साहित्यकार मातृका पोखरेलको नवीनतम कृति ‘मलाई पनि निद्रा लागेन’ पढें । भरखरै बितेको समय र परिवेशलाई कथाको रूपमा प्रस्तुत गरिएको रहेछ । पन्ध्रवटा कथाहरूको यो सँगालो पढ्दा पट्यार लाग्दैन, अरू पढूँ भन्दाभन्दै सकिन्छ । कथालाई समाज हेर्ने आँखीझ्लाल मान्ने देवकोटाको अवधारणालाई कथाकारले अनुशरण गरेका गर्नुभएको छ र छोटा कथाहरूको रचना गर्नुभएको छ ।
यस कथा संग्रहमा भएका पन्ध्र कथाहरूमध्ये सात वटा कथामा माओवादी जनयुद्धको परिवेश उपस्थित भएको छ । कथानक, पात्र र परिवेश जनयुद्धका कर्ता वा कर्म (प्रभाव र असर पर्ने क्षेत्र) बनेर रहेका छन् । ती कथाले जनयुद्धकालीन घटना, जनयुद्ध लडेर आएको पार्टीको सरकार बनेपछिका गतिविधि वा जनयुद्धबाट प्रभावित मानिसका व्यथा बोल्छन् । अरू ८ वटा कथा सामाजिक कथाहरू हुन् । यी कथाको नेपाली समाज र यसका चरित्रसँग सोझो साइनो गाँसिएको छ । कतिपय कथाहरूले बितेको कालखण्डको प्रतिनिधित्व गर्छन् तर प्रगतिको वेग सुस्त रहेको नेपाली समाजमा ती कथा अझै समसामयिक लाग्छन् । कथामा द्वन्द्व कम प्रतीत हुन्छ । कथाहरूमा पात्रको मनभित्र गुम्सिएको अन्तर्द्वन्द्व र उनीहरूले बाहिरी दुनियाँसँग गर्ने बाह्यद्वन्द्वको समुचित विकास भएको छैन । कथानक विकसित हुँदै उत्कर्षमा नपुगी विसर्जनतिर लाग्छ । मलाई लाग्छ, नेपाली समाजको प्रवृत्ति नै यही छ । त्यसैले यो लेखकको कमजोरी होइन, नेपाली समाजको मौलिक प्रवृत्तिको प्रकटीकरण हो । यो समाजमा एउटा घटना यसैगरी परिपक्व नबनी सेलाउँछ र अर्को चर्चाले ठाउँ पाउँछ ।
कथानक स्वाभाविक गतिमा नै अघि बढिरहेको छ । तैपनि, आफ्नो जात ढाँटेर काठमाडौं बसिरहेको तिलकले चिनेको मानिसलाई विनाप्रयोजन घर लैजानु अलि अस्वाभाविक लाग्छ। कथानकले घटनाक्रमको तारतम्य मिलाएर पाठकको खुलदुली मेट्नुपर्नेमा गाउँमा गरिब दलितको रूपमा हुर्केको तिलकको काठमाडौंको सम्पन्न जीवनशैलीको कारणबारे कथा मौन छ । काखे छोरो भएकी चियापसले माइली माओवादीसँग जाँदा उसको छोरो कता गयो भन्ने खुल्दुली लागिरहन्छ । करूणालाई उनकी आमाले ‘छोरी तँ पनि अब भूमिगत जा’ भन्नु म अस्वाभाविक मान्छु । हुसेन खालेदीको ‘द काइट रनर’ मा हुसेनले आफ्नो जैविक बाबुबाट प्राप्त गरेको स्नेह र बैदार कटुवालले डल्ले कान्छालाई गरेको व्यवहार तुलना गर्दा बैदार कटुवाल निकै निष्ठुर लाग्छन् । सायद हाम्रा सामन्तहरूको मन गरिब नै छ । कथाका अरू घटनाक्रम स्वाभाविक छन् ।
यो समाजका पात्र र प्रवृत्ति यस कथामा कलात्मक रूपमा बुनिएको छ । बाबुको चाहनामा आफ्नो इच्छाविपरीत विवाह गर्ने रम्भा (उज्यालोको प्रतीक्षा), जातीय विभेदकका कारण परिचय लुकाउन बाध्य तिलक (महानगरभित्र) र जातीय विभेद भोग्न बाध्य दलितहरू (इतिहासको चिहानमा उभिएर), वैचारिक मतभेदमा रुमलिएका बाबु र छोरा (थवाङ हेर्ने रहर), सम्पत्तिको आडमा स्वेच्छाचार गर्ने बैदार कटुवाल (अँधेरी रातको एउटा कथा), घरबार खोसिएर बिचल्ली परिरहने सुकुम्बासी सरला (मलाई पनि निद्रा लागेन), जनप्रतिनिधि भए पनि पार्टीमा प्रभाव नभएको नेता हिरादत्त (चियाको खैरो जालो), दलीय संरक्षणको आडमा स्वार्थ पूरा गर्न हौसिने कर्मचारी प्रवीण र मन्त्रीको सल्लाहकार रामानन्द (रसिद) अनि व्यवस्था बदलिएर नयाँ नयाँ शक्ति सिंहदरबारमा पसे पनि शक्तिको सदाबहार दलाली चलाइरहेका बुद्धिकृष्ण काका (शर्मा अङ्कलको सेकुवा कर्नर) हाम्रा समाजमा यत्रतत्र पाइन्छन् ।
