वि.सं. २०५३ सालतिर प्रगतिशील लेखक सङ्घ, झापाले काकडभिट्टामा दुईदिने विचारगोष्ठी र कविता वाचन कार्यक्रम राखेको थियो । त्यही बेला हो जस्तो लाग्छ, त्यो गोष्ठी सकिएपछि साहित्यकार भवानी घिमिरेसँग रूद्र खरेल सर र म शनिश्चरेसम्मको यात्रामा हिड्यौं । म प्रगतिशील साहित्यिक क्षेत्रमा विद्यार्थी भएर आइ पुग्दा सरोज ओली हामीले सुनिरहने नाम भइसकेको थियो । व्यक्तिगत रूपमा उहाँसँग भेटेको पहिलो भेट त्यही होला जस्तो लाग्छ । त्यो भेटको पनि गजवको एउटा प्रसङ्ग छ । साहित्यकार रुद्र खरेलको दिदीको घर थियो शनिश्चरेमा । रुद्र खरेल सर र मैले काठमाण्डौबाट झापाको लागि बाटो लाग्दा नै कार्यक्रम सकेर फर्किँदा शनिश्चरे निस्कने सल्लाह गरेका थियौं । काकडभिट्टामा कार्यक्रम सकिएर हामी शनिश्चरे जाने तरखर गर्दै थियौं । त्यहीबेला साहित्यकार भवानी घिमिरे दाइले पनि हामीसँगै जाने प्रस्ताब राख्नुभयो । हामी खुसी भयौं । भवानी घिमिरेसँग सँगै रहनु र उहाँका कुरा सुन्न पाउनु मेरो लागि पनि खुसीको कुरा थियो । तर भवानी दाइसँगको यात्रा हामीले काठमाण्डौबाट हिँड्दा सोचेजस्तो भएन । पहिलो दिन उहाँले लगेर हामीलाई धुलाबारीमा बास राख्नुभयो साहित्यकार तेजराज खतिवडा ( तेराख ) को घरमा । त्यस रात भवानी दाइ, तेराख दाइ र रूद्र सरका बीचमा भएका धेरै ज्ञानोपयोगी छलफलले म धेरै लाभान्वित भएँ । मैले धेरै कुरो बुझ्ने मौका पाएँ । भोलिपल्ट त्यहाँ खाना खाएर दिउँसो हामी विर्तामोडमा पुग्यौं । विर्तामोडमा भवानी घिमिरे दाइले केही घरहरूमा लिएर जानुभयो । साँझ पर्न लागेपछि उहाँले हामीलाई सरोज ओली दाइको घर लिएर जानुभयो । त्यो रात धेरै साहित्यिक छलफलहरू भए । झापा आन्दोलन, झापामा बीस र तीसको दशकका साहित्यकारहरुका बारेमा छलफल भए । साक्षीजस्तो उहाँहरूका कुरा सुनेर म धेरै लाभान्वित भएँ । एकप्रकारले भन्ने हो भने मलाई झापाको एउटा साहित्यिक राजनैतिक इतिहासको पुस्तकालयमा पसेजस्तो महसुस भयो । भोलिपल्ट त्यहीँ खाना खाएर हामी साँझमा शनिश्चरे पुग्यौं । भवानी दाइसँगको तीन दिन यात्राले हाम्रो काठमाण्डौ फर्किने तालिका नै गडबड भयो । त्यो छोटो यात्राबाट भवानी घिमिरे दाइको मानिसहरूसँग सम्पर्क राख्ने शैली पनि बुझ्न पाएँ मैले । त्यो छोटो यात्राले मलाई साहित्यिक जीवनका असल मानिसहरूसँग घुलमिल हुने दुर्लभ अवसर पनि दियो । त्यही बेला बनेको परिचयको जगका कारण पछिल्ला दिनमा कुनै न कुनै सन्दर्भमा सरोज ओली दाइसँग म निकट रहेँ ।
Friday, September 26, 2025
जागरणको एउटा दियो : सरोज ओली - मातृका पोखरेल
