हामी वामपन्थी राजनीतिमा पाइला राख्दैदेखि आन्दोलनका अग्रजहरुको बारेमा धेरथोर जानकारी राख्ने गर्थ्यौं । साथीहरुका बीचमा खासखुस कुरा गरेकै भरले पनि धेरै जानकारी प्राप्त गरिसकेका हुन्थ्यौं । यसरी पनि कसैको धेरै कसैको थोरै जानकारी हुन्थ्यो । यस्ता कैयौं जानकारीहरु त्यसबेला हाम्रा लागि रोमाञ्चक पनि लाग्थे । त्यसबेलाको राजनैतिक वातावरण पनि त्यस्तै थियो । पार्टीहरू भूमिगत थिए । कैयौं नेताहरू भूमिगत थिए । उनीहरूको बारेमा हामीलाई प्राप्त जानकारी केही सत्यको नजिक हुन्थे भने केही बनावटी हुन्थे । जे भए पनि म उहाँलाई भेट्दै नभेटी काठमाण्डौभन्दा बाहिरै बसेर राम्ररी चिन्ने भइसकेको थिएँ चियोचर्चो गरेरै जानकारी लिएको भरमा ।
हामी समकालीन साथीहरुको बीचमा काइँला बाको जीवनकथाले निकै रोमाञ्चित बनाएको थियो । कम्युनिष्ट पार्टीको सदस्यता भरखर पाएका, वा पाउन लागेकाहरूको एउटा समुह थियो हाम्रो । किशोर उमेर नाघ्दै युवा उमेरमा पाइला टेक्न थालेकाहरूको एउटा समुह थियो हाम्रो । सुदुर गाउँहरूबाट उन्नत जीवनको खोजी गर्दै राजधानी आइपुगेका थियौं । हामी थियौं अमर राई, राजेन्द्रप्रसाद अधिकारी ( आर वस्ती ), रामकुमार उप्रेती आदिआदि । कम्युनिष्ट आन्दोलनका कार्यकर्ता बन्न चाहने हाम्रा लागि उहाँले कम्युनिष्ट पार्टीको सदस्यता पाउन गरेको मेहनतका कथाहरू अचम्मकै लाग्थे । काठमाण्डौ आएको एक वर्ष पछि मैले पहिलोपटक काइँला बालाई भेटेँ । काइँला बालाई भेट्ने उद्देश्य नराखी उहाँको घर मङ्गलबजार पुगेँ म ।
२०४५ सालको कुनै महिनाको एकदिन बिहान लेखक डिल्लीजङ्ग गुरुङले एकजना मानिससँग भेट्न लैजान्छु भन्नुभयो । डिल्लीजङ्ग दाइले खड्ग गुरुङ र मलाई पाटनको मङ्गलबजार लिएर जानुभयो । सायद, शनिवारको दिन थियो । डिल्लीजङ्ग दाइले हामीलाई पाटनको मंगलबजारस्थित काइँला बाकाे घरमा पुर्याउनुभयो । 'मेरो नाम रामबहादुर हो' एकजना सैनिकको पहिरन लगाएको मान्छेले हामीसँग परिचय गर्दै देशको अवस्था र हामीले गर्नुपर्ने कर्तव्यका बारेमा लामो छलफल गर्नुभयो । उहाँको कुरा सुनेपछि हामीलाई लाग्दै गयो - 'उहाँ पक्कै सामान्य मान्छे होइन ।' मेरो साहित्यतिरको रूची थाहा पाएपछि साहित्यकारको भूमिकाको बारेमा निकै समय खर्च गरेर आफ्ना कुरा राख्नुभयो । हामीले कुरा रामबहादुरको सुनिरह्यौं । तर सँगै बसेर बीचबीचमा रामबहादुरका कुरामा केही थप्दै बीचबीचमा बोल्नु हुन्थ्यो, नरबहादुर कर्माचार्य र काइँला बा । उहाँहरू पनि रामबहादुरको कुरो गजव मानेर सुनिरहनु भएको थियो ।
मैले खड्गजीलाई बाटोमा डिल्लिजङ्ग दाइले नसुन्ने गरी कानमा खुसुक्क भनेँ । 'कतै रामबहादुर भन्ने मान्छे निर्मल लामा त होइन ?'
