यस सङ्ग्रहमा सङ्कलित ‘नयाँ शताब्दीको थोत्रो मान्छे’ शीर्षकको कवितामा नेपालको राजतन्त्र र त्यसको नाइके राजालाई प्रतीकात्मक रूपमा उभ्याइएको छ । नेपालको राजा कफ्र्यु नलागेको दिन र जुनेली रात दुवैसँग डराउँछ भन्दै ‘गरिब देशको धनी मान्छे’, ‘नयाँ शताब्दी थोत्रो मान्छे’, ‘द्वापर युगको मान्छे’ जस्ता प्रतीकद्वारा उसको (राजाको) चरित्रलाई प्रस्ट्याउने काम गरिएको छ । यस कविताले राजा ज्ञानेन्द्रद्वारा गरिएका जनदमन, कुकृत्य र उसको चरित्रको भण्डाफोर गरेको छ । यस सङ्ग्रहकै शीर्षकका रूपमा रहेको ‘अनुहारहरू’ शीर्षकको कविता यस सङ्ग्रहको एउटा सशक्त कविता हो । यस कवितामा नेपाली जनताको मुक्ति आन्दोलन, त्यसमाथिको शासकीय दमन र शोषितपीडित वर्गप्रतिको पक्षधरताको चित्रण छ । शासक वर्ग क्रुर र निर्मम ढङ्गले जनदमनमा उत्रिएको छ, नेपाली जनताहरू प्रतिरोध गरिरहेका छन् । त्यहाँ शासकको अनुहार बाहिरबाट हेर्दा जतिसुकै सफा र सज्जापूर्ण देखिए पनि उसको भित्री अनुहार भने ज्यादै बर्बर, हिंस्रक र डरलाग्दो छ । कविले यस्तो अनुहारप्रति तीव्र घृणा प्रकट गरेका छन् । कविलाई अन्याय, अत्याचारको प्रतिरोध गरिरहेका श्रमजीवी शोषितपीडित जनताका मैलाधुस्रा अनुहारहरू राम्रा र सुन्दर लाग्छन् । यसरी यस कविताले कविको वर्गीय दृष्टिकोण र वर्गीय पक्षधरतालाई प्रस्ट पारेको छ । यस सङ्ग्रहमा सङ्कलित ‘उसको मृत्युमा’ शीर्षकको कवितामा एक जना क्रान्तियोद्धाको सहादतको प्रसङ्ग उल्लेख गरिएको छ । यसले जनयुद्धमा सहादत हुने कृष्णसेन ‘इच्छुक’हरूको सम्झना गराउँछ । यस सङ्ग्रह सङ्कलित ‘कविताको विषय’ शीर्षक कवितामा नेपालमा सङ्कटकाल लागेको बेला अभिव्यक्ति स्वतन्त्रतामाथि भएको नाङ्गो हस्तक्षेप र प्रतिबन्धप्रति विरोध, आक्रोस र व्यङ्ग्य गरिएको छ । ‘फरकफरक मुर्दाघाटहरू’ शीर्षक कवितामा २०६१ भदौ १५ गते इराकमा बाह्रजना नेपालीको हत्या भएको विषयलाई मार्मिक रूपमा चर्चा गरिएको छ । यस सङ्ग्रहमा सङ्कलित ‘कसको जमिन’ शीर्षक कवितामा नेपालको सिमाना र सार्वभौमसत्तामाथिको वैदेशिक हस्तक्षेपको विरोध गरिएको छ । ‘सबै कुरा साँचो हुनेछ’ शीर्षक कवितामा जनचेतना र जनप्रतिरोध नभएस्म्म अन्याय, अत्याचार, शोषण, दुष्प्रचारहरू कायम रहन्छन् भन्ने भाव व्यक्त गरिएको छ । यस सङ्ग्रहमा सङ्कलित ‘ऊ बगर; खडेरी पर्खन्छ’ शीर्षक कवितामा कहिल्यै सुख, खुसी र सन्तुष्टि भोग्न नपाउने, पीडितहरूको जीवन यथार्थलाई खडेरी पर्खने बगरसँग तुलना गरिएको छ । ‘टुकुचा’ शीर्षक कवितामा ‘टुकुचा’ नदीको दुर्गन्धित अवस्थाको चित्रण गर्दै यसको इतिहासको सफा र सुन्दर पक्षको स्मरण गरिएको छ । यस कविताले विगतमा जनताको लागि, परिवर्तनका लागि त्याग, समर्पण गरेका नेताहरू सत्ता र कुर्सीको मोहमा फसेर जनविरोधी भएको तथ्यलाई प्रतीकात्मक रूपमा चित्रण गरेको छ । यस सङ्ग्रहमा सङ्कलित ‘टोप आतङ्क’ शीर्षक कवितामा जनदमनमा उत्रिएको शासकको कुकृत्यलाई देखाइएको छ ।
यस कविताले २०६१ माघ १९ पछि राजा ज्ञानेन्द्रले पुराना पञ्चहरूलाई अगाडि सारेर जनदमनमा उत्रिएको सन्दर्भलाई साधारणीकरण गरेको छ । यस सङ्ग्रहको अर्को कविता ‘बाँझो जमिन र हलीहरू’ हो । यस कवितामा जनआन्दोलनलाई साथ नदिने कुनै समूह वा पार्टीविशेषलाई सङ्केत गर्दै केही समूह वा पार्टी विशेषले छाड्दैमा जनआन्दोलन रोकिँदैन भन्ने कविको उद्घोष व्यक्त भएको छ । यस सङ्ग्रहमा सङ्कलित ‘अचेल मान्छेहरू’ शीर्षक कवितामा सहिद विजय ढकाल ‘विश्वास’ को सहादतको प्रसङ्गबाट मुक्तियुद्धमा संलग्न योद्धाहरूको सहादतको महिमागान गाइएको छ । ‘उनीहरूले सोचेका भए...’ शीर्षकको कवितामा अन्याय, अत्याचार, शोषण, सदाकाल टिक्दैन । जनताहरू परिवर्तनका लागि उठेपछि अन्याय–शोषणको अन्त्य भइछाड्छ भन्ने भाव व्यक्त गरिएको छ । यसमा नेपालमा सामन्ती शासनव्यवस्थालाई ‘इतिहासले बोकेको एउटा गलगाँड’ का रूपमा लिँदै त्यसबाट छुटकारा पाउने उद्घोष गरिएको छ । यसमा नेपालको राजतन्त्रलाई नेपाली जनताको दुस्मनका रूपमा चित्रित गर्दै अब त्यसलाई हटाउने उद्घोष गरिएको छ । यस सङ्ग्रहमा सङ्कलित ‘भोलिको तस्बिर’ कवितामा नयाँ पुस्तामा मौलाउँदै गएको उपभोक्तावादी पश्चिमा संस्कृतिले सिर्जना गर्ने एकलकाँठे र व्यक्तिवादी चिन्तनप्रति चिन्ता व्यक्त गरिएको छ । उपभोक्तावादी–पुँजीवादी संस्कृतिको प्रभावमा मान्छेले आफ्ना मान्यजन र अग्रजहरूप्रति श्रद्धाभाव व्यक्त गर्ने प्रवृतिलाई भुल्ने खतरा रहेको कुरालाई यस कवितामा कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।यस सङ्ग्रहमा सङ्कलित ‘भोलि’ शीर्षकको कवितामा सुन्दर र विकसित नयाँ नेपालको परिकल्पना गरिएको छ । भोलिको नेपालमा अन्याय, अत्याचार, शोषण, अभाव, गरिबी आदिको अन्त्य हुनेछ र नेपाल र नेपालीहरू प्रगतिको शिखर चुक्न सक्नेछन् भन्ने विश्वास व्यक्त गरिएको छ ।