वि.सं . २०५८ साल पछि अर्थात् तत्कालिन राजा ज्ञानेन्दको शासनकाल पछि मानिसहरुमा गणतन्त्रको चेतना बढ्न थाल्यो । प्रजातन्त्रप्रति ज्ञानेन्द्रको बक्रदृष्टि पछि यो चिन्तनको व्यापक विस्तार भएको थियो । हामीले काठमाण्डौमा गणतन्त्र कविता आन्दोलनको नाममा ठाउँठाउँमा काव्य गोष्ठी गऱ्यौं । हाम्रो यो आन्दोलनबाट दुइजना अग्रज स्रष्टाहरू धेरै प्रभावित हुनुभयो र हामीलाई हौसला दिइरहनु भयो । एकजना राजधानीभित्रैबाट दाहाल यज्ञनिधि हुनुहुन्थ्यो र अर्को झापाबाट सरोज ओली हुनुहुन्थ्यो । ज्ञानेन्द्रले सञ्चार माध्यमहरूमा अवरोध पुऱ्याए पनि कुनै न कुनै माध्यमबाट खबर पुऱ्याएर काठमाण्डौंमा आन्दोलनरत हामीलाई उत्प्रेरित गराइरहनु हुन्थ्यो उहाँ। उहाँ हामी आन्दोलनकारीहरूका बीचमा अविभावकको भूमिका निर्वाह गर्नुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घका गतिबिधिप्रति उहाँ निकै चासो राख्नु हुन्थ्यो । झापामा त उहाँ प्रगतिशील लेखक सङ्घको मियो नै हुनुहुन्थ्यो । प्रलेसको केन्द्रमा हुने कार्यक्रम र गतिबिधिबारे जानकारी लिने गर्नुहुन्थ्यो ।
एकदिन महिला नेतृ धर्मशिला चापागाईँले फोन गर्नुभयो र एउटा प्रस्ताव राख्नुभयो । उहाँले नभएर उहाँसँग मैले राख्नुपर्ने थियो त्यो प्रस्ताव । तर उहाँले राख्नुभयो । मलाई कताकता सङ्कोच पनि लाग्यो । उहाँले प्रस्ताव गर्नुभन्दा धेरै पहिले देखि मलाई लागिरहन्थ्यो - 'भवानी घिमिरेजस्तो विशिष्ट साहित्यिक पत्रकार, स्रष्टालाई जीवन्त बनाइरहन एउटा संस्था पक्कै चाहिन्छ ।' तर यो काम अघि बढाउन सकिएको थिएन ।भवानी घिमिरे साहित्य प्रतिष्ठान निर्माणको पहिलो परिकल्पनाकार धर्मशिला चापागाईं हुनुहुन्थ्यो । उहाँले मलाई भवानी घिमिरेकी जीवनसाथी शिवानी घिमिरे भाउजूलाई भेट्न गौरीघाट लिएर लिएर जानुभयो । भवानी दाइकै पारिवारिक सदस्य एवम् विद्यार्थी नेता नरेश रेग्मी पनि साथै हुनुहुन्थ्यो । भाउजू र धर्मशिलाजीले मलाई अध्यक्ष बनिदिन निकै आग्रह गर्नुभयो । मैले अध्यक्षका लागि म भन्दा सरोज ओली दाइ उपयुक्त पात्र हुनुहुन्छ भने उहाँहरूसँग । त्यसपछि सरोज ओली दाइसँग प्रस्ताव राख्यौं हामीले । सरोज दाइ खुसी हुनुभयो र स्वीकार गर्नुभयो । साहित्यकार भवानी घिमिरेको कर्मथलो झापाको भद्रपुरमै पुगेर ‘भवानी घिमिरे साहित्यिक प्रतिष्ठान’ दर्ता भयो । कार्यसमितिमा सरोज ओली - अध्यक्ष , कृष्ण धरावासी - उपाध्यक्ष , दुर्गा दाहाल - उपाध्यक्ष, मनिता घिमिरे - कोषाध्यक्ष , धर्मशिला चापागाईँ - सदस्य , मातृका पोखरेल - सदस्य, लीला अनमोल - सदस्य , खगेन्द्रा खुशी - सदस्य, सुमित्रा वाङ्देल चेली - सदस्य, वीरेन्द्र वस्नेत - सदस्य र नरेश रेग्मी - सदस्य सचिव रह्यौं । हामीले ठुलै सपना साँचेर त्यो संस्था खडा गरेका थियौं । त्यही प्रतिष्ठानको आयोजनामा २०७५ साल माघ १८ र १९ गते झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय मितेरी साहित्य सम्मेलनको आयोजना गरियो । नेपालका धेरै क्षेत्रबाट र भारतका नेपाली भाषी साहित्यकारको ठुलै उपस्थिति रहेको उक्त कार्यक्रमको तयारीमा हाम्रो साथ र सहयोग रहे पनि मूल रूपमा धर्मशिला चापागाईँको सक्रियता र मेहनतको परिणाम थियो त्यो कार्यक्रम । त्यो कार्यक्रम सम्पन्न बनाउन नरेश रेग्मीको पनि मनग्गे पसिना पोखिएको थियो । तीनदिने अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको आयोजना गर्नु र सम्पन्न गर्नु चानचुने कुरा थिएन । त्यो कार्यक्रमलाई सफल पार्न आर्थिक जोहो गर्ने काममा धर्मशीलाजीको प्रयत्न अनुकरणीय थियो । आखिर कार्यक्रम भव्यताका साथ सफल भयो । छोटो समयमा भवानी घिमिरे साहित्यिक प्रतिष्ठान’ को चर्चा र ख्याति नेपाल र भारतका नेपाली भाषीको बिचमा पुग्न सफल भयो । आरम्भको त्यो गतिशीलतालाई हामीले कायम राख्न सकेनौं । एकप्रकारले भन्ने हो भने हामीले संस्थालाई जीवन्त राख्न पनि सकेनौं ।