केही दिन पछि मेरो अनुमान सही भयो । त्यसदिन नेपालको कम्युनिष्ट आन्दोलनका महत्त्वपूर्ण तीन व्यक्तित्व निर्मल लामा, नरबहादुर कर्माचार्य र देवेद्रलाल श्रेष्ठ 'काइँला बा' लाई एकैसाथ काइँला बाको घरमा भेट्ने अवसर जुऱ्यो । त्यसपछि सानाठुला कार्यक्रमहरूमा काइँला बासँग भेट भइरहन्थ्यो ।
अखिल नेपाल जनवादी युवा लिगको कार्यकर्ता भएको बेला वि.सं. २०४७ देखि २०५० को अवधिमा मेरो बढि आइजाइ ललितपुरको पाटनढोका हुन्थ्यो । संगठनको कामबाट केही फुर्सद मिल्ने वित्तिकै धेरै पटक काइँला बाको घर पुगेको छु । पुराना पुस्ताका मानिसहरूसँग पुराना कुराहरू सोध्ने मेरो बानी थियो । मेरो त्यही बानीका कारण म काइँला बा कहाँ धेरै पटक पुगेको छु । उहाँका जीवनका पुराना कथाहरू सोधेर कहिलेकाहीँ दिक्क लगाउँथेँ जस्तो लाग्छ । तर दिक्क लागेको कुरा उहाँले मेरो अघिल्तिर व्यक्त गर्नु भएन ।
काइँला बाको राजनैतिक चेतनामा तीव्र भूकम्प ल्याउने घटना वि.सं.१९९७ को शहीदकाण्ड थियो । शुक्रराज जोशी (शास्त्री), धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथचन्दजस्ता स्वतन्त्रता सेनानीहरूको निर्मम हत्या गरिएको त्यो घटनाले उहाँको युवा मस्तिष्कलाई निकै मजाले हुँडलिदियो । त्यो दृश्यले युवा देवेन्द्रलालको भित्री संसारमा आगो सल्काइदियो । केवल १७ वर्षको उमेरमा देखेको त्यो निर्मम दृश्यले उहाँको सम्पूर्ण जीवनको दिशा नै परिवर्तन गरिदियो । त्यही प्रभावबाट सुरू भएको उहाँको पाइला त्यसपछि कतै रोकिएन । उहाँले सम्पूर्ण जीवन जनताको मुक्ति र समाजको परिवर्तनमा समर्पित गर्नुभयो ।
काइँला बाको क्रान्तिकारी व्यक्तित्व निर्माणमा ललितपुरको सौगल निवासी भैरवगोपाल वैद्यको ठुलो भूमिका देखिन्छ । भैरवगोपाल वैद्य एक क्रान्तिकारी नेता एवं जनपक्षीय कवि पनि थिए । राजनैतिक जीवनको सुरूवातको समय अर्थात उहाँले वि.सं. १९९८ सालमा राती १२ बजे पशुपतिको जङ्गलमा नेपाल प्रजातन्त्र सङ्घको सदस्यताको लागि आवेदन दिंदा तातो रगतले सहीछाप गरेको घटना पनि भरखरै कम्युनिष्ट पार्टीको कार्यकर्ता बन्ने अभियानमा लागेका हाम्राे पुस्ताका लागि निकै रोमाञ्चक हुने सन्दर्भ थियो ।
काइँला बा आज्ञाकारी र अनुशासित व्यक्तिमात्र हुनुहुन्थेन, साहसी पनि हुनुहुन्थ्यो । त्यस्तै पार्टी सदस्यता लिनका लागि उहाँले गरेको अर्को रोचक र अपत्यारिलोजस्तो लाग्ने साहसिक घटना पनि छ । शङ्खमुलको बैठकमा उपस्थित शंभुराम श्रेष्ठ, पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द बैद्यहरूले काइँलाबाको साहसको परीक्षा लिने निर्णय गर्नुभएछ। काइँला बाले सात दिनभित्र कुनै ठूलो जनावरको शिकार गरेर त्यसको कलेजो पार्टीमा बुझाउनुपर्ने निर्णय गरिएछ । कठोर अनुशासन पालन गर्न पछि नहट्ने काइँला बा भोलिपल्ट लक्ष्मण श्रेष्ठ तथा भैरवगोपाललाई लिएर गोदावरीको जंगलमा जंगली जनावरको शिकार गर्न जानुभएछ । तर दुर्भाग्यवश जंगली जनावरको नाममा मुसो पनि फेला परेन त्यसदिन । फर्कने बाटोमा उहाँहरूले एक बडेमाको साँढे देख्नुभएछ । काइँला बाले त्यही साँढेको सिकार गर्ने मनसुवा राख्नुभएछ । तर गाउँका मानिसले देखेको खण्डमा समस्या पर्ने भएकोले साथीहरूले उहाँलाई रोक्नुभएछ । तर एकदिन ललितपुर नगरको नागबहालमा एक अरबी घोडा हरेक दिन चर्न आउने सूचना केही साथीहरूले उहाँलाई दिनुभएछ । त्यस रात काइँला बा साथीद्वयलाई लिएर अरबी घोडाको गर्न हिडे । साँच्चिकै त्यहाँ घोडा चरिरहेको थियो। तीनै भाइहरू मिलेर घोडालाई छेक्दै ल्याए पछि काइँलाबाले अदम्य साहस देखाई घोडामाथि छुरा प्रहार गर्नुभयो । १७-१८ वर्षे साहसी युवकको छुराको प्रहारबाट घाइते भएको घोडा बेस्सरी हिनहिनाएर भाग्यो । काइँला बाको हातमा रहन गयो केवल घोडाको रगतले लतपतिएको छुरा । त्यही रगताम्य छुरा लिएर काइँलाबा क्रान्तिकारी साथीहरूलाई भेट्न पशुपतिको जङ्गलमा पुग्नुभयो । सबै साथीहरूले हर्षविभोर भएर अंकमाल गरेर काइँला बालाई पार्टीको सदस्यता प्रदान गरे । यो घटनाले काइँला बाको साहस, दृढता र संगठनप्रतिको अटुट निष्ठालाई प्रमाणित गर्छ ।
![]() |
देवेद्रलाल श्रेष्ठ (काइँला बा) |
काइँला बाको जीवनका यसप्रकारका घटनाले हाम्रो युवासुलभ मस्तिष्कलाई निकै झकझक्याउँथ्यो । वि.सं .२०१७ सालको काण्डपछि काइँला बा पनि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य हुनु पऱ्यो । उहाँको आर्थिक अवस्था अत्यन्तै प्रतिकूल थियो । त्यसैबेला उहाँकी छोरी बिरामी हुनुभयो । आर्थिक कठिनाइले गर्दा उपचार समेत गर्न सक्नु भएन उहाँले । उहाँकी छोरीको असामयिक र दुःखद निधन भयो । यो काइँला बाको जीवनको सबैभन्दा पीडादायी घटना थियो । एक बुबाको लागि आफ्नो सन्तानको मृत्यु कति पीडादायी हुन्छ, त्यो कल्पना गर्न पनि गाह्रो छ। यस्तो पीडादायी अवस्था बेहोर्नु परे पनि काइँला बा आफ्नो बाटोबाट कत्ति पनि विचलित हुनुभएन । व्यक्तिगत पीडाभन्दा माथि उहाँको लागि राष्ट्र र जनताको मुक्ति थियो ।
काइँला बालाई केवल राजनीतिक व्यक्तित्वका हिसावले मात्र हेर्नुहुँदैन , उहाँ एकजना शिक्षाप्रेमी र समाजसेवी व्यक्ति पनि हुनुहुन्थ्यो । समाजसेवा र राजनीतिक संघर्षलाई उहाँले एकअर्काबाट अलग गर्नुभएन । वि.सं. २००४ सालमा पाटन मंगलबजारमा स्थापना भएको आदर्श कन्या निकेतन स्कुलको संस्थापकहरूमध्ये काइँला बा एक हुनुहुन्थ्यो। शिक्षाको महत्त्व बुझेका काइँलाबाले राणा शासनको समयमैं बालिकाहरूको शिक्षाको लागि स्कूल खोल्नु त्यसैबेला महिला अधिकार र महिला मुक्तिको चेतना उहाँमा प्रबल देखिन्छ । यो स्कुल खोलेबापत राणा सरकारले उहाँलाई गिरफ्तार गर्न वारेन्टसमेत् जारी गरेको थियो । वि.सं. २००३ सालमा काइँलाबाले पाटनमा परोपकार सङ्घको सदस्य भएर समाजसेवा गर्नुभयो ।
