नेपाली वाङ्मयको विकासको सन्दर्भमा हेर्ने हो भने साहित्यिक पत्रकारिताको भूमिका सबैभन्दा अग्रणी छ । नेपालमा पत्रकारिताको शुभारम्भ गर्ने श्रेय पनि साहित्यिक पत्रकारिताको रहेको तथ्य इतिहासले लिपिबद्ध गरिसकेकै छ । मोतीराम भट्टद्वारा बनारसबाट सम्पादित र प्रकाशित भनिएको 'गोरखा भारत जीवन' पत्रिका वि.सं. १९५५ साउनमा ठहिँटी काठमाडौँबाट पण्डित नरदेव र मोतीकृष्ण शर्माद्वारा सम्पादित र प्रकाशित सुधासागरभन्दा बाह्र वर्षपहिले नै प्रकाशित भएको मानिन्छ । तर यसको कुनै पनि प्रमाणित तथ्य हालसम्म प्राप्त छैन । त्यसैले हामीले सुधासागरलाई नै पहिलो मान्दै आएका छौं । सुधासागर प्रकाशन भएको पनि एकसय सत्ताइस वर्ष नाघी सकेको छ । सुधासागर पनि वि.सं. १९५८ मा प्रकाशन आरम्भ भएको गोरखापत्रभन्दा तीन वर्ष जेठो पत्रिका हो । इतिहासको यो पाना पल्टाएर हेर्दा साहित्यिक पत्रकारिताको इतिहास कम गौरवपूर्ण छैन । यस्तो गौरवमय इतिहास बोकेको साहित्यिक पत्रकारिताको वर्तमान कस्तो छ ? अहिले कुन अवस्थामा बाँचिरहेको छ ? साहित्यिक पत्रकारिताको कुरा चल्यो कि त्यसबेला हामी यही बारेमा धेरै समय दिएर छलफल गरिरहेका हुन्छौं । साहित्यिक पत्रकारिताको वर्तमान अवस्थाको बारेमा धारणा बनाउँदा हामीले एकसय सत्ताइस वर्षमा भएको प्रकाशनको क्षेत्रमा भएको परिवर्तन र विकासलाई अघिल्तिर राख्न जरूरी छ । हाम्रै पुस्ताले हस्तलिखित पत्रिकाबाट आफ्ना रचनाहरू लेख्न आरम्भ गऱ्यो । लिथो गरेर प्रकाशन गरिएका सामग्रीहरू पढ्यो । लेटर प्रेसबाट प्रकाशन गर्न भ्यायो । अहिले अफसेट प्रविधिबाट पनि फड्को मारेर इन्टरनेट दुनियाँमा डुबुल्की मार्दैछ । अहिलेको पुस्ताले हस्तलिखित पत्रिकाको के कुरा लिथो मेसिनबाट प्रकाशित पत्रिकामात्र होइन, लेटर प्रेस पनि थाहा पाएन । अहिलेको साहित्यिक पत्रकारिता प्रतिको धारणा निर्माण गर्दा हामी यो पक्षलाई नजरअन्दाज गरेर सही मूल्याङ्कन गर्न सक्दैनौं ।
Wednesday, October 22, 2025
बदलिँदो स्वरूपमा आजको साहित्यिक पत्रकारिता - मातृका पोखरेल
नेपाली भाषामा साहित्यिक पत्रिकाको योगदानको इतिहासतिर फर्किंदा शारदा ( वि. सं. १९९१) भन्दा पहिल्यै नेपाल बाहिर बाट प्रकाशित सुन्दरी ( वि.सं. १९६३), माधवी ( वि.सं. १९६५), गोर्खाली (वि.सं. १९७२) , चन्द्रिका ( वि.सं. १९७४), जन्मभूमि ( वि.सं. १९७६), नेपाली साहित्य सम्मेलन ( वि.सं. १९८८) आदि पत्रिकालाई हामीले विर्सिनु हुँदैन । शारदाको प्रकाशनपछि बनारसबाट प्रकाशित उदय (वि.सं. १९९३) को दीर्घ सेवा पनि कम महत्त्वको छैन । 'साहित्यस्रोत' (वि.सं २००४), 'आँखा' ( वि.सं २००५), 'पुरुषार्थ' (वि.