सांस्कृतिक अभियन्ता एवम् कवि सुरेश
किरण र म उमेरले एकै दामलका थियौं । करिव एक-डेढ वर्षले मात्र हाम्रो उमेरमा फरक भए
पनि उहाँ मलाई दाइ भनेर सम्बोधन गर्नुहुन्थ्यो । पैंतालीस सालको अन्तदेखि भेट
भएको थियो हाम्रो । ती भेटहरू साहित्यको माध्यमले भएका थिए । प्राय : प्रगतिशील
सङ्घ संस्थाहरूले आयोजना गर्ने विभिन्न साहित्यिक
गोष्ठीहरू हाम्रा भेट हुने माध्यम थिए ।
सुरेश कीरण कविमात्र हुनुहुन्थेन ।
हाम्रो भेट हुँदा सायद पत्रकार भइसक्नु भएको थियो । उहाँसँग परिचय भएको एकाध वर्ष
पछि छयालीस सालको आन्दोलनमा हामी आ-आफ्नो ठाउँबाट सक्रिय भयौं । त्यही आन्दोलनको
बेला हाम्रा बीचमा उहाँको वीरताको एउटा घटना हल्लाको रूपमा 'भाइरल' भयो
। त्यो घटनाले समवयका हामी साथीहरूका बीचमा उहाँ 'हिरो' बन्नुभयो
। छयालीसको आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंह वीर अस्पतालमा उपचाररत
हुनुहुन्थ्यो । अस्पतालमा उहाँलाई कसैसँग भेटघाट र सम्पर्क गर्न दिइएको थिएन ।
डाक्टरको भेषमा पसेर उहाँले गणेशमानसँग अन्तर्वार्ता गर्नु भएछ । हाम्रा बीचमा
चलेको यस वास्तविक हल्लाले हाम्रो जमातको उहाँ 'हिरो' बन्नुभयो
।
छयालीस सालको आन्दोलनपछि पनि
विभिन्न अभियानहरूमा उहाँ भेटिइरहनु हुन्थ्यो । कहिले हाम्रा साझा अभियानहरू
हुन्थे कहिले फरक । प्रगतिशील साहित्यिक गोष्ठीहरूमा प्राय: भेट भइरह्यो ।
पछिल्लो समय उहाँ भाषा आयोगमा आउनु
भयो । उहाँ आए पछि उहाँको मोटरसाइकलको पछिल्तिर बस्ने म नियमितजसो यात्रु भएँ ।
त्यसपछि महाबौद्धमा उहाँको साथीको पसल छेउमा मोटरसाइकल राखेपछि हामी मम खाने
बहानामा पुरातत्विक काठमाण्डुको छेउकुना पस्थ्यौं ।
त्यसबेलाको एउटा सम्झना आइरहन्छ ।
काठमाडौँ उपत्यका केवल एउटा राजधानीमात्र होइन, हजारौँ
वर्षको सभ्यताको दस्तावेज हो भन्ने ज्ञानको धेरै हिस्सा मैले उहाँबाटै प्राप्त
गरेँ ।
सुरेश किरणको जन्म पनि 'कोर
सिटी' अर्थात्
न्युरोडकै छेउमा भएको रहेछ । घुम्दै जाने क्रममा आफ्नै जन्मस्थानको छेउमा लगेर
मलाई उहाँले पाको पोखल्ड्याङको कथा भन्नु भएको सम्झन्छु । गजवको इतिहास रहेछ ।
नेपाल भाषाबाट नेपाली भाषामा अपभ्रंस भएर ''पाको
पुखुद्यां'' नै
"पाको पोखल्ड्याङ" भएको रहेछ । नेपाली साहित्यको इतिहास पढ्दा यो नाम
मैले सुनिरहेको नाम थियो । विशिष्ट आख्यानकार गोविन्दबहादुर मल्ल गोठालेको
जन्मस्थल, मेरा
अनन्य मित्र साहित्यकार अतृप्त पाण्डेयको जन्मस्थल । पढिरहेको र सुनिरहेको नाम
थियो मेरा लागि ।
"भोटाहिटी
नामको ढुङ्गेधारा पुरेर यो भवन बनाए दाइ !'' नजिकै
रहेको साझा संस्थाको भवन देखाउँदै उहाँले भन्नु भएको थियो एकदिन । यसो भन्दै गर्दा
उहाँको अनुहारमा एउटा विषादको भुमरी नाचिरहेको महसुस गरेको थिएँ मैले त्यसबेला ।
एकदिन भाषा आयोगमा कुरैकुरामा सुरेश
कीरणले असन चोकमा निस्कने सातवटा बाटो छन् भन्नुभयो । जतिपटक मनमनै गन्छु छ वटा
भन्दा पुऱ्याउनै
सक्दिन । एकदिन उहाँकै मोटरसाइकिल पछि बसेर असन पुगेँ । उहाँले असन पुग्ने सातवटा
बाटोमात्र देखाइदिनु भएन असन चोकमैं उभिएर लामो समयसम्म असनको कथा सुनाउनु भयो ।
जैशीदेवलको रोचक कथा उहाँले
जैशीदेवलमैं पुगेर
मलाई सुनाउनुभयो । जैशी देवलको निर्माण पनि नेपालको राजनैतिक सत्ता संघर्षको
परिणाम रहेछ । रोचक इतिहास रहेछ जैशी देवलको ।
वि.सं .२०८२ फागुन ६ गते भाषा आयोगका
सदस्यहरू सुरेश कीरण, कृष्णप्रसाद
न्यौपाने, डा.