यति मात्र होइन, जनयुद्धका क्रममा र त्यसपछि उत्पन्न भएका प्रवृत्ति र पात्रको बारेमा पनि कथाकारले राम्रो र इमानदार ढङ्गले उत्खनन् गर्नु भएको छ । क्रान्तिकारी पार्टी जनयुद्ध शान्ति प्रक्रियामा रूपान्तरित भएपछि क्रान्तिकालीन नीतिमा ‘यु टर्न’ हुनपुग्छ । सामन्तको जमिन फिर्ता हुन थालेको कारण फेरि भूमिहीन बन्ने त्रासमा रहेका मुन्नीलाल र भगुवा चौधरी (मुक्तिनगर) र बागमती किनारको सुकुम्बासी बस्तीमा बस्ने सरलाको बिचल्ली (मलाई पनि निद्रा लागेन), द्वन्द्वको चपेटामा परेर जनयुद्धमा लाग्न बाध्य माइली (बाध्यता), धनीमानीको हैकमपछि पार्टीमा अस्तित्त्व जोगाउन संघर्षरत प्रताप र करूणा (बाढीको आवाज) अनि अस्तित्त्व गुमाउन पुगेका खोजु (तर यो सपना होइन), जनयुद्धमा पतिको मृत्यु र छोरा बेपत्ता भएपछि मानसिक विचलनको शिकार भएकी ‘सानीमा‘ (सानीमा फेरि फर्कनु भएन) अनि सामान्य जीवन छोडेर होलटाइमर हुन बाध्य बनाइएकी उपमाको बिजोक (होलटाइमर) जनयुद्धको राप, ताप र असर झेलेको हाम्रो समाजका वास्तविकता हुन् ।
सबैजसो कथाका प्रतिनिधि पात्रले प्रतिरोध होइन, पलायन रोजेका छन् । यसबाट कथा उत्कर्षमा नपुग्दै समापनतिर लागेको छ । समाजमा यत्रतत्र देखिने छिपछिपे चेतना भएका तर दृढता नभएका पात्रहरू कथामा पनि छन् । सुपठित र सुविचारित (विद्यार्थी युनियनको नेतृत्व तहमा पुगेकी) भए पनि मन नपरेको केटोसँग विवाह गर्न राजी हुने रम्भा, सम्पन्न भए पनि आफ्नो जात लुकाएर अस्तित्त्वको सङ्कट झेलिरहेको तिलक, बाबुको कुरामा समर्थन नगरे पनि स्पष्ट विमती जाहेर गरी आफ्नो बाटो लिन नसक्ने डाक्टर, कब्जा गरेको जग्गा फिर्ता गर्न बाध्य क्रान्तिकारीहरू, सकुम्बासी बस्ती बचाउन नसक्ने सरला र पार्टी, आफ्नी फुपू र उसको छोरामाथि भएको अन्याय आँसु लुकाएर अनि चिहानमाथि अँधेरोमा फूल चढाएर चुपचाप सहने सुपठित केन्द्राध्यक्ष र आफूलाई होलटाइमर बनाएर बर्बाद पार्ने कमरेड ज्योतिको घर नजिकै हुँदा पनि प्रतिरोध नगरी चुपचाप गिट्टी बालुवा बोक्ने उपमा यस्तै पात्र हुन् । यिनीहरूले कुरा बुझेका छन् तर बुझेको कुरा काममा रूपान्तरित गर्न सक्दैनन् । जनयुद्धमा लाग्न बाध्य माइली, संसद विघटन भएर आयस्रोत गुमाएका हिरादत्त, पति र छोरा गुमाएको सानीमा र खुट्टा गुमाएर थलिएका खोजु त निरीह नै छन् । प्रतिरोधको हौसला राखेका प्रताप र करुणाको भविष्य खोजुको नियतिले बताइरहेको मान्न सकिन्छ । यी कोही पनि स्वाभाविकरूपमा कमजोर पात्र होइनन्, यी निरीह भएका छन्, बनाइएका छन् । कुनै पात्रले दृढ निश्चय गरेको कारण कथानकलाई सकारात्मक मोड प्रदान गरेको प्रसङ्ग कतै छैन ।
