको छ । भाँच्ने बेला भएको मकै आज रातिको पहिरोले सबै उडाएछ । बारी हेर्न जान पनि दिक्दार लाग्यो । हिजोको गैह्री बारी आज पहिरो भयो ।
तर यी सबै कुरा भए पनि पण्डित बद्रीनाथको दिमागमा अर्कै कुराको आतङ्कले घर गरेको छ । निकै महिना देखि उनले त्यो आतङ्कको भारी बोकेर गाउँ वेसी गरेको गऱ्यै छन् । यस्तो काम गर्न उनलाई अलिअलि ईश्वर भगवानको डर छ । अलिअलि समाजले थाहा पाइहाल्ला कि भन्ने डर छ ।
मनभित्र चलेको आतङ्‌कको हुण्डरीसँगसँगै भाउजू विनाको घरको मीठो कल्पना गर्न थालेका थिए अचेल पण्डितले ।
लीलानाथको कुरा मनभित्र सोचेर पण्डित कहिले आफैं हडबडाउँथे । कसरी गर्ने यस्तो काम ? सोच्दासोच्दै उनको शरीरमा चिटचिट पसिना आउँथ्यो ।
लीलानाथसँगको कुराकानी सम्झँदा उनी कहिले आफैँ हडबडाउँथे । कसरी गर्ने यस्तो कुकर्म ? आफ्नै घरको मान्छेलाई तीर्थको नाममा लगेर अलपत्र पार्ने ? फेरि उनलाई घरको दुःखले थिच्थ्यो । मनमा उठेको प्रश्नलाई अर्को प्रश्नले छोपिदिन्थ्यो ।
लीलानाथले भने त्यो कुरालाई सामान्य सल्लाह दिएजस्तो गरी छाडेका थिएनन् । भेट हुँदा बारम्बार त्यही प्रसङ्ग निकाल्थे ।
पण्डित बद्रीनाथ यस्तो दोबाटोमा उभिएका थिए कि एकातिरको बाटोमा भाउजूप्रतिको जिम्मेवारीवोध थियो भने अर्कोतिर आर्थिक संकटले सिर्जित मनोदशा । उनी यो दोबाटोमा मूर्तितुल्य उभिएका थिए ।
बद्रीनाथको आर्थिक समस्यासँग लीलानाथ राम्ररी परिचित थिए । एकदिन उनले बद्रीनाथलाई एकान्तमा लगेर तीर्थयात्रामा जानका लागि आफूले सस्तो ब्याजमा ऋण दिने कुरा पनि नगरेका होइनन् । तर बद्रीनाथले त्यसबेला कुनै प्रतिकृया जनाएनन् । चुपचाप उनको कुरा सुनिरहे । पण्डित बद्रीनाथ लीलानाथको ऋणबाट अहिलेसम्म जोगिएकै थिए । उनलाई लीलानाथको ऋणले कतिसम्म संकट उत्पन्न गर्छ भन्ने राम्रैसँग थाहा थियो । उनको ऋणको कारण गाउँटोल पुरै आतङ्‌कित थियो ।
‘'के सोच्यौ त पण्डित ?'’
बद्रिनाथ टार्न खोज्थे ।
‘'अझै सोच्दै छु ।’'
‘'सोचेर मात्रै हुन्छ? दुःखको निकास पनि त खोज्न सक्नु पर्‍यो नि !’'
त्यसपछि पण्डित मौन हुन्थे ।
एक दिन लीलानाथले ठाडै भने, '‘मैले तिम्रो भलोका लागि उपाय बताएको हुँ । त्यो भन्दा राम्रो अर्को कुनै बाटो छ ? ।"
पण्डित फेरि निरुत्तर भए ।
०००
दशैं नलाग्दै गाउँमा एउटा हल्ला फैलियो - "पण्डितहरू यो तिहार पछि बाला चतुर्दशीको समय पारेर पशुपतिनाथको दर्शन गर्न नेपाल जाँदैछन् ।"
कसैले बद्रिनाथलाई सोध्यो - '‘यसपालि पशुपतिनाथको दर्शन गर्न जाने विचार गर्नुभएछ नि ?'’
बद्रिनाथले मुस्कुराउने प्रयास गरे ।
‘'हो, यसो भगवानको दर्शन गरौँ भन्ने लागेको छ।'’
जीवनमा कहिल्यै नगरेको पहिलोपटक कृत्रिम जवाफ दिए पण्डितले ।
घरमा पनि उनले पत्नी सुशिलासँग भाउजूसहित् पशुपतिनाथको दर्शन गर्न नेपाल जाने कुरा निकाले ।
"घरमा खाने अन्न छैन । उर्मिला दिदीको उपचार गर्न सकिएन । बल्ल अलिअलि उठ्न थाल्नु भएको छ । अब त उहाँका लागि थोरै मात्र दुध दहीको जोहो गर्न सके उठ्न सक्ने हुनुहुन्थ्यो । यस्तो अवस्थामा तीर्थयात्रा कसरी सम्भव हुन्छ ?" सुशिलाले आश्चर्य व्यक्त गर्दै पण्डितको अनुहारमा हेरिन् ।
‘'केही जजमानसँग सापटी मागौँला। केही आफैँले खोजौंला । जिन्दगीभर दुःखै मात्र गरेर पनि हुन्छ र ?’' बद्रिनाथले सम्झाए ।
उनले भाउजूलाई पनि तीर्थ जाने कुरा सुनाए ।
‘'भाउजू, तपाईँलाई पनि पशुपतिनाथको दर्शन गर्न लैजाने विचार गरेको छु । भगवानको दर्शन गर्न पाए रोगव्याधि पनि निको हुन्थ्यो कि !’'
भाउजूको अनुहारमा पहिलोपटक धेरै दिनपछि उज्यालो देखियो ।
‘'मलाई पनि लैजाने हो र बाबु ?’'
‘किन नलैजानु? ठुलो तीर्थ गएपछि तपाईंको विमार पनि ठिक होला ।'’
बद्रीनाथले जबर्जस्ती मुस्कुराउँदै भने ।
भाउजू उर्मिलाको आँखामा बालसुलभ खुसी चम्कियो । उनले सुशिलालाई बोलाएर भनिन्, हामी पनि पशुपतिनाथको दर्शन गर्न जाने भयौँ नि ! भगवान्‌को दर्शन गर्न पाइने भयो। के तिमीलाई खुसी लागेन ?’'
सुशिला पनि खुसी भइन् । उर्मिला र उनी मिलेर यात्राका लागि चाहिने लुगाफाटा र सामानहरू तयार गरे ।
बद्रीनाथ भने ती दुवैको अनुहारमा देखिएको खुसीले आफूभित्र झनै पीडा थपिइरहेको महसुस गरिरहेका थिए । मनको भित्री कुनामा कतै आगो लागेको उनले अनुभव गरिरहेका थिए ।
"लेउ दुईसय रुपैयाँ ?" लीलानाथले घरको एकछेउतिर लगेर पण्डितको हातमा रुपैयाँ राख्दै एउटा कागजमा हस्ताक्षर गर्न भने ।
"ब्याज कति हो ? केही लेखिएको छैन ।" यो ऋणको रकमप्रति पण्डितमा ठुलो भय थियो ।
"काम सकिएर आए पछि ब्याजको हिसाब सल्लाहमा गरौंला नि ! यो कागज ऋण लिएको सम्झना मात्र हो ।" काइते उत्तर दिएर टारे लीलानाथले ।
पण्डितले लीलानाथको हातबाट कागज मागेर फेरि हेरे । ऋण लिएको रकम र लिएको मिति हेरे । ब्याज नलेखेको कारण पण्डितको मनभित्र फेरि चिसो पसेकै थियो ।
" यो कागजमा चलनचल्तीको ब्याज उल्लेख गरे हुँदैन ?" पण्डितले फेरि आशंका गरे ।
"तपाईँलाई अपर्झट र जरूरी भएकोले यो अस्थायी कागज गरेर सहयोग गरेको हुँ । कसरी र कुन शर्तमा ऋण लगाउने भन्ने मैले परिवारमा पनि सल्लाह गर्न पाएको छैन । तपाईं तीर्थबाट फर्किएपछि यो कागज च्यातेर अर्को कागज बनाउनुपर्छ । त्यही कागजमा सबैकुरा उल्लेख गरौंला ।"
अन्तत : लीलानाथको कुरा नबुझे पनि पण्डितले स्वीकृतिको टाउको हल्लाए ।
ooo
पण्डितको घरमा साँझ चाँडै खाना खाने चलन थियो । त्यस दिन पनि सबैले सदाझैं साँझ नपर्दै खाना खाए । उर्मिलाले सुशिलासँग भोलिको यात्राबारे धेरै कुरा गरिन् ।
"काठमाडौंसम्म पुग्ने गाउँ र ठाउँका नाउँहरू मलाई त कण्ठै छन् नि सुशिला !" उर्मिलाले पुरानो स्मृति खोतलिन् ।
" कसरी थाहा पाउनु भयो दिदी ? " सुशिला अचम्म मानिन् ।
पिताजी र हजुरबुवा दुवै काठमाडौंमा बसेर शिक्षादीक्षा प्राप्त गरेको कुरा सुनाइन् उर्मिलाले । बुवा, हजुरबुवाले त्यसबेला हिंडेको बाटोको चर्चा घरमा गरेको चर्चा उनले सुनेकी थिइन् ।
घर र खेतबारीको कामका बारेमा पण्डित र सुशिलाले छोराबुहारीलाई बोलाएर अह्राए ।
पशुपतिनाथको मन्दिर कस्तो होला ? भगवानको दर्शन गरेपछि हाम्रा धेरै दुःख नाश हुन्छन् कि हुँदैनन होला ? कति दिनमा पुगिएला ? पुगेपछि पहिलो पटक कहाँ जाने ? नेपाल खाल्डोमा मन्दिरहरू धेरै छन अरे ! कुन मन्दिरमा पहिले दर्शन गर्ने ? यस्तैयस्तै कुरा नसकिँदै निदाए उनीहरू ।
भाउजू र पत्नीका कुराहरू नजिकै बसेर सुनिरहेका थिए पण्डितले । कताकता उनलाई भुइँ भासिएर आफू त्यहीँ पुरिए जस्तो लाग्थ्यो । तर उनले कुनै प्रतिक्रियाविहिन भएर दुईजनाको संवाद चुपचाप सुनिरहे ।
त्यो रात पण्डित बद्रिनाथ धेरै बेरसम्म निदाउन सकेनन् ।
०००
एक हप्ता जाने, दुईचार दिन मन्दिरहरूमा दर्शन गर्ने र एक हप्तामा फर्कने हिसाब गरेर उनीहरूले खाजासामल र बाटो खर्चको व्यवस्था गरे ।
बाटोमा यो गाउँपछि आउने ठाउँको नाम यो हो, यसपछि यो ठाउँ आउँछ । यसरी सबै ठाउँको बारेमा भन्न सक्थिन उर्मिला । स्वास्थ नराम्रो भए पनि पशुपतिनाथको दर्शन गर्ने अभिलाषाले उनको उत्साह बढेको थियो । यो गाउँ बेशीगाउँ, त्यसपछि बाइटार, घुर्मी, सोखुबेसी, च्यास्कुटार, ग्वालटार, खुरकोट, रातमाटे, झाँगाझोली , दुम्जा, मंगलटार, दाप्चा, बनेपा, साँगा यस्तायस्ता सबै नाम बुवा, हजुरबुवाबाट बेलाबेलामा सुनेका आधारमा सबै नाम उर्मिलालाई कण्ठ थिए । अनपढ उर्मिला भाउजूको यो ज्ञान देखेर पण्डितको मनभित्र चलेको संकटको हुण्डरी झन्झन् वेगवान गतिमा चल्थ्यो ।
"आजभोलि तपाईं किन निदाउरो देखिनुहुन्छ । अनुहार पनि फुङ्ग उडेको छ । किन ?" धेरैदिन देखि लुकाएर राखेको मनभित्रको जिज्ञासा खुरकोट पुगेपछिको बासमा सुशिलाले पण्डितलाई सोधिन् ।
"होइन, होइन केही छैन । " पण्डित हडबडाए ।
बल्लबल्ल आठ दिनमा उनीहरू काठमाण्डु पुगे । लामो यात्राले सबै थाकेका थिए । भाउजू झनै थाकेकी थिइन् । बिरामी शरीर लिएर पनि भाउजू तीर्थयात्रामा आइपुगेकी थिइन् । उनको मनमा छुट्टै उमङ्ग थियो । बालाचतुर्दशीका कारण बाटोमा पनि मानिसहरूको भीड हुने नै भयो । बाल्यकालमा बुवा, हजुरबुवाबाट सुनेका स्थाननाम र धार्मिक ज्ञान बाँडेर उर्मिला पारिवारिक समूहको पथप्रदर्शक बनिन् । यो यात्राको भूमिकाका कारण उर्मिलाप्रति सुशिलाको सम्मानभाव झनै बढेर गयो ।
मंशिर कृष्णपक्ष चतुर्दशी तिथी अर्थात बाला चतुर्दशी आउन केही दिन बाँकी थियो । यसदिन उर्मिलाको पशुपतिमा शतबीज छर्ने योजना थियो ।यसैबीचमा उनीहरू काठमाडौंका विभिन्न मन्दिरहरूमा घुमे । सबैतिर मानिसहरूको भीड थियो । जतासुकै मन्दिरमा घण्टी बजिरहेका थिए । भक्तजनहरू भगवानको नाम लिइरहेका थिए । मन्दिरमा मात्र नभएर बजारमा मानिसहरूको ओहोरदोहोर पनि उत्तिकै थियो ।
बाला चतुर्दशीको दिन आयो । शतबीज छर्ने दिन उनीहरू पशुपति मन्दिरभन्दा उत्तरतिर डाँडाको चउरमा बसे ।
भोलिपल्ट बिहान शतबीज छर्ने कार्य सकिएपछि पशुपतिनाथ मन्दिरको भीड पनि पातलो देखिन थाल्यो । बद्रीनाथ तीर्थयात्राको आफ्नो उद्देश्य पुरा गर्ने बाटो खोज्न थाले ।
भीडभाड भएको एउटा ठाउँमा पुगेपछि बद्रीनाथले भाउजूलाई केहीबेर त्यहीँ बस्न आग्रह गरे ।
‘' भाउजू ! तपाईँ यहीँ बस्दै गर्नुस् । म सुशिलालाई लिएर उता दर्शन गरेर आउँछु । यहीँ भेटौँला।’'
भाउजूले एकपटक बद्रीनाथको अनुहार हेरिन् ।
‘'म पनि सँगै जाऊँ बाबु!’'
‘'तपाईँलाई हिँड्न गाह्रो हुन्छ। हामी छिट्टै फर्किहाल्छौँ ।’'
भाउजूले केही भन्न खोजिन्, तर बद्रीनाथ सुशिलालाई लिएर अगाडि बढिसकेका थिए ।
उनीहरू केही पर पुगेपछि सुशिलाले पछाडि फर्केर हेरिन् ।
‘' उर्मिला दिदीलाई त्यहाँ एक्लै छाडेर किन आउनुभएको ? उहाँलाई लिएर जाऊँ।'’
‘'भीड छ। हामी दर्शन गरेर फर्किहाल्छौँ ।’'
‘'मलाई उहाँको चिन्ता लाग्यो ।’‘
बद्रीनाथले सुशिलाको हात समातेर अगाडि बढाए । तर सुशिलाको मन मानेन । उनी बारम्बार पछाडि फर्केर हेर्दै थिइन् । केही बेरपछि बद्रीनाथले अर्को बहाना बनाएर उनलाई एउटा धर्मशालामा बस्न लगाए । आफू भाउजूलाई लिन जाने भन्दै त्यहाँबाट निस्किए । तर उनी भाउजू भएको ठाउँमा फर्किएनन् ।
उनी सीधै अर्को बाटो लागे ।
केही समयपछि सुशिलाले सोधिन्, "भाउजूलाई लिन जानुभएन ?'’
‘'गएको थिएँ। तर त्यहाँ हुनुहुन्न ।'’
‘'कहाँ जानुभएछ ?’'
‘'भीडमा कतै जानुभयो होला। अब खोज्दै गर्दा भेटिनुहोला ।'’
सुशिलाको अनुहार चिन्ताले लफ्रक्कै भिज्यो । उनी उर्मिलालाई खोज्न निस्कन खोजिन् ।
‘'तपाईँ यहीँ बस्नुस्। म खोजेर आउँछु ।"
सुशिलालाई खोज्न जान दिएनन् पण्डितले । फेरि उनी आफैं गए ।
तर घण्टौँ बितिसक्दा पनि बद्रीनाथ फर्किएनन् ।
अन्ततः उनी फर्किए, तर एक्लै ।
‘'भाउजू भेटिनुभएन ?'’
सुशिलाले आत्तिँदै सोधिन् ।
बद्रीनाथले टाउको हल्लाए ।
‘'धर्मशालामा खोजेँ, मन्दिरमा खोजेँ, बजारतिर पनि हेरेँ। कतै भेटिनुभएन।'’
‘'त्यसो भए हामी दुवैजना खोज्न जाऊँ। नभेटी म यहाँबाट जान्नँ ।’'
सुशिलाको आँखाबाट आँसु झर्न थाले ।
‘'हामीले प्रहरीलाई खबर गर्नुपर्छ। मन्दिरका मानिसहरूलाई सोध्नुपर्छ। कसरी नभेटिने?’'
बद्रीनाथलाई थाहा थियो, अब केही समय बितेपछि यो भीडमा भाउजूलाई खोज्न सम्भव हुनेछैन ।
उनले सुशिलालाई सम्झाउन थाले ।
‘'भगवानको लीला कसले बुझ्न सक्छ र ? उहाँको भाग्यमा जे लेखिएको छ, त्यही भयो होला । हामीले पनि कति खोज्ने ?’'
‘'त्यसो भन्दैमा उहाँलाई छाडेर कसरी जान सकिन्छ ?’'
सुशिला भक्कानिइन् ।
बद्रीनाथसँग त्यसको उत्तर थिएन ।
तर उनले अनेक कुरा गरेर, भाउजू कतै सुरक्षित हुनुहुन्छ होला भन्ने आश्वासन दिएर, अन्ततः सुशिलालाई घर फर्कन बाध्य गराए ।
घर फर्किने बाटोभरि सुशिला रोइरहिन् । बद्रीनाथलाई पनि पश्चाताप महसुस भइरहेको थियो । उनी भित्रभित्रै आफ्नो अपराध लुकाउने उपाय सोचिरहेका थिए ।
०००
गाउँ फर्किएपछि बद्रीनाथले भाउजू भीडभाडमा हराएको खबर सुनाए ।
गाउँ शोकले डुब्यो । छिमेकीहरू उनको घरमा जम्मा भए । कसैले उर्मिलालाई खोज्नुपर्ने कुरा गरे, कसैले तीर्थस्थलमा मानिस हराउनु अस्वाभाविक नभएको बताए । तर सबैभन्दा बढी दुःखी बद्रीनाथकी श्रीमती सुशिला थिइन् । बद्रीनाथका छोरा बुहारी पनि अत्यन्तै दुःखी देखिए ।