पुष्करराज भट्ट र म भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरको माताको निधनमा
समवेदना प्रकट गर्न बारा जिल्लाको कचर्वा जाँदै थियौं । कुलेखानी पुग्दै गर्दा
हाम्रा बिचमा देउरालीमा पुगेर चिया पिउनु पर्ला भन्ने चर्चा चल्यो ।
''चिया
चाहिँ भीमफेदीमा पुगेर पिउँ । चिया पिउँदै गर्दा दाइलाई म भीमफेदीको कथा पनि
सुनाउँछु ।" इतिहासप्रतिको मेरो रूची बुझेर सुरेश कीरणले यस्तो प्रस्ताव
राख्नुभएको थियो । किनकी, उहाँ
भाषा आयोगमा आउनु भएपछि उहाँको मोटरसाइकिलमा बसेर उहाँबाट काठमाण्डौको प्राचीन
सभ्यताको बारेमा महत्वपूर्ण सन्दर्भहरू सुन्न पाएको थिएँ । हामी भीमफेदी पुगेर
चिया पिउन तयार भयौं ।
भीमफेदीसँग उहाँको पुरानो सम्बन्ध
रहेछ । चिसापानीगढीबाट ओरालो लाग्ने वित्तिकै उहाँले भन्न थाल्नु भयो "वि.सं
. १८२५ मा पृथ्वी नारायण शाहले काठमाण्डौंमाथि आक्रमण गर्दा सबभन्दा पहिले
भीमफेदीलाई नाकाबन्दी गरेका थिए ।"
"के
भीमफेदी त्यसबेला मकवानपुरगढी अन्तर्गत थियो ?" भीमफेदीको
इतिहास बुझ्ने मेरो रूची बढ्दै गयो ।
"होइन
। यो पाटन राज्य अन्तर्गत थियो । भीमफेदी त्यसैबेला महत्वपूर्ण नाका थियो । यसलाई
कब्जा गरेर आफ्नो बनाउन पाटन, भक्तपुर र काठमाण्डौंको बिचमा
युद्धहरू नै भएका छन् । पछि पाटनको भयो ।" इतिहासका सामान्य तथ्यहरूबाट उहाँ
जानकार हुनुहुन्थ्यो ।
"वि.सं
. २०११ सालको बाढी र वि.सं. २०१२ सालमा खुलेको त्रिभुवन राजपथ भीमफेदीका ठुला काल
हुन् । त्यसपछि वि.सं. २०३९ सालमा मकवानपुरको
सदरमुकाम भीमफेदीबाट हेटौंडा सारेपछि यो ठाउँ सम्पूर्ण रूपमा नामेट पारियो ।
" चिसापानीगढीको ओरालोबाट देखिने भीमफेदीको उजाड शहरलाई हेर्दै उहाँ हामीलाई
सुनाउँदै हुनुहुन्थ्यो ।
भीमफेदीको पुरानो पसलमा चिया पिएर
हामी एकछिन मृत शहर भीमफेदीको कथा सुन्न सुरेश कीरणको पछि लाग्यौं ।
" पूर्वाधार
र सुविधाका दृष्टिले यो सहर त्यसबेला काठमाण्डौं पछिको दोस्रो सहर थियो ।"
उहाँ भन्दै हामीलाई लिएर एउटा पुरानो दरबारको आकृति झल्कने सानो भवनको अघिल्तिर
पुग्नुभयो ।
"काठमाण्डौंमा
वीर अस्पताल बनेकै समयमा यो अस्पताल बनेको हो । वीर अस्पताल र यो अस्पतालको डिजाइन
एउटै थियो ।" एउटा जीर्ण भइसकेको तर पुरानो दरबारको जस्तो झल्को दिने
एउटा भवनको अघिल्तिर पुऱ्याउँदै उहाँले
हामीलाई भन्नुभयो ।
एकदिन भाषा आयोगमा कुरै कुरामा
सुरेश किरणले असनको ढिके नुनको पसलको कुरा गर्नुभयो । दुई सय वर्ष अघिदेखि एउटा
डालोमा राखेर अहिलेसम्म निरन्तर एउटै परिवारका शाखा सन्तानले चलाएको
पसल रहेछ त्यो । उहाँले त्यो पसलको कथा भनिरहँदा कुनै तिलस्मी कथा सुने झैँ
लाग्थ्यो मलाई ।
"एकदिन
दाइलाई त्यो पसल देखाउँछु ।" उहाँले यसो भनिरहँदा मलाई त्यो पसल हेर्ने हतारो