सं २००६), 'भारती' (वि.सं २००६) आदि हुँदै २००७ सालको क्रान्तिपूर्व साहित्यिक पत्रिकाहरूको संख्या डेढ दर्जनजति पुग्नु पनि उल्लेख्य नै मान्नु पर्छ । वि.सं २००७ सालपछि साहित्यिक पत्रिकाहरूको लहर नै चल्यो । 'सेवा' (वि.सं २००८), 'प्रतिभा' (वि.सं २००९), 'प्रगति' (वि.सं २०१०), नौलो पाइलो (वि.सं २०१२), 'इन्द्रेनी' (वि.सं २०१३), 'साहित्य' (वि.सं २०१६), 'रूपरेखा' (वि.सं २०१७), 'रचना' (वि.सं २०१८), 'हिमानी' (वि.सं २०१९), 'भानु' (वि.सं २०२०), 'रत्नश्री' (वि.सं २०२०) अभिव्यक्ति (वि.सं २०२७) , विगुल (वि.सं.२०२७), वेदना (वि.सं. २०३०) जस्ता विविध पत्रिकाले यथासम्भव निरन्तरता दिंदै लगे भने देशका पूर्व-पश्चिम विभिन्न भेगबाट पनि साहित्यिक पत्रिका, साहित्यिक सङ्कलनहरू निस्कँदै गए । त्यसपछि निस्किएका पत्रिकाहरूको सूची धेरै लामो छ । नेपाली भाषा र साहित्यको विकासका लागि ती पत्रिकाहरूको योगदान अतुलनीय छ । नेपाली बाहेक नेपालका अन्य मातृभाषामा साहित्यिक पत्रकारिताको विकासक्रम अत्यन्तै अत्यासलाग्दो छ । मातृभाषाप्रति राज्यको दृष्टिकोण अत्यन्तै पुर्वाग्रही रह्यो । एकप्रकारले भन्ने हो भने मातृभाषालाई दमन गर्न राणा शासनकाल र पञ्चायतीकालका शाषकहरू नाङ्गो रूपमा प्रस्तुत भए । त्यति हुँदाहुँदै पनि मानिसहरूले आफ्नो मातृभाषा जोगाउन धेरै सङ्घर्ष गरे । राणा शासनकै समयमा नेपालभाषाको साहित्यिक पत्रिका ‘बुद्वधर्म’ (वि.सं. १९८२) लाई मातृभाषामा प्रकाशित पहिलो साहित्यिक पत्रिका मानिन्छ । वि.सं . २०४६ सालको आन्दोलन पछि विभिन्न मातृभाषामा साहित्यिक पत्रिका प्रकाशित हुने क्रम बढ्यो । यी भाषामध्ये नेपाल भाषा, मैथिली, थारु, राई, लिम्बू, तामाङ, मगर, गुरुङ आदि भाषामा साहित्यिक पत्रिकाहरू मनग्ये प्रकाशन । नेपाल भाषामा मचाक्यव, पुलुकिसी, थायभू, नःलि, नसंःचा, झीः नेपाः संस्कृति, थौ कन्हे जस्ता पत्रिकाले निरन्तर भाषा साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेका छन् । तामाङ भाषामा प्राङबोला छारहान, तामाङ डाजाङजस्ता पत्रिका प्रकाशित भइरहेका छन् । मगर भाषामा लाङ्घाली, बीम्लीक र लाफा नामका साहित्यिक पत्रिकाहरूले निरन्तरता दिइरहेका छन् । अनि मैथिली भाषामा आँगन, नैमिकानन, आकृति, पल्लव, मिथिला वाणी आदि पत्रिकाको उच्च योगदान रहेको पाइन्छ । डोट्यालीको गुगुल्डीले निरन्तरता कायम गरेको छ । भोजपुरीमा मोजर, गमक, अजोरियाजस्ता पत्रिकाले आफ्नो इतिहास रचेका छन् । त्यस्तै थारु भाषाको गोचाली, राई भाषाको बुङवाखा, कोङ्पी, लिब्जुभुम्जु अनि लिम्बू भाषाका तानछोपा, पालाम् आदि प्रकाशित छन् । नेपाल प्रज्ञा-प्रतिष्ठानले वर्तमान नेतृत्वले मातृभाषाका साहित्यिक पत्रिका प्रकाशनमा प्रशस्तै ध्यान पुऱ्याएको देखिन्छ । गोरखापत्रले समावेशीताको नाममा विभिन्न भाषाका सामग्री प्रकाशित गरिरहेको छ । यस्ता सामग्रीमध्ये अधिकांशमा साहित्यिक रचनाकै प्रधानता रहेको पाइन्छ ।