‘'मैले त भाउजूलाई त्यहीँ छाडेर नआउनु भनेकी थिएँ,’' उनी बारम्बार भनिरहन्थिन्, '‘उहाँलाई एक्लै छाडेर कसरी आउन सक्नुभयो ?’'
बद्रीनाथसँग कुनै जवाफ हुँदैनथ्यो ।
‘'मैले कहाँ छाडेर आएको हुँ र ? भीडमा हराउनुभयो ।'’
बद्रीनाथ एउटै कुरा वारम्बार दोहोर्‍याइरहन्थे ।
गाउँलेहरूले केही दिनसम्म भाउजूको खोजखबर गरे । तीर्थयात्रामा गएका चिनेजानेका मानिसमार्फत पनि खबर पठाए । तर कुनै सूचना आएन ।
पाँच सात दिनपछि गाउँको जीवन पुरानै लयमा फर्कियो । उर्मिलाको चर्चा पनि क्रमशः कम हुँदै गयो । तर बद्रीनाथको घरमा भने उनको अनुपस्थितिले एउटा रिक्तस्थान सबैले देखिने गरी बन्यो ।
सुशिला कहिलेकाहीँ उर्मिलाको ओछ्यानमा बसेर रुन्थिन् । उनको लुगाफाटा मिलाउँथिन् । कुनै पुरानो कुरा सम्झेर भक्कानिन्थिन् । बद्रीनाथ ती दृश्यबाट सकेसम्म टाढै रहन खोज्थे । तर लीलानाथले उनलाई टाढा रहन दिएनन् । एक दिन लीलानाथले उनलाई बाटोमा रोके ।
‘'पण्डित, भाउजूको खबर केही आयो ?’'
‘'आएन ।’'
‘'अब त हराएको पनि धेरै भयो । मेरो उपाय कस्तो लाग्यो ?’'
पण्डित बद्रीनाथले चुपचाप लीलानाथको कुरा सुनिरहे । उनले केही कुरो भन्न खोजेको पण्डितले अनुमान गरिरहेका थिए ।
"मसँग तपाईंले रकम लगेको पनि डेढ महिना नाघ्यो । अब ब्याजको पनि हिसाबकिताब गर्नुपर्छ । अर्को कागज पनि फेर्नुपर्छ ? " लीलानाथको बोलीमा उनको स्वभाव क्रमश : प्रस्तुत हुन थालेको अनुभव गरे पण्डितले ।
''तपाईंका लागि अर्को सजिलो तरिका सोचेको छु मैले ।" एकछिन सोचेजस्तो गरेर फेरि बोले पण्डित ।
"के होला ?" पण्डितका कान ठाडा भए ।
"तपाईंको गाउँका मानिसको तीस चालीस रुपैयाँ ऋण छ क्यारे । त्यसमाथि यो ठुलो रकम भयो । कसरी तिर्न सक्नुहुन्छ र ?" अगाडि बोल्न लीलानाथ अक्मकाए ।
"विस्तारो तिरिएला नि ! तपाईंले अलिक सस्तो ब्याज राखिदिनु भयो भने म ब्याज घटाउँदै सावाँ पनि थोरै थोरै घटाउँछु ।
"त्यसो नगरौं । मैले पनि बढ्ता भएर तपाईंलाई दिएको होइन । आफ्नो सम्पत्तिको सबैलाई माया हुन्छ । मेरो साँधमा रहेको तपाईंको खेत मलाई पास गरिदिनुस् । बरु, तपाईंसँग तिर्न पुग्ने पैसा भए पछि फिर्ता लिनुहोला । तपाईंले तिरेपछि म अड्डामैं गएर पास गरिदिन्छु ।" आफ्नो योजनाको निस्कर्ष सुनाए लीलानाथले ।
लीलानाथको कुरा सुनेर पण्डित बद्रीनाथ छाँगाबाट खसे झैं भए । पण्डितसँग भए भरको सम्पत्ति भनेको त्यही पाँच छ मुरी धान फल्ने खेत थियो । राजदहको पाखो बारीको के गणना गर्नु ?
''त्यो खेत नै तपाईंलाई दिएपछि मेरो के बाँकी रहन्छ र ?" पण्डित छट्पटिए ।
"पाँच सात दिनभित्रै निर्णय गर्नुहोला । जग्गा पास गर्न सक्नुहुन्न भने दुई महिनाको किन नहोस् सवाई व्याज सहितको सावाँ फर्काउन सक्नुहुन्छ । मेरो केही भन्नु छैन ।" धम्कीको भाषा बोले लीलानाथले ।
लीलानाथको यो सम्पूर्ण योजनाको मूल केन्द्रमा आफ्नो खेत हडप्नु रहेको कुरामा पण्डित बद्रीनाथ प्रष्ट भइसकेका थिए ।
बद्रीनाथको निद्रा हरायो । दिनमा पनि उनलाई कसैले पछाडिबाट बोलाइरहेको जस्तो लाग्थ्यो । लीलानाथको छायाँ देख्नेबित्तिकै उनको मुटु ढुकढुक गर्न थाल्थ्यो ।
ooo
एक साँझ । पण्डितको घरमा साँझ नपर्दै खाना खाने चलनजस्तै भइसकेको थियो । सदाझैं उनिहरू पनि खाना खाएर बाहिर आँगनमा निस्किए ।
"उर्मिला दिदी हराएको पनि अब पाँच दिन पछि दुई महिना पुग्छ ।" खाना खाएर बाहिर आँगनमा उभिएर पश्चिमतिर सुशिलाले उदास भएर हेरिन् र एक्लै बर्बराइन् ।
तल बरपिपल चौतारोमा एउटा घुर्मैइलो मानिसको एउटा आकृति कुम्लो बोकेर उकालो लागेको देखियो ।
"उकालो आउने आइमाई मान्छे को होला ? यारी बेशीबाट आउने मानिस पनि कोही होइन । जङ्गलबाट घाँस दाउरा गरेर आउने पनि बेला होइन ।" सुशिलाले पण्डितलाई सुनकोशीको खोंचतिर औंलाले इसारा गरिन् ।
मनभित्रभित्रै त्यो मान्छे भाउजू भएको लख काटे पनि पण्डित बद्रीनाथले मुख फोड्ने आँट गर्न सकेनन् । सुशिलाले पनि शंका गरिन् तर केही बोलिनन् ।
सुशिला एकटक उकालो आउने आकृतितिर हेरिरहिन् । कुम्लो बोकेको त्यो आकृति बिस्तारै नजिकिँदै थियो । साँझको धमिलो उज्यालोमा अनुहार चिन्न कठिन थियो । तर उसको हिँडाइमा कताकता परिचितपन थियो ।