थियो । अब उहाँले गरेको त्यो बाचा सदा मेरो स्मृतिमा मात्र रहने भयो ।
एकदिन प्रसङ्गबस उहाँसँग कोतपर्वको
चर्चा चलेको थियो ।
"कोतपर्वका
गगन सिंहको मूल घर केही वर्ष अघि भत्क्यो । अर्को छेउको घर छँदै छ । कुनै दिन
दाइलाई म त्यो देखाउँछु ।" उहाँबाट मैले त्यो बचन पनि पाइसकेको थिएँ । मलाई
गगन सिंहको घर देखाउने उहाँको इच्छा पुरा हुनुभन्दा अघि उहाँलाई हामी विदा गर्न
विवस भयौं । गगन सिंहको घर हेर्ने इच्छा तीब्र हुनुको पछाडि मेरो एउटा बेग्लो कारण
थियो । पहाडको गाउँमा शहरतिरबाट पुग्ने मनोरञ्जक उपन्यास र कथाहरू पढ्ने मौका
हामीलाई हम्मेसी जुर्दैनथ्यो । घरमा ज्योतिषशास्त्र , धार्मिकशास्त्रका
किताबहरू प्रसस्त थिए । यी बाहेक एउटा
अत्यन्तै पुरानो बाहिरी पानाहरू च्यातिएको बोधविक्रम अधिकारीद्वारा लिखित दन्त्य
कथाको किताब र बालचन्द्र शर्माद्वारा लिखित 'नेपालको
ऐतिहासिक रूपरेखा' थियो
। 'नेपालको
ऐतिहासिक रूपरेखा' उपन्यासको
मजा लिए जसरी पढियो । कोतपर्व आनन्द मानेर पढियो । तर उहाँसँग गगन सिंहको घर
हेर्न जाने दिन कहिल्यै आएन ।
सायद त्यो घर अब मलाई कसैले
देखाइदिने छैन । र त्यो घरको सिलसिलेवार कथा कसैले सुनाइदिने छैन । सुरेश कीरणसँग
भेट हुँदा मलाई सधैँ लाग्थ्यो - उहाँसँग अझै धेरै कुरा सोध्न बाँकी छ। कुनै
ऐतिहासिक स्थलको चर्चा हुँदै गर्दा अर्को भेटमा त्यसबारे विस्तृत सोधौँला भन्ने सोच्थेँ।
कुनै पुरानो अभिलेखको प्रसङ्ग आउँदा त्यसको स्रोत मागौँला भन्ने योजना बनाउँथेँ ।
नेपाल भाषाका कुनै शब्दको उत्पत्तिबारे उहाँको धारणा फेरि सुन्ने इच्छा हुन्थ्यो।
तर जीवनले हामीलाई सधैँ अर्को भेटको अवसर दिँदैन रहेछ । केही प्रश्नहरू प्रश्नकै
रूपमा रहँदा रहेछन् । सुरेश किरणसँग त्यस्तै भयो ।
मेरा लागि सुरेश किरणको निधन एउटा
प्रिय साथीको दुखःद मृत्यु मात्र थिएन; एउटा
सभ्यता र संस्कृतिको जीवित र भव्य पुस्तकालयको अन्त्य
हुनु पनि थियो । अल्पायुमैं हामीले सुरेश कीरणलाई उहाँका सिर्जनामा खोज्नु पर्ने
भयो । अब हामीले उहाँका कर्ममा खोज्नु पर्ने भयो । उहाँले जगाएका प्रश्नहरूमा
खोज्नुपर्ने भयो । उहाँले बचाउन आग्रह गरेका सम्पदाहरूमा खोज्नुपर्ने भयो । उहाँले
प्रेम गरेको भाषामा खोजी गर्नु पर्ने भयो । मानव सभ्यताका
यी स्थानहरूमा जहाँ खोजे पनि सुरेश कीरण भेटिनुहुन्छ । यी ठाउँहरूमा दीर्घकालसम्म
उहाँ बाँचिरहनु हुन्छ । सबै मानिसहरू यसरी बाँच्न सक्दैनन् । तर सुरेश कीरण सदाका
लागि बाँच्न सक्ने मानिस भएर हामीसँग विदा हुनुभयो ।
ooo
दायाँबाट क्रमश : सुरेश कीरण, डा. पुष्करराज भट्ट कृष्णप्रसाद न्यौपाने र मातृका पोखरेल भीमफेदीमा

No comments:
Post a Comment