साहित्यिक पत्रकारिताको गौरवमय इतिहासको जति पनि बखान गर्न सकिन्छ । किनकी नेपाली वाङ्मयको विकासका निम्ति सबैभन्दा बढि यही क्षेत्रले सहयोग गऱ्यो । साहित्यिक पत्रिकाहरूकै कारण हामीले अहिले देखेका धेरैजसो प्रतिभाशाली सर्जकहरूको प्राप्ति भएको हो । साहित्यिक पत्रिकाले धेरै साहित्यिक प्रतिभाहरूलाई जन्मायो । आफैंले नजन्माएकाहरूलाई हुर्कायो । त्यसैले नेपाली वाङ्मयको विकासको मूल्याङ्कन साहित्यिक पत्रकारितालाई ओझेलमा पारेर गर्न सकिंदैन । यो सत्यलाई सबैले स्वीकार गर्नै पर्छ र गरेकै छन् । नेपाली साहित्यको आधुनिक युगको प्रारम्भ 'शारदा' पत्रिकाबाट भएको थियो भन्ने भाष्यलाई हामी सबैले स्वीकारेकै छौं । प्रगति युग र रूपरेखा युग भनेर केही समालोचकहरूले भनिरहनु भएकै छ । प्रगतिशील साहित्यको विकासको सन्दर्भमा समालोचकहरूले 'वेदना - संकल्प' लाई निकै महत्त्व दिएको देखिन्छ । नेपाली वाङ्मयको चर्चा साहित्यिक पत्रिकाहरूको योगदानलाई किनारातिर धकेलेर गर्नै सकिंदैन । त्यसैले पनि सहित्यिक पत्रकारिताको महत्त्व ऐतिहासिक छ ।
राज्यको साहित्यिक पत्रिकालाई हेर्ने दृष्टिकोण कहिल्यै सकारात्मक थिएन त ? यो कुरो बारम्बार हामी भन्दै आएका छौं । साहित्यिक पत्रकारिताका बारेमा आयोजित गोष्ठीमा अधिकांश वक्ताहरूले यो कुरा उठाइएको सुनिन्छ । अब यो कुरालाई हामी कति उठाइरहन्छौं ? तर यो विषय आंशिक मात्र सत्य हो । हुनुपर्ने र आवश्यक मात्रामा राज्य सकारात्मक रहेन भन्ने कुरा सत्य हो । शारदा पत्रिकाका केही सम्पादकीय, सूचना र जानकारी हेऱ्यौं भने राणा शासनको कालदेखि शाषकहरूको धेरथोर सहयोग प्राप्त गरेको पढ्न पाइन्छ । तर त्यो पक्कै नगण्य थियो । तर केही होइन भन्ने होइन । साहित्यिक पत्रिकाको आवश्यकताको पूर्ण सम्बोधन राणाकालीन समयदेखि अहिलेसम्मै खासै परिवर्तन आएको पाइँदैन । मैले केही दिन अघिमात्र साहित्यिक त्रैमासिक पत्रिका 'हाम्रो मातृभूमि', मकवानपुरका साहित्यकार देवराज खरेलसँग सुरेश श्रेष्ठले लिनुभएको अन्तर्वार्ता पढेको थिएँ । त्यहाँ उहाँले आफूले प्रकाशन गर्ने 'हाम्रो मातृभूमि' साहित्यिक पत्रिका प्रकाशनको मूल आधार सरकारले दिने लोक कल्याणकारी विज्ञापन हो भन्नुभएको थियो । करिव डेढ दशक अगाडि नेपाल साहित्यिक पत्रकार सङ्घको पहलमा नेपाल सरकारले यो विज्ञापन दिने निर्णय गरेको थियो । प्रेस काउन्सिलबाट वर्गिकृत साहित्यिक पत्रिकालाई दिने यो विज्ञापनबाट पत्रिका प्रकाशनका लागि धेरै राहत पुगिरहेको छ । हुलाक सुविधाजस्ता साहित्यिक पत्रकारहरूले माग गरेका अन्य कैयौं साधारण र सामान्य सुविधाहरूबाट साहित्यिक पत्रिकाहरू अझै बञ्चित छन् ।