संस्थालाई जीवन्त राख्न नसकेकोप्रति सरोज दाइ अत्यन्तै चिन्तित हुनुहुन्थ्यो । 'भाइ ! त्यो संस्था मर्न दिनु हुँदैन है ! भवानी दाइको नेपाली साहित्यमा ठुलो योगदान छ ।' उहाँ बारम्बार भन्ने गर्नुहुन्थ्यो । अब सरोज ओली हाम्रा बीचमा हुनुहुन्न । अब मलाई वारम्बार फोन गरेर कसैले झस्काउँदैन । मेरो उमेरका सबैलाई बाबु भन्नु हुँदो रहेछ उहाँ । तर मलाई भने जहिल्यै पनि भाइ भनेरै सम्बोधन गर्नुभयो ।
सिर्जनाको क्षेत्रमा उहाँले जति काम गर्नुभयो, त्यसको यथोचित मूल्याङ्कन हुन सकेन । उहाँले जति कृति नेपाली साहित्यलाई दिनुभएको छ , ती आफैं महत्वपूर्ण छन् । उहाँका ‘विद्रोह र मुक्ति’ (कविता संग्रह), ‘सरोज ओलीका कविता’, ‘तम्मरनदीका धुन’ .(कविता संग्रह), ‘मुटु छुने कथा’ (कथा संग्रह), ‘स्टेथिस सागरदेखि हिमालसम्म’ (कथा संग्रह), ‘हड्तालै हड्ताल जुलुसै जुलुस’ (उपन्यास), ‘माटोको माया’ (उपन्यास) , ‘पथिक कवि लक्ष्मी आचार्य’ (जीवनी परिचय), ‘आत्मपरक निबन्धहरु’ (निबन्ध संग्रह) प्रकाशित छन् । प्रगतिवादी दृष्टिले उहाँका यी कृतिहरू अत्यन्तै महत्त्वपूर्ण छन् । उहाँकोलेखन शिल्पमा प्रौढता र परिपक्वता देखिन्छ ।
सरोज दाइ जतिपटक काठमाण्डौ आउनु हुन्थ्यो, मेरो घरमा प्रायः निस्कनु हुन्थ्यो । छोरी सुम्निमाको घरमा आउँदा मेरा लागि पनि झापातिर पाइने फलफूलहरू लिएर आउनुहुन्थ्यो । काठमाण्डौ आएको वखत एकपटक केही हतारोले गर्दा उहाँ मेरो घर निस्कन पाउनु भएनछ । काठमाण्डौबाट फर्किएर विर्तामोड पुग्ने वित्तिकै फोन गरेर आफू विशेष हतारोका कारण निस्कन नपाएको भनेर दुख प्रकट गर्नुभयो । सरलताको साँच्चैको उदाहरण हुनुहुन्थ्यो उहाँ ।
सरोज ओली दाइले करिव ८३ वर्षको आयु बाँच्नु भयो । उहाँ जति समय बाँच्नु भयो , नेपाली समाजको समृद्धिको सपना बोकेर बाँच्नुभयो । सरोज ओली विचारप्रति दृढ र प्रतिबद्ध व्यक्ति हुनुहुन्थ्यो । उहाँले आफू क्रियाशील रहेका सम्पूर्ण शैक्षिक, साहित्य, सामाजिक र संस्कृतिका क्षेत्रमा जागरण ल्याउन महत्वपूर्ण भूमिका खेल्नु भयो । उहाँ जहाँजहाँ रहनुभयो, सबै ठाउँमा जागरणको दियो बनेर समाजलाई केही दिनुभयो । एकजना असल र इमान्दार मानिसले आफ्नो जीवनमा गर्ने त्यही हो । जुन काम सरोज दाइले गर्नुभयो । अब सरोज ओली दाइ हाम्रा अघिल्तिर हुनुहुन्न । तर उहाँका रचना, विचार र आदर्श हामीसँग सधैं रहिरहनेछन् । उहाँका सिर्जनाका शब्दहरूले आज पनि हामीलाई मार्गनिर्देशन गर्छन र सच्चा मानवीय मूल्यतर्फ हामीलाई निर्देशन गर्छन ।
०००
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment