कथाकार मातृका पोखरेलको कथा सङ्ग्रह हो ‘मलाई पनि निद्रा लागेन’ । कथाकारले कथा माफर्त समाजमा भैरहने सामाजिक घटना, परिवर्तनलाई यर्थाथ चित्रण गर्ने कोसिस गर्नुभएको छ ।
”कथाकार मातृका पोखरेल समाजको असन्तुलित आर्थिक संरचनाका कारणले उत्पन्न वर्गद्वन्द्व चित्रण गर्ने प्रगतिवादी प्रतिभा हुन् ।” पुस्तकमा डा. दयाराम श्रेष्ठ लेख्नुहुन्छ, उनले आफ्नो राजनीतिक आस्था र सोचलाई समसामयिक परिवेशअनुकूल आख्यानीकरण गरेका छन् । उनले सामाजिक यथार्थलाई आधार बनाएर आजको राष्ट्रिय सरोकारका समस्याहरूलाई गम्भीरताका साथ हेरेका छन् । उनका द्वन्द्वकथाहरूका आफ्नै निजी दृष्टिकोण र स्वरूपहरू छन् । मूलतः उनी वर्तमान यथार्थको परिप्रेक्ष्यमा सामाजिक रूपान्तरणको अपेक्षा गर्ने एक चेतनशील कथास्रष्टा हुन् ।”
त्यसैगरी पुस्तकमा मातृका पोखरेल लेख्नुहुन्छ, बाल्यकालमा फुपूले सुनाउनु भएको लोककथा, दन्त्यकथाबाट खुबै प्रभावित हुन्थे म । म बाल्यकालमा छंदा ‘शिशिर वसन्तको कथा’, ‘लाटो बुङ्गोको कथा’ जस्ता कथाहरू अत्यन्तै प्रख्यात थिए । हाम्रो उमेरका सबैको मुखमा झुण्डिएका हुन्थे ती कथाहरू । ती कथाहरू दूरदराजका हाम्रा गाउँहरूमा पुगे र त्यस बेलाको हाम्रो पुस्ताको मनमस्तिष्कलाई पूरै प्रभाव पारे । कथाहरू जति सुने पनि कहिल्यै अघाएको महसुस नहुने । केही सम्झना छन्, फुपूले सुनाउने ती कथाहरूमा सधै असल र खराबको लडाइँ हुन्थ्यो र अन्त्यमा सधै असलको विजय हुन्थ्यो । त्यहींबाट सुरु भएको मेरो कथाको रुचि अहिलेसम्मै कायम छ । सायद, त्यस्तै प्रभावहरू होलान्, कथा मेरो आत्मीय विधा बन्यो । ‘छोटो किस्सा एउटा सानो झ्याल हो, जहाँबाट एउटा सानो संसारमा चियाइन्छ’ भनेर महाकवि देवकोटाको कथाको यो परिभाषा अत्यन्तै सटिक लाग्छ । संसारलाई घरबाहिर आंगनमा निस्किएर हेर्न पनि सकिन्छ । संसारलाई ढोका खोलेर हेर्न पनि सकिन्छ । झ्यालबाट केही निश्चित क्षेत्र पनि हेर्न सकिन्छ । तर, निश्चित क्षेत्र हेर्दा विशेष ठाउँ हेरिन्छ । विशेष घटनालाई मात्र हेरिन्छ र चियाइन्छ । आँगनमा निस्किएर हेर्दा त्यस्तो विशेष कुरा हेरिदैन । समग्रमा हेरिन्छ । झ्याल भनेको केवल हेर्ने माध्यम मात्र होइन, यो चयनको माध्यम पनि हो । जब हामी झ्यालबाट हेर्छौं, हामी सबै कुरा हेर्दैनौ हामी केही विशेष चीजमा केन्द्रित हुन्छौं । कथाबाट भनिने कुरा अलिक विशेष हुन्छ र हुनुपर्छ भन्ने लाग्छ ।”
पुस्तकलाई बेला पब्लिकेशनले बजारमा ल्याएको हो । १५ ओटा कथा सङ्ग्रहित पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।
०००
साहित्य पोष्ट डट कमको २०८२ पुस २५ गतेको
साताको पुस्तक स्तम्भबाट साभार

No comments:
Post a Comment