Sunday, August 9, 2026

‘मलाई पनि निद्रा लागेन’ कृतिमाथि विशद बहस

 




काठमाडौं। लोमश वाङ्मय प्रतिष्ठानको मासिक कार्यक्रम रचना वाचन तथा कृति परिचर्चा तारकेश्वर, डाँडागाउँमा अवस्थित हिम रश्मि हाई स्कुलमा २०८३ साल साउन २३ गते सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’को अध्यक्षतामा सुसम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि थिए- वरिष्ठ प्रगतिवादी साहित्यकार डा. जगदीशचन्द्र भण्डारी । ‘मलाई पनि निद्रा लागेन’ कथासङ्ग्रहका कृतिकार मातृका पोखरेल, परिचर्चाकार महेश प्रसाई, खेमराज पोखरेल, विद्यालय इन्चार्ज महाप्रसाद अम्गाई कृष्णहरि भट्टलगायतका अतिथि सम्मिलित उक्त कार्यक्रममा दुई दर्जन बेसी साहित्यकारहरूले विभिन्न विधाका रचना वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि डा. जगदीशचन्द्र भण्डारीले प्रमुख अतिथिका हैसियतले सम्बोधन गर्दै कृतिकार मातृका पोखरेलसँग आफ्नो तीन दशक लामो रचनात्मक सम्बन्ध रहेको बताए । हरेक व्यक्तिमा द्वन्द्व हुने र समाजमा पनि हर घटना, परिघटनाबारे चर्चा,परिचर्चा र विमर्श हुने भन्दै भण्डारीले मान्छेले परिष्कृत जीवन बाँच्नकै लागि यस्तो हुने दाबी गरे । द्वन्द्वात्मक कोणबाट हरेक कुराको विश्लेषण हुने तर्क पेस गर्दै उनले मातृका पोखरेलका कथा समकालीन समाजको सजीव चित्र भएको जिकिर गरे । समाजलाई दिशानिर्देश गर्न साहित्यको अहम् भूमिका रहने भन्दै त्यस्तै खाले साहित्य सिर्जना गर्न भण्डारीले सबैलाई हौस्याए । साहित्यले सकारात्मक सामाजिक चेतना जगाउनै पर्ने र समकालीन समाजका विकृति र विसङ्गति उधिन्नै पर्ने भण्डारीको कथन थियो ।

त्यस्तै परिचर्चाकार तथा अर्का मूर्धन्य साहित्यकार महेश प्रसाईंले मातृकाका कथाको मुक्तकण्ठले सराहना गरे । विभिन्न वरिष्ठ साहित्यकारसँग तुलना गर्दै प्रसाईंले मातृका एउटा विचारप्रति प्रतिबद्ध साहित्यकार भए पनि त्यसभित्रका विसङ्गत कुराहरूलाई पनि निर्ममरूपमा उजागर गर्न नडराउने ल्याकत भएका व्यक्तित्व भएको भन्दै बखान गरे । समाजको खोक्रो चरित्र नङ्ग्याउन पोखरेल पारङ्गत भएको प्रसाईंको टिप्पणी थियो । केही कथाका कथानक उधिन्दै प्रसाईं तिनको साङ्गोपाङ्ग शल्यक्रिया पनि गरे भने समयाभावका कारण सबै कथाबारे विश्लेषण गर्न सम्भव नभएको स्विकारे ।

उता लघुकथामा विशिष्ट पहिचान बनाएका तर हालै ‘अर्कै सत्य’ कथासङ्ग्रह समेत पाठकमाझ पस्केका चर्चित लघुकथाकार खेमराज पोखरेलले मातृका पोखरेलको कथामा समाविष्ट द्वन्द्वविधानबारे चर्चा गर्दै मातृकालाई अत्यन्त समसामयिक र मन छुने कथा लेख्ने कथाकारका रूपमा चित्रित गरे । उमेरमा भाइ पुस्ताको भए पनि कथाकारितामा मातृका आफ्ना ठुल्दाइ भएको उनको भनाइ थियो ।

त्यसैगरी आफ्नो रचना-गर्भबारे खोतल्दै मातृका पोखरेलले कथाका सबै कच्चा पदार्थ आफ्नै गाउँ समाज र भूगोल रहेको भन्दै सूक्ष्म कुराले पनि आफ्नो मन बिथोल्ने र तिनलाई यथासम्भव आख्यानीकरण गरिहाल्ने आफ्नो स्वभाव भएको अवगत गराए । पोखरेलले महेश प्रसाईंले उठान गरेको विषय नै आफूले पर्गेलेको भन्दै कथा लेखन हाम्रै वरिपरिका विसङ्गत विषय र समसामयिक परिघटनालाई यथासम्भव उठान गर्नुपर्ने कथाकारको दायित्व हुने तर्क गरे ।

साहित्यकार कृष्णहरि भट्टले दर्शन र साहित्यको अन्योन्याश्रित सम्बन्धको सङ्क्षिप्तमा परिचर्चा गर्दै मातृकाका कथाले समाज र आफूलाई आदर्श ठान्ने तर यथास्थितिलाई सकार्नेहरूको चरित्र बदल्न सहजीकरण गर्न सक्ने औँल्याए ।

हिम रश्मि हाई स्कुलका इन्चार्ज महाप्रसाद अम्गाईंले आफ्नो विद्यालय साहित्यिक गतिविधि सञ्चालन गर्ने अत्यन्त कम संस्थाहरूमध्ये एक रहेको बताउँदै आफूहरूले कला,साहित्य र संस्कृतिको उन्नयन पनि शिक्षा दिनु सरह ठान्दै आएको तर्क गरे । आगामी एक वर्ष मात्र नभई त्यसपछि पनि आफूहरू यस्ता कार्यक्रमलाई नियमितता दिन दत्तचित्त रहेको अम्गाईको कथन थियो ।

लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ले आफ्नो संस्थाले साहित्य उन्नयन र ओझेलमा परेका स्रष्टालाई प्रकाशित गर्ने काम निरन्तर गरिरहने भन्दै कार्यक्रम व्यवस्थापनको जिम्मा लिने हिम रश्मि हाई स्कुलप्रति संस्था कृतज्ञ भएको बताए ।प्रतिष्ठानलाई नव सर्जक लगायत तमाम सर्जकहरूको साझा मञ्चका रूपमा विकास गर्दै लैजाने आफूहरूको ध्येय भएको उनको कथन थियो ।

कार्यक्रममा कृष्णहरि भट्ट, श्याम कृष्ण डङ्गोल, समाश्री, दिलकुमारी डङ्गोल, कमला घिमिरे, गङ्गा खतिवडा, रूबि सत्याल, भीम क्षेत्री, पौडेल बिमुन्स, पुरुषोत्तम रसुवा, प्रसिद्धि थापा, एलिसा भण्डारीलगायत दुई दर्जन बेसी स्रष्टाहरूले आआफ्ना रचना वाचन गरे भने अनुप खनालले सुरिलो स्वरमा गीत प्रस्तुत गरे । त्यसरी नै स्रष्टा पदयात्राका महासचिव गङ्गाप्रसाद भेटवाल, प्रविधि-मैत्री शैक्षिक अभियन्ता विश्वराज अर्यालले समकालीन साहित्यबारे सङ्क्षिप्तमा प्रकाश पारे । कवि एन्जल निलु, बालसाहित्यकार केशरी अम्गाई, अग्निचक्र मासिकका सम्पादक लक्ष्मीप्रसाद भट्टराईको विशेष उपस्थिति रहेको सो कार्यक्रममा समुपस्थित स्रष्टाहरूलाई गङ्गा खतिवडाले धन्यवाद ज्ञापन गरिन् भने मुक्तककार तथा सञ्चारकर्मी जयराम बिडारीले सहजीकरण गरे ।

००० 
जयराम बिडारीबाट तयार गरिएको समाचार 
https://smartpati.com बाट साभार 


































No comments:

Post a Comment