Thursday, February 19, 2026

डल्लेको कालो यात्रा - शब्दसेना


कथाकार मातृका पोखरेलको हालै प्रकाशित "मलाई पनि निद्रा लागेन" नामक कथासङ्ग्रहभित्र एउटा कथा छ -" अँधेरी रातको एउटा कथा "। कथामा मुख्य चार र अन्य केहि सहायक पात्र देखिन्छन् । बैदार, फट्याङ्ग्रे काका, डल्ले र म पात्र मुख्य पात्र हुन् भने बाटोमा भेटिने भरियाहरू, कटारीका व्यापारीहरू र बास बस्ने स्थानका भट्टीवाल साहुनीहरू सहायक पात्र हुन् ।

गाउँमा चेतना जागृत हुनु अघिको समय कथाले समेटेको छ । पूर्वी पहाडका उदयपुर, सोलु, ओखलढुङ्गा आदि जिल्लामा सडक सञ्जाल पुग्नु अघिको आर्थिक सामाजिक परिवेश बोलेको छ । पहाडबाट कटारीमा किनमेल गर्न आउनेको लर्कोले कटारीको आर्थिक अवस्था राम्रो हुँदै गएको छ । तर दुइ तीन दिन भारी बोकेर जाने भरीयाको दु:ख कटारीले जान्दछ, बुझ्दछ तर खप्दैन ।

गाउँका बैदारहरूको गरीब भरीयाप्रतिको समवेदनाहीन दृष्टिकोण कथाभरी लत्पतिएको छ । अझ स्ववीर्योत्पादित डल्लेहरूलाई आश्वासन मात्रको लैनो गाईसँग फट्याङ्ग्रेजस्ता गरीबहरूलाई भिराउने कटुवालको चरित्र कथाले मिहीन ढङ्गले उधिनेको छ । गरीबहरूको मनमा ऊप्रति घृणा त छ तर सामुन्ने प्रकट हुन सक्दैन । तत्काल गरीबले सहनुको विकल्प देखिंदैन ।

म पात्र पनि दुखको कुरा सुन्छ मात्र , सहयोग गर्दैन । ऊभित्र पनि बिद्रोह त देखिन्छ तर समय परिस्थिति कुरिरहेको मौन मान्छे जस्तो लाग्छ ऊ । एउटा एन जि ओ ले जस्तै दुखहरूको तथ्याङ्क संकलन गर्दैछ शायद । सायद ती तथ्याङ्कहरू कुनै दलको दुखनिरोध योजना निर्माणमा काम लाग्ने अपेक्षा गर्न सकिन्छ । अहिलेको अवस्थामा त जसलाई जे पर्‍यो त्यो उसैले भोग्ने मात्र हो ।
कथामा विद्रोहको आगो भित्रभित्र मात्रै धुँमिल स्वरुपमा छ, भुसको आगोजस्तो छ । बाहिर अझ निस्कन नसकेको अवस्थामै कथा सकिन्छ ।
कथा प्रकाशित हुँदासम्म भने त्यो विद्रोहको ज्वाला दन्किसकेर , फेरि निभेर खरानीमात्र थुप्रो लागेर बसेको अवस्था छ । आज पनि समाजमा नयाँ स्वरूपका डिजिटल बैदारहरू छन् । नयाँ स्वरुपका जिल्लाराम फट्याङ्ग्रेहरू अझै थिचोमिचोमा छन् । डल्लेहरू दिशाहिन विद्रोहमा छन् । सबै मान्छेको आत्मसम्मान बिरामी भएको छ ।

साँच्चै अँधेरी रातमा कुस्त भारी बोकेर एक्लै आलेको उकालो लागेको त्यो डल्ले कहाँ पुग्यो होला ?

000
https://www.facebook.com (कृष्णदेव रिमालको फेसबुक वालबाट)

No comments:

Post a Comment