एक समय थियो, साहित्यिक पाठकका बीचमा साहित्यिक पत्रिकाको आगमन एउटा उत्सवजस्तै हुन्थ्यो । नयाँ अङ्क सँगसँगै एउटा उत्साहको जन्म हुन्थ्यो ।त्यो अङ्कमा छापिएको कविता, कथा वा समीक्षा पाठकको मस्तिष्कमा महिनौँसम्म घुमिरहन्थ्यो । तर आज, एकैछिनमा मोबाइलको स्क्रिनमा हजारौँ सूचना , कथा , कविता , समीक्षा एकैछिनमा ओइरिन्छन् । त्यसैबीचको एउटा सानो छापा साहित्यिक पत्रिका कसरी बाँच्छ ? हामी भने एउटा छापा पत्रिका प्रकाशन हुँदा पहिलेको झैं उत्सव मनाइयोस् भनेर सोच्छौं । उहिलेझैं पाठकको मस्तिष्कमा महिनौँसम्म एउटा पत्रिकामा छापिएको रचनाले प्रभाव परिरहोस् भनेर सोच्छौं । त्यो नभएको देखेर हामी पठन संस्कृति नष्ट भयो भनेर भन्छौं । अब हामीले हाम्रो सोच्ने तरिका माथि एकपटक निधार खुम्च्याएर सोच्ने बेला भएको छ । यो त आजको कुरा भयो । अझ भोलि के होला । भोलिको दिनमा त अझै प्रविधि, कृत्रिम बौद्धिकता र इन्टरनेटको क्षेत्रको थप प्रगतिको प्रभाव कति बढ्ने होला ? हामी अनुमान मात्र गर्न सक्छौं । हिजो पनि साहित्यिक पत्रकारिता साध्य थिएन, साधन थियो । आज पनि यो साधन नै हो । नेपाली वाङ्मयको श्रीवृद्धि यसको उद्धेश्य हो । त्यही उद्धेश्य प्राप्त गर्ने यो साधन हो । प्रविधिको विकासले साधनहरू परिवर्तित हुन वाध्य भए । समाजमा उत्पादनमा आएको व्यापक परिवर्तनले मानिसहरू ठुलाठुला वृहत् सामग्री पढ्ने क्रम चाहिँ घटेको छ । पढ्ने क्रम मात्र होइन लेख्ने क्रम पनि घटेको छ । जापान जस्तो आधुनिक उत्पादन प्रणालीको विकास भएकै कारण त्यहाँ हाइकु जस्ता छोटाछोटा विधाको जन्म भएको हुनसक्छ । मोवाइलको स्क्रिनमा लघु रचनाहरू पढ्नेको संख्या यो दशकमा कति बढ्यो होला ? पठन संस्कृतिको समीक्षा गर्दा यो पाटोलाई हामीले पटक्कै विर्सिनु हुँदैन ।
साहित्यिक पत्रकारिताको भविष्य एकदम अन्धकारमय छ भन्ने धारणा बनाउनु अत्यन्तै गैरजिम्मेवारी कार्य हुन्छ । परम्परागत छापा माध्यमबाट डिजिटल माध्यममा सर्ने क्रममा नयाँ सम्भावनाहरू प्रशस्तै देखिएका छन् । अनलाइन साहित्यिक पत्रिकाहरूको विकास, सामाजिक सञ्जालमार्फत साहित्यिक सामग्रीको प्रसार, र विश्वव्यापी पाठकवर्गसम्म पुग्ने अवसरले नयाँ आयाम थपेको कुरा हामीले भुल्नु हुँदैन । इन्टरनेट युगको