राणा शासनको अन्त्यदेखि वि.सं. २०४६ सालको जनआन्दोलनसम्मको नेपाली राजनीतिक इतिहासमा काईलाबाको प्रत्यक्ष सहभागिता र योगदान रहेको छ । काइँला बा नेपालको प्रजातान्त्रिक संघर्ष र कम्युनिष्ट आन्दोलनको संघर्षशील व्यक्तित्व मध्ये एक महत्वपूर्ण व्यक्तित्व हुनुहुन्थ्यो भन्ने मलाई लाग्छ । नेपाली जनताको मुक्तिको सन्दर्भमा काइँला बाको विचार अत्यन्त स्पष्ट र दूरदर्शी थियो । उहाँले सधैंभरी संशोधनवाद र जडसुत्रवादको विरुद्धमा संघर्ष गरिरहनु भयो । काइँला बा पार्टीभित्र हुर्किंदै गरेको उग्रवामपन्थी चिन्तनको बिरोधी हुनुहुन्थ्यो वि.सं . २०३५ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन ) ले जिल्ला सेक्रेटरीहरूको भेला गरी देशमा क्रान्तिका तयारीका निम्ति सशस्त्र गुरिल्लाहरू तयार गर्न कमिटीहरू गठन गर्ने निर्णय गर्यो । जिल्ला जिल्लामा पैसा जम्मा गरियो, कतै सामन्त फटाहा कुट्ने आन्दोलन गरियो । त्यसपछि सरकारी पक्षबाट भयंकर दमन भयो । त्यही दमनको परिणामस्वरूप होनहार कम्युनिष्ट नेता ऋषि देवकोटा 'आजाद' लाई पञ्चायती सत्ताले हत्या गऱ्यो । पार्टीभित्र गलत प्रवृत्ति हावी भएको कुरा पटकपटक उठाउँदै सचेत गर्ने कार्य काइँला बाले गर्नुभयो तर त्यसको सुनुवाई भएन । काइँला बाको जस्तो वैचारिक स्पष्टता, सैद्धान्तिक दृढता र सत्यको पक्षमा उभिने साहस समकालीन नेताहरूमा कमैमात्र भेटिन्छ ।
नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास फुट र विभाजनका घटनाहरूले भरिएको छ । तर काइँला बा कहिल्यै पनि फुटको पक्षमा रहनुभएन । आफुलाई चित्त नबुझेका विषयमा उनले सधैं अन्तरपार्टी संघर्ष चलाउनुभयो, तर पार्टी फुटाउने गतिविधिलाई निरुत्साहित बनाउने कोसिस गर्नुहुन्थ्यो । यो काइँला बाको एक अनुकरणीय विशेषता हो । काइँला बाको बुझाईमा राजनीति जनताको सेवाको माध्यम हो, शक्ति प्राप्तिको साधन होइन। काइँला बाको सम्पूर्ण जीवन यसको प्रमाण हो । व्यक्तिगत महत्त्वाकांक्षाभन्दा संगठनको हित माथि हुनुपर्छ भन्ने कुरामा काइँला बा दृढ हुनुहुन्थ्यो । उहाँले कहिल्यै पनि व्यक्तिगत स्वार्थको लागि संगठनलाई कमजोर पार्न खोज्नुभएन ।
'जनताको मुक्तिको लागि समर्पित जीवन नै सार्थक जीवन हो' । यो सन्देश काइँला बा ले आफ्नो सम्पूर्ण जीवनमार्फत दिनुभयो । उहाँको यो सन्देशले सधैंको लागि हामी र हामीभन्दा पछिल्लो पुस्तालाई समेत अगाध प्रेरणा दिइरहने छ । काइँला बा अब हाम्रा माझमा हुनुहुन्न । तर उहाँको विचार, उहाँको आदर्श र उहाँको संघर्षप्रतिको प्रतिबद्धता सधैंको लागि हामीसँग रहनेछ। उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि भनेको उहाँका आदर्शलाई अनुसरण गर्नु र नेपाली जनताको मुक्तिको लागि संघर्षबाट पछि नहट्नु हो ।
No comments:
Post a Comment