यस सङ्ग्रहमा सङ्कलित ‘म खोज्दैछु अर्को अमलेखगन्ज’ शीर्षक कवितामा राजनीतिक स्वतन्त्रता मात्रैले जनताको कल्याण हुँदैन । राजनीतिक स्वतन्त्रतासँगै पराधीन र पराश्रित चिन्तनबाट मुक्त भएर स्वाधीन र स्वाभीमानी मान्छे बनेर मात्र जनताले साँच्चिकै स्वतन्त्रता र मुक्तिको महसुस गर्न सक्छन् । यसर्थ अब हामीले स्वाधीन र स्वाभीमानका लागि सङ्घर्ष गर्नुपर्दछ भन्ने यस कविताको भाव रहेको छ । नेपालका नेताहरू सत्ताबाहिर रहँदा र सत्तामा नपुग्दासम्म जनताका मित्र देखिन्छन्, तर सत्ता (सिंहदरबार) मा पुगेपछि जनविरोधी बन्न पुग्छन् । यही यथार्थलाई यस सङ्ग्रहमा सङ्कलित सिंहदरबार कवितामा राम्ररी उजागर गरिएको छ । यसमा सङ्कलित ‘समय’ शीर्षकको कवितामा शान्ति र परिवर्तनका पक्षमा देखिएका नयाँ सम्भावनाहरू आशाप्रद छन् तर तिले पूर्णता पाउँछन् वा पाउँदैन भन्ने आशङ्का छ भन्ने भाव व्यक्त गरिएको छ । यस सङ्ग्रहमा सङ्कलित ‘वनफूल र सपना’ शीर्षकको कविताले जनआन्दोलन–२ मा सहादत हुने सहिद सेतु सुनारको सन्दर्भबाट शोषित–पीडित नेपाली जनताहरूले परिवर्तनको आन्दोलनमा निर्णायक भूमिका पूरा गरेको तथ्यलाई प्रस्ट्याएको छ । यस सङ्ग्रहमा सङ्कलित ‘उदयपुर’ शीर्षकको कवितामा कविको आफ्नो जन्मभूमि उदयपुरको दीनहीन अवस्थाको चित्रण गर्दै आउँदा दिनमा उदयपुरजस्ता नेपालका सबै गाउँबस्तीहरूमा अग्रगामी परिवर्तन हुनेछ र समग्र नेपालको प्रगति उन्नति हुनेछ भन्ने आशा व्यक्त गरिएको छ । यस सङ्ग्रहका सबै कविताहरूमा नेपाली समाजको यथार्थ चित्रण भएको छ ।
यस सङ्ग्रहका कवितामा शोषित–उत्पीडित वर्गको वर्गीय पक्षधरता व्यक्त भएको छ । यस सङ्ग्रहका सबै कविता यथास्थितिको विरुद्ध अग्रगामी परिवर्तनको पक्षपाती छन् । यसर्थ यस सङ्ग्रहका कविताको मूलप्रवृत्ति प्रगतिवादी रहेको छ । यस सङ्ग्रहमा सङ्कलित तेइसवटै कविता गद्यलय (मुक्त छन्द) मा रचिएका छन् । यसमा सङ्कलित सबै कवितामा नेपाली समाज, इतिहास, राजनीति, संस्कृति र प्रकृतिका सरल र स्वाभाविक बिम्ब र प्रतीकहरूको प्रयोग गरिएको छ । कविता कलाका दृष्टिले नेपाली प्रगतिवादी कवितामा देखिने कमजोरीबाट यस सङ्ग्रहका कविताहरू धेरै मुक्त छन् । यो यस सङ्ग्रहका कविताहरूको सबल पक्ष हो । ‘प्रगतिवादी कविताहरूमा कला हँुदैन, नारा हुन्छ’ भन्नेहरूका लागि यस सङ्ग्रहमा सङ्कलित कविताहरूले राम्रो जबाफ दिएका छन् । यसका लागि कवि मातृका पोखरेल स्याबासीका पात्र बनेका छन् । कहीँ कतै निराशा देखिनु र नेपाली जनताको बलिदानी सङ्घर्षको विराट स्वरूपलाई प्रस्ट देखाउन नसक्नुजस्ता कमजोरीहरू रहँदारहँदै पनि यो कविताकृति नेपाली प्रगतिवादी कवितायात्राको एउटा सफल कृति बनेको छ ।
No comments:
Post a Comment