आगमनसँगै छापा पत्रकारितामा पक्कै चुनौति थपिएको छ । यो चुनौति साहित्यिक पत्रकारितामा मात्र होइन, समग्र पत्रकारितामैं देखिएको छ । डिजिटल दुनियाँका कारण पाठकीय संस्कारमा पारिवर्तन आएको छ । छापा माध्यमप्रतिको आकर्षण घट्दै गएको छ । अहिलेको युवा पुस्तामा साहित्यिक पत्रिका पढ्ने संस्कारको ह्रास भएको छ, तर उनीहरू इन्टरनेट दुनियाँको सामग्री अध्ययन गरिरहेका छन् । इन्टरनेट युगको हस्तक्षेपकारी प्रवेशले छापा पत्रकारितालाई पक्कै संकटमा पारेको छ । तर बुझ्नै पर्ने एउटा कुरा चाहिँ के छ भने साहित्यिक पत्रकारिता भनेपछि छापा प्रकाशनबाट छापिने मासिक, द्वैमासिक र त्रैमासिक पत्रिकामात्र हो भन्ने बुझाइबाट हामीले आफूलाई मुक्त गर्नुपर्छ । छापा प्रकाशन एउटा मञ्च हो र थियो । अब त्यो मञ्चको ठाउँमा अर्को नयाँ मञ्चको आक्रामक ढङ्गको उपस्थिति भयो । त्यो परिवर्तनलाई हामीले सहजै स्वीकार्न जरुरी छ । यो शताब्दीको साहित्यिक पत्रकारिताको यात्रा हस्तलिखित पानादेखि इन्टरनेटको प्लेटफर्मसम्म फैलियो । यो विकासलाई केन्द्रित गरेर पक्कै नकारात्मक कुराहरूलाई धेरै औंल्याउन पनि सकिन्छ तर यो नयाँ साइवर युगले साहित्यिक पत्रकारितालाई वैश्विक बनाउनेछ । अब लेखकले आफ्ना विचार विभिन्न डिजिटल मिडियामार्फत् विश्वमा प्रत्यक्ष प्रवाहित गर्न सक्नेछन् । यो सबैभन्दा ठुलो र सकारात्मक उपलब्धि हो । नयाँ प्लेटफर्मबाट किन नहोस्, साहित्यिक पत्रकारिताको आवश्यकता र महत्त्व अवश्य कमजोर हुँदैन । साहित्यिक पत्रकारितामा भित्रिएको डिजिटल युगको अत्यन्तै महत्वपूर्ण प्राप्ति भनेको आजै लेखिएको साहित्य अष्ट्रेलिया, अमेरिका, जापान आदि देशमामा बसेका नेपालीहरूले पनि तुरुन्तै पढ्न सक्छन् । यसले साहित्यिक पत्रकारितालाई सीमाहीन बनाएको छ ।
साहित्यिक पत्रकारिताको भविष्य उज्वल छ वा छैन भन्ने प्रश्नको उत्तर हाम्रो सामूहिक प्रतिबद्धतामा निर्भर गर्दछ । राज्यले संवेदनशील र सहयोगी नीति लिनुपर्छ । सर्जकहरू र सम्पादकहरू युगअनुकूल परिवर्तनका लागि तयार हुनुपर्छ । पाठकवर्गमा साहित्यिक चेतनाको विकास गर्नुपर्छ । गौरवमय इतिहासको धनी साहित्यिक पत्रकारिताले आफ्नो प्रासंगिकता कायम राख्न सक्छ । भविष्य चुनौतीपूर्ण छ तर निराशाजनक कदापि होइन ।
साहित्यिक पत्रकारितामा इन्टरनेट युगलाई कसरी प्रभावकारी बनाएर वाङ्मयको विकास गर्ने भन्ने बारेमा हाम्रो योजना केन्द्रित गर्न जरुरी छ । साहित्यिक पत्रकारिताको यो परिवर्तित स्वरूप कुनै अन्त्य होइन । यो निरन्तर यात्राको अर्को अध्याय मात्र हो ।
000
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment