काठमाडौँ । लेखक तथा समालोचक बद्रीप्रसाद ढकालका दुई कृतिको एकैसाथ सडक विमोचन गरिएको छ । २०८२ साल पुस २७ गते बागबजारस्थित प्राज्ञिक बुक्सअगाडि सडकमै आयोजित कार्यक्रमका बीच ती कृतिहरुको विमोचन गरिएको हो ।
ढकालका भरखरै प्रकाशित ‘आधुनिक नेपाली कथामा मिथक’ र ‘साहित्यमा संस्कृति’ नामक दुई पुस्तकको विमोचन समारोहमा वरिष्ठ इतिहासविद् तथा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी, डा. शैलेन्दुप्रकाश नेपाल, डा. विष्णुबहादुर केसी, प्राज्ञ मातृका पोखरेल, प्रकाशक केशव पराजुली, वरिष्ठ साहित्यकार शरद प्रधान, साहित्यकार नवराज रिजाल, अनुवादक टेकनारायण ढकाल, स्रष्टा पदयात्रा नेपालका महासचिव गंगाप्रसाद भेटवाल लगायतको सहभागिता रह्यो ।
विमोचनपछि बोल्दै प्रा.डा. सुरेन्द्र केसीले ढकाल जीवन्त लेखक भएको बताए । उनको लेखनी देख्दा लोभ लाग्ने बताउँदै उनका कृतिहरुलाई विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरिनुपर्ने उनले बताए । कुनै स्वार्थ नराखी नेपाली साहित्य र वाङ्मयमा निरन्तर योगदान दिइरहेकोले ढकाल अरुका लागि पनि प्रेरक भएको उनको भनाइ छ ।
डा. शैलेन्दुप्रकाश नेपालले निरन्तर लेखनमा कटिबद्ध रहेको भन्दै लेखक ढकाललाई शुभकामना दिए । नयाँ नयाँ विषय क्षेत्र छनौट गरेर लेखन कार्य गरिरहेको भन्दै ढकाललाई उनले बधाई दिए ।
साहित्यकार शरद प्रधानले नेपाली पाठक र अध्येताहरुलाई अत्यन्तै आवश्यक किताबहरु प्रकाशन गरेको भन्दै लेखक ढकाललाई शुभकामना दिए ।
डा. विष्णुबहादुर केसीले धेरै पहिले सडक कविता क्रान्ति आयोजना हुने गरेको स्मरण गर्दै अहिले अभियानकै रुपमा सडक विमोचन क्रान्ति सञ्चालन भइरहेको भन्दै प्रशंसा गरे । विश्वविद्यालयीय र प्राज्ञिक अध्ययनका लागि यी दुई पुस्तक उपयोगी भएको पनि उनले बताए ।
प्राज्ञ मातृका पोखरेलले ढकालको निरन्तर लेखनको प्रशंसा गरे ।
समालोचक टेकनारायण ढकालले दर्शन, संस्कृति, पर्यटन आदि विषयमा छोटो समयमा सघन रुपमा लेखन गरिहनु ढकालको वैशिष्ट्य भएको बताए ।
पुस्तकको बारेमा बोल्दै लेखक बद्रीप्रसाद ढकालले नेपाली साहित्यको समालोचना विधामा कलम चलाउँदै आएको र अहिलेसम्म २० वटा कृति प्रकाशित भइसकेको जानकारी दिए । यी दुबै कृतिमा नेपाली साहित्य समालोचनामा प्रयोगमा नआएका नयाँ विषय खोजेको उनको भनाइ छ । ‘आधुनिक नेपाली कथामा मिथक’ पुस्तकमा मिथक के हो ? नेपाली साहित्यमा मिथकको प्रयोग कसरी भइरहेको छ ? र मिथकीय कथा कस्ता हुन्छन् ? आदि विषय उल्लेख गरेको उनले बताए । यसैगरी अर्को पुस्तक ‘साहित्यमा संस्कृति’ मा साहित्यमा संस्कृतिको प्रयोग कसरी भएको छ ? र संस्कृति कसरी आउँछ ? आदि विषय बुझ्न यो कृतिले सहयोग गर्ने उनले अपेक्षा गरे ।
अनौपचारिक रुपमा आयोजित यो कार्यक्रमका सहभागीहरुलाई गाउँ–शहर अनामनगरले मकै–भटमास, कन्दमुल, गुन्द्रुकसहितको नेपाली मौलिक खाजासेट उपलब्ध गराएको थियो ।
000
https://aajakokhabar.com बाट साभार





No comments:
Post a Comment