यो कथासंग्रहको प्रतिनिधि कथा (यही कथाको शीर्षकबाट नै कथासंग्रहको नाम दिइएको छ) ‘मलाई पनि निद्रा लागेन’ माओवादी पार्टीले आफ्नो समर्थक, शुभेच्छुक र पार्टिका आधारस्तम्भको रूपमा रहेका सुकुम्बासीहरूलाई संरक्षण गर्न असफल भएको वृत्तान्त हो । मुक्तिनगरको कथानक पनि फरक छैन । यसरी यस संग्रहका कथाहरूलाई हेर्दा यो विचलित जनयुद्धको कलात्मक अभिलेख हो । कथा संग्रहका केही कथाहरूले जनयुद्धका असफल प्रयत्नहरूलाई दर्शाएको छ भने बाँकी कथाहरूले जनयुद्धलाई असमयको प्रयासको रूपमा प्रमाणित गरेका छन् । यी कथामा प्रस्तुत ढुलमुले पात्रहरूले यो समाजको ढुलमुले चरित्रलाई देखाएका छन् र यही प्रवृत्तिले क्रान्तिलाई असफल बनाएको हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ । क्रान्तिमा लागेको ढुलमुले युवा आफ्नो स्वार्थअनुसारको समूह खोज्छ (रसिद), ढुलमुले कार्यकर्ता आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नतिर लाग्छ (होलटाइमरको कमरेड ज्योति), ढुलमुले नेताले आफ्नो स्वार्थका लागि प्रतिगामी तत्त्वसँग साँठगाँठ गर्छ र जुझारू कार्यकर्तालाई पछि पारेर प्रतिगामीको पाउ पर्छ (तर यो सपना होइन र बाढीको आवाज) । शक्तिमा पुग्नेले जनताको हित होइन आफ्नो स्वार्थमा अनेक सम्झौता गर्छ (शर्मा अङ्कलको सेकुवा कर्नर) । हाम्रो आँखा अगाडिको समाज यही हो, यस्तै छ ।
यो कथा संग्रह माओवादी जनयुद्धको पोस्टमार्टम रिपोर्ट हो । यसमा माओवादी जनयुद्धको असफलताका मसिना कारणहरू दर्शाइएको छ । साहित्यिक अभिव्यक्तिको मुख्य विशेषता नै अभिव्यञ्जना हो । अपरिपक्व विचार बोकेको नेपाली जनमानस, अलिकति प्रतिकूलता देखा पर्नासाथ सम्झौता वा पलायनको बाटो रोज्न तम्सिने प्रगतिशील सोच, निष्ठा र प्रतिबद्धतालाई लामो समय अङ्गीकार गर्न नसक्ने नेतृत्व र विकासको सुस्त गतिमा अघि बढिरहेको समाज । यस्तो अवस्थामा सुरू भएको, गरिएको वा गराइएको जनयुद्धको अवसान हुनु मात्र होइन त्यसका प्रततिशील उपलब्धिको रक्षा हुन नसक्नु पनि स्वाभाविक र सामान्य देखिन्छ । कथामा धेरै ठाउँमा म पात्रका रूपमा देखा परेका लेखकलाई पनि सोही राजनीतिक कित्तामा धकेलेर विश्लेषण गर्ने हो भने यस कथा संग्रहलाई पराजयको आत्मस्वीकृतिको दस्तावेज पनि मान्न सकिन्छ। ‘दुनियाँ हल्लाउने ती दश दिन’ (जोन रिड) र ‘युवाहरूको गीत’ (याङ मो) लेखिन त जनक्रान्ति सफल हुनुपर्छ । असफल जनक्रान्तिले त संवदेनशील साहित्यकारको निद्रा भगाउँछ र ‘मलाई पनि निद्रा लागेन’ लेखिन पुग्छ ।
छोटा कथा, साना अनुच्छेदहरू, छोटा वाक्य, सरल र जनबोलीका शब्दहरूले कथा संग्रहलाई सरस बनाएको छ । ‘असाक्षर’ र ‘उद्दार’ शब्दले झस्काए पनि समग्रमा भाषाशैली र शुद्धाशुद्धि राम्रो छ ।
नेपाली समाज बोलेको कथा संग्रहका लागि कथाकारलाई बधाई दिन्छु र निरन्तरताका लागि अनुरोध गर्छु ।
000
https://kedaracharya.com बाट साभार

No comments:
Post a Comment