''कोही पाहुना आउन लागे जस्तो छ ।'' सुशीलाले भनिन् ।
बद्रीनाथले केही जवाफ दिएनन् । उनको छातीभित्र कुनै गरुङ्गो वस्तुले थिचे जस्तो लाग्यो । । मनले जुन आशङ्का गरिरहेको थियो, त्यही सत्य निस्कियो भने के गर्ने ? भाउजू फर्किएकी रहिछन् भने ? उनले आफूलाई गम्भीर प्रश्न गरे ।
आकृति बरपिपल चौतारो पार गरेर गाउँ मुनीको खोल्सा नजिक आइपुग्यो ।
''सुशिला !''
त्यो आवाज सुन्नासाथ सुशिला झसङ्ग भइन् । एकछिनसम्म उनलाई आफ्नै कानले धोका दिएजस्तो लाग्यो ।
''दिदी !''
उनी चिच्याउँदै अगाडि बढिन् ।
कुम्लो भुइँमा राखेर उर्मिला उभिइन् । सुशीलाले उनलाई अँगालो हालिन् । दुवैका आँखाबाट आँसु झर्न थाले । यतिका दिनदेखि हराएकी भाउजूलाई आफ्नै आँगनमा देख्दा सुशीलाले आफूलाई सम्हाल्न सकिनन् ।
''दिदी, तपाईं कहाँ हराउनुभएको थियो ? हामीले कति खोज्यौँ ! म त तपाईंलाई फेरि देख्नै पाउँदिनँ कि भनेर कति रोएँ !''
उर्मिलाले सुशीलाको टाउको सुमसुम्याइन् ।
''अब रोएर के गर्नु ?" भाग्यमा जे लेखेको थियो, त्यही भोग्नुपर्‍यो । बल्ल घर आइपुगेँ ।''
आँगनमा मानिसहरू जम्मा हुन थाले । हराएकी उर्मिला फर्किएको खबर गाउँभरि फैलिन धेरै समय लागेन । केही बेरमै छिमेकीहरू उनको हालखबर सोध्न आए । सबैका अनुहारमा आश्चर्य र खुसी मिसिएको थियो ।
तर बद्रीनाथ भने आँगनको एउटा कुनामा चुपचाप उभिएका थिए ।
उर्मिलाले उनलाई देखिन् ।
''बाबु, तपाईंलाई कस्तो छ ?''
बद्रीनाथले टाउको उठाए । भाउजूको अनुहारमा कुनै आक्रोश थिएन, कुनै गुनासो थिएन । बरु लामो समयपछि घरको मान्छेलाई देखेको आत्मीयता थियो ।
''ठीक छु, भाउजू,'' उनले मुस्किलले भने ।
उनी थप केही बोल्न सकेनन् ।
त्यो रात घरमा धेरै समयपछि चहलपहल थियो । सुशिला उर्मिलाको छेउमा बसेर उनका कुरा सुनिरहेकी थिइन् । गाउँलेहरू पनि उनको फर्काइको चर्चा गर्दै थिए । तर बद्रीनाथको मनमा भने अर्को संसार चलिरहेको थियो । उनले भाउजूलाई घरको बोझ ठानेर परित्याग गर्न खोजेका थिए । आज त्यही भाउजू आफ्नो अगाडि थिइन् । उही आत्मीयता, उही माया र उही सरलतासहित ।
उर्मिलाका लागि खाना पकाउन बुहारीको सहयोग लिंदै सुशिला भान्सातिर लागिन ।
भाउजूको आगमनले घरमा खुसी फर्किएको थियो । बद्रीनाथको छोरो खुसी हुँदै गाउँलेलाई सुनाउन हिँड्‌यो । बुहारी पनि खुसी देखिइन् । बद्रीनाथको मनमा भने पश्चात्तापको आगो बलिरहेको थियो । पश्चाताप गर्दागर्दै पनि पण्डित बद्रिनाथ मनभित्रको एक कुनामा खुसी देखिए ।
ooo
राती उर्मिलाको ओछ्यानमा गएर सुशिलाले यात्राका धेरै कुरा गरिन् । धेरै कुरा सोधिन ।
"लेउ यो पैसा लगेर बाबुलाई देउ !" उर्मिलाले तीनसय रुपैयाँ भन्दा बढीको एउटा पोको सुशिलालाई दिइन् ।
"कसरी यत्तिका पैसा ?" सुशिला छक्क परिन् ।
"शहर र गाउँघरमा माग्दै बास बस्दै आउँदा धेरै मानिसले पैसा पनि सहयोग गरे । अन्न र अन्य खानेकुरा पनि धेरै जम्मा भएको थियो । कति अन्न बाटोमैं मैले अरूलाई दिएँ । हामी तीर्थ यात्रा जाँदा बाबुले धेरै ऋण लिनु परेको थियो । पक्कै तिर्न पनि पुग्ला कि !"
पैसा ल्याएर सुशिलाले पण्डितलाई दिइन् । सुशिला र अरू कसैले नदेख्ने गरेर उनी सिरकले मुख छोपेर निकै बेर रोए ।
भोलिपल्ट बिहानै खेतमा पानी लगाउन पण्डित यारी खोलातिर गए । उर्मिला भाउजू फर्किएको खबर राती नै लीलानाथले सुनिसकेकै थिए । आजै भेटेर लीलानाथको सावाँ र दुई महिनाको व्याजसहित् ऋण तिर्न चाहन्थे बद्रिनाथ । उनले लीलानाथलाई टाढैबाट बोलाउन खोजे । तर लीलानाथ पण्डितलाई नदेखेझैं गरेर एउटा कुइनेटोमा छलिए ।
ooo
यो पुगनपुग पौने एकसय वर्षभन्दा अघिको घटना हो ।
अचेलभरी पनि मानिसहरू गाउँघरमा यो घटना सुनाउँदैछन् । सुनाउनेहरू कथा सुनाए झैं सुनाउँछन् । सुन्नेहरु कथा सुनेझैं सुन्छन् । वास्तवमा यो घटना कथा थिएन तर हाम्रो समाजमा कथा बनेर बाँच्यो । यो वास्तबिक घटना थियो । मैले कथा भनेर लेख्नु भन्दा अघि यो कथा थिएन ।
ooo

Wednesday, October 14, 2026

सुरेश किरण : अर्को भेटमा सुनाउने कथा अधुरै रह्यो - मातृका पोखरेल

 

सांस्कृतिक अभियन्ता एवम् कवि सुरेश किरण र म उमेरले एकै दामलका थियौं । करिव एक-डेढ वर्षले मात्र हाम्रो उमेरमा फरक भए पनि उहाँ मलाई दाइ भनेर सम्बोधन गर्नुहुन्थ्यो । पैंतालीस सालको अन्तदेखि भेट भएको थियो हाम्रो । ती भेटहरू साहित्यको माध्यमले भएका थिए । प्राय : प्रगतिशील सङ्घ संस्थाहरूले आयोजना गर्ने विभिन्न साहित्यिक गोष्ठीहरू हाम्रा भेट हुने माध्यम थिए ।

सुरेश कीरण कविमात्र हुनुहुन्थेन । हाम्रो भेट हुँदा सायद पत्रकार भइसक्नु भएको थियो । उहाँसँग परिचय भएको एकाध वर्ष पछि छयालीस सालको आन्दोलनमा हामी आ-आफ्नो ठाउँबाट सक्रिय भयौं । त्यही आन्दोलनको बेला हाम्रा बीचमा उहाँको वीरताको एउटा घटना हल्लाको रूपमा 'भाइरल' भयो । त्यो घटनाले समवयका हामी साथीहरूका बीचमा उहाँ 'हिरो' बन्नुभयो । छयालीसको आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंह वीर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । अस्पतालमा उहाँलाई कसैसँग भेटघाट र सम्पर्क गर्न दिइएको थिएन । डाक्टरको भेषमा पसेर उहाँले गणेशमानसँग अन्तर्वार्ता गर्नु भएछ । हाम्रा बीचमा चलेको यस वास्तविक हल्लाले हाम्रो जमातको उहाँ 'हिरो' बन्नुभयो ।

छयालीस सालको आन्दोलनपछि पनि विभिन्न अभियानहरूमा उहाँ भेटिइरहनु हुन्थ्यो । कहिले हाम्रा साझा अभियानहरू हुन्थे कहिले फरक । प्रगतिशील साहित्यिक गोष्ठीहरूमा प्राय: भेट भइरह्यो ।

पछिल्लो समय उहाँ भाषा आयोगमा आउनु भयो । उहाँ आए पछि उहाँको मोटरसाइकलको पछिल्तिर बस्ने म नियमितजसो यात्रु भएँ । त्यसपछि महाबौद्धमा उहाँको साथीको पसल छेउमा मोटरसाइकल राखेपछि हामी मम खाने बहानामा पुरातत्विक काठमाण्डुको छेउकुना पस्थ्यौं ।

त्यसबेलाको एउटा सम्झना आइरहन्छ । काठमाडौँ उपत्यका केवल एउटा राजधानीमात्र होइन, हजारौँ वर्षको सभ्यताको दस्तावेज हो भन्ने ज्ञानको धेरै हिस्सा मैले उहाँबाटै प्राप्त गरेँ ।

सुरेश किरणको जन्म पनि 'कोर सिटी' अर्थात् न्युरोडकै छेउमा भएको रहेछ । घुम्दै जाने क्रममा आफ्नै जन्मस्थानको छेउमा लगेर मलाई उहाँले पाको पोखल्ड्याङको कथा भन्नु भएको सम्झन्छु । गजवको इतिहास रहेछ । नेपाल भाषाबाट नेपाली भाषामा अपभ्रंस भएर ''पाको पुखुद्यां'' नै "पाको पोखल्ड्याङ" भएको रहेछ । नेपाली साहित्यको इतिहास पढ्दा यो नाम मैले सुनिरहेको नाम थियो । विशिष्ट आख्यानकार गोविन्दबहादुर मल्ल गोठालेको जन्मस्थल, मेरा अनन्य मित्र साहित्यकार अतृप्त पाण्डेयको जन्मस्थल । पढिरहेको र सुनिरहेको नाम थियो मेरा लागि ।

"भोटाहिटी नामको ढुङ्गेधारा पुरेर यो भवन बनाए दाइ !'' नजिकै रहेको साझा संस्थाको भवन देखाउँदै उहाँले भन्नु भएको थियो एकदिन । यसो भन्दै गर्दा उहाँको अनुहारमा एउटा विषादको भुमरी नाचिरहेको महसुस गरेको थिएँ मैले त्यसबेला ।

एकदिन भाषा आयोगमा कुरैकुरामा सुरेश कीरणले असन चोकमा निस्कने सातवटा बाटो छन् भन्नुभयो । जतिपटक मनमनै गन्छु छ वटा भन्दा पुऱ्याउनै सक्दिन । एकदिन उहाँकै मोटरसाइकिल पछि बसेर असन पुगेँ । उहाँले असन पुग्ने सातवटा बाटोमात्र देखाइदिनु भएन असन चोकमैं उभिएर लामो समयसम्म असनको कथा सुनाउनु भयो ।

जैशीदेवलको रोचक कथा उहाँले जैशीदेवलमैं पुगेर मलाई सुनाउनुभयो । जैशी देवलको निर्माण पनि नेपालको राजनैतिक सत्ता संघर्षको परिणाम रहेछ । रोचक इतिहास रहेछ जैशी देवलको ।

वि.सं .२०८२ फागुन ६ गते भाषा आयोगका सदस्यहरू सुरेश कीरण, कृष्णप्रसाद न्यौपाने, डा. पुष्करराज भट्ट र म भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरको माताको निधनमा समवेदना प्रकट गर्न बारा जिल्लाको कचर्वा जाँदै थियौं । कुलेखानी पुग्दै गर्दा हाम्रा बिचमा देउरालीमा पुगेर चिया पिउनु पर्ला भन्ने चर्चा चल्यो ।

''चिया चाहिँ भीमफेदीमा पुगेर पिउँ । चिया पिउँदै गर्दा दाइलाई म भीमफेदीको कथा पनि सुनाउँछु ।" इतिहासप्रतिको मेरो रूची बुझेर सुरेश कीरणले यस्तो प्रस्ताव राख्नुभएको थियो । किनकी, उहाँ भाषा आयोगमा आउनु भएपछि उहाँको मोटरसाइकिलमा बसेर उहाँबाट काठमाण्डौको प्राचीन सभ्यताको बारेमा महत्वपूर्ण सन्दर्भहरू सुन्न पाएको थिएँ । हामी भीमफेदी पुगेर चिया पिउन तयार भयौं ।

भीमफेदीसँग उहाँको पुरानो सम्बन्ध रहेछ । चिसापानीगढीबाट ओरालो लाग्ने वित्तिकै उहाँले भन्न थाल्नु भयो "वि.सं . १८२५ मा पृथ्वी नारायण शाहले काठमाण्डौंमाथि आक्रमण गर्दा सबभन्दा पहिले भीमफेदीलाई नाकाबन्दी गरेका थिए ।"

"के भीमफेदी त्यसबेला मकवानपुरगढी अन्तर्गत थियो ?" भीमफेदीको इतिहास बुझ्ने मेरो रूची बढ्दै गयो ।

"होइन । यो पाटन राज्य अन्तर्गत थियो । भीमफेदी त्यसैबेला महत्वपूर्ण नाका थियो । यसलाई कब्जा गरेर आफ्नो बनाउन पाटन, भक्तपुर र काठमाण्डौंको बिचमा युद्धहरू नै भएका छन् । पछि पाटनको भयो ।" इतिहासका सामान्य तथ्यहरूबाट उहाँ जानकार हुनुहुन्थ्यो ।

"वि.सं . २०११ सालको बाढी र वि.सं. २०१२ सालमा खुलेको त्रिभुवन राजपथ भीमफेदीका ठुला काल हुन् । त्यसपछि वि.सं. २०३९ सालमा मकवानपुरको सदरमुकाम भीमफेदीबाट हेटौंडा सारेपछि यो ठाउँ सम्पूर्ण रूपमा नामेट पारियो । " चिसापानीगढीको ओरालोबाट देखिने भीमफेदीको उजाड शहरलाई हेर्दै उहाँ हामीलाई सुनाउँदै हुनुहुन्थ्यो ।

