Wednesday, November 18, 2026

मातृका पोखरेलको कथा सङ्ग्रह ‘मलाई पनि निद्रा लागेन’ माथि एक पाठकीय टिप्पणी - काशिनाथ पौडेल




अर्थ–राजनीतिक, सामाजिक–सांस्कृतिक तथा मनोवैज्ञानिकलगायत विविध अवयवहरूको गतिशील संयोजनबाट समाजको अस्तित्व निर्मित हुन्छ। यी संरचनात्मक अवयवहरूबीचको निरन्तर घर्षण, अन्तर्विरोध र द्वन्द्वकै परिणामस्वरूप समाजमा रूपान्तरणका प्रक्रिया अगाडि बढ्छन्। विभेदपूर्ण अर्थ–राजनीतिक तथा सामाजिक संरचनाले सिर्जना गर्ने असन्तुलनबाट उत्पन्न कम्पनले समाजका आधारभूत संरचनादेखि उपरिसंरचनासम्म परिवर्तनका तरङ्ग पैदा गर्छन् । साहित्यले यिनै सामाजिक हलचल, अन्तरविरोध र रूपान्तरणका आकाङ्क्षालाई कलात्मक अभिव्यक्ति दिने काम गर्छ ।

प्रगतिवादी साहित्यकार मातृका पोखरेलले आफ्नो कथा सङ्ग्रह ‘मलाई पनि निद्रा लागेन’ मार्फत यस्तै सामाजिक यथार्थ, संरचनात्मक अन्तरविरोध र राजनीतिक उथलपुथललाई आख्यानको विषय बनाएका छन्। सामान्यतः वि.सं. २०४० को दशकदेखि यताका सामाजिक–राजनीतिक शक्ति सम्बन्ध, वर्गीय, जातीय तथा लैङ्गिक विभेद र तिनले सिर्जना गरेका सामाजिक यथार्थका घटनाक्रमलाई प्रतिरोधी चेतनाका आलोकमा आख्यानीकरण गरिएका १५ वटा प्रतिनिधिमूलक कथाहरू यस सङ्ग्रहमा समेटिएका छन्।
मुख्यतः पूर्वी पहाडको उदयपुर जिल्लाकेन्द्रित भौगोलिक तथा अर्थ–राजनीतिक परिवेशमा कथानकहरू विकसित भएका छन्। अधिकांश कथाले वामपन्थी साहित्यिक विश्वदृष्टिकोणको बृहत् वैचारिक परिधिभित्र रहेर सामाजिक यथार्थका अन्तर्यहरू खोतल्ने र पाठकमा आलोचनात्मक तथा प्रतिरोधी चेतना जागृत गर्ने प्रयत्न गरेका छन्। सामाजिक शक्ति सम्बन्धले उत्पादन गरेका उत्पीडन, विभेद र असमानताका साथै तिनको अन्त्य गरी न्याय र समानता स्थापना गर्ने उद्देश्यले सञ्चालित सङ्गठित आन्दोलनभित्रै विकसित विकृति र विसङ्गतिलाई कथाकारले सरल भाषाशैलीमा उजागर गरेका छन् ।

सामान्यतः कम्युनिस्ट आन्दोलन र विशेषत :माओवादी नेतृत्वमा सञ्चालित सशस्त्र विद्रोहको सामाजिक, सांस्कृतिक तथा राजनीतिक पृष्ठभूमि, त्यसका कारण र परिणाम एवं त्यसले जनजीवनमा पारेका बहुआयामिक प्रभावलाई कथाहरूले विभिन्न कोणबाट केलाउने प्रयत्न गरेका छन्। गरिखाने र ठगिखाने वर्गका विविध चरित्रमार्फत राजनीतिक प्रणालीभित्र विद्यमान अन्तरविरोध, अवसरवाद र नैतिक विचलनलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ। मानवीयता, न्याय, स्वतन्त्रता, समानता र राजनीतिक नैतिकताका प्रश्नहरू कथाका केन्द्रीय चाँसोका रूपमा देखा पर्छन् ।

यस सङ्ग्रहको उल्लेखनीय पक्ष भनेको कथाकारले आफू वैचारिक रूपमा आबद्ध रहेको कम्युनिस्ट आन्दोलनभित्रकै सत्तामुखी र नेतृत्वकेन्द्रित प्रवृत्तिमाथि आलोचनात्मक दृष्टि राख्नु हो। आन्दोलनभित्र मौलाउँदै गएको आर्थिक अपारदर्शिता, नेतृत्वको सुविधाभोगी चरित्र, वर्गीय उकास र त्यससँगै इमानदार कार्यकर्ता तथा श्रमजीवी जनताप्रतिको उपेक्षाजस्ता प्रवृत्तिमाथि कथाकारले निर्मम प्रश्न उठाएका छन्। परिवर्तनको सपना बोकेर आन्दोलनमा होमिएका पात्रहरू र परिवर्तनपछि विकसित हुने सत्तासीनअवसर मुखी चरित्रबीचको विरोधाभास कथाहरूमा अभिव्यक्त भएको छ। कथाहरू आन्दोलनको बाह्य प्रतिपक्ष मात्र होइनन्, यसको आन्तरिक आत्मसमीक्षाका आख्यानिक दस्तावेज पनि हुन्।पात्रहरूको निर्माणमा परिवेशजन्य स्वाभाविकता देखिन्छ। पात्रका विचार र व्यवहार, कथनी र करनीबीचको विरोधाभासलाई कथाकारले आम सामाजिक जीवनमा देखिने पाखण्ड र नैतिक द्वैधतासँग जोडेर प्रस्तुत गरेका छन्।

भाषाशैली सरल, सहज र सम्प्रेषणीय छ। अधिकांश कथामा घटनाविवरण र संवादका माध्यमबाट कथानक अगाडि बढाइएको छ। विषयवस्तुहरू समसामयिक सामाजिक यथार्थसँग निकट छन् र जनजीवनका गम्भीर प्रश्नहरूसँग प्रत्यक्ष साक्षात्कार गराउँछन्। यसले कथाहरूलाई बौद्धिक विमर्शको विषय मात्र नबनाई सामाजिक अनुभवसँग जोड्ने काम गरेको छ।
अपितु, सङ्ग्रहका केही वैचारिक तथा कलात्मक सीमाहरू पनि छन्। विशेषतः वामपन्थी आन्दोलनप्रति भरोसा र अपेक्षा राख्ने पाठकका लागि यी कथाहरूले चिन्ता र असहजता पैदा गर्न सक्छन्। आन्दोलनभित्रका विकृति, अवसरवाद र नैतिक विचलनको आलोचना प्रभावकारी रूपमा प्रस्तुत भए पनि त्यसको विकल्पका रूपमा अपेक्षित वैचारिक स्पष्टता, सङ्गठित वर्गसङ्घर्षको सकारात्मक सम्भावना र रूपान्तरणको वैकल्पिक दिशालाई पर्याप्त आख्यानिक गहिराइ दिन कथाकार केही हदसम्म चुकेको अनुभूति हुन्छ। आन्दोलनका विसङ्गतिमाथि प्रहार गर्ने सशक्तता जति छ, त्यसका ऐतिहासिक उपलब्धि, अन्तर्निहित सकारात्मक ऊर्जा र रूपान्तरणकारी सम्भावनाको कलात्मक उद्घाटन त्यति सशक्त देखिँदैन।

त्यस्तै, गम्भीर सामाजिक तथा राजनीतिक विषयवस्तुको उठान भए पनि तिनलाई विचारको गहिराइ, मनोवैज्ञानिक जटिलता र कलात्मक प्रतीकात्मकताका माध्यमबाट पाठकको चेतनामा दीर्घकालीन प्रभाव पार्ने तहसम्म पुर्‍याउन कतिपय कथा सफल देखिँदैनन्। घटनाको विवरणले प्राथमिकता पाउँदा कतिपय ठाउँमा विचारको सम्प्रेषण र आख्यानको कलात्मक घनत्व अपेक्षाकृत कमजोर भएको अनुभूति हुन्छ।

परन्तु, समाजका वर्गीय, लैङ्गिक, जातीय तथा सांस्कृतिक अन्तरविरोधलाई यथार्थपरक र विश्वसनीय ढङ्गले उजागर गर्नु, परिवर्तनकारी आन्दोलनभित्रै मौलाएका विकृतिमाथि प्रश्न उठाउनु र आत्मसमीक्षामार्फत आन्दोलनलाई सच्याउन प्रेरित गर्नु नै यस कथा सङ्ग्रहको मूल सामर्थ्य हो। परिवर्तनको सपना देख्ने आन्दोलनले आफ्नै अन्तरविरोधसँग पनि जुध्न सक्नुपर्छ भन्ने आलोचनात्मक आग्रह यी कथाहरूको अन्तर्ध्वनि हो।

वस्तुत, ‘मलाई पनि निद्रा लागेन’ सामाजिक यथार्थको अभिलेखीकरण मात्र होइन; यो परिवर्तनको आकाङ्क्षा बोकेको आन्दोलनभित्रका अन्तरविरोध, नैतिक विचलन र अपूरा सपनाहरूको आख्यानिक अन्वेषण पनि हो। यसले समाज परिवर्तनको प्रश्नसँगै परिवर्तनको दाबी गर्ने शक्ति र नेतृत्व स्वयं कति रूपान्तरित हुन सके भन्ने असहज प्रश्न पाठकसामु तेर्स्याउँछ ।

000

https://www.facebook.com बाट साभार 

No comments:

Post a Comment