भीमफेदीको पुरानो पसलमा चिया पिएर हामी एकछिन मृत शहर भीमफेदीको कथा सुन्न सुरेश कीरणको पछि लाग्यौं ।

" पूर्वाधार र सुविधाका दृष्टिले यो सहर त्यसबेला काठमाण्डौं पछिको दोस्रो सहर थियो ।" उहाँ भन्दै हामीलाई लिएर एउटा पुरानो दरबारको आकृति झल्कने सानो भवनको अघिल्तिर पुग्नुभयो ।

"काठमाण्डौंमा वीर अस्पताल बनेकै समयमा यो अस्पताल बनेको हो । वीर अस्पताल र यो अस्पतालको डिजाइन एउटै थियो ।" एउटा जीर्ण भइसकेको तर पुरानो दरबारको जस्तो झल्को दिने एउटा भवनको अघिल्तिर पुऱ्याउँदै उहाँले हामीलाई भन्नुभयो ।

एकदिन भाषा आयोगमा कुरै कुरामा सुरेश किरणले असनको ढिके नुनको पसलको कुरा गर्नुभयो । दुई सय वर्ष अघिदेखि एउटा डालोमा राखेर अहिलेसम्म निरन्तर एउटै परिवारका शाखा सन्तानले चलाएको पसल रहेछ त्यो । उहाँले त्यो पसलको कथा भनिरहँदा कुनै तिलस्मी कथा सुने झैँ लाग्थ्यो मलाई ।

"एकदिन दाइलाई त्यो पसल देखाउँछु ।" उहाँले यसो भनिरहँदा मलाई त्यो पसल हेर्ने हतारो थियो । अब उहाँले गरेको त्यो बाचा सदा मेरो स्मृतिमा मात्र रहने भयो ।

एकदिन प्रसङ्गबस उहाँसँग कोतपर्वको चर्चा चलेको थियो ।

"कोतपर्वका गगन सिंहको मूल घर केही वर्ष अघि भत्क्यो । अर्को छेउको घर छँदै छ । कुनै दिन दाइलाई म त्यो देखाउँछु ।" उहाँबाट मैले त्यो बचन पनि पाइसकेको थिएँ । मलाई गगन सिंहको घर देखाउने उहाँको इच्छा पुरा हुनुभन्दा अघि उहाँलाई हामी विदा गर्न विवस भयौं । गगन सिंहको घर हेर्ने इच्छा तीब्र हुनुको पछाडि मेरो एउटा बेग्लो कारण थियो । पहाडको गाउँमा शहरतिरबाट पुग्ने मनोरञ्जक उपन्यास र कथाहरू पढ्ने मौका हामीलाई हम्मेसी जुर्दैनथ्यो । घरमा ज्योतिषशास्त्र , धार्मिकशास्त्रका किताबहरू प्रसस्त थिए । यी बाहेक एउटा अत्यन्तै पुरानो बाहिरी पानाहरू च्यातिएको बोधविक्रम अधिकारीद्वारा लिखित दन्त्य कथाको किताब र बालचन्द्र शर्माद्वारा लिखित 'नेपालको ऐतिहासिक रूपरेखा' थियो । 'नेपालको ऐतिहासिक रूपरेखा' उपन्यासको मजा लिए जसरी पढियो । कोतपर्व आनन्द मानेर पढियो । तर उहाँसँग गगन सिंहको घर हेर्न जाने दिन कहिल्यै आएन ।

सायद त्यो घर अब मलाई कसैले देखाइदिने छैन । र त्यो घरको सिलसिलेवार कथा कसैले सुनाइदिने छैन । सुरेश कीरणसँग भेट हुँदा मलाई सधैँ लाग्थ्यो - उहाँसँग अझै धेरै कुरा सोध्न बाँकी छ। कुनै ऐतिहासिक स्थलको चर्चा हुँदै गर्दा अर्को भेटमा त्यसबारे विस्तृत सोधौँला भन्ने सोच्थेँ। कुनै पुरानो अभिलेखको प्रसङ्ग आउँदा त्यसको स्रोत मागौँला भन्ने योजना बनाउँथेँ । नेपाल भाषाका कुनै शब्दको उत्पत्तिबारे उहाँको धारणा फेरि सुन्ने इच्छा हुन्थ्यो। तर जीवनले हामीलाई सधैँ अर्को भेटको अवसर दिँदैन रहेछ । केही प्रश्नहरू प्रश्नकै रूपमा रहँदा रहेछन् । सुरेश किरणसँग त्यस्तै भयो ।

मेरा लागि सुरेश किरणको निधन एउटा प्रिय साथीको दुखःद मृत्यु मात्र थिएन; एउटा सभ्यता र संस्कृतिको जीवित र भव्य पुस्तकालयको अन्त्य हुनु पनि थियो । अल्पायुमैं हामीले सुरेश कीरणलाई उहाँका सिर्जनामा खोज्नु पर्ने भयो । अब हामीले उहाँका कर्ममा खोज्नु पर्ने भयो । उहाँले जगाएका प्रश्नहरूमा खोज्नुपर्ने भयो । उहाँले बचाउन आग्रह गरेका सम्पदाहरूमा खोज्नुपर्ने भयो । उहाँले प्रेम गरेको भाषामा खोजी गर्नु पर्ने भयो । मानव सभ्यताका यी स्थानहरूमा जहाँ खोजे पनि सुरेश कीरण भेटिनुहुन्छ । यी ठाउँहरूमा दीर्घकालसम्म उहाँ बाँचिरहनु हुन्छ । सबै मानिसहरू यसरी बाँच्न सक्दैनन् । तर सुरेश कीरण सदाका लागि बाँच्न सक्ने मानिस भएर हामीसँग विदा हुनुभयो ।

ooo



  दायाँबाट क्रमश : सुरेश कीरण,  डा. पुष्करराज भट्ट कृष्णप्रसाद न्यौपाने र मातृका पोखरेल